टिम डीपीएल

  • पर्दापछाडिका नायकहरू, जसले नेपालकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता सफल बनाए

- विनोद पाण्डे

धनगढी ।। राजधानीमा मालिन्डो एयरमा कस्टमर सर्भिस एजेन्टका रूपमा कार्यरत छन्, सौरभ ओझा, २७ । ग्राउन्ड ह्यान्डलिङ उनको मुख्य क्षेत्र हो । पछिल्लो तीन साता उनी क्रिकेटको सहरमा स्थापित हुन खोजिरहेको धनगढीमा व्यस्त थिए । कारण थियो, सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको आयोजना । 

मालिन्डो एयरले काठमाडौँबाट दैनिकजस्तो मलेसियाको उडान भर्दा चैतको अन्तिम सातादेखि उनी डीपीएललाई सफल बनाउन धनगढीमा व्यस्त थिए । प्रायोजन, ब्रान्डिङ, यातायात, खेलाडी समन्वय, टिम म्यानेजर फलोअपदेखिको जिम्मा उनैको काँधमा थियो । उनको व्यस्तता र खटाइ धनगढी पुगेका धेरैको नजरमा परेको थियो । 

डीपीएल सफलताका पछाडिका पात्र हुन् सौरभ । ६ महिनाअघि मात्र मालिन्डोमा आबद्ध उनले त्यसयता खासै बिदा लिएका थिएनन् । डीपीएलका लागि उनले बिदा सञ्चित गरेर राखेका थिए । त्यही बिदामा उनी डीपीएलमा तोकिएको जिम्मेवारी पूरा गर्न पुगेका हुन् । मालिन्डोमा उनको कार्यालय समय प्राय: दिउँसो ४ बजेदेखि मध्यरातसम्म हुन्थ्यो । बिहान, दिउँसो उनी राजधानीमा पनि डीपीएलकै काममा व्यस्त हुन्थे । उनी आफँै अफिसमा रातीको तालिकामा काम मिलाउन अनुरोध गर्थे, ताकि बिहान र दिउँसोको समय डीपीएललाई समय दिन पाइयोस् । 

धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए)सँग मिलेर नेपाली क्रिकेटकै सबैभन्दा ठूलो धनराशिको प्रतियोगिता गर्दा सुवास शाहीलाई प्रमुख पात्रका रूपमा उभ्यायो । शाही डीसीएका अध्यक्ष हुन् । उनीसँगै महेश शाह र धीरेन्द्र साउद डीसीएका संस्थापक र निर्देशक हुन् । शाही, शाह र साउद डीपीएल आयोजकका अग्रपंक्तिका अनुहार हुन् । 

डीपीएल ठूलो सफलतासाथ सम्पन्न हुँदा सौरभ, हर्क बोहरा, प्रकाश खड्का, इन्दिरा धामी, भरत सिंह, भागिराम बखरिया, सञ्जय पन्त, डिल्लीराज भण्डारी, सुशीला चन्द, विक्रम ठगुन्ना, जीवन सुनार, केशव सिंह, भरत सिंह, किसन महत, विजय कार्की, टंक जोशी, दलबहादुर जोरा, प्रकाश बलायर, तीर्थ जोशीलगायतले विभिन्न जिम्मेवारीमा आफ्नो भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राखेनन् । उनीहरूका पछाडि एसपीएका अन्य स्वयंसेवक खटिएका थिए । 

सुवास शाहीको नेतृत्वमा सात वर्षअघि भएको ३५ हजार रुपियाँ पुरस्कार राशिको एसपीए कपले धनगढीलाई नेपाली क्रिकेटको नजरमा तानेको थियो । विजेतालाई १५ र उपविजेतालाई सात लाख रुपियाँ दिइएको डीपीएलसम्म आइपुग्दा शाहीको प्रमुख सहयोगीका रूपमा छन् सौरभ, प्रकाश र हर्कहरू । 
एसपीए कपमा देशभरिका उत्कृष्ट १६ कलेजले सहभागिता जनाउँथे । गत वर्ष यही टोलीले धनगढी क्रिकेट लिग (डीसीएल)को आयोजना गर्‍यो । दुवैलाई समायोजन गरेर यही टोलीले यसपटक नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता डीपीएल सफलतापूर्वक आयोजना गरेको हो । “एसपीए कप आयोजना गर्दा निकै सजिलो थियो । एसपीए सहयोगीका रूपमा थियो, कलेजहरू आफँै खेल्न आउँथे र उनीहरूलाई प्रतियोगिताभरि हेरे पुग्थ्यो, ब्रान्डिङमा अलिक ध्यान दिनुपथ्र्यो,” सौरभ भन्छन्, “डीपीएलमा टिम खोज्नै १० महिना लाग्यो । त्यस क्रममा लगभग सबै ठाउँ पुगियो । उनीहरूलाई मनाउनै धेरै समय खर्चिनुपर्‍यो ।” काठमाडौँमा चार पटकको बसाइपछि प्रायोजक तय भएको उनी सुनाउँछन् । “एसपीए कपका लागि डेढ महिना तयारी गरे पुग्थ्यो तर डीपीएलका लागि झन्डै एक वर्ष लाग्यो,” सौरभ भन्छन् । बिहानदेखि मैदानमा खटिने उनीलगायत डीपीएलको आयोजक टोली म्याच सकिएलगत्तै मैदानमै त्यस दिनको कामको मसिनो विश्लेषण गर्थे । 

काठमाडौँमै कर्णाली डिस्टिलरीका एकाउन्टेन्ट हुन्, प्रकाश खड्का । उनले तीन पटक एसपीएको कप्तानी गरे । डीपीएलका लागि उनले एक वर्षदेखि आफ्नो अफिसमा बिदा लिएका थिएनन् । त्यही भएर उनी डीपीएलमा निर्धक्कका साथ खटिन पनि पाए । क्रिकेटको पृष्ठभूमि भएका कारण पनि उनलाई डीपीएलको जिम्मेवारी खासै गाह्रो भएन । मैदानबाहिरको टेन्टमा बसेर खेल हेर्दा पनि चिटचिट पसिना चुहाइरहेकाहरूलाई डीपीएल आयोजकहरूले टन्टलापुर घाममा काम गरेको देख्दा जिब्रो टोक्नुपर्ने स्थिति थियो ।

डीपीएल आयोजनाको मिति तीन पटक सार्नुपरेको थियो । जति पटक सर्‍यो, त्यत्ति धेरै तनाव कसैलाई हुन्थ्यो भने ती थिए हर्क बोहरा । दुई वर्षदेखि उनी कतारमा छन् । गत वर्षको डीसीएलबाहेक धनगढीको प्रमुख क्रिकेट प्रतियोगिता सबैमा आबद्ध छन् उनी । दोहामा ग्रान्ड हायात होटलमा फुड एन्ड बेभरेज एसोसिएटको जिम्मेवारीमा रहेका उनी डीपीएलकै लागि बिदा मिलाएर नेपाल आएका थिए । बैतडी पहाडमा तीन दिनका लागि आफ्नो पुख्र्यौली घर पुगेका हर्कले बाँकी समय डीपीएलमै बिताए । हर्कले अतिथि सत्कार, खाना र टिम यातायातको जिम्मेवारी निभाउँदा सायदै कसैले खोट लगाए । डीपीएललगत्तै उनी कर्मथलो कतार गइसकेका छन् । 

दुई वर्षअगाडिको एसपीए कप आयोजना हुनु दुई दिनअघि उनले काठमाडौँमा गएर जागिरका लागि अन्तर्वार्ता दिनुपर्ने भयो । उनी रातारात गरेर बसमा राजधानी गए । दिउँसो अन्तर्वार्ता दिए । फेरि रात्रि बस समातेर एसपीए कपका लागि धनगढी आए । 

डीपीएल आयोजकहरूको लगन र मिहिनेत यस्तो थियो कि फाइनलअघिसम्म उनीहरूले खासै ठूलो समस्या झेल्न परेन । फाइनलमा भने टिकट काटेका दर्शकहरूले मैदान भरिभराउ थियो । टिकट नपाएका झन्डै दुई हजार दर्शकलाई नियन्त्रण गर्नु चुनौती थियो, जो टिकट काटेर अस्थायी प्यारापिट वा बाउन्ड्री लाइनबाहिर उभिएर खेल हेर्न चाहन्थे । आयोजकले त्यो पनि आफ्नै हिसाबमा किनारा लगाएको थियो । “यसपटक नयाँ स्वयंसेवक धेरै आएका थिए । अर्को वर्ष प्रतियोगिता आयोजना गर्दा झन् सजिलो हुन्छ,” सुवास शाही आफ्नो टिमबारे भन्छन् । 

यस्तो रह्यो खेल

क्रिकेटमा सबै सम्भव छ । यही भनाइलाई प्रमाणित गर्‍यो, टिम चौराहा धनगढीले । धनगढी प्रिमियर लिग (डीपीएल)मा बलियो मानिएको विराटनगर किंग्सलाई ६२ रनले पराजित गरी स्थानीय टिम चौराहाले उपाधि सहरबाहिर जान दिएन । नेपाली क्रिकेटको सबैभन्दा ठूलो धनराशिको पुरस्कार जित्दा टिमले उपाधिसँगै १५ लाख रुपियाँ नगद पायो । उपविजेता विराटनगरको भागमा सात लाख रूपियाँ परेको थियो । 

राउन्ड रोबिनको खेलपछि रुपन्देही च्यालेन्जर्स र विराटनगर बलियो टोलीमा देखिएको थियो । रुपन्देहीले पाँचमध्ये चार र विराटनगरले तीन खेल जितेको थियो । यी दुई टोली नै क्वालिफायर्समा भिडेका थिए र ब्याटिङमा प्रभाव देखाउँदै विराटनगर फाइनल पुगेको थियो । अन्य चार टोलीले राउन्ड रोबिनमा दुई–दुई खेलमा विजय हात पारे । काठमाडौँ गोल्डेन्स र टिम चौराहा रनरेटमा कञ्चनपुर आइकोनिक र सीवाईसी अत्तरियालाई हराएर प्लेअफमा पुगेका थिए । सुरुका तीन खेल हारेपछि बाहिरिने खतरामा पुगेको टिम चौराहाले त्यसपछिका दुई खेल जिती इलिमिनेटरमा पुग्यो । इलिमिनेटरमा काठमाडौँलाई सजिलै पन्छाएको टिम चौराहाले क्वालिफायर्स–२ मा प्रतियोगिताको दोस्रो सर्वोच्च स्कोर १ सय ७२ रन बनाउँदै रुपन्देहीमाथि विजय हात पारेको थियो । 

एसएसपी कार्यालय मैदानमा अन्तिम पाँच ओभरमा ७८ रन जोड्दै धनगढीले विजय आधार तयार मात्र पारेन, १५९–५ को चुनौतीपूर्ण स्कोर पनि बनायो । आरिफ शेख एक्लैले ५४ रन बनाएका थिए । विराटनगरको सबै आशा कप्तान शरद भेषवाकर र दीपेन्द्रसिंह ऐरीमा थियो । सुशन भारीले दुवैलाई आउट गरेपछि विराटनगर १८.१ ओभरमा ९७ रनमा अलआउट भयो ।

विराटनगरका देब्रेहाते स्पिनर सुशील कँडेल म्यान अफ द सिरिज भए । उनलाई जगदम्बा मोटर्स र जेके अटोमोटिभ्स धनगढीले दुई सय सीसीको टीभीएस अपाच्चे मोटरसाइकल प्रदान गरेको थियो । सुरुका चार खेलमा २५ रन मात्र बनाउन सकेका टिम चौराहका कप्तान पारस खड्का १ सय ७५ रनका साथ सर्वाधिक रन बनाउने खेलाडीमा रहे । 

डीपीएल सुरु हुनु अघिल्लो दिन नेपाल–११ र धनगढी–११ बीच च्यारिटी खेल खेलिएको थियो । त्यसबाट आर्जितमध्ये १५ प्रतिशत रकम धनगढीमा निर्माण गर्ने भनिएको प्रस्तावित फाप्ला क्रिकेट रंगशालाका लागि प्रदान गरिएको थियो । त्यस्तै टिकट बिक्रीबाट उठेको रकमको २० प्रतिशत प्रतियोगिता आयोजक धनगढी क्रिकेट एकेडेमीका प्रशिक्षक स्वर्गीय अर्जुन खड्काको परिवारलाई सहयोगस्वरुप प्रदान गरिएको थियो । डीपीएल टिकट बिक्रीबाट कुल ५ लाख ८६ हजार ८ सय ५० रुपियाँ उठेको थियो ।

तस्विरमा सुवास शाही, हर्क बोहरा, प्रकाश खड्का र सौरभ ओझा (माथिबाट क्रमशः)
 

प्रकाशित: वैशाख १८, २०७४