सामाजिक एकाइको पृथकीकृत अध्ययन

- रामबहादुर रावल

कुनै बेला मार्टिन चौतारीद्वारा प्रकाशित हुने मिडिया अध्ययन जर्नलको विस्तारित रूप हो, समाज अध्ययन । अर्थात्, मिडियाबाहेकका समाजविज्ञानका अन्य विधालाई समेत समेट्ने गरी यो जर्नल तयार भएको छ । यसमा पाँच खालका सामग्री छन्– शोधविधिमा आधारित अनुसन्धानमूलक लेख, टिप्पणी एवं व्याख्यानमा आधारित, पूर्वप्रकाशित सामग्री, अन्तर्वार्ता र पुस्तक समीक्षा । अनुसन्धानमूलक लेखमा पुरातत्त्व, इतिहास, सूचना–प्रविधि, शिक्षा, अर्थवाणिज्य एवं जीविका, पर्यावरणलगायतका विषय सामेल छन् । र, जर्नलको मूल भाग पनि यही नै हो ।

शुक्रसागर श्रेष्ठको ‘नेपालको पहिलो ममीभूत अवशेष’ले मुस्ताङका गुफाभित्र फेला परेका चिहान र अवशेषमार्फत ईसापूर्व १२०० अर्थात् आजभन्दा ३ हजार २ सय वर्षअगाडितिर लैजान्छ । हुन त यसअघि पनि विभिन्न माध्यमबाट यसबारे जानकारी सार्वजनिक भइसकेका हुन् । तर, यहाँ एकै ठाउँमा विस्तृत जानकारी भेला पारी नयाँ स्वरूपमा संगठित गरिएको छ । पुरातत्त्व विभागका पुरातत्त्वविद् श्रेष्ठ अनुसन्धानमा समेत संलग्न भएकाले यो लेखमा प्रस्तुत गरिएका तथ्य र तर्क आधिकारिक मान्न सकिन्छ । तसर्थ, यो लेख नेपालको पुरातत्त्व, इतिहास र मानवशास्त्रबारे बुझ्न र थप अनुसन्धानका निम्ति सन्दर्भ–सामग्री बन्न सक्छ ।

अर्जुन पन्थीको ‘ताङतिङमा इन्टरनेट आगमनको कथा’ले विश्वले सूचना–प्रविधिमा फड्को मारिरहँदा नेपालका ग्रामीण क्षेत्र कसरी प्रभावित भइरहेका छन्, यो संक्रमणको घडीमा जनजीवनले आफूलाई कसरी समायोजित गर्दै छ भन्ने जानकारी मिल्छ । मंगली परियार, ६७, ले बोक्ने चिट्ठीपत्ररहित हुलाकी थैली र मोबाइलरहित उनको जीवनशैलीले ग्रामीण नेपाली समाज, प्रविधि र राज्यको थोत्रो उपस्थितिबीचको खाडललाई प्रतिविम्बित गर्छ ।

गीता चौधरीले थारू र ब्राह्मण/क्षत्री बालबालिकामा सिकाइ उपलब्धिको तुलनात्मक मापन गरेकी छन् । यसमा ब्राह्मण/क्षत्री बालबालिकाको तुलनामा थारू बालबालिकाको सिकाइ उपलब्धि मन्द रहेको निष्कर्ष उनले प्रस्तुत गरेकी छन् । मिश्रित बसोवास भएका बस्तीका थारूहरूमा शिक्षाप्रति आकर्षण बढी रहेको तथ्य पनि उल्लेख गरेकी छन् । भीमबहादुर बोहराको दलित समुदायमा जीविकाको समस्या र यसले शिक्षामा पारेको प्रभावसम्बन्धी लेख पनि यही कोटिको सामग्री हो । यी दुवै सामग्रीले समाजको पल्लो किनारामा रहेका समुदायलाई शिक्षा र विकासको मूलधारमा समाहित गर्ने नीति निर्माणका लागि सहयोग पुर्‍याउने विश्वास गर्न सकिन्छ ।

‘यार्चागुम्बाको उत्पादन विनिमय संरचना’ शीर्षक सामग्रीले ग्रामीण अर्थतन्त्र र सामाजिक जीवनमा यार्चागुम्बा अर्थतन्त्रले पारेको प्रभाव पर्गेल्न खोजिएको छ । यार्चागुम्बाबाट प्राप्त हुने आम्दानीको ठूलो अंश बिचौलिया र ठूला व्यापारीको पोल्टामा जाने भए पनि ग्रामीण जनताको आयआर्जन र जीवनपद्धतिलाई यसले उथलपुथल पारिरहेको कुरालाई यस लेखले उठाउन खोजेको छ, जसलाई क्रमभंगको संज्ञा दिइएको छ । तर, राज्यको ढुकुटीमा नाम मात्रको राजस्व जम्मा हुने, नियन्त्रणहीन तरिकाले यसको संकलन (लेखमा उत्पादन भनिएको) र बिक्रीवितरण हुँदा पर्यावरणीय जोखिम निम्त्याउन सक्ने अवस्थातर्फ पनि यहाँ संकेत गरिएको छ ।

कमलप्रकाश मल्लको बुद्धिजीवीसम्बन्धी पञ्चायतकालीन लेख, उनको लेखमाथि हर्क गुरुङको टिप्पणी र नेपालको प्राज्ञिक अनुसन्धानका लागि आर्थिक पूर्वाधारको उपलब्धताबारे देवेन्द्र उप्रेती र लोकरञ्जन पराजुलीको प्रस्तुतिले हामी नेपालीको बौद्धिक शिथिलताको ऐतिहासिक क्रमलाई दर्शाउँछन् । मल्ल र गुरुङका पुन:प्रकाशित यी सामग्री सामयिक लाग्छन् । अझ मल्लको प्रस्तुतिले ज्ञानको इतिहासमा हामी कहाँनिर छौँ भन्ने प्रस्ट्याइदिन्छ । हामीकहाँ ज्ञानको उत्पादन, प्रशोधन, विनिमयको स्तर बढ्नुको सट्टा किन घटिरहेको छ भन्ने प्रश्नको जवाफ भने उप्रेती र पराजुलीको संयुक्त प्रस्तुतिमा उल्लिखित विश्वविद्यालयहरूले खर्च गर्ने नाम मात्रको अनुसन्धानवृत्तिको आँकडा हो ।

प्रवचनमा आधारित भईकन पनि तीर्थबहादुर श्रेष्ठको ‘नेपालको जैविक भूगोलको पुनरावलोकन’ यस ग्रन्थमा समाविष्ट सर्वाधिक रोचक सामग्री लाग्छ । प्राकृतिक तथा जैविक विज्ञानलाई उनले रोचक रूपमा प्रस्तुत गर्दै नेपालको विशिष्टता, मौलिकता र गर्व गर्नलायक पक्षहरूको चर्चा गरेका छन् । विज्ञानजस्तो रुखो विषयलाई आख्यानजस्तो बनाई लालित्यमय भाषामा प्रस्तुत गर्नु उनको लेखनको विशेषता हो, मौखिक प्रवचनमा आधारित यो सामग्रीमा पनि उनले त्यो विशेषताको कमी हुन दिएका छैनन् ।
यस जर्नलमा समाज विज्ञानको महत्त्वपूर्ण पाटो राजनीति र विधिशास्त्रको पक्ष समावेश छैन । अपेक्षा गरौँ, आगामी दिनमा यी विषय पनि समेटिएलान् । यसमा समेटिएका आठवटा पुस्तक समीक्षाको थप समीक्षा आवश्यक नहोला । 

यस जर्नलमार्फत सम्पादकीय समूह/संस्थाले कस्तो डिस्कोर्स निर्माण गर्न खोज्दै छ भन्ने एउटा अहम् प्रश्न हो । लैंगिक, सामाजिक एवं भौगोलिक/क्षेत्रीय रूपमा किनारामा परेका, प्रकाशमा नआएका पक्षहरूको कोणबाट विषयको उठान गर्नु सम्पादकीय ध्येय देखिन्छ । अझ भन्दा समाजका एकाइहरूको पृथकीकृत अध्ययन गर्ने प्रवृत्तिमा यसले अधिकाधिक जोड दिएको छ । र, यसबाट प्राप्त नतिजा अविकसित, मिश्रित सामाजिक बनोट र प्राय: जनसंख्या गरिबी र अवसरहीनतामा बाँचेको नेपालजस्तो मुलुकमा थप पृथकीकरणको कारक पनि बन्न सक्छ, नीति निर्माता तथा पैरवीकर्ताहरूले विवेकपूर्ण सम्बोधन गर्न सकेनन् भने । 

समाज अध्ययन 
सम्पादक :
 अर्जुन पन्थी, आन्विका गिरी, चूडामणि बस्नेत, देवराज हुमागाईं, नीति अर्याल खनाल, 
        प्रत्यूष वन्त, प्रमोद भट्ट, महेशराज महर्जन, लोकरञ्जन पराजुली र शेखर पराजुलीे
प्रकाशक    :    मार्टिन चौतारी
पृष्ठ    :    २९६
मूल्य    :    ३०० रुपियाँ

प्रकाशित: वैशाख १५, २०७४