नेपाली सभ्यताका सूचना

- माधव बस्नेत

अक्षर र लिपिको विकास सबैभन्दा पहिले चीनमा भएको भनिन्छ । तर, आर्य सभ्यता, यसले विकास गरेको दर्शन, रामायण, महाभारत, शिवसंहिताको युग र भाषाको विकासको अवधि हेर्दा चीनभन्दा नेपाल नै अघि भएको लेखक लोककृष्ण भट्टराईले आफ्नो पुस्तक नेपाली सभ्यता : विगत र वर्तमान, लोकतान्त्रिक आन्दोलन र विकास मोडलमा तर्क गरेका छन् । 

शास्त्रहरूमध्ये पुरानोमा पर्ने वेदका ले खक व्यास तनहुँ जिल्लाका भएका र त्यहाँ व्यास गुफा अझै पनि देख्न सकिन्छ भन्छन् भट्टराई । पुस्तकमा नेपाली राष्ट्रिय जागरणका महानायकहरूमा शिव, बुद्ध, यलम्बर, भृकुटी, विदेह सभ्यताका नायक जनक, उनकी छोरी सीता, विराट सभ्यताका अगुवा विराट, शाक्य वंश, बुद्ध सभ्यता साथै आधुनिक नेपालको समुन्नतिमा योगदान गर्ने पृथ्वीनारायण शाह, बिसे नगर्ची, कालु पाण्डे, बहादुर शाह, भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवर, भीमसेन थापालाई मानिएको छ । त्यसअघिका यज्ञवल्क्य, गार्गी, वाल्मीकि, वशिष्ठ ऋषि, विश्वामित्र, दधिचि, भृगु र गौतम ऋषि नेपाली सभ्यताकै उपज हुन् । अझ भृगु ऋषिले रसुवा जिल्लामा पर्ने गोसाइँकुण्डमा कठोर तप गरी ज्ञान प्राप्त गरेका र तप गर्दा त्यहाँका शेर्पा, तामाङ जातिसँग घुलमिल गरेको उल्लेख छ ।

नेपाली भूभागबाट मानवले आफ्नो आदि सभ्यताको थालनी गरेको प्रागऐतिहासिक प्रमाणहरूलाई पुस्तकमा समावेश गरिएको छ । झन्डै १० हजार वर्ष पुरानो शिव सभ्यता, आठ हजार वर्षदेखिको रामायण सभ्यता, पाँच हजार वर्ष पुरानो महाभारत सभ्यता, २ हजार ६ सय वर्ष पुरानो बुद्ध सभ्यताका ठाउँमा करिब हजार वर्षको मात्र सभ्यता बोकेको युरोप र चार सय वर्षको मात्र इतिहास भएको अमेरिकाभन्दा ने पाल किन पछि पर्‍यो ? दर्शनशास्त्रका ज्ञाता, मानवशास्त्री, इतिहासकार, राजनीतिज्ञले त्यसको चुरो खोजी गर्नुपर्ने मत छ पुस्तकमा । र लेखक लोककृष्ण भट्टराईले यसको दोष विदेशीले थोरै सहयोग गरे पनि रौसिने, आफूसँग भएको संस्कृति र सामथ्र्यको सम्मान गर्न नसक्ने, त्यसलाई कमजोर आँक्ने चिन्तन हाबी हुँदा सांस्कृतिक, आर्थिक समुन्नति हुन नसक्नुलाई दिएका छन् ।

 

बेलायतको एक विश्व विद्यालयको सहयोगमा पुरातत्त्व विभागले बुटवल क्षेत्रमा गरेको अन्वेषणमा करिब ६ लाख वर्ष पुरानो मानव कंकाल भेटिएको र झन्डै १५ हजार वर्ष पहिले मानिस बस्ने घर, वस्तु र गुफा भेटिएबाट सिन्धुघाटी, मोहञ्जेदडो, ग्रीक, रोमको सभ्यताभन्दा नेपाली सभ्यता पुरानो भएको दाबी गरिएको छ पुस्तकमा । हुन पनि बुटवल नजिकको दोभान नदीको तीरमा १ करोड १० लाख वर्ष पुरानो रामापिथेकसको दाँत प्राप्त हुनुले नै नेपालमा प्राचीनकालदेखि नै मानव जातिका पुर्खाहरू बस्दै आएको प्रमाणित हुन्छ । भट्टराईले यस्तै तथ्य प्रमाणहरूलाई भरमग्दुर रूपमा प्रस्तुत गरेका छन् । पुस्तकमा खास गरी प्राचीन, मध्यकालीन, आधुनिक र परिवर्तनको आन्दोलनको इतिहासलाई फरक–फरक ढंगले सार्वजनिक गरिएको छ । प्राचीन सभ्यता, संस्कृतिबारे जानकारी नभएका र जानकारी राख्न चाहनेहरूका लागि यो पुस्तक एउटा राम्रै दस्तावेज बन्न सक्छ ।  

हुन त मानव इतिहासबारे विद्वान्हरूबीचमै काफी हदसम्म विवाद र भ्रमहरू छन् । अझै पनि यसको गहन अध्ययन, अनुसन्धानको क्रम जारी नै छ । जस्तो : नेपालकै हकमा भन्ने हो भने पनि कर्णाली, जुम्ला, मुस्ताङको सभ्यता पत्ता लागेको लामो समय भइसकेको छैन । कुसुन्डा, बनकरिया जाति नेपालका प्राचीन जाति हुन् भन्ने प्रमाण त उनीहरूले अझै पनि जंगलमा फिरन्ते जीवन गुजार्नुले नै प्रमाणित गर्छ । भलै अझै यी जातिहरूबारे गहकिलो अनुसन्धान हुन सकेको छैन । किराँत, खस, आर्य, थारू, थकाली, गुरुङ, नेवारको इतिहास र संस्कृतिलाई मात्र नियाल्ने हो भने पनि त्यो तीन हजार वर्षभन्दा पुरानो देखिन्छ । 

नेपाली इतिहासबारे हामीले अहिलेसम्म जे जति जानकारी पाएका छौँ, त्यो विदेशी अनुसन्धानकर्ताहरूकै अनुसन्धान र कृतिका आधारमा मात्र पाउन सकिएको छ । हाम्रा विश्व विद्यालय, पुरातत्त्व विभाग आफैँले गहन खोज अनुसन्धान गरेर यस्ता तथ्य पत्ता लगाउने हिम्मत गर्न  सकेका छैनन् अर्थात् प्राचीन सभ्यता पत्ता लगाउने गरी अनुसन्धान हुनै सकेको छैन । तर, यतिचाहिँ दाबीका साथ भन्न सकिन्छ कि नेपालसँग हजारौँ वर्ष पुराना शिव सभ्यता, विराट सभ्यता, जनकपुर सभ्यता, लुम्बिनी अर्थात् बुद्ध सभ्यता, सिञ्जा सभ्यता, उपत्यका सभ्यता छन् । यी सभ्यताहरूलाई गहन ढंगले अनुसन्धान गर्न सके मानव सभ्यता सुरुआतको धेरै कुरा खुल्न सक्छ र नेपाल प्राचीन सभ्यताको नम्बर एकमा पर्न सक्छ भन्ने पुस्तकको जिकिर छ । 

सन् १७९३ मै फ्रान्सेली खगोलविद् जाँ सिल्भाइन बेलीले ‘हिन्दुहरूको खगोलशास्त्र संसारको प्राचीनतम विद्या हो, हिन्दुहरूबाटै इजिप्सियन, ग्रिसेली, रोमन र यहाँसम्म कि यहुदीहरूले समेत ज्ञान प्राप्त गरेका थिए । ४ हजार ५ सय वर्षपूर्व हिन्दुहरूले गणना गरेर निकालेको तारा गणहरूको गति आजसम्म क्यासिनी र मेयरले निकालेको आधुनिक तालिकाभन्दा एक पल पनि फरक परेको छैन’ भन्ने अनुसन्धान निचोड निकालेका थिए । त्यसो त सन् १७९४ मा बेलायती भाषाशास्त्री सर विलियम जोन्स र सन् १८०३ मा जर्मन दार्शनिक जोहान गटफ्रिड हर्डरले नेपाल सभ्यताको प्राचीन भूमि भएको किटान गरिसकेका थिए । वैज्ञानिकहरूले दिएका यिनै तथ्य वृत्तान्तहरूलाई मिहिन ढंगले पुस्तकमा उतारिएको छ । 

पुस्तकमा आठ अध्याय छन् । सामान्य कमजोरीका बाबजुद अहिले हचुवाका भरमा नेपाली सभ्यता र सम्बन्धलाई गिजोल्याउने प्रयास भइरहेका बेला यो पुस्तक निकै उपयोगी हुन सक्छ । 

नेपाली सभ्यता : विगत  र वर्तमान

लोकतान्त्रिक आन्दोलन  र विकास मोडल

लेखक    :    लोककृष्ण भट्टराई 

प्रकाशक    :    विद्यार्थी पुस्तक भण्डार

पृष्ठ    :    ४९०

मूल्य    :    ६०० रुपियाँ

प्रकाशित: वैशाख १५, २०७४