[अनुभूति] फेसबुक भित्ता

- विजय सिवाकोटी

व्यस्त जीवनशैली र विश्वव्यापीकरणको अवस्थामा फेसबुकले मित्रलाई मित्रसँग, आफन्तलाई आफन्तसँग, प्रेमीलाई प्रेमिकासँग भौतिक रूपले सँगसँगै भएको अनुभूति गराएको छ । खाडीमा भएको धनेसँग पाँचथरको बलबहादुर दाइले गाउँको हालखबर सुनाउन, चौतारीमै बसेर कुराकानी गरेजस्तै । अमेरिकामा पढ्दै गरेको छोरोलाई आमाले छेउमै भएजस्तो गरेर सन्चो–बिसन्चो सोध्न सक्छिन् ! एकछिन छुट्टिन पनि गाह्रो हुने प्रेमी–प्रेमिकाले घन्टौँ मेसेन्जरमा भिडिओ च्याट गरी गरी स्क्रिनमा आँखा जुधाएर कुरा गर्न सक्छन् । त्यो पनि सित्तैमा ! 

फेसबुकका निर्माता मार्क जुकरबर्गले विश्वभरिकै मान्छेको मनोभाव बुझेर दिन–रात नभनी प्रोग्रामिङ गरेर फेसबुक बनाइदिएका छन् † नत्र कसले फोन गरी गरी खर्च गरेर छिनछिनमा एकाबिहानै, अबेर राती, बेला–कुबेला सम्पर्क गथ्र्यो † यसर्थ, जुकरबर्गलाई धन्यवाद दिनैपर्छ । अनलाइन देख्यो कि च्याट गरिहाल्यो, त्यो पनि भिडियो च्याट । अझ लाइभ भिडियो राखे पनि भयो । एकैचोटि सबैलाई देखाउन पाइने । मैले पनि फेसबुकको भरपुर फाइदा उठाएको छु, आफ्ना रचना, गीतहरूलाई पोस्ट गरेर । लाइक र कमेन्टको ओइरो देखेर म पनि दंग पर्छु । एउटाले त ‘नेपाली गुलजार’ नै भनेर कमेन्ट पनि गरेको थियो । मलाई थाहा छ, म कस्तो लेख्छु– न गुलजार साहेब जस्तो, न कालीप्रसाद दाइजस्तो । म यति जान्दछु– म मैलेजस्तै लेख्छु । मित्रले धन्य, गालिबजस्तो भनेन मलाई । 

जे होस्, फेसबुकका भित्ता हेर्न रमाइलो हुन्छ । एक दिन अचानक एउटा भित्तामा मेरो आँखा पर्छ । एउटीले चुच्चो मुख पारेर खिचेर पोस्ट गरेको फोटोमुनि लाइक र कमेन्टको ओइरो देखेर म चकित भएँ । एउटाले ‘हाउ क्युट’ भनेर लेखेको रहेछ, प्रत्युत्तरमा ‘थ्यांक यू भेरी मच’ भन्ने कमेन्ट थियो । फेरि ‘यू आर वेलकम’ भनेर उत्तर दिइएको रहेछ । त्यो सौहार्दता र विनम्रताले म गद्गद् भएँ । त्यो पोस्टमुनि अर्को एउटा पोस्ट थियो । चिनेचिनेजस्तो लाग्ने एक जना फेसबुक मित्रको आफ्नो श्रीमतीसँगको प्रणय मुद्रा झल्किने खालको फोटो रहेछ । त्यसमा त कमेन्टको बाढी नै चलेको थियो । त्यस्ता फोटोहरू तलतल अरू युजरले पनि आफ्नो प्राणप्यारीसँग खिचाएका मुद्रामुद्राका फोटो पोस्ट गरेका रहेछन् । 

पुस्ता र उमेर अनुसार अनारकली, मुगल ए आजम, दिलवाले दुल्हनियाँ ले जाएंगेजस्ता फिल्मका पोस्टरजस्ता फोटो देखेर मैले पनि मेरो प्यारीसँगको त्यस्तै फोटा कल्पना गर्न थालेँ । अल्ट्रा मोडर्न पुस्ताका अल्ट्रा मोडर्न सोहनी महिवालहरूको फोटो त हलिउडका फिल्महरू द नोट बुक, टू द वन्डरका पोस्टरहरूजस्ता थिए ।

सबैमा उस्तै खालका कमेन्ट थिए– ‘बेस्ट कपल’, ‘मेड फर इच अदर’ आदि आदि । अनि, म रनभुल्लमा परेँ । 

सबै कपलहरू ‘बेस्ट कपल’ कसरी हुन सक्छन् । बेस्ट भनेको त गुड्को सुपर्लेटिव विश्लेषण हो’ अनि सबै जना निर्णायक र सबै जना प्रतिस्पर्धी कसरी हुन्छन् ! रोमियो जुलियट्, हीर राँझा, मुना–मदनको प्रेमलाई बिर्साइदिने यी तस्बिरहरू देखेर म सोच्छु, यो संसार कति प्रेममय छ ! मलाई लुई अंस्ट्रङको ‘वाट अ वन्डरफुल वल्र्ड’ गीत याद आउँछ । 

फेसबुकका भित्ताहरू हेर्न कम रमाइलो हुँदैन ! अर्को एउटा फोटो थियो । एक जना मित्रले एउटा नयाँ हुन्डाइ आइ टेनलाई एक हातले सुमसुम्याउँदै गरेको भान हुने र एउटा हात कम्मरमा राखेर छड्के परेको पोजमा खिचेको फोटो राखेको रहेछ । त्यसमुनि लेखिएको ‘मेरो सपना पूरा भयो’ क्याप्सन पढेर म छक्क परेँ । मलाई लाग्छ, सपनै देख्नु छ भने रोल्स रोयस वा बी एम डब्लू को देख्नु नि ! लिंकन, पृथ्वीनारायण, आइन्स्टाइन, मन्डेला र जोन लेननको सपना पनि के सपना ?

सरसर्ती तल स्क्रोल डाउन गर्दै हेर्छु– किशोर, किशोरी, तन्नेरी, अधबैँसे, मित्रहरूको जीवन–जगत् र प्रेमसम्बन्धी दर्शन पढ्दा, मलाई लाग्छ– मैले केही बुझेकै रहेनछु, संसार देखेकै रहेनछु, केही पढेकै रहेनछु । लाओत्सु, सोक्रेटस अनि फ्रन्सिस बेकनलाई किन दर्शनशास्त्री भनेको होला, म आफैँसँग सोध्छु । धन्यवाद फेसबुक मित्रहरूमा, मेरो आँखा खोलिदिएकामा, मलाई जगाइदिएकामा । कतै भित्ताहरूमा देख्छु व्यापारी, नेता, पत्रकार, एनआरएन मित्रहरूका राष्ट्रप्रेमले ओतप्रोत भावनाहरू । कति कलाकार साथीहरूले ‘अब नेपाली गीत–संगीत र कलाको सेवा गर्न आफ्नै देश फर्किंदै’ भनेर लेखेका लगभग बुढेसकालका अभिव्यक्तिले झन् तीन छक्क पर्छु । अत्यन्त आह् लादित हुन्छु । मलाई लाग्छ– भक्ति थापा, अमरसिंह, कालु पाँडेलाई इतिहासकारहरूले बिनासित्ती बढाइ–चढाइ गरेका रहेछन् । 

अर्को एउटा भित्ताले मेरो ध्यान अझै तान्यो । एक महिला मित्रले पूजा गर्दै गरेको मुद्रामा, एक हातमा घन्ट र एक हातमा आरतीको दियो बोकेर र क्यामेरातिर हेर्दै गरेको फोटो पोस्ट गरेकी थिइन् । म सोचमग्न हुन्छु– मैले भक्ति जानेकै रहेनछु । मलाई लाग्थ्यो, भक्ति नितान्त निजी चित्तदशा हो, जुन भक्त र भगवान्लाई मात्र थाहा हुन्छ । प्रार्थना त अन्तरमनको भावना हो, जुन कसैलाई पत्तै हुँदैन । भक्ति र प्रेम प्रचार–प्रसार गर्ने विषय हुँदै होइन । 

मेरो बुझाइ गलत रहेछ । मीरा, चैतन्य र रविदासलाई व्यर्थैमा ऊच्चकोटिमा किन राखेको होला ? 
कति सजिलो कसैदेखि रिस उठेको छ भने भन्नु/नभन्नु भित्तामा लेखे भइहाल्यो । अरूले देख्ने गरी गालीगलौज पनि गर्नु परेन । जसलाई गाली गरेको उसले मात्र बुझ्ने । अरूलाई सुइँकै नहुने । हात–पात गरेको भन्दा पनि शब्दले थप्पड हानेको छुट्टै मजा आउँछ । कति सभ्य तरिका झगडा गर्ने ! कोलाहल पटक्कै छैन । टोलभरिका मान्छेहरू भेला भएर तमासा हेर्ने पनि भएनन् । 

दिदीले ओल्लो कोठाबाट ‘फिलिङ् लन्ली’ लेख्न नपाउँदै, पल्लो कोठाबाट बहिनीको ‘सेम हियर’ भन्ने प्रत्युत्तर आउँछ । ‘आई एम प्राउड अफ माई सन । माई सन जोइन्ड अमेरिकन आर्मी !’ ‘फलानो राउतलाई अविलम्ब रिहा गर !’ ‘मानव अधिकार हनन भयो !’ र, न्युयोर्कको म्यानहटनको पबबाट लेखेको ‘मिसिङ माई कन्ट्री’जस्ता स्ट्याटस पढ्न पाउँदाको मजा छुट्टै छ ।
 
अचम्म त के छ भने ‘मेरो स्ट्याटस लाइक गरिदिएकामा धन्यवाद !’ भनेर लेखिएको स्ट्याटसमा पनि उत्तिकै लाइक आउँछन् । मेरो सानो प्रयास भन्दै गाएको नारायणगोपालको गीत गाउनेलाई भन्दा सुन्नेलाई लाज भन्ने खालका गायनलाई पनि ‘हाउ असम’, ‘ अति राम्रो’ भन्ने कमेन्ट त आउँछ, आउँछ । 

त्यत्तिकै सेयर पनि हुन्छ । त्यसको हौसलाले अर्को गीत राखेर फेरि ट्यागसमेत गरेको हुन्छ, आफ्ना फ्यानहरूलाई । 

हरेकपल्ट साइन इन गर्दा केही न केही हाँसउठ्ने कुरा पढ्न, हेर्न पाइन्छ । एड्डी मर्फी, जिम क्यारी र हरिवंश–मदनकृष्णहरूको अब जमाना गए । हाँस्न मन लाग्यो भने फेसबुक खोले भइहाल्यो । एक जना पण्डितले ‘अमेरिकाका फलानो युनिभर्सिटीबाट हाम्रा सुपुत्र फलानोले फलानो विषयमा विद्यावारिधि गरेकामा बधाई’ भन्दै वालमा लेखेका रहेछन् । छोराले पनि छुट्टै क्याप्सन राखेर पोस्ट गरेको कन्टेन्ट पढ्दा औधि रमाइलो भयो । सोचेँ– पण्डितलाई त थाहा हुनुपर्ने हो ‘विद्या ददाति विनयम्’ (विद्याले विनम्रता प्रदान गर्छ, विनम्र बनाउँछ) भनेर ।  

कमसेकम दर्शनशास्त्री छोरालाई त असजिलो लाग्नुपर्ने हो । गीतामा कृष्णले गल्ती पो भनेको हो कि– ‘ज्ञानीको स्वभाव भनेको ज्ञान भएर पनि वस्तुत: अहंकारशून्यको अवस्था हुनु हो ।’ मेरो विचारमा आफूले आफ्नै र आफ् नोको स्तुतिगान गरेर बधाईको अपेक्षा गर्नु अहंकारलाई मजबुत बनाउनु हो । बालमनोविज्ञानमा त झन् यसको नकारात्मक असर पर्दै जान्छ । हौसला प्राइवेसीमा पनि दिन सकिन्छ ।

म धनी छु भन्नै नपर्ने, पृष्ठभूमिमा गाडी र बङ्गला देखाइदिए भइहाल्ने । म प्रतिभावान् छु भन्नै नपर्ने, दोसल्ला ओढेर पुरस्कार थाप्दै गरेको फोटो राखिदिए भइहाल्ने ! म ज्ञानको खानी हुँ भन्नै नपर्ने, कन्भोकेसनको फोटो पोस्ट गरे भइहाल्ने । त्यतिले पनि नपुगेर नजिकका नातेदार र घनिष्ट मित्रहरूलाई सक्दो सेयर गर्न लाए भइहाल्यो । बाँकी काम भित्ताले गरी हाल्छ । 

काम छोडेर पनि हेरूँ–हेरूँ लाग्ने, बच्चालाई दूध ख्वाउँदा पनि पढूँपढूँ लाग्ने, अफिसमा बोसको आँखा छलेर पनि स्ट्याटस लेखूँलेखूँ लाग्ने– साँच्चिकै गज्जब छन् फेसबुकका भित्ताहरू ।

म हाँस्तै थिए उनै पण्डित र उनकै होनहार विद्यावारिधि सुपुत्रको अभिव्यक्ति पढेर । अचानक एउटा फेसबुक मित्रको स्ट्याटसमा आँखा परे र त्यसले मलाई भावुक बनायो । फोटोसहितको स्ट्याटसमा लेखिएको थियो, ‘अहिले भर्खर मात्र आमाको देहान्त भयो ।’ मैले आफैँलाई प्रश्न गरेँ– त्यस्तो दु:खद घडीमा स्वभावत: गहनतम् उदासी र किंकर्तव्यविमूढ हुने अवस्थामा कुन मनोविज्ञान र चित्तदशाले फेसबुक खोल्न र स्ट्याटस लेख्न प्रेरित गर्छ ? 

प्रकाशित: वैशाख २१, २०७४