घुम्तीमा ऐना

- विमल खतिवडा

चितवनमा पर्ने नारायणगढ–मुग्लिन सडक खण्डको स्तरोन्नतिको काम जारी छ । अहिले ठाउँ–ठाउँमा पहाड कटिङको काम भइरहेको छ । यो खण्डमा दैनिक दुईतर्फी गरेर १३ हजारभन्दा बढी सवारी साधन गुड्छन् । निर्माणले गर्दा सडक साँघुरिएको छ । जहाँ अप्ठ्यारो घुम्ती आउँछ, त्यहीँ सवारी साधनबीच ओभरटेक गर्न प्रतिस्पर्धा चल्छ । यसले गर्दा दुर्घटनाको जोखिम बढी छ । सवारी चापले गर्दा प्रहरीले यस्ता घटनालाई निरुत्साहित गर्न सकेको छैन । 

कहिले ठूला ढुंगा खसेर त कहिले सुक्खा पहिरोले यो खण्ड अवरुद्ध हुने गर्छ । सडकमा एउटा सवारी साधन बिग्रिए पनि दुईतर्फी नै आगमन बन्द हुन्छ । नारायणगढदेखि मुग्लिनसम्मको दूरी ३६ किलोमिटर मात्र छ तर पार गर्न घन्टौँ लाग्छ । 

दुर्घटनाको जोखिम बढेसँगै न्यूनीकरण गर्न भन्दै सडकको चार ठाउँमा कन्भेक्स मिरर राखिएको छ । घुम्तीमा मिरर राखिएकाले कताबाट सवारी साधन आउँदै छ भनेर देखिन्छ । जसले गर्दा गाडीको गति सुस्त गरेर चलाउन मिल्छ । सडकको पाँचकिलोदेखि कालीखोलासम्म पहिरोको खतरा छ । यही ठाउँमा ओभरटेक बढी हुन्छ । हालसम्म सडक निर्माणको काम ४६ प्रतिशत मात्र पूरा भएको छ । 

प्रकाशित: वैशाख २२, २०७४