एकका विरुद्ध ६

  • मधेसी मोर्चामा आबद्ध दलहरूबीचको एकता र गठबन्धनको पछिल्लो प्रयासको अर्थ हो, उपेन्द्र यादव भर्सेज अरू

- सीताराम बराल

मधेसवादी दलका नेताहरू तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) अध्यक्ष महन्थ ठाकुरको सानोठिमीस्थित निवासमा भेला भए, नयाँ वर्षकै दिन । त्यसै क्रममा मधेसी दलहरूबीचको एकता अन्तिम चरणमा पुगेको जानकारी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई गराए उनीहरूले र एकता प्रक्रियामा सहभागी हुन आग्रह पनि गरे । तर, यादवले चाहिँ नयाँ शक्ति नेपालसँग एकता प्रक्रियाको अन्तिम चरणमा रहेकाले मधेसी एकतामा सामेल हुन नसक्ने जवाफ फर्काए ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग यादव एकता गर्दै छन् भन्ने कुरासँग न हाल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरू अनविज्ञ थिए, न त आफूबाहेकका मधेसी दलहरू राजपाको छातामुनि गोलबन्द हुँदै छन् भन्ने कुरासँग यादव नै । तर, जानकारी पाएपछि पनि राजपा नेपालका नेताहरूले यादवलाई नयाँ शक्तिसँग एकताका लागि रोक्न चाहेनन् । त्यसै गरी यादव पनि मधेसी दलहरूबीचको एकता प्रक्रियामा सामेल हुन इच्छुक देखिएनन् । अब मधेसकेन्द्रित दलहरूको राजनीति फोरम भर्सेज राजपामा केन्द्रित हुन पुगेको छ । 

विगत पनि उस्तै 

संविधानप्रति असन्तुष्ट मधेसवादी दलहरूको ०७२ चैतसम्म संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा छँदै थियो । मोर्चामा यादव नेतृत्वको मधेसी जनअधिकार फोरम पनि सामेल थियो । त्यसको अध्यक्षका लागि पालैपालो प्रणाली अपनाइएको थियो । तर, मोर्चामा छँदै फोरम अध्यक्ष यादवले आदिवासी–जनजातिसम्बद्ध पार्टी र संगठनहरूलाई समेटेर छुट्ट्रै संघीय गठबन्धनको निर्माण गरे । खासमा मधेसी मोर्चाको विकल्पमा यादवले संघीय गठबन्धन निर्माण गरेका थिए । ताकि संविधानप्रति असहमत दलहरूको नेतृत्वकर्ता आफू भएको सन्देश दिन सकियोस् । 

तीन दशक लामो राजनीतिक जीवनमा यादवले आफूलाई मधेसवादी दलभन्दा पृथक् देखाउने कोसिस गर्दै आएका छन् । मधेसवादको नारासाथ जब ०४८ को आमनिर्वाचनमा नेपाल सद्भावना पार्टी संसद्मा प्रतिस्पर्धा गर्दै थियो, यादव सुनसरी–४ बाट एमाले उम्मेदवार थिए । तर, मधेसी मुद्दाप्रति पार्टी संवेदनशील नभएको बताउँदै ’५० को दशकको सुरुआतमै एमाले त्यागे तर नेपाल सद्भावना पार्टीमा गएनन् । बरू गैरसरकारी संगठनका रूपमा मधेसी जनअधिकार फोरम गठन गरे । 

०६३ को पहिलो मधेस आन्दोलन यादवकै नेतृत्वमा भयो । आन्दोलनले उनी नेतृत्वको फोरमलाई मात्र होइन, मधेसलाई राजनीतिक शक्तिका रूपमा स्थापित गर्‍यो । आन्दोलनको रापमा पार्टी छाडेर कांग्रेस–एमालेका थुप्रै नेता मधेस आन्दोलनमा सहभागी भए । मधेस राजनीतिमा यादवलाई पाखा पार्ने प्रयास अर्थात् ‘उपेन्द्र भर्सेज अरू’ राजनीतिको खुला सुरुआत भएको त्यसपछि नै हो । तमलोपा त्यसैको उपज हो । यादव नेतृत्वको फोरमको शक्ति बढ्न नदिन भर्खर कांग्रेस त्यागेका महन्थ ठाकुरको नेतृत्वमा तमलोपा गठन भएको थियो । जसमा एमाले र सद्भावना पार्टीका नेताहरू पनि सामेल भए । 

तमलोपा गठनपछि चाहिँ यादव आफैँले फोरम भर्सेज अरू राजनीतिलाई अघि बढाए । जस्तो : ०६४ को चुनावमा तमलोपा र सद्भावना पार्टीका नेताहरूले यादवसँग चुनावी तालमेलको प्रस्ताव गरेका थिए । तर, यादवले अस्वीकार गरे । चुनावपछि यादव र अन्य मधेसी दलका नेताहरू भेटै हुन नसक्ने नदीका दुई किनारा जसरी अघि बढे । पहिलो राष्ट्रपति निर्वाचनमा फोरम कांग्रेस उम्मेदवार रामवरण यादवको पक्षमा उभियो तर तमलोपा र सद्भावनाचाहिँ माओवादीद्वारा प्रस्तावित जनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद सिंहको पक्षमा उभिनु त्यसको पहिलो दृष्टान्त हो । 

यसैगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सद्भावनासँगै फोरम सहभागी भयो भने तमलोपा सरकारबाहिरै रह्यो । त्यसपछि बनेको माधव नेपाल नेतृत्वको सरकारमा तमलोपा र सद्भावना सहभागी भए, फोरमचाहिँ प्रतिपक्षमा गयो । झलनाथ खनालको सरकारमा फोरम सहभागी भयो तर तमलोपा–सद्भावना प्रतिपक्षी बेन्चमा बसे । त्यसबाहेक फोरम विभाजनका लागि तमलोपा–सद्भावनाका नेताहरूले उक्साउने र तमलोपा–सद्भावना विभाजन हुँदा फोरम अध्यक्ष यादवले खुच्चिङ गर्ने क्रम पनि जारी रह्यो । ०७२ मा संविधान जारी भएपछि पनि यो प्रतिस्पर्धा जारी रह्यो, जो नाकाबन्दीदेखि हालसम्म पनि कायमै छ । 

पहिलो संविधानसभा चुनावमा फोरमलाई सबैभन्दा ठूलो दलका रूपमा स्थापित गर्न सकेका कारण यादव अरू मधेसी पार्टी र नेतालाई गन्दैनन् भने उनलाई पनि अरूले खासै रुचाउँदैनन् । 

अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँगको पार्टी एकता र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग हुने भनिएको चुनावी एकतापछि त यादव झन् हौसिएका छन् । मधेसी राजनीतिका जानकार तुलानारायण साह भन्छन्, “यादव एमालेको कार्यकर्ता हुँदा नेता रहेका राईले उनलाई नेता स्वीकारिसकेका छन् । भट्टराई फोरमकै चुनाव चिह्न स्वीकार गर्दै छन् । त्यसैले एक्लै अघि बढ्दा अनुकूलता नै हुन्छ भन्ने यादवलाई लागेको हुन सक्छ ।”

स्थिति प्रतिस्पर्धाकै 

०७० को चुनावमा पाएको मत मात्र जोड्ने हो भने फोरमको तुलनामा नवगठित राजपा नेपालको कुल मत दुई लाखभन्दा धेरै छ । तर, मधेस आन्दोलनमा सक्रियता, अशोक राई र बाबुराम भट्टराईसँगको एकता, पूर्वी र पश्चिमी दुवै मधेसमा समानस्तरको संगठन आदिका कारण यादव नेतृत्व फोरम पनि राजपाभन्दा कमजोर छैन । मधेसको जनसंख्यामध्ये भावनात्मक रूपमा सबैभन्दा संगठित झन्डै १२ प्रतिशत यादव समुदाय फोरमको महत्त्वपूर्ण भोट बैंक हो । यही कारण राजपा नेपालका नेताहरू पनि फोरमको स्थिति कमजोर नरहेको स्वीकार गर्छन् । 

कोसीपूर्वका झापा–मोरङ–सुनसरीमा यसअघि फोरम र फोरम (लोकतान्त्रिक) मुख्य प्रतिस्पर्धी थिए । तर, एकतापछि राजपा नेपाल पनि प्रतिस्पर्धामा आउने स्थिति बनेको छ । ०७० को संविधानसभा चुनावमा प्रदेश–२ अन्तर्गत सप्तरीदेखि पर्सासम्म सद्भावना पार्टी सबैभन्दा ठूलो दल थियो भने फोरम दोस्रो ठूलो । राजपा नेपालका नेता मनीषकुमार सुमन भन्छन्, “यही आधारमा राजपाले फोरमलाई दह्रो चुनौती दिने स्पष्ट छ ।” 

यसैगरी नारायणी पश्चिमका नवलपरासी, रुपन्देही र कपिलवस्तुमा तमलोपा बलियो थियो भने बाँके–बर्दियामा फोरम । बर्दिया, कैलाली र कञ्चनपुरको थारू इलाकामा चाहिँ फोरम (लोकतान्त्रिक) पहिलो नम्बरमा थियो । पार्टी एकीकरण र चुनावी एकतापछि यहाँको समीकरणमा फेरबदल आउन सक्छ । 

०७० को निर्वाचनको कुल मत परिणामलाई आधार मान्ने हो भने मधेसवादी दलहरूमध्ये यादव नेतृत्वको फोरम अहिले पनि तेस्रो स्थानमा देखिन्छ । किनभने, ६ पार्टीको योगमा बनेको राजपा नेपालको कुल मतसंख्या जोड्दा साढे पाँच लाखभन्दा बढी छ भने थरूहट र जनमुक्ति पार्टीसँग एकता गरेको विजय गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) चार लाख मतका साथ दोस्रो स्थानमा छ । राई नेतृत्वको संघीय समाजवादी पार्टीले पाएको मतसमेत जोड्दा फोरमको मतचाहिँ साढे तीन लाखभन्दा कम नै देखिन्छ ।

भट्टराई नेतृत्वको नयाँ शक्तिसँगको चुनावी तालमेलका कारण नि:सन्देह राजपा नेपालभन्दा फोरमले पहाडी क्षेत्रको मत पनि प्राप्त गर्दा आकार ठूलो हुन सक्छ । तर, मधेसको कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी मत रहेको पचपनिया (गैरब्राह्मण, गैरयादव समुदाय) को मतले सन्तुलन ल्याउने विश्वासमा राजपा नेपालका नेताहरू छन् । राजपा नेपाल निर्माणमा अग्रणी भूमिका खेलेका राजकिशोर यादव भन्छन्, “उपेन्द्रजी एकतामा आउनुभएन भने पनि राजपा नेपाल नै मधेसको सबैभन्दा ठूलो पार्टी बन्नेछ । किनभने, सामाजिक रूपले पनि मधेसको ठूलो जनसंख्यालाई यही दलले प्रतिनिधित्व गर्छ अब ।” 

मधेसी राजनीतिमा चासो राख्ने राजनीतिशास्त्रका प्राध्यापक कृष्ण हाछेथु मधेसी दलहरूको विभाजनका कारण ०७० को चुनावमा बहुपक्षीय प्रतिस्पर्धा भए पनि आगामी चुनावमा चाहिँ मधेसवादी दलहरूबीच द्विधु्रवीय प्रतिस्पर्धा हुने बताउँछन् । भन्छन्, “हुन त थारू मतका कारण विजय गच्छदारलाई पनि एक प्रतिस्पर्धी मान्न सकिएला । तर, मधेसवादी दलमध्ये मुख्य प्रतिस्पर्धाचाहिँ यादव नेतृत्वको फोरम र नवगठित राजपा नेपालबीच नै हुनेछ ।” 

बलिया विजय

०७० को चुनावमा प्रत्यक्ष र समानुपातिकबाट समेत गरी सबैभन्दा ठूलो मधेसी दल बनेको थियो, विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) । प्रत्यक्षतर्फ ४ र समानुपातिक तर्फ १० गरी १४ सिटमा विजय हासिल गरेका गच्छदारले पछिल्लो समय गोपाल दहित नेतृत्वको थरूहट तराई पार्टी र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टीसँग एकता गरी व्यवस्थापिका–संसद्मा अझै पनि दोस्रो ठूलो मधेसी दलको हैसियत कायम राखेका छन् । 

नेपालको कुल जनसंख्यामध्ये मधेसी समुदाय अन्तर्गत थारू समुदायको जनसंख्या सबैभन्दा धेरै अर्थात् ६.५६ प्रतिशत छ भने मुस्लिम समुदायको ४.३९ प्रतिशत छ । ०७० को निर्वाचनमा यिनै दुई समुदायको मत पाएर गच्छदार नेतृत्वको दलले पहिलो ठूलो दल बन्ने अवसर पाएको थियो । रौतहटबाट त यो दलले प्रत्यक्षतर्फ नै विजय हासिल गर्‍यो । संविधान जारी हुनुअघिको २५ बुँदे समझदारीमा हस्ताक्षर गरेका कारण मधेसमा गच्छदारप्रतिको विश्वास घटे पनि जातीय समीकरणका कारण उनी अझै पनि एक महत्त्वपूर्ण प्रतिस्पर्धी हुन् । 

 

 

प्रकाशित: वैशाख २०, २०७४