फेरि अशान्त सहर

  • गोली प्रहार र अपहरणका घटनामा वृद्धि

- मनबहादुर बस्नेत

फागुन महिनामा दुई साताको अवधिमा राजधानीमा तीनवटा अपहरणका घटना भए । एक जनाको त ज्यान नै गयो भने एउटा घटनामा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भयो । यिनै घटनाको सिलसिला हो, मखनटोलका साडी पसले श्यामसुन्दर अग्रवालको अपहरण । प्रकाश लामिछाने, राधिका श्रेष्ठ, किशोर गिरी र सरोज घोरासैनीले अग्रवाललाई ४ फागुनमा अपहरण गरे । सुन्धाराको सनसाइन होटलमा पुर्‍याएपछि १० लाख रुपियाँ धरौटी लिएर उनीहरूले अग्रवालका हातगोडा बाँधिदिए र मुखमा टेप टाँसेर छोडिदिएका थिए । अपहरणकारीमध्ये एक अग्रवालको पसलमा काम गर्ने युवती नै थिइन्, राधिका । अपहरणको पोल खुल्ने भयले भोलिपल्टै अपहरणकारी समूहले आफ्नै सदस्य राधिकाको हत्या गरिदिएका थिए । 

लगालग अपहरणका घटनाले काठमाडौँ खाल्डोमा गुन्डागर्दी र आपराधिक गतिविधि बढेपछि धेरैलाई झस्काएको थियो । यसभन्दा ठूलो त्रास त त्यतिबेला भयो, जतिखेर अपहरण र हत्याका यी घटनामा खाटा नबस्दै गोली नै चल्न थाल्यो । जस्तो : २९ चैतमा गौरीघाटमा गुन्डा नाइके योगेन्द्र लामा (दाबा)माथि गोली प्रहार भयो । त्यसको ६ दिनपछि नै ललितपुरमा क्रिस्चियन महासंघका कार्यालय सचिव सन्तोष खड्का अर्को निसानामा परे । 

यी यस्ता घटना हुन्, जसले उपत्यका बिस्तारै फेरि अशान्त बन्दै गएको प्रस्ट संकेत गर्छन् । सबैभन्दा डरलाग्दो पक्ष त के छ भने लामामाथिको गोली काण्ड आपराधिक समूहबीचको दुस्मनीका कारण उत्पन्न भएको प्रहरीको निष्कर्ष छ । सुरक्षा निकायको यस्तो निष्कर्षले उपत्यकामा गुन्डागर्दी फेरि फर्किन थालेको बुझ्न सकिन्छ । साउन ०७१ मा दिनेश अधिकारी (चरी) र भदौ ०७२ मा कुमार श्रेष्ठ (घैँटे) प्रहरी इन्काउन्टरमा मारिएपछि गुन्डागर्दीमा संलग्नहरू तितरवितर भएका थिए । धेरैजसो विदेशतिर आश्रय लिन पुगेका थिए । यतिसम्म कि दावासमेत श्रीलंका भागेका थिए (हेर्नूस्, डायस्पोरातिर डनहरू, ५ असार ०७३) ।

लामो समयदेखि संगठित गुन्डागर्दीमा संलग्न व्यक्ति हुन्, दावा । उनी गुन्डागर्दीमा कुख्यात काभ्रेली समूहमा संगठित थिए । काभ्रेली समूह गणेश लामाको समूह हो । प्रहरीको अभिलेखमा दावा ठेक्कापट्टा, जग्गा प्लटिङ, क्यासिनो खेल्नेहरूलाई मिटर ब्याजमा पैसा लगानी गर्छन् । काजी शेर्पा, कुमार घैँटेको समूहमा समेत रहेर दावाले काम गरेका थिए । 

रहस्यमय गोलीकाण्ड
दावालाई गौरीघाटमा दिव्य पार्टी प्यालेसमा छिर्नै लाग्दा पैदल नै आएका एक जनाले गोली हानेर भागेको दृश्य सीसीटीभी फुटेजमा देखिन्छ । त्यति मात्र होइन, घटनालगत्तै लोप्साङ राई बताउने व्यक्तिले आफ्नो योजनामा गोली हानिएको भन्दै जिम्मा लिएका थिए । तैपनि, प्रहरीले यो घटनाको छेउटुप्पो केलाउन सकेको छैन । अलमलमा छ ।

दावाले आफूलाई रेस्टुराँ व्यवसायी राम गिरीको योजनामा गोली हानेको हुन सक्ने प्रहरीलाई बताएका थिए । अघिल्लो माघमा गिरीमाथि आक्रमण गरेपछि पक्राउ परेका दावा गत फागुनमा मात्रै छुटेका थिए । त्यही दुस्मनी साँध्न आफूमाथि गोली हानिएको दावाको दाबी थियो । प्रहरीमा गिरीकै नाम तोकेर दावाले जाहेरी दर्ता गराएका छन् । तर, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छविलाल जोशीलाई नै फोन गरेर राईले आफ्नो योजनामा गोली हानेको बताएपछि प्रहरी झनै अलमलमा परेको छ । 

अपराध कबोल गर्ने राईको यो शैली यसअघि रुपन्देहीमा ४ पुस ०७३ मा भएको एमाले निकट युवा संघसम्बद्ध दुर्गा तिवारी हत्या काण्डसँग मेल खान्छ । तिवारीको हत्यापछि मनोज पुनले यसै गरी प्रहरीलाई टेलिफोन गरेर जिम्मा लिएका थिए । राई पुनकै समूहमा आबद्ध भएको प्रहरीको भनाइ छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार आफूलाई शक्तिशाली देखाउन गुन्डागर्दीमा संलग्न व्यक्तिहरूले यसरी घटनाको जिम्मेवारी लिने गर्छन्, ता कि आफ्नो नामै सुनेपछि सहजै आर्थिक उपार्जन गर्न सकियोस् । 

बुटवलमा जन्मिएका पुनको आपराधिक समूहले तिवारी घटनापछि काठमाडौँ उपत्यका र विराटनगरका व्यापारीहरूबाट मोटो रकम उठाएको प्रहरी स्रोत बताउँछ । तर, यसबारे कसैले पनि उजुरबाजुर भने गरेका छैनन् । “आफ्नो ब्रान्डिङ हुने र त्यसबाट समाजमा त्रास फैलाउन सहज हुने हुँदा उनीहरू प्रविधिको प्रयोगबाट आफूलाई समेत सुरक्षित राखेर यस्ता घटनाको जिम्मेवारी खुलेआम स्वीकार गर्छन्,” महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) प्रकाशजंग कार्की भन्छन्, “अब जिम्मा लिनेले नै दावालाई गोली प्रहार गरेको हो वा होइन, अहिले यसै भन्न सकिँदैन । हामी अनुसन्धानकै चरणमा छौँ ।” 

हुन पनि प्रहरीको अनुसन्धानलाई अलमल्याउनसमेत यस्तो टेलिफोन आएको हुन सक्छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए पनि प्रहरी निचोडमा पुग्न सकेको छैन । “यसै भन्न सकिन्न,” महाशाखा प्रमुख एसएसपी दिनेश अमात्य भन्छन्, “यसबारे धेरै कुरा बाहिर ल्याउन मिल्दैन ।”

लामा गोलीकाण्डलगत्तै राजधानीमा अर्को गोली प्रहारको घटनासमेत भयो । ४ वैशाखको साँझ क्रिस्चियन महासंघका खड्कालाई मोटरसाइकल चलाइरहेका बेला मानभवनमा गोली हानिएको थियो । तर, कसले किन गोली हान्यो भन्ने पोको फुकाउन प्रहरी असमर्थ छ । यो घटना त प्रहरीकै लागि समेत अनौठो छ । किनभने, घटनालगत्तै न त खड्काले प्रहरीलाई सूचना दिए, न जिल्ला प्रशासन कार्यालय नजिकै भएको गोली प्रहारबारे प्रहरीले नै चाल पायो । यो घटनाबारे प्रहरीले तीन दिनपछि मात्रै भेउ पायो, त्यो पनि खड्काको उपचार पाटन अस्पतालमा भइरहेका बेला । “ढिलो जानकारी आएकाले अनुसन्धानमा जटिलता पैदा भएको छ,” महाशाखाका एसएसपी अमात्य भन्छन् । 

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार खड्काले प्रहरीलाई दिएका केही विवरण नै अपत्यारिला छन्, जसले अनुसन्धानलाई झनै अप्ठ्यारोमा पारिदिएको छ । प्रहरीसँग खड्काले गरेको दाबी अनुसार उनले जिल्ला प्रशासनपछाडिको सडकमा पुग्दा केही पड्केजस्तो आवाज सुनेका थिए तर उनी नरोकिई घर गए । कपडा फेर्न खोज्दा मात्रै आफ्नो कोख छेउमा रगत आएको थाहा पाएको उनले प्रहरीलाई बताएका छन् । त्यसपछि सातदोबाटोस्थित गणेश अस्पतालमा गए र त्यहाँ घाउ सफा गराएर फर्किए । तर, घर फर्केपछि समेत घाउ दुख्न नछोडेपछि उनी ग्वार्कोस्थित किस्ट मेडिकल कलेज/अस्पताल पुगेर एक्सरे गरेपछि मात्रै आफूले गोली लागेको थाहा पाएको दाबी गरेका छन् ।

तर, गोली लागेको चाल पाएपछि समेत उनले प्रहरीलाई जानकारी गराएनन् । खड्काले घटना किन लुकाउन खोजे र उनलाई कसले गोली हान्यो भन्ने पाटो खोल्न प्रहरी असमर्थ छ । “यसको उत्तर दिने अवस्थामा हामीसमेत छैनौँ,” महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी ठूले राई भन्छन् । उनलाई ७.८ एमएमको गोली लागेको छ ।

पुरानैहरूको बिगबिगी
राजधानीमा गोली प्रहार, अपहरण र फिरौती काण्ड भइरहँदा त्यसमा पुरानै आपराधिक पृष्ठभूमिका मानिस संलग्न रहेको पाइएको छ । यसले पुरानाहरू अपराध कर्ममा पुन: फर्किएको पुष्टि गर्छ । जस्तो : दुर्गाबहादुर तामाङ, पदमबहादुर तामाङ, केशव पाख्रिन, नवलपरासीका वीरबहादुर तामाङ र सचिन खवासको समूह । नवलपरासीमा चोरी मुद्दामा जेल बसेका यिनीहरूले घ्याङफेदी नुवाकोटका मनदोर्जे तामाङ, विशाल तामाङ र कुमार तामाङलाई अपहरण गरे, १९ फागुनमा । 

बौद्धबाट अपहृत तामाङत्रयसँग ६ लाख रुपियाँ फिरौती मागिएको थियो । प्रहरीलाई खबर गरेर फिरौती बुझाउन जाँदा अपहरणकारी र प्रहरीबीच खुसिबुस्थित विष्णुमती खोला किनारामा गोली हानाहान नै भयो । अपहरणकारीबाट जापानी पेस्तोल र गोली फेला पार्‍यो प्रहरीले । एसपी कार्की भन्छन्, “नवलपरासी जेलमा भेट भएका उनीहरूले बाहिर निस्किएपछि अपहरण गर्ने र पैसा कमाउने योजना बनाएको देखिन्छ ।” 

चार वर्षअघि अपहरण अभियोगमै पक्राउ परेर दुई वर्ष जेल बसेका विष्णु बेलबासेसमेत पुन: अपहरण र फिरौतीको दुनियाँमै फर्किएपछि पक्राउ परे । व्यापारी, विद्यालय सञ्चालकहरूलाई पैसा नदिए छोराछोरी अपहरण गरिदिने भन्दै धम्क्याएर उनी पैसा असुल्ने गर्थे । सांसदसमेत रहेका सिद्धार्थ वनस्थली स्कुलका सञ्चालक लक्ष्मण राजवंशीलाई समेत बेल्बासेले धम्की दिएर रकम असुल्ने प्रयास गरेका थिए । “छोराछोरी पढ्ने स्कुलको नाम लिएरै धम्क्याएपछि धेरैबाट उसले रकम असुलेको देखिएको छ,” एसपी कार्की भन्छन् । बेल्बासे यसअघि राजकुमार ढुंगानालाई अपहरण गरेको अभियोगमा पनि पक्राउ परेका थिए । 

विगतका वर्षहरूसँग तुलना गर्दा उपत्यकाको समग्र अपराधको चित्र स्थिर देखिए पनि अपहरण, फिरौती र गोली हानाहानजस्ता गम्भीर प्रकृतिका घटनामा भने केही महिनायता वृद्धि भएको छ । फागुनदेखि वैशाखसम्म अपहरण र गोली हानाहानका आधा दर्जन घटना भएका छन् । “प्रहरीले चाहने हो भने गुन्डागर्दीमा संलग्नहरूलाई सहजै नियन्त्रण गर्न सक्छ,” नेपाल प्रहरीका पूर्वएआईजी नवराज ढकाल भन्छन्, “प्रहरीले एउटालाई च्याप्ने र अर्कालाई कडाइ गर्ने गरेमा यस्ता घटना शृंखलाबद्ध रूपमा भइरहने खतरा हुन्छ ।” 

प्रकाशित: वैशाख २१, २०७४