लेडी बारटेन्डर

  • मदिरा ‘सर्भ’ गर्ने कलामा महिला पनि छन् अब्बल

- गोकर्ण गौतम

विज्ञान विषयमा प्लस टू सकाएपछि बूढानीलकण्ठकी रेश्मा बुढाथोकी, २१, होटल म्यानेजमेन्टमा भर्ना भइन् । तर, रेश्माको रोजाइ परिवारका लागि प्रिय भइदिएन । ‘छोरीले दु:ख पाउँछे’ भन्ने पिरलोले सतायो, बाबुआमालाई । त्यसमाथि होटल म्यानेजमेन्ट पढ्दा–पढ्दै बार टेन्डिङको कोर्स गर्न थालेपछि त घरमा झन् चर्को गाली खेप्नुपर्‍यो । सरसर्ती हेर्दा बारटेन्डिङ भनेको रातीराती क्लब, बार, रेस्टुराँमा मदिरा ‘सर्भ’ गर्नु हो । साँझ नपर्दै छोरी घर फर्किसक्नु पर्ने परम्परागत सोचबाट गुज्रिरहेको समाजका हिस्सा हुन् रेश्माका अभिभावक पनि । त्यसैले रेश्मालाई बार टेन्डर बन्नबाट रोक्न खोज्नु स्वाभाविक भइहाल्यो । 

“सिक्दै गएपछि बारटेन्डिङ कति कलात्मक पेसा हो भन्ने थाहा पाउँदै गएँ । यसले आत्मविश्वास बढ्यो,” दुई वर्षदेखि यही पेसामा रमाइरहेकी रेश्मा भन्छिन्, “बिस्तारै बुबाआमाले पनि बुझ्नुभयो । अहिले पनि त्यति खुसी त हुनुहुन्न तर गालीचाहिँ गर्नुहुन्न ।” नयाँ, त्यसमाथि आफैँले रोजेको क्षेत्र । सोही कारण छोटै अवधिमा उनी काठमाडौँको रात्रि जीवनमा रम्नेका माझ निकै रुचाइएकी बारटेन्डरका रूपमा परिचित छिन् । तारे होटलहरूमा हुने ‘हाइप्रोफाइल’ पार्टीमा समेत उनको माग उच्च छ । 

हेटौँडा स्थायी घर भएकी सुस्मिता बलामी, २०, वरिष्टा (कफी कोर्स) सिक्न पुगेकी थिइन्, कक्टेल एन्ड ड्रिम्स नेपालमा । त्यहाँ पुगेपछि बारटेन्डिङबारे थाहा पाइन् पहिलो पटक । बुझ्दै जाँदा, बारटेन्डिङमा धेरै अवसर देखिन् । फेरि त्यो वरिष्टाभन्दा नयाँ पनि त थियो । ‘नाइट आवर’मा काम गर्नुपर्ने भएकाले साहसिक पनि लाग्यो । त्यसैले वरिष्टासँगै बारटेन्डिङ पनि सिक्न थालिन् । यतिबेलासम्म घरमा थाहा थिएन तर जब इभेन्टहरूमा व्यस्त हुन थालिन्, घरमा सबै आगो भइहाले । तैपनि, हरेस खाइनन् । बरू द भाइब्स क्लबमा नियमित काम गर्न थालिन् । निकै आकर्षक शैलीमा मदिरा सर्भ गर्न माहिर मानिने सुस्मिता सुनाउँछिन्, “अहिले अभिभावकलाई त बानी परिसक्यो, अरू आफन्तले चाहिँ सधैँ छोड मात्र भन्नुहुन्छ । तर, मचाहिँ यसमै रमाइरहेकी छु ।” उनका भनाइमा अरूले गरिरहेको भन्दा फरक र चुनौतीपूर्ण पेसा रोज्नुको मज्जा बेग्लै हुन्छ । 

तर, त्यो मज्जा र आत्मगौरव प्राप्तिका खातिर सुस्मिता अनि रेश्माजस्ता लेडी बारटेन्डरहरूले भोग्नुपर्ने पीडा र अपमानको फेहरिस्त लामै छ । जति आधुनिक भएको भए पनि हाम्रो समाजमा आक्कल–झुक्कल क्लब र बार जाने केटीहरूप्रति पनि नकारात्मक नजर नै राखिन्छ । झन् बारमै काम गर्ने, त्यसमाथि मदिरा ‘सर्भ’ गर्नेेहरूप्रति परिवार र समाज अझ क्रुर हुने भइहाल्यो । कतिपय अवस्थामा चरित्रमाथि नै प्रश्न उठाइन्छ । परिणाम हाम्रैसामु छ, काठमाडौँमा यति धेरै बार, क्लब, रेस्टुराँ खुलेका छन्, माग पनि उस्तै छ तर लेडी बारटेन्डरको संख्या भने औँलामा गन्न सकिन्छ ।

रेश्मा र सुस्मिताबाहेक मनमैजुकी नीलम क्षत्री, २२, पनि यस्ती प्रेरणादायी युवती हुन्, जो परिवारको अवरोध, समाजको हेयदृष्टि र ग्राहकको घरीघरीको दुव्र्यवहारलाई चिरेरै अगाडि बढिरहेकी छन् । किन त ? नीलम भन्छिन्, “बारटेन्डिङ केटीका लागि भर्जिन एरिया हो । फेरि हामीले आज गरेको संघर्षले भोलि यो पेसाप्रति सम्मान बढ्छ अनि अरू युवतीहरू पनि आकर्षित हुँदै जान्छन् ।” हरेक पेसामा दरिलो आबद्धता नभई साँचो अर्थमा महिला सशक्तीकरण नहुने उनीहरूको भनाइ छ । अझ अचम्मको कुरा त यी तीनै युवती यस्ता हुन्, जो बारटेन्डिङ थाल्नु पहिल्यै सायदै बार र क्लब छिरेका थिए । घरबाट जाने अनुमति पनि थिएन । तर, क्षमता र साहसले उनीहरूले बारमै आफ्नो भविष्य बनाइरहेका छन् । 

रेश्माको यो ग्याङ बारटेन्डिङप्रति किन पनि लालायित भएका छन् भने भट्ट हेर्दा मदिरा सर्भ गर्ने जस्तो मात्र देखिए पनि खासमा यो ‘पफर्मिङ आर्ट’ हो । विकसित मुलुकमा यसलाई कलाकै रूपमा स्वीकारिएको छ । बारटेन्डरको प्रतिष्ठा पनि लोभलाग्दो हुन्छ । फरक मदिराको सन्तुलित मिश्रण गरेर नयाँ स्वादको बनाउनु बारटेन्डरको मुख्य काम भइहाल्यो तर त्यति मात्र भएर हुन्न । मदिराका बोतलहरू खेलाउने शैली (फ्लेयर) पनि त्यत्तिकै कलात्मक र आकर्षक हुनुपर्छ । एक दशकदेखि बारटेन्डिङको तालिम दिइरहेका मन्दिप ग्रेवाल, जो रेश्मा र नीलमका गुरुसमेत हुन्, का अनुसार बारटेन्डिङमा कहीँ न कहीँ ग्ल्यामर जोडिएको हुन्छ । त्यसैले केटीका लागि अवसर ज्यादा हुन्छ तर कमैले मात्र तालिम लिने आँट गर्छन् । काठमाडौँ फ्लेयर बारटेन्डिङ एकेडेमीका सञ्चालकसमेत रहेका मन्दिप भन्छन्, “आफ्नो चाहना हुँदाहुँदै पनि निरन्तरता दिन सक्दैनन्, परिवार र समाजको दबाबले । बरू विदेश उड्छन् ।” एक दशकको अवधिमा करिब १५ युवतीले मात्र आफूकहाँ प्रशिक्षण लिएको उनले जानकारी दिए । 

लाइभ म्युजिक, रंगीविरंगी प्रकाश अनि अपरिचितहरूको भीड । साँझ ढल्कँदै गएपछि काम सुरु हुन्छ । जति रात छिप्पियो, त्यति व्यस्तता बढ्दै जान्छ, ग्राहकहरू मदिरामा लठ्ठ हुँदै जान्छन् । कोही रूखो त कोही छाडा शब्द बोल्न थाल्छन् । तर, चुइक्क मुख फर्काउन पाइन्न । लेडी बारटेन्डरले अक्सर यस्तै माहौलमा आफ्नो क्षमता देखाउनुपर्छ । “मनमा रिस भए पनि मुहारमा मुस्कान हुनैपर्छ । हाम्रो पेसाको प्रकृति नै हो यो,” रेश्माले सुनाइन्, “यसैमा अभ्यस्त भइसकेका छौँ ।” मलेसियाको फोर सिजन रिसोर्टमा ६ महिना बारटेन्डिङ गरेर फर्किएकी उनी हाल नक्सालको क्लब २५ आवर्स र हात्तीसारको वेयर हाउस क्याफेमा आबद्ध छिन् । यसका अलावा विभिन्न निजी पार्टीहरूमा पनि उत्तिकै व्यस्त हुन्छिन् । बियरको बोतल दाहिने हातले पछाडि फालेर देब्रे हातले आकर्षक शैलीमा समात्न माहिर मानिएकी यी बारटेन्डरका अनुसार नेपालमा कस्मोपोलिटन, मोहितो, मार्गरिटा, सेक्स अन द विच, ओल्ड फेसन्ड, म्यानहटनजस्ता कक्टेल निकै रुचाइन्छ । भन्छिन्, “यीबाहेक ग्राहकको रुचि र आफ्नो ज्ञान अनुसार नयाँ–नयाँ कक्टेल बनाउने गर्छौं ।” 

नीलम पनि होटल म्यानेजमेन्टकी विद्यार्थी हुन् अनि बारटेन्डिङ पनि उनको अध्ययन अन्तर्गत नै पर्छ तर समस्या उही, कसैले पनि यो पेसालाई सुरुमा सकारात्मक दृष्टिकोणले हेर्दैनन् । त्यसैले निरन्तरता दिनै मुस्किल हुन्छ । जबकि, यो शारीरिक रूपमा कडा मिहिनेत गर्नुपर्ने पेसा होइन । ग्राहकलाई मनोरञ्जन दिलाउँदा आफू पनि खुसी भइन्छ । एउटै इभेन्टबाट घटीमा तीन हजार रुपियाँ आउँछ । कामको अभाव पनि हुन्न । तर पनि केटीहरू बारटेन्डिङलाई पेसाका रूपमा अपनाउनै सक्दैनन् ।

“पेसागत दक्षताभन्दा समाज र परिवारको अवरोधलाई झेल्न मुस्किल पर्छ तर त्यसलाई बेवास्ता गर्न सक्यो भने सन्तुष्टि र पैसा दुवै मनग्ये हुन्छ,” नीलम भन्छिन्, “पेसा आफैँमा नराम्रो हुन्न । आफू कति अनुशासित हुने आफैँमा भर पर्छ ।” अझ होटल म्यानेजमेन्टका विद्यार्थीलाई त बारटेन्डिङ ‘प्लस पोइन्ट’ हुने उनको भनाइ छ । यही फाइदा देखेरै हुनुपर्छ, नीलमले बारटेन्डिङमा अझ दत्तचित्त भएर काम गर्ने योजना बुनेकी छन् । 

रात्रि जीवन र पार्टीको संस्कृति जति बढ्यो, बारटेन्डरलाई त्यति नै फाइदा हुन्छ । र, खुसीको कुरा काठमाडौँमा मात्र होइन, पोखरा, धरानजस्ता सहरमा पनि यस्तो संस्कृति बढिरहेको छ । विवाह वा अन्य उत्सवमा समेत बारटेन्डिङको माग हुन थालेको छ । त्यसमाथि लेडी बारटेन्डर त पहिलो रोजाइमा । तर पनि उनीहरूलाई देख्नासाथ ओठ लेप्राउनेको जमात ठूलो छ, कोही ‘भट्टी साहुनी’ भनेर खिसी गर्छन् । घरमै पनि ‘राती काम गर्छेस्, तँलाई कसले बिहे गर्छ ?’ भनेर तर्साउँछन् । एकातिर बारभित्रै कति ग्राहकको गिद्धे नजर, अर्कातिर परिवार र समाजको टोकसो । बारडेन्डर रोजेकामा पछुतो लाग्दैन ? कुराकानीको अन्त्यमा यही प्रश्न रेश्मालाई सोधियो । उनले आत्मविश्वास भरिएको स्वरमा भनिन्, “बारटेन्डिङ रोजेर कहिल्यै दु:ख लाग्दैन, बरू यो कलात्मक पेसा नबुझ्ने समाजमा जन्मिएकामा चाहिँ पछुतो लाग्छ घरीघरी ।” 

(तस्विरमा: सुस्मिता बलामी, रेश्मा बुढाथोकी र नीलम क्षत्री माथिबाट क्रमश:)

प्रकाशित: वैशाख २०, २०७४