[झटारो] पालमुनि खाएका कसम

- लक्ष्मण गाम्नागे

भूकम्पले ताण्डव मच्चाएको दुई वर्ष पूरा भएछ भन्ने सञ्चार माध्यमहरूबाट थाहा भयो । तिनले स्मरण गराएपछि पो याद आयो, भूकम्प गएपछिका कैयौँ दिन हामी टोलबासीले सँगसँगै पालमा बिताएका थियौँ । ठूलठूला महलवाला, धनीमानी, व्यापारी, साहू–छिमेकीहरूले पनि हामीसँग पालमा बसेर पातको थालमा जाउलो खाएका थिए । परालको ओछ्यान लगाएर पालमै सुतेका थिए । हामी भूकम्पको भयले एक प्रकारले अर्धबेहोसीको अवस्थामा थियौँ, त्यसबेला । हामी साह्रै भावुक र संवेदनशील भएका थियौँ । भूकम्पले हामीलाई गम्भीर सतर्कताको पाठ पढाएको थियो । जिन्दगी भन्नु केही रहेनछ भन्ने भाव जगाएको थियो । घर, सम्पत्ति, जमिन, तेरो–मेरो, धनी–गरिब, जात–भात इत्यादि भन्नु बेकार रहेछ भनेर हामीले निष्कर्ष निकालेका थियौँ । 

त्यसबेला पालमा बसेर हामीले थुप्रै कसम खाएका थियौँ । अबदेखि कुनै पाप कर्म नगर्ने, झूटो नबोल्ने, नठग्ने, भ्रष्टाचार नगर्ने, लोभ नगर्ने, पैसाका पछि नलाग्ने, परोपकारी हुने, गरिबदु:खीको सेवा गर्ने अनेक कसमहरू । आफ्नै घर आफ्नै लागि यमराजजस्तो भएको थियो त्यसबेला । सरकारी मापदण्डको पालना नगरी जथाभावी घर बनाएकामा हामी साह्रै पछुताएका थियौँ । मापदण्डभन्दा बढी भएका घरका तला तुरुन्तै काटेर टोललाई नमुना टोल बनाउने भनेर हामी सबैले एकसाथ शपथ खाएका थियौँ । टोलमा कसैको घर पनि मापदण्डभित्र नरहेको कुरा सबैले दिल खोलेर पहिलो पटक स्वीकार गरेका थियौँ । 

दुई वर्षपछि अहिले म मेरो घरको सिरान तलामा आनन्दपूर्वक बसेर घरअगाडिको स्कुलतिर हेर्दै छु । सरकारले रातो स्टिकर टाँसेको स्कुलले चौरमा टहरा हालेर विद्यार्थी पढाउँदै थियो, अचेल टहरा छैनन्, रातो स्टिकर पनि छैन । विद्यार्थीहरू पुरानै भवनमा बिनाहिचकिचाहट पढिरहेका छन् । स्कुलले पनि मैले जस्तै भूकम्पले चर्काएको गारोमा सिमेन्ट पोतेर त्यसमाथि रङ पनि दलिसकेको छ । फलामका रड देखिएका पिलर र बिमहरूलाई छोपेर कसैले नदेख्ने बनाइसकेको छ । अब कुनै डर छैन ।

हाम्रो टोलको माझैमा रहेको निर्माणाधीन १७ तले अपार्टमेन्टले समेत भूकम्पले पारेका चिरामा टिपेक्स लगाएर सद्दे बनाइवरी बिक्री गरिसक्यो । आफ्नो आधा ढल्केको घर महानगरलाई भत्काउन निवेदन दिएका मेरा एक छिमेकीले घर नभत्काइदिएको झोँकमा पूरै घर बहालमा लगाएर महिनाको लाखौँ भाडा खाइरहेका छन् । मेरा सबै छिमेकीहरू भूकम्पका अवशेषहरू पूरपार पारेर ढुक्क भइसके, थुप्रैले घरमा अरू तला थपेर थप आय आर्जन गरिरहेका छन् ।  

वास्तवमा हामीले त्यसबेला आत्तिएर असम्भव कसम खाएछौँ । आपत्विपत् परेर बेहोसीमा खाएको कसमको सान्दर्भिकता अब समाप्त भइसक्यो । हामीले ती खराब दिन किन सम्झिराख्नु पर्‍यो र अब † भुइँचालो आउन बन्द भइगो, मुटु हल्लिन छाडिहाल्यो । हामीलाई त्यस्तो भूकम्प फेरि आउला भन्ने लाग्नै छाडिसक्यो । हामीलाई कुनै पनि बेला मरिन्छ भन्दा पनि अब कहिल्यै मरिँदैन जस्तो लाग्न थालिसक्यो । अर्को त्यस्तै विपत्ति आएर हामीलाई लछारपछार नपारुन्जेलका लागि हामी पूर्ण रूपमा पुन:स्थापित भइसक्यौँ । त्यसै हामी वीर गोर्खाली भनिएका होइन रहेछौँ । यी हल्लाखोर सञ्चारमाध्यमहरूले वर्षमा एकपटक सम्झाउँछन् र मात्रै नत्र हामीले १२ वैशाख ०७२ मा भूकम्प गएको थियो भन्ने कुरा नै बिर्सिसकेका थियौँ ।

प्रकाशित: वैशाख १८, २०७४