‘नाटकमै छ मज्जा’

- मनबहादुर बस्नेत

नाट्य कलाकार, फिल्म अभिनेत्री, डकुमेन्ट्री निर्माताजस्ता थुप्रै परिचय छन्, लुनिभा तुलाधरका । यीमध्ये आफूले हात हालेका धेरै क्षेत्रमा केही समयका लागि कारणवश ‘ब्रेक’ लागे पनि नाटकमा भने उनी सक्रिय छिन् । हालै मात्र उनले शिल्पी थिएटरको कला निर्देशकको जिम्मेवारी पाएकी छन् । तुलाधरसँगको संक्षिप्त कुराकानी :

शिल्पीमा आएपछि योजना के छ ? 
नढाँटी भन्नुपर्दा त्यस्तो योजना बनाउनै पाएकी छैन । तर, मेरो मनमा एउटा रहर भने छ । काठमाडौँमा भएका सबै थिएटर मिलेर सानो नाटक महोत्सव गर्ने कि भन्ने सोच छ । महोत्सव नभएको धेरै भइसक्यो ।  

गुरुकुलले गरेको कामलाई निरन्तरता दिने ? 
अन्तर्राष्ट्रिय स्तरको होइन, नेपालका नाटकहरू मात्रै गर्ने । गुरुकुलले बाहिरका नाटकलाई पनि समावेश गरेको थियो । 

यस्तो महोत्सवको उद्देश्यचाहिँ के हुन्छ ? 
नाटकमा संलग्नहरू एक किसिमले ‘आइसोलेटेड’ छन् । भेटघाट त हुन्छ तर उनीहरू मिसिएर काम भने गरेको पाइँदैन । यो महोत्सवले सँगै काम गर्ने वातावरण बनाइदिन सक्छ, जसले आपसमा सम्बन्ध कसिलो बन्छ । एउटा थिएटरले अर्कोलाई सहयोग गर्न सक्छ । 

थिएटरका दर्शक एकदमै सीमित हुनुको खास कारण के रहेछ ? 
हामीले एकै किसिमका दर्शकलाई मात्रै लक्षित गरेर नाटक बनाइरहेका छौँ । 

उसो भए अब के गर्ने त ? 
नाटकका प्रकार, स्थान र प्रवद्र्धनको तरिका परिवर्तन गर्ने हो भने नयाँ दर्शक पाउन सकिन्छ । त्रिसरामा नाटक प्रदर्शन हुँदा हलिउडका दर्शकसमेत आएका थिए ।

अब कस्ता प्रकारका नाटक बनाउनुपर्ला ? 
उच्च र मध्यम वर्गीय दुवैलाई हुने किसिमले छान्नुपर्छ । किनभने, फिल्महरू मल्टिप्लेक्सका लागि बनिरहेका छन् । अहिले भइरहेको र कुलीन वर्गकालाई हुने नाटक बनाएर प्रवद्र्धन गर्न सकिएमा नाटकका दर्शक बढाउन र थप्न सकिन्छ । 

प्रदर्शित अधिकांश नाटक अनुवादित वा पहिल्यै लेखिएकाहरू देखिन्छन् । नयाँ नाटक नलेखिएकाले पनि दर्शकको आकर्षण नबढेको हो कि ? 
केही नयाँ नाटक लेखेर प्रदर्शन पनि भएका छन् । तर, वर्चस्व भने पुराना वा अनुवादित नाटकको मात्रै छ । पहिले नै सफल परीक्षण भइसकेकामा प्रवद्र्धन गर्न सजिलो हुन्छ । तर, नयाँमा के हो के हो भन्ने हुन्छ । त्यही भएर हामी डराएका पनि हुन सक्छौँ । 

यदि अवस्था यस्तो हो भने नयाँ नाट्य सर्जक र निर्देशकहरूलाई कसरी विश्वासमा लिनुहुन्छ ? 
नाट्य कलाकार, निर्देशक र लेखकहरूको एउटा कार्यशाला गर्न सकिन्छ । नयाँ र पुराना नाटककारहरूलाई राखेर दर्शकलाई के चाहिएको छ भन्ने कुरा खोज्न सकिन्छ । 

कार्यशालाले मात्रै पुग्ला र ? अनुसन्धानको खाँचो पनि पर्ला नि ? 
अनुसन्धान त अपरिहार्य छ । किनभने, नाटक भनेको कला मात्रै होइन, एउटा कालखण्ड हो । यसले इतिहास बनाउँछ । तत्कालीन समय कस्तो थियो, समाज कस्तो थियो भन्ने नाटकले बुझाउँछ । नाटक भनेको हामीले समाजलाई के दिइरहेका छौँ भन्ने जिम्मेवारी पनि हो । 

थिएटरका समस्याचाहिँ के हुन् अहिले ? 
हाम्रोमा अहिले एउटा समस्या छ । एउटा ब्याच आउने, पढ्ने अनि जाने । कलाकार उत्पादन त गरियो । तर, पढिसकेपछि सबै अन्य पेसामा फर्किरहेका छन् । टिकाउन सकिएको छैन । 

किन ? 
पहिलेको तुलनामा राम्रो भए पनि नाट्य कलाकारलाई मन फुकाएर खर्च गर्ने गरी पैसा छैन । 

नाट्य कलाबाट फिल्ममा जान खोज्ने कारण पैसा नै हो ? 
मुख्य कुरा त पैसा नै हो । त्यसपछि फिल्म जगत्को आकर्षण हो । किनभने, नाटकभन्दा फिल्मको ग्ल्यामर, दर्शक र चमकधमक धेरै छ । यो संसारभरकै ट्रेन्ड हो । 

तपाईंले केही फिल्म पनि खेल्नुभयो । तर, जम्न नसकेर नाटकमै अडिनुभएको हो ? 
दयाहाङ राईलगायतका साथीहरूले फिल्म खेल्न बोलाउनुहुन्छ । म फिल्म नै खेल्छु भनेर लोभ गरेर हाम फालेकी छैन । नाटकलाई चाहिँ म केही गरी छोड्दिनँ । 

नाटक, फिल्म खेल्नुभयो । डकुमेन्ट्री पनि बनाउनुभयो । सबैभन्दा मज्जाचाहिँ केमा आयो तपाईंलाई ? 
नाटकमै छ मज्जा । 

किन ? 
लाइभ प्रतिक्रिया पाइन्छ । फिल्मको प्रतिक्रिया पछाडि पाइने हो । त्यो सत्य हुन पनि सक्छ, नहुन पनि सक्छ । आँखैअगाडि पाइने प्रतिक्रियाजत्तिको भरपर्दो मूल्यांकन कलाकारका लागि केही पनि हुन सक्दैन । 

प्रकाशित: वैशाख २२, २०७४