ग्रेट गुरु

  • जमानाका ‘फेसनेबल’ हिरो विश्व बस्नेतको फ्ल्याट सुनसान छ । बैठककोठामा हिरो–हिरोइन या आफ्नै फोटो छैन ।

- राजकुमार बानियाँ

बुद्धनगर, स्तूपा कोलोनीको एकान्तबासमा छन्, पुराना अभिनेता/निर्देशक विश्व बस्नेत, ७१ । चुपचाप । गुमनाम । एक्लै । फुर्सदिला दिनमा ध्यान गरे पनि भयो, कविता लेखे पनि भयो । क्यान्सरबारे अनुसन्धान गरे पनि भयो, स्वस्थ जीवनको ‘टिप्स’ खोजे पनि भयो । जमानाका ‘फेसनेबल’ यी हिरोको फ्ल्याट सुनसान छ । बैठककोठामा हिरो–हिरोइन या आफ्नै फोटो छैन । बरू भित्तामा, र्‍याकमा, घडीमा जताततै साईबाबाका तस्बिर छन् । सँगै ओशो, रविशंकर, महेश योगी, भावातीत ध्यान, ब्रह्मकुमारी, विपश्यनाका सामग्री पनि ।

चार दशकको फिल्मी करिअरमा विश्व बस्नेतको सम्झाउनी–बिर्साउनी भनेकै सिन्दूर (०३५) हो । फिल्म या नाटकमा कुनै रोल नगरी सात हजार रुपियाँ पाउने गरी एकैचोटि हिरोमा छनोट भएका थिए, विश्व । त्यो पनि ‘अडिसन’ दिएर । “साँच्चै भन्ने हो भने मलाई गायनमा रहर थियो । एल्भिस प्रेस्ले, क्लिफ रिचार्ड, बिटल्सका संगीत सुन्थेँ,” उनी भन्छन्, “दार्जीलिङ घुम्न जाँदा गितार किनेर ल्याएको थिएँ । विराटनगरमा गाएर गोल्ड मेडल पनि पाएको थिएँ ।” यत्ति हो, ऐना हेर्दा उनी आफूलाई हिरोजस्तो ठान्थे । उनलाई लाग्थ्यो, देवानन्द, शम्मी कपुरभन्दा के कम छु र ? 

शाही नेपाल चलचित्र संस्थानले बनाएको त्यो फिल्म सुपर डुपर हिट भयो । अशोक हल पाटनमा ५० हप्ता मनायो । कति ‘पपुलर’ भने विश्वलाई बाटोमा रुमालले मुख छोपेर हिँड्नुपथ्र्यो । काँकडभिट्टामा बसेको घरवरिपरि भीड लागेको देख्दा विश्वासै लागेन । कालो सिसा भएको गाडीमा फर्कनुपर्‍यो विराटनगर । 
त्यतिबेला तीन जना हिरो थिए नेपालमा । आमाका शिवशंकर, कुमारीका सल्यान केसी र माइतीघरका सीपी लोहनी । तर, स्टारडम देखाए विश्व बस्नेतले । १२ चोटि फिल्म हेरेका दर्शक भेटिन्थे । विकास (सुमन) र उषाका सबै डाइलग कण्ठस्थ । तर, उनले भने जम्मा एकचोटि हेरे । त्यो पनि भुटानमा ।

कारण थियो, निर्देशक प्रकाश थापासँगको द्वन्द्व । “प्रकाश फुपूको छोरा भए पनि म बकाइदा अडिसनबाट छानिएको थिएँ,” उनी सम्झन्छन्, “खासमा त प्रकाश नै त्यसको हिरो बन्न चाहन्थे तर संस्थानले उनलाई निर्देशनको मात्र जिम्मा दियो ।” 

प्रकाशले फिल्मको प्रिमियरमा पनि विश्वलाई बोलाएनन् । बरू भारतमा वितरणको जिम्मा लिएका शम्भूनाथ अग्रवाल उनलाई खोज्दै विराटनगर पुगे । “भुटानी राजाकी फुपूको फुन्युलिन हलमा ६ हप्ता फिल्म चलेछ, मलाई अग्रवालले जबर्जस्ती लगे,” उनी भन्छन्, “त्यहीँ असम, डुबर्स, दार्जीलिङदेखि ओइरिएका दर्शकसँग मैले फिल्म हेरेँ ।” निर्देशकसँग झगडाको निहुँ थियो, सुटिङमा तानसेन जाँदा रसियन जिपको अगाडिको सिटमा हिरोइनसँग बस्न नपाएको । हिरोइन मीनाक्षी आनन्दसँग हरदम उनकी आमा बसेकी हुन्थिन् । प्रकाश र विश्व पछाडि झुन्डिएका । एक चौथाइ सुटिङ सकिएपछि हिरो फेर्न मिल्दैन भन्ने बुझेका विश्वले प्रोडक्सन म्यानेजर चेतन कार्कीसँग हिरोइनसित बस्न पाउनुपर्ने जिकिर गरे । कडा स्वभावका प्रकाश झोक्किए, ‘डाइरेक्टर पछाडि बस्न हुने, हिरो नहुने ?’ 

पोखरामा बढेको मनोमालिन्य, तानसेन हुँदै काठमाडौँमा आएर उत्कर्षमा पुग्यो । प्रकाश बम्किए, ‘तँलाई अर्को फिल्ममा लिन्नँ ।’ विश्वले पैँचो तिरे, ‘तेरो फिल्ममा म खेल्दै खेल्दिनँ ।’ त्यसपछि प्रकाश थापाको फिल्म जीवनरेखामा शिव श्रेष्ठले ‘इन्ट्री’ मारे । विश्वले बनाएको फिल्म अन्याय (०४५) मा निर्देशकका रूपमा आए, तुलसी घिमिरे । कुसुमे रुमाल बनाइसकेका तुलसी उनका बम्बैया दोस्त थिए । विश्वज्योति हलमा अन्याय चलिरहेका बेला जनआन्दोलनको जुलुसले तीन क्यान रिल सडकमै ल्याएर जलाइदियो । २२ दिन हल बन्द भयो । ६ महिनापछि फिल्म फेरि चल्यो । वास्तवमा अन्यायका निर्माता विश्व बस्नेत अन्यायमै परे । प्रकाशसँग बोलचालै बन्द भयो लामो समय । धेरै पछि बोलचाल त फुकाए । तर, सँगसँगै कहिल्यै काम गरेनन् । 

त्यसपछि ०५१ मा नाताको निर्देशन गरे विश्वले । त्यो पनि सुपर हिट भयो । उनको निर्देशनमा बनेका यस्तै रहेछ जिन्दगानी, चलचित्र आदि फिल्म भने फ्लपै भए । नागरिकमा मुख्य भूमिका गरे पनि चलेन । भारतीय फिल्म फेस्टिवलमा दुइटा अवार्ड पाएको स्कुल अझै प्रदर्शन हुन सकेको छैन । ५० लाख रुपियाँ लगानी रहेको फिल्ममा थप १५ लाख लगानी गर्नुपर्ने वितरकको भनाइपछि उनी सुस्ताए ।

अरूका फिल्ममा चरित्र अभिनयमै चित्त बुझाइरहेका छन् । “हलमा फिल्म चलाउनु पनि एउटा कला रहेछ, उद्धव पौडेल र छवि ओझाले औसत फिल्म पनि चलाउँछन्,” उनी भन्छन्, “नजान्नेले जति राम्रो फिल्म बनाए पनि चलाउन सक्दैनन् ।” 

पूर्वाञ्चलमा ‘दानवीर’ भनेर चिनिन्थे कर्णेल भक्तबहादुर बस्नेत । धनकुटाबाट राष्ट्रिय पञ्चायत सदस्यसमेत रहेका तिनै कर्णेलका चार पत्नीमध्ये साइँली हुन्, विश्वकी आमा । पुख्र्यौली थलो भीरगाउँ, धनकुटा भए पनि उनी मावली डुबर्स (आसाम) मा जन्मेका रहेछन् । आठ–नौ वर्षको उमेरमा आएर सेन्ट जेभियर्स स्कुल जावलाखेल र गोदावरीमा पढे । एसएलसी दिने बेला भने धरानको हाइस्कुल पुगे । 

०१७ मा १४ वर्षको उमेरमै पब्लिक साइन्स कलेज (अहिलेको अस्कल)मा भर्ना भए । एक वर्ष आईएस्सी पढेर मोरङ कलेज रवाना भए । त्यहाँ पनि एकाध वर्ष मात्रै टिकेका उनले वनारसबाट इन्टर पास गरे । लखनउमा बीए सकेर लागे बम्बईतिर । खासमा बम्बईमा संघर्षरत प्रकाश थापाले फिल्म बनाउन डाकेका थिए उनलाई । ट्रक बेचेको १५ हजार रुपियाँ उनले प्रिय भान्दाइलाई बुझाए पनि । हिरो प्रकाश र विश्व साइड हिरो बन्ने भनेर काम अगाडि बढ्यो । अम्बर गुरुङको संगीतमा पाँचवटा गीत रेकर्ड भए । तर, फिल्म त्यत्तिकै अलपत्र पर्‍यो । बरू, आशा के चन्द्रा इन्स्टिच्यूटबाट अभिनयमा डिप्लोमा कोर्स गरेको काम लाग्यो, सिन्दूरमा । 

फेसन उनको ‘प्यासन’ हो । बम्बईको नक्कलै सही, सिन्दूरमा ३६ इन्चको मोहोतावाला बेलिबटम प्यान्ट लगाए भने अन्यायमा जिन्स । अहिले पनि विश्व कालो ज्याकेट र नीलो जिन्समा ठाँटिन्छन् ।

गुलाफसँग उनको अनौठो ‘अफेयर’ छ । त्यही कारण सिनामंगलमा १ सय ५० थरी गुलाफको गार्डेन पनि बनाए । राष्ट्रिय सभागृह परिसरलाई नेसनल रोज गार्डेनका रूपमा हेर्ने रहर छ उनलाई । उनको अंग्रेजी कवितासंग्रह इन द रिलम अप द माइन्डमा पनि गुलाफका थुप्रै कविता छन् । 

यसो हेर्दा विधा–चखुवा लाग्छन्, विश्व बस्नेत । फोटोग्राफी उनको अभूतपूर्व सोख हो । क्रिस्टल एकेडेमीमा फोटोग्राफी पढाए पनि । उनी गुरुका पनि गुरु भइसकेका छन् । चेलाचेली ‘ग्रेट गुरु’ मान्छन् । एकेडेमी अफ पर्फमिङ आर्ट खोलेका थिए बागबजारमा । पहिलो सिने म्यागेजिन मधुरम निकाले । एभरेस्ट फिल्म एकेडेमीमा फ्याकल्टी डाइरेक्टर भए । उनी रेकी मास्टर पनि हुन् ।

‘इट नट मिट’का यी कवि शाकाहारी हुन् । गोदावरीको सिनियर सिटिजन होम हुँदै अहिले बुद्धनगरको भाडाको फ्ल्याटमा आइपुगेका छन् । ०३५ मा प्रेमविवाह गरेकी परिवारसँग बस्न छाडेको एक दशक छुन लागिसक्यो । जेठी छोरी निकिमा अस्ट्रेलियामा पढ्दैछिन् भने कान्छी छोरी निरीषा ‘मिस टुरिजम २०१५’ भइसकेकी छन् । “झगडा गरेर छुट्टिएको होइन, विचार नमिलेर एक्लै बसेको हुँ,” उनी भन्छन्, “पारपाचुके भएको छैन । कहिलेकाहीँ बूढीको घरमा जान्छु ।”

‘रिटायर्ड’ हुनका लागि विश्व बस्नेतसँग केही प्रोजेक्ट बक्यौता छन् । परम कर्तव्य, भूकम्प, आकर्षण र क्यान्सर । त्यसमा पनि क्यान्सरमा उनको महत्त्वाकांक्षा जोडिएको छ । अस्ट्रेलियाको मेलबर्नमा इभेन्ट म्यानेजमेन्ट गरिरहेका ३८ वर्षीय एक्लो छोरा विपिनको घाँटीमा क्यान्सर (न्याजोफेरेन्जियल) भयो । उनले छोरालाई वैकल्पिक उपचार सुझाए । तर, उनी केमो, रेडिएसन र सर्जरीकै शरणमा गए । आधुनिक चिकित्सा (एलोप्याथी)मा उनको विश्वासै छैन ।

ह्वेन हिलिङ बिकम्स अ क्राइम, द ट्रुथ अबाउट क्यान्सर आदि पुस्तकबाट प्रभावित विश्व बनेपाको हंसदा आश्रमनजिक वैकल्पिक क्यान्सर उपचार केन्द्र खोल्ने तयारीमा छन् । बेसार, ग्रीन टी, आरु र स्याउको बियाँबाट क्यान्सर उपचारमा चमत्कार हुने उनको दाबी छ । “अस्पताल वा डाक्टरकहाँ जानु भनेको मृत्यु रोज्नु हो, उनीहरू औषधि माफियाको चंगुलमा परेका छन्,” उनी भन्छन्, “यहाँ त उपचारमा नजाने बाँच्छ, उपचारमा जाने मर्छ । म क्यान्सरबारे फिल्म बनाएर पीडितलाई बचाउन चाहन्छु ।” यस्तो फिल्म न बलिउडमा बनेको छ, न त हलिउडमै !

प्रकाशित: वैशाख २०, २०७४