हर्षबहादुरको हर्षबढाइँ

  • हर्षबहादुरको हर्षबढाइँका लागि अनावश्यक रूपमा भेला पारिएका शुभकामनाले स्मृतिग्रन्थलाई कुनै संस्थाको बुलेटिनजस्तो बनाएको छ ।

- सन्तोष आचार्य

अवकाशपछि पेन्सन बुझ्दाबुझ्दै जीवनको उत्तराद्र्ध सक्छन् भन्ने आमगुनासो हुन्थ्यो कुनै बेला । तर, पछिल्लो समय हाम्रो लाहुरे समुदाय कुनै न कुनै रचनात्मक काममा सक्रिय देखिन थालेको छ । व्यावसायिक कर्ममा होस् वा सामाजिक क्षेत्र अथवा राजनीतिक वृत्तमा, लाहुरे समुदायले आफ्नो उपस्थिति फराकिलो बनाउँदै लगेको छ । 

आजभन्दा झन्डै पाँच दशकअघि भैरहवामा अवकाशपछिको जीवनलाई रचनात्मक कर्ममा होम्ने सामाजिक आधार नै तयार थिएन । सहर बनिनसकेको देहातजस्तो भैरहवामा एक जना लाहुरे झुल्किए । भारतीय सेनाबाट अवकाश लिएर कर्मथलो भैरहवा फर्किएका ती लाहुरेलाई आखिर के कुराले प्रेरणा दियो, जसले उनलाई समाजप्रतिको दायित्वमा निरन्तर कटिबद्घ बनाइरह्यो ? प्रसंग हो, हर्षबहादुर बुडामगरको । पहिलो लाहुरे विद्यावारिधि डा हर्षबहादुर बुडामगर स्मृतिग्रन्थ नियाल्ने हो भने उल्लिखित प्रश्नको जवाफ प्राप्त हुन्छ ।

शिक्षाको दियो बल्न नसकेको ०२६ सालतिरको भैरहवामा सिद्घार्थ कलेजको स्थापना आफैँमा कोसेढुंगा थियो । कलेज स्थापनाका सूत्रधार थिए, पल्टनमा राइफल बिसाएर कलम बोकेर कर्मथलो छिरेका हर्षबहादुर । उनी कलेजको संस्थापक प्रिन्सिपल मात्र थिएनन्, पढ्न प्रेरित गरिरहने अनुशासनप्रिय एक अभिभावक पनि थिए । सिद्घार्थ कलेजदेखि पक्लिहवा स्कुल सञ्चालनमा उनको सक्रियतालाई स्मरण गर्नेहरूको ठूलै पंक्ति छ, भैरहवामा अहिले पनि ।

खासमा हर्षबहादुरका पिता त्यतिबेला दुर्घटनाको सिकार भए, जतिबेला उनी दुई वर्षका मात्र थिए । निधन हुनुपूर्व हर्षका पिताले छोरालाई लाहुरे होइन, पढाइ–लेखाइतिर लगाएर विद्वान् बनाउने वचन लिएका थिए, आफ्नी अर्धांगिनी देवीकलासँग । तर, हर्षबहादुरको प्रारब्ध अलि विचित्रको थियो । बुबाको निधनपछि आर्थिक स्थिति लथालिंग र भताभुंग हुन पुगेपछि १५ वर्षको उमेरमा विद्यालय होइन, ब्यारेक पस्न बाध्य भए । भारतको गोर्खा राइफलमा आबद्घ भएर सन् १९४३ को दोस्रो विश्वयुद्घमा बर्मा फ्रन्टदेखि सन् १९४८–४९ मा जम्मु–कश्मीर युद्घ क्षेत्रमा संलग्नता अनि सन् १९५४ देखि दुई वर्षसम्म मलायन इमर्जेन्सीका क्रममा युद्घ लडेका हर्षबहादुरलाई अवकाशपछि के लाग्यो कुन्नि ! अध्ययनप्रति उनले अर्जुनदृष्टि राखे । भारतको आगरा विश्वविद्यालयबाट स्नातक मात्र गरेनन्, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पनि भ्याए । यत्तिमै उनी रोकिएनन्, पटना विश्वविद्यालयबाट विद्यावारिधि पनि सके, राजनीतिशास्त्रमा । 

सामाजिकदेखि शैक्षिक सेवा अनि साहित्य सिर्जनादेखि राजनीतिक सेवामा आफूलाई सक्रिय बनाउँदा बनाउँदै पनि उनले अध्ययन/अध्यापनलाई सँगसँगै लगे । ६३ वर्षको उमेरमा विद्यावारिधि गर्ने पहिलो लाहुरे र मगर समुदायबाट पनि सम्भवत: विद्यावारिधि गर्ने पहिलो व्यक्ति बनेर उनले शिक्षाको महत्त्व बुझाउने प्रयास गरे, खास गरी आफ्नो समुदायलाई । मानिसले आँटेपछि के गर्न सक्दैन ? अझ त्यसमा पनि अनुशासन र समयको महत्त्व बुझेको लाहुरेले । त्यसका ज्वलन्त उदाहरण हुन्, हर्षबहादुर । सैन्य जीवनबाट अवकाश प्राप्त गरेपछिको समयलाई समाजका लागि कसरी उपयोगी बनाउन सकिन्छ भन्ने उदाहरण हुन्, हर्षबहादुर । 

बाग्लुङको विकट गाउँ गलकोटमा नौ दशकअघि गरिब परिवारमा जन्मिएको साधारण व्यक्तिले आफ्नो अवकाशपछिको जीवनलाई साहित्य सिर्जनादेखि समाजका विविध आयाममा योगदानलाई अनिवार्य बनाउन सक्नु सबैका लागि सम्भव नहुन सक्छ । सायद, उनी केवल धर्तीको भार मात्र भएर बस्न चाहेनन् ।

समयको भागदौडसँगै आफू र आफ् ना परिवारमा मात्र केन्द्रित भइरहेका बेला हर्षबहादुरजस्ता सामाजिक क्षेत्रमा नि:स्वार्थ सक्रिय रहने व्यक्तिहरूलाई सलाम गर्ने संस्कार हामीले त्यागिसकेका छौँ । संवेदना गुमेको अनि आत्मकेन्द्रित बन्दै गएको हाम्रो जस्तो सामाजिक परिवेशमा हर्षबहादुरहरू सधैँ एक्लो बृहस्पति बन्नु आफैँमा अस्वाभाविक पनि होइन । 

नेपाली समाजमा आफ्ना पितापुर्खाका नाममा गुम्बा, मन्दिर, पाटीपौवा, चौतारो, पुलपुलेसा, धारा, कुवा आदि बनाएर उनीहरूका स्मृतिलाई ताजा राख्ने परम्परा छँदै छ । हर्षबहादुरका आफन्त र शुभचिन्तकहरूको अगुवाइमा प्रकाशन गरिएको यो स्मृतिग्रन्थ आफैँमा शिलालेख त होइन तर यसले हर्षबहादुरको कर्मठ जीवनलाई भने समेट्ने प्रयास गरेको छ । विशेषत: हर्षबहादुरका सैन्यजीवनदेखि शैक्षिक, सामाजिक, सांगठनिक एवं साहित्यिक सक्रियतालाई स्मृतिग्रन्थले अभिलेखीकरण गरेको छ । 

सात वर्षअघि मानव चोलो छाडिसकेका हर्षबहादुरको जीवनमा केन्द्रित यो स्मृतिग्रन्थको भाषाशैली चुस्त हुन सक्थ्यो । १ हजार ९६ पृष्ठको ठेली बनाउनुभन्दा यसलाई खँदिलो बनाउन सकिन्थ्यो । स्मृतिग्रन्थमा हर्षबहादुरको जीवनसँग जोडिएका भेटिएजतिका सबै तस्बिर समावेश गर्ने लोभ देखाइएको छ । खासमा हर्षबहादुरका महत्त्वपूर्ण आयामका तस्बिर मात्र समावेश गरेको भए पुस्तक अनावश्यक बोझिलो हुनबाट जोगिन सक्थ्यो । 

हर्षबहादुरको हर्षबढाइँका लागि अनावश्यक रूपमा भेला पारिएका शुभकामनाले स्मृतिग्रन्थलाई कुनै संस्थाको बुलेटिनजस्तो बनाएको छ । प्रकाशकले यस्तो शुभकामना बटुल्नुभन्दा सबैलाई पढ्न सहज हुने रूपमा यस स्मृतिग्रन्थलाई प्रकाशित गरेको भए धेरै पाठक लाभान्वित हुने थिए । तर, यो बेग्लै कुरा हो कि समाजमा साँच्चै योगदान दिएका यस्ता अभियन्तालाई शब्दमा सम्झनु आफैँमा स्तुत्य कार्य त हुँदै हो । 

पहिलो लाहुरे विद्यावारिधि

डा हर्षबहादुर बुडामगर 

सम्पादक    :    विमल भौकाजी, लक्ष्मी उप्रेती र रमेश शुभेच्छु 

प्रकाशक    :    डा हर्षबहादुर बुडामगर स्मृति प्रतिष्ठान

पृष्ठ    :    १,०९६

मूल्य    :    २,५०० रुपियाँ

प्रकाशित: वैशाख २२, २०७४