पूर्वराजा–कमल थापा कटुता

  • एकीकृत भएको ६ महिना पनि नबित्दै राप्रपा फेरि विभाजनको संशयमा

- सीताराम बराल

संविधान संशोधनबारे छलफल गर्न स्थानीय विकास मन्त्रीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले १४ वैशाखमा पार्टी संसदीय दलको बैठक बोलाए । व्यवस्थापिका–संसद्मा ३७ सिट रहेको राप्रपाका सांसदहरू बैठकका लागि सिंहदरबार जानुपर्ने थियो । तर, पूर्वमन्त्री रामकुमार सुब्बासहित नौ जना सांसद संसदीय दलको बैठकका लागि सिंहदरबारतर्फ होइन, महाराजगन्ज चप्पल कारखानास्थित सुब्बाकै घरतर्फ लागे ।  

खासमा दु्रतमार्गबाट संशोधनका लागि पेस गरिएको संविधान संशोधन विधेयक त्यसै दिन व्यवस्थापिका–संसद्बाट पारित गर्ने तयारी थियो सरकारको । त्यसैका लागि ह्वीप जारी गर्न अध्यक्ष थापाले सिंहदरबारस्थित संसदीय कार्यालयमा बैठक डाकेका थिए । तर, सुब्बा निवासमा भएको राप्रपाका असन्तुष्ट सांसदहरूले प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरे । त्यसमाथि मोबाइल फोन नै ‘स्वीच अफ’ गरेर दिनभरि सम्पर्कविहीन बनिदिए । त्यही कारण विधेयक पारित नहुने देखिएपछि त्यस दिनको संसद् नै स्थगित गर्नुपर्‍यो । 

यो घटनाबाट अध्यक्ष थापा यति अप्ठ्यारोमा परे कि, त्यही कारण उनी कति आक्रोशित थिए भन्ने कुरा दलको बैठकमा उनको प्रस्तुतिबाट बुझ्न सकिन्थ्यो । पार्टीका सांसदहरू संसदीय दलको बैठकमा अनुपस्थित हुनुमा उनले पूर्वराजा ज्ञानेन्द्रलाई दोषी ठहर्‍याए । थापाको भनाइ थियो, ‘जसलाई हामीले इमानदारीसाथ काँध थाप्दै आएका थियौँ, त्यहीँबाट अहिले यस्तो घात भएको छ । राप्रपा विभाजन गर्न गरिएको यो षड्यन्त्र हामीलाई सह्य छैन ।’ स्रोतका भनाइमा निर्मल निवासमाथि दोषारोपण गर्ने क्रममा उनले पूर्वराजा ज्ञानेन्द्रको नाम नै किटेका थिए । 

उपयोगको सम्बन्ध 

संसदीय दलको बैठकमा पूर्वमन्त्रीसहित झन्डै दर्जन सांसदहरूको अनुपस्थिति र छुट्टै भेला अनि संसदीय दलको बैठकमा अध्यक्ष थापाको उपर्युक्त आक्रोशले के देखाउँछ भने हिन्दु राष्ट्र स्थापना र राजतन्त्र पुन:स्थापनाको एजेन्डा बोकेका थापा र पूर्वराजा ज्ञानेन्द्रबीचको राजनीतिक सम्बन्ध पहिलेजस्तो रहेनछ । राजतन्त्रकालमा राजा ज्ञानेन्द्रका शाही पाश्र्ववर्ती तथा विश्व हिन्दु महासंघ (अन्तर्राष्ट्रिय)का अध्यक्ष भरतकेशर सिंहको भनाइले पनि यो कुरा पुष्टि गर्छ । सिंह भन्छन्, “राजसंस्थाप्रति त्यस्तो लान्छना लगाइएको छ । यसबाटै देखिन्छ नि सम्बन्ध कस्तो रहेछ भन्ने कुरा ?”

निर्मल निवासका अधिकारीहरू पनि थापाप्रति उत्तिकै कटाक्ष गर्छन् । राजतन्त्र स्थापनाको मुद्दालाई कमजोर बनाएको भन्दै उनीहरू थापाप्रति आक्रोशित छन् । उनीहरू भन्छन्, सिर्फ भोटका लागि थापाले राजतन्त्र पुन:स्थापनाको विषयलाई उछालेका रहेछन्, साँच्चिकै पुन:स्थापनाका लागि होइन । 

राप्रपाका एक वरिष्ठ नेताका भनाइमा खासमा दुई कारणले थापाप्रति निर्मल निवासको मोहभंग भएको हो । निर्मल निवाससँग पनि सुमधुर सम्बन्ध भएका ती नेताका भनाइमा पहिलो कारण ०७२ मा संविधान जारी हुँदा राजतन्त्रको विषयमा थापाले अडान लिन नसक्नु हो भने दोस्रो कारणचाहिँ राप्रपासँगको एकता । राप्रपासँगको एकतापछि गणतन्त्रको मार्गबाट थापा अरू विचलित भएको निष्कर्ष निर्मल निवासले निकालेको छ । र, त्यसको कारण पशुपतिशमशेर राणा नेतृत्वको राप्रपाले गणतन्त्रको पक्षमा मतदान गर्नु र तिनै राणासँग अहिले थापाले घाँटी जोडेकाले हो ।  

निर्मल निवासप्रति थापाको पनि उत्तिकै गुनासो छ । राजतन्त्र पुन:स्थापनाको मुद्दा बोके पनि आफूलाई यथोचित सहयोग नगरेको र आफूले उठाएको मुद्दालाई निर्मल निवासका अधिकारीहरूले सही रूपमा नबुझेको भन्दै आएका छन् थापाले । निकटस्थहरूसँग उनले भन्ने गरेका छन्, ‘राजतन्त्र पुन:स्थापनाको एजेन्डालाई निर्मल निवासले राजा ज्ञानेन्द्रको पुन:वहालीसँग जोडेर हेरिदिए । राजतन्त्र पुन:स्थापना भए मात्र राजा ज्ञानेन्द्रको पनि पुन:वहाली हुने हो । राजतन्त्र पुन:वहाली नहुने हो भने ज्ञानेन्द्रको पनि पुन:वहाली हुन सक्दैन ।’ गद्दीमा पूर्वराजा ज्ञानेन्द्रकै पुन:वहाली देख्न चाहिरहेकाहरू यस्तो तर्कका कारण पनि थापासँग चिढिएका हुन् । 

दुवैथरीका आ–आफ्ना तर्क भए पनि दुईबीच सम्बन्ध चिसिँदै जानुको मुख्य कारण राजनीतिक स्थितिमा आएको परिवर्तन नै हो । जस्तो कि, जताततै गणतन्त्रको माहोल रहेका बेला राजतन्त्रको कुरा गरिदिने एउटा राजनीतिक शक्ति चाहिएको थियो । त्यसैले हिजो निर्मल निवासका लागि थापा आवश्यक थिए । पूर्वराजाको समर्थन प्राप्त गर्ने हो भने राजावादीहरूलाई आफ्नो नेतृत्वमा गोलबन्द गर्न सहज हुने भएकाले राजनीति जोगाउन थापालाई पनि निर्मल निवाससँग निकट देखिनु थियो । त्यसैले हिजो दुवैथरी निकट थिए, विश्वासको सम्बन्ध थियो । अहिले दुवैलाई आफूहरू बलियो बनेको लाग्न थालेको छ, त्यसैले बिस्तारै टाढिन पनि थालेका छन् । 

कमजोर हुँदै थापा 

१४ वैशाखमा संसदीय दलको बैठक बहिष्कार गरेर सुब्बा निवासमा उपस्थिति जनाउने एक सांसद हुन्, विराज विष्ट । सांसद विष्ट राप्रपा नेपालबाट निष्कासित नेता केशरबहादुर विष्टका पुत्र हुन् । पिता विष्ट यतिबेला प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी)का वरिष्ठ नेता छन् । पुत्र सांसद विष्टका भनाइमा संसद्मा पेस गरिएको संविधान संशोधन विधेयक राष्ट्रियता प्रतिकूल भएकाले त्यसलाई असफल पार्न मात्र सुब्बा निवासमा भेला भएको हो, कसैको उक्साहटमा पार्टी विभाजनका लागि होइन । थप्छन्, “हामीप्रति पूर्वराजा ज्ञानेन्द्रको सरोकार छ भने त्योचाहिँ स्वाभाविक हो । किनभने, राष्ट्रियताको विषयमा पूर्वराजा र हाम्रो धारणा समान छ ।”

त्यो भेलाको उद्देश्य सिर्फ संविधान संशोधन विधेयक असफल पार्ने मात्र थिएन, राप्रपालाई विभाजन गर्ने तयारीसाथ भएको र असन्तुष्टहरूलाई पुठ दिन पूर्वराजाका सहयोगीद्वय सागर तिमिल्सिना र फणिराज पाठक संलग्न रहेको दाबी थापाले निकटस्थहरूसँग गरेका छन् । आफूले हिजोको जस्तो शक्तिशाली होइन, अधिकारविहीन सांस्कृतिक राजतन्त्र खोजेको थापाको भनाइ रहँदै आएको छ । र, त्यस्तो राजतन्त्र स्थापना हुँदा निर्मल निवासका आसेपासेहरूको स्वार्थ पूर्ति हुँदैन, त्यसैले उनीहरू आफूविरुद्ध खनिएको ठान्छन् थापा ।

हुन त राप्रपाले राजतन्त्र पुन:स्थापनाको मुद्दा छाडिसकेको छैन । बरू, थापा गणतन्त्रको पक्षमा मतदान गरेको पूर्वराप्रपाका नेताहरूलाई समेत आफ्नो बाटोमा हिँडाउन सफल देखिन्छन् । तर, पूर्वराजा निकटस्थहरूको कुरा सुन्दा के बुझिन्छ भने निर्मल निवास अब थापाले राजतन्त्र पुन:स्थापनाको मुद्दामा साथ दिनेमा विश्वस्त छैन । झन् उनले पूर्वराजाविरुद्ध मुख खोलिसकेको स्थितिमा निर्मल निवासले एकातिर राप्रपाभित्रै थापालाई कमजोर बनाउने र अर्कोतिर राप्रपा त्याग गरेका लोहनी नेतृत्वमा गठित एकीकृत राप्रपा (राष्ट्रवादी)लाई सहयोग र समर्थन गर्न सक्छ । 

१४ वैशाखमा सुब्बा निवासमा भएको भेलामा नौ सांसद मात्र उपस्थित भए पनि उनीहरूले उठाएको एजेन्डालाई समर्थन गर्ने सांसदको संख्या १९ रहेको दाबी असन्तुष्ट पक्षको छ । उनीहरूको दाबी सही हो भने यो संख्या राप्रपाका कुल ३७ को बहुमत हो । पार्टी विभाजनका लागि चाहिँ ४० प्रतिशत भए पुग्छ । पार्टीमा असन्तुष्टिका बाबजुद तत्काल फुट्ने स्थितिचाहिँ नरहेको दाबी गर्छन्, पार्टी नेता बुद्धिमान तामाङ । भन्छन्, “दुई पार्टी मिलेर बनेको संसदीय दल एक वर्षसम्म विभाजित हुन नपाउने कानुनी प्रावधान छ । सामान्य असन्तुष्टि जुनसुकै पार्टीमा हुन्छन् । सानो घटनाका आधारमा राप्रपा विभाजित हुने सम्भावना छैन ।” 

असन्तुष्ट पक्षका सुरेश आचार्यका भनाइमा संविधान संशोधन विधेयक पेस भए र पार्टी ह्वीपका बाबजुद असन्तुष्ट सांसदहरूले मतदान नगरे त्यसैलाई आधार बनाएर थापाले कारबाही गर्न सक्ने सम्भावना छ । राजप्रासाद सेवाका पूर्वसहायक सचिवसमेत रहेका आचार्य भन्छन्, “राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्ने ऐन, २०७३ ले विश्वास वा अविश्वासको मत, सरकारको नीति तथा कार्यक्रम, बजेट पारित र राष्ट्रिय सार्वजनिक विषयबाहेकमा ह्वीप नलाग्ने स्पष्ट व्यवस्था गरेको छ । यदि संविधान संशोधन विधेयकको पक्षमा मतदान नगरेको आरोपमा कारबाही गरियो भने असन्तुष्ट सांसदहरू अदालत जानेछन् ।”

पार्टीलाई तत्काल विभाजनबाट जोगाउन थापा प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएका छन् । तर, साँच्चिकै राप्रपामा निर्मल निवासको चलखेल बढेको हो भनेचाहिँ ढिलो–चाँडो यो फेरि विभाजित हुनेछ । असन्तुष्टमध्येका एक अर्का नेता भन्छन्, “एकतापछि थापामा दम्भ बढेको छ । कसैलाई गन्न छाडेका छन् । यही स्वभावका कारण पनि उनीसँग बस्न नसक्ने स्थिति सिर्जना हुँदै गएको छ ।” 

प्रकाशित: वैशाख २५, २०७४