नोटबुक

  • “इमर्जेन्सीमा कोही साथी लिएर आउनुपर्छ, एक्लो बिरामीको उपचार गर्न सक्दैनौँ ।”

- बाबुराम विश्वकर्मा

बिरामी नहेर्ने डाक्टर 
खानेकुरा र पेयजलका किटाणुले बिरामी हुनु धेरै नेपालीको बाध्यता हो । गर्मी र वर्षायाममा यो बाध्यता अरु पेचिलो बन्छ । स्वच्छ खानेकुरा र पानी स्वस्थ जीवनको पहिलो सर्त हो । तर, सबै कुरा आफ्नो मात्र नियन्त्रणमा हुँदैन, त्यसैले हालै विषाक्त खानेकुराको सिकार भएँ ।

४८ घन्टासम्म पनि झाडापखाला कम नभएपछि उपचार गर्न चाबहिलको मेडिकेयर अस्पताल गएँ । शरीर कमजोर भएको, पखाला नरोकिएको अनि पेट दुखेकाले एक्लै सीधै ‘इमर्जेन्सी’मै गएको थिएँ । मेरा कुरा सुनेपछि ड्युटीमा रहेकी डाक्टरले सोधिन्, “तपाईं एक्लै कि साथमा कोही छ ?” जवाफ दिएँ, “एक्लै, किन र ?” मेरो जवाफ सुनेपछि डाक्टरले थपिन्, “इमर्जेन्सीमा कोही साथी लिएर आउनुपर्छ, एक्लो बिरामीको उपचार गर्न सक्दैनौँ ।” त्यसपछि बहिरंग विभाग (ओपीडी)मा गएर जचाएँ । 

तर, इमर्जेन्सीकी डाक्टरको कुरा सुनेर लाग्यो, गम्भीर बिरामी भएर कुनै व्यक्ति एक्लै अस्पताल पुगे भने पनि उपचार नहुने रहेछ । यो घटनाको केही दिनपछि फेरि पोखराको मणिपाल अस्पतालका डाक्टरले मुक्तिनाथबाट आउँदै गरेको जिप दुर्घटनाका बिरामीको उपचार गर्न नमानेको खबर सुनेँ । झन् उदेक लाग्यो– के यो देशमा बिरामी नहेर्ने डाक्टरको संख्या बढ्दै गएको हो ? त्यसो हो भने तिनको लाइसेन्स नखोस्ने ? 

हरेक कक्षामा भर्ना 
निजी विद्यालयले कमाउने अनेक जुक्ति जानेका छन् । तर, यसको मारमा पर्छन्, निरीह अभिभावक । नयाँ शैक्षिक सत्र निजी विद्यालयका सञ्चालकका लागि विशेष चाड हो । यो चाडमा देशव्यापी असुली हुन्छ । अचाक्ली असुलीका कारण मेरा एक आफन्त इन्तु न चिन्तु भएका छन् । कथित बोर्डिङ स्कुलमा तीन जना छोराछोरी पढाउँदै आएका उनी हरेक वर्ष, कक्षापिच्छे तीनै जना छोराछोरीको भर्ना शुल्क 
तिर्न बाध्य छन् ।

हरेक वर्ष एउटै स्कुलमा भर्नाका नाममा पैसा तिरेर निराश भएका उनले आफू विद्यार्थी छँदा कक्षा–१ भर्ना भएको घटना सम्झेछन् । त्यसले उनलाई झन् पीडा दिएछ । भन्दै थिए, “यो त अति भयो, एउटै स्कुलमा हरेक वर्ष भर्ना ? यस्तै भइरहने हो भने निजी अस्पतालले पनि बिरामीलाई हरेक दिन भर्ना गर्न लगाउन बेर छैन ।” 

तथापि, यो पीडा उनको मात्र होइन, निजी विद्यालयमा छोराछोरी पढाउने सबै अभिभावकको हो । यो गैरकानुनी कृत्य हो । किनभने, शिक्षा ऐन तथा नियमावलीमा हरेक वर्ष कक्षापिच्छे भर्ना गर्नुपर्ने कुनै प्रावधान छैन । देशभरिका सरकारी विद्यालयमा एक पटक भर्ना भएपछि विद्यालय परिवर्तन नभएसम्म फेरि भर्ना गर्नु पर्दैन र भर्ना शुल्क पनि लाग्दैन । तर, निजी विद्यालयले मनोमानी रुपमा अभिभावकसँग पैसा असुल्नकै लागि गैरकानुनी कृत्य दोहोर्‍याउँदै आएका छन् । यो महालुट हो, रोकिनैपर्छ । रोक्नेचाहिँ कसले ? जिम्मा त शिक्षा मन्त्रालय र त्यसका अधिकारीहरुको हो । व्यवसायी र अधिकारीहरु नै घिउ बेचुवा र तरबार बेचुवा भएपछि सक्किगो नि ! 

रत्नपार्क अर्थात् लभपार्क
मध्य सहरको व्यस्त र तनावग्रस्त दैनिकीबाट अलिकति खुलापन खोज्नेका लागि रत्नपार्क पुरानै गन्तव्य हो । तर, रत्नपार्क अब पुरानो रहेन । वर्षौंपछि अचानक रत्नपार्क जाँदा मन चंगा भयो । काठमाडौँ महानगरपालिकाले रत्नपार्कको रौनकै बदलेको रहेछ । हरियो, सफा र सुन्दर रत्नपार्कको मज्जा लिन अचेल नेपाली मात्र होइन, विदेशीहरु पनि जान थालेका छन् । हरियो दूबो, बस्नका लागि स–साना बेन्च तथा चौताराले जो कोहीलाई आकर्षित गर्छ । बेरोजगार युवा, जिल्लाबाट काठमाडौँ आएका सामाजिक–राजनीतिक कार्यकर्ता हुन् वा ग्राहकको खोजीमा भौँतारिएका नगरबधु, सबैका लागि सहज भएको छ रत्नपार्क । 

तर, सबैभन्दा बढीचाहिँ मध्य सहरका क्याम्पसमा अध्ययनरत केही छात्रछात्रा र युगल जोडीले समेत प्रेमालाप गर्न रत्नपार्कलाई नै रोज्दा रहेछन् । हालै एक अपराह्न शीतलमा बसेर प्रेमालाप गर्दागर्दै सार्वजनिक शिष्टाचार नाघेपछि नगर प्रहरीले एक जोडीलाई कारबाही गर्‍यो । घटना के थियो भने त्यो जोडीले रत्नपार्कको रमणीय वातावरणमा आफूलाई नियन्त्रणमा राख्न सकेन । बेन्चमा बसेर चुम्माचाटी लगायतका गतिविधि गरेपछि एक नगर प्रहरीले हस्तक्षेप गरे, परिचय–पत्र मागे र भने, ‘पार्कबाहिर जानूस् वा शिष्ट तरिकाले बस्नूस् । आज पहिलो पटक भएकाले छाडेको छु, आइन्दा कारबाही हुन्छ ।” 

देख्नेले नै आँखा छोप्नुपर्ने वा अन्यत्र हेर्नुपर्ने हर्कत देखाइरहेको त्यो जोडी नगर प्रहरीको हस्तक्षेपपछि नियन्त्रणमा मात्र आएन, एकैछिनमा माफी माग्दै त्यहाँबाट बाहिरियो । यो दृश्य अरु जोडीका लागि पनि प्रेरणादायी बन्यो, सबै सचेत भए । यो घटना देखेपछि रत्नपार्कको नयाँ नामकरण गर्नु उपयुक्त हुन्छ कि भन्ने लागेको छ । र, त्यो सम्भावित नाम हुन सक्छ– लभपार्क ।

प्रकाशित: वैशाख २०, २०७४