'नूर'मा उज्यालोभित्रको अँध्यारो

- गोकर्ण गौतम

बलिउडमा महिला चरित्र प्राय: ‘सो–पिस’ हुन्छन् । कि त ग्ल्यामर कि पुरुषपात्रले आफ्नो शक्ति देखाउने माध्यमका रूपमा नारीलाई स्थान दिइन्थ्यो । तर समाजका विभिन्न क्षेत्रमा महिलाको प्रभुत्व बढेसँगै बलिउडमा महिलाकेन्द्रित फिल्मको नयाँ ट्रेन्ड सुरु भएको छ । सहायक होइन, फिल्मको पूरापूर भार नै नारी पात्रले बोक्न थालेका छन्, खासगरी कंगना रनावतको क्वीन सफलतापश्चात् । दबंगमा चास्नी भूमिकाबाट डेब्यु भएकी सोनाक्षी सिन्हा पनि नारीप्रधान सिनेमाको हिस्सा बन्दै छिन ।

अकिराबाट सकारात्मक प्रतिक्रिया पाएसँगै उनी नै ‘हिरो’ रहेको नयाँ फिल्म रिलिज भएको छ, नूर । यसमा उनी आफूले चाहेजस्तो विषयमा रिर्पोटिङ गर्न नपाएकी दु:खी पत्रकारको भूमिकामा छिन् । चरित्रचित्रण र त्यसको प्रभावकारिताका हिसाबले उनको यो पात्र अब्बल छ । सुन्हिल सिप्पी निर्देशित यो फिल्म पाकिस्तानी लेखिका सबा इम्तियाजको कराँची : यु आर किलिङ मीमा आधारित छ । तर मध्यान्तरपछिको अधिकांश दृश्यमा जर्बजस्त निर्देशकको दर्शन लाद्न खोज्दा कलात्मकता गुमेको छ । 

मुम्बईको एक टेलिभिजल च्यानलमा समाचार रिर्पोटिङ गर्छिन्, नूर राय चौधरी (सोनाक्षी) । उनी समाजको गहन र वास्तविक सवाललाई पस्कन खोज्छिन् तर उनको हाकिमले बलिउडको मसलेदार खबर सम्प्रेषण गर्ने जिम्मा दिन्छन् । जसको आममानिसको जीवनमा खास अर्थ राख्दैन । सोही कारण पत्रकारिता पेसाप्रति लगाव भए पनि नूरमा निराशा छाउँदै जान्छ । राम्रो अवसर पाउँदिनन् तर रिर्पोटिङकै सिलसिलामा एउटा यस्तो घटनाको साक्षी बन्नुपर्छ, जसले नूरलाई समस्यामा पार्छ नै, सँगै आत्मविश्वास र क्षमता देखाउने अवसर पनि मिल्छ । त्यो घटना के थियो ? र, पत्रकारका रूपमा उनले समाज परिवर्तनमा कस्तो भूमिका खेल्छिन् ? यिनै सवालको जवाफसँगै फिल्म सकिन्छ तर क्लाइमेक्स फितलो मात्र होइन, निकै बनावटी पनि लाग्छ । 

मुम्बईमा बस्ने भए पनि नूर नक्कल–झक्कल जान्दिनन् । न त चेपारे घसेर कसैलाई खुसी बनाउन नै सक्छिन् । इमानदार हिसाबले प्रभावकारी पत्रकारिता गर्न चाहन्छिन् । तैपनि समय उनको पक्षमा उभिँदैन । धेरैजसो अवस्थामा हाँसोको पात्र बन्नुपर्छ । सहरिया र आधुनिक भनिने स्वार्थी जीवनशैली अपनाउन नसक्नेको साझा पीडा हो, यो । त्यसैले नूर हेरिरहँदा आफ्नो करिअर बनाउन संघर्षरत जोकोहीले अपनत्व महसुस गर्छ । त्यस्तै, पत्रकारिताभित्रको फोहोरी खेल अनि समाजसेवाका नाममा हुने अपराधलाई मिहिन शैलीमा केलाइएको छ । तर समस्या यो छ कि, फिल्म पूर्णरूपमा एकै पात्रमा केन्द्रित हुँदा समाजका फरक आयामलाई रसिलो शैलीमा पस्कन निर्देशक चुकेका छन् । नूरको चरित्र स्थापित गर्न र मुम्बईको जीवनशैली देखाउन फजुल दृश्य खर्च गरिएको छ । उपन्यासको मूल मर्मलाई भारतीय सन्दर्भमा रूपान्तरण गरे पनि कथा भन्ने शैली चुस्त हुन सकेको छैन । एकल पात्रमा आधारित अधिकांशका फिल्ममा यस्तै समस्या हुन्छ । 

नूरसँग जोडिन आउने अरू पात्रको भूमिका छोटो भए पनि यादगर छ । अन्तर्राष्ट्रिय मिडियामा काम गर्ने पत्रकार अयान बनर्जी (पुरव कोहली), विन्दास स्वभावकी नूरकी साथी जरा (शिवानी दान्डेकर) र व्यवसायमा आबद्ध नूरको बाल्यकालदेखिको साथी साद सहगल (कनन गील)ले दर्शकलाई ‘रिफ्रेस’ गराउँछन् । त्यसमाथि कथामा ‘ट्वीस्ट’ ल्याउने भएकाले अयान अझ विशेष लाग्छ । पटकथा कसिलो नभए पनि संवाद भने बलियो लाग्छ । अन्त्यतिर मुम्बईमा कसरी मानवीयता र इमानदारी हराइरहेको छ भनेर नूरले बनाउने भिडियो त्यतिकै सशक्त छ । निर्देशकले मुम्बई भनेर विकास र आधुनिकताको गतिमा तीव्ररूपमा लम्किरहेको सहरलाई बुझाउन खोजेका छन् । ‘गुलाबी...’ र ‘उफ ए नूर...’ गीतले मन जित्छ ।

सोनाक्षीले फेरि एकपटक आफूमा जस्तोसुकै चुनौतीपूर्ण भूमिकालाई न्याय गर्ने सामथ्र्य रहेको प्रमाणित गरेकी छन् । एउटी पत्रकार र युवतीको मनोविज्ञानलाई अभिनयमार्फत जीवन्त बनाएकी छन्, उनले । अकिरापछि यो नूर चरित्र उनकै करिअरमा अग्रपंक्तिमा आउँछ । बाहिर इमानदार तर भित्री नियत खराब रहेको भूमिकामा पुरव जमेका छन् । शिवानी र कननले पनि आफ्नो भूमिकामा स्वाभाविकता दिएका छन् । कलाकार छनौट र तीनको प्रस्तुतिमा निर्देशकले पकड कायम राखेका छन् । 

सोनाक्षीका फ्यान र सामाजिक विषयको पारखीका लागि हो, नूर । अरूको आँत नभरिनसक्छ । 

प्रकाशित: वैशाख २२, २०७४