नौ ताल एकसाथ

  • पोखराका नौवटा ताल आपसमा जोडेर संरक्षण गर्ने योजना स्थानीय निर्वाचनको प्रमुख मुद्दा

- लालप्रसाद शर्मा

पोखरा ।। स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी राजनीतिक दलहरूले आ–आफ्नो प्रतिबद्धतापत्रमा पोखरा–लेखनाथभित्रका नौवटा ताललाई एकअर्कासँग जोड्ने योजनालाई मुख्य कार्यसूची बनाएका छन् । ‘नवरत्न’ भनिने फेवा, बेगनास, रूपालगायत नौवटा ताललाई अतिक्रमणबाट जोगाउन लिंक रोड बनाएर जोड्नुपर्ने आवाज पहिल्यैदेखि नै उठिरहेको हो । 

पर्यटकीय, वातावरणीय तथा जैविक विविधताले महत्त्वपूर्ण रहे पनि पोखराका ताल संकटग्रस्त छन् । मानवीय र प्राकृतिक अतिक्रमणको तीव्र चपेटाका कारण ताल खुम्चिँदै गएका छन् । फेवासहित पोखरामा बेगनास, रूपा, मैदी, दिपाङ, खास्टे, न्युरेनी, गुँदे र कमलपोखरी ताल छन् । 

स्थानीय तहको अधिकारको प्रयोग गरी तालबाट लाभ लिन सकिने अवस्था रहेकाले राजनीतिक दलहरूले सोही अनुसारका कार्यक्रम ल्याउनुपर्ने पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने बताउँछन् । भन्छन्, “प्रतिबद्धतापत्रमा मात्र उल्लेख गर्नु ठूलो होइन, काम गर्न इच्छाशक्ति भए मात्र हुन्छ ।” 

 पोखराका तालहरू डेढ वर्षअघि नै रामसार सूचीमा सूचीकृत भएर अन्तर्राष्ट्रिय पहिचान बनाइसकेका छन् । अब अन्तर्राष्ट्रिय विज्ञसहितको प्राविधिक टिम बनाएर ताललाई पर्यटकीय गतिविधिमा प्रयोग गर्न एउटा गुरुयोजना बनाउनुपर्नेमा लामिछाने जोड दिन्छन् । सबै ताललाई एकअर्कासँग जोड्न र सहज पहुँचका लागि लिंक रोड तयार भइसकेको छ तर स्तरोन्नतिको आवश्यकता छ । पर्यटकमैत्री सडक नभएकाले तालहरू ओझेल परेका छन् । जबकि, फेवाबाहेक अरू ताल पृथ्वी राजमार्गबाट दुईदेखि चार किलोमिटरभन्दा टाढा छैनन् । 

पृथ्वीनारायण क्याम्पसका प्रमुख देवेन्द्रबहादुर लामिछाने पोखराको प्राकृतिक सम्पदा तालबाट अधिकतम लाभ लिन नसकिएको बताउँछन् । एकअर्कासँग जोडेर दीर्घकालीन फाइदा लिनुपर्नेमा उनको जोड छ । भन्छन्, “राजनीतिक इच्छाशक्ति र सरकारले लगानी गर्न सके सबै ताललाई जोड्ने गरी नहर बनाएर डुंगा चलाएर जान पाइने बनाउन सकिन्छ ।” 

साबिक लेखनाथ नगरपालिकामा रहेका सात ताललाई पदमार्ग र साइकल मार्गले जोड्ने योजना पनि बनेको छ । ठाउँ–ठाउँमा चौतारी निर्माण र खाजा पसल पनि योजनामा छ । आईयूसीएनसँग मिलेर लेखनाथ नगरको योजना बनाउँदाको अध्ययनमा सहभागी भूगोलविद् प्राध्यापक कृष्ण केसी भन्छन्, “यसले पर्यटकीय गतिविधि बढेर अधिकतम लाभ लिन सकिने थियो । तर, त्यो योजना राजनीतिक खिचातानीमै सीमित छ ।” 

बर्सेनि बाढीले बगाएर ल्याउने ढुंगामाटो, तालसँगै घर बनाउने होड, जथाभावी फालिने फोहोरले ताल पुरिँदै र प्रदूषित बन्दै गएका छन् । त्यसैले विसं ०१८ मा १० वर्ग किमि रहेको फेवाताल ०६४ सम्म आइपुग्दा ४ दशमलव २० वर्ग किमिमा संकुचित हुन पुगेको छ । यसै गरी ०३१ मा तालको सरदर गहिराइ ३३ मिटरसम्म रहेकामा ०६४ मा आइपुग्दा १८ मिटरमा झरेको छ । 

यसैगरी बेगनास तालमा ११ हेक्टर, रूपामा ३४, मैदीमा ३३, दिपाङमा ११, खास्टेमा १०, न्युरेनीमा तीन, गुँदेमा तीन र कमलपोखरीमा सात हेक्टर तालक्षेत्र मानवीय तथा प्राकृतिक अतिक्रमणमा परेको छ । यो पनि ०६४ कै अध्ययन हो । त्यसयता विस्तृत सर्वेक्षण भएको छैन । 

बेगनासमा पछिल्लो समय तालसँगै जोडेर घर बनाउने क्रम बढेको छ । झन्डै ६ सय ५० रोपनी क्षेत्रफलमा रहेको मैदी अतिक्रमणले १६ रोपनीमा मात्रै पानी छ । तालको आधाजस्तो भागमा स्थानीयले जग्गाधनी पुर्जाबिनै खेती गर्दै आएका छन् । ताल क्षेत्र अतिक्रमण गरी माटोले पुरेर जग्गा प्लटिङ भएको छ । रूपाताल बर्सेनि पाँच रोपनीका दरले पुरिँदै गएको छ । पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल भन्छन्, “निर्वाचनबाट आउने जनप्रतिनिधिको टिमले पोखराका ताललाई एकआपसमा जोडेर संरक्षण गर्ने मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ, नत्र ताल जोगाउन सकिँदैन ।” 

प्रकाशित: वैशाख २५, २०७४