[झटारो] किट् किट् किट्

- लक्ष्मण गाम्नागे

हाम्री राष्ट्रपति विद्यादेवी भण्डारी भारतका राष्ट्रपति प्रणव मुुखर्जीको निमन्त्रणामा नयाँदिल्ली पुग्दा स्वागतका लागि विमानस्थलमा एक जना राज्यमन्त्री लिख्रिक्क उभिएको देखेर हामी वीर गोर्खालीहरू रिसले रन्थनियौँ । र, दनादन सामाजिक सञ्जाल अनि पत्रपत्रिकामार्फत कडा आपत्ति जनाउन थाल्यौँ । राष्ट्रपतिको स्वागतका लागि उभिएकी राज्यमन्त्रीका हातमा न पचास–सय किलोको माला थियो, न रंगीचंगी खादा । थियो त एक हातमा मोबाइल । त्यो पनि देखेपछि त झन् हामीले कसरी खप्नू र † 
हामीचाहिँ भारतका सहायकमन्त्री आउँदा मन्त्री, मन्त्री आउँदा प्रधानमन्त्री नै स्वागत गर्न अघि सर्छाैं । प्रधानमन्त्री वा राष्ट्रपति आउँदा सिंगै राज्यलाई स्वागतका लागि विमानस्थलमा उतार्छौं । यस्तो शिष्टाचार भारतले हामीसँग कहिल्यै सिकेन । हामीले लगाएको पैँचो कहिल्यै तिरेन । साह्रै कृतघ्न रहेछ हाम्रो छिमेकी । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा हाम्रा प्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, नेताहरू, साराका सारा लस्कर लागेर उनी बसेको होटलमै पुगेर लाइनमै उभिएर दर्शन गरेको कुरा भारतले बिर्सियो । पैँचो तिर्ने छाँटकाँटै देखाएन । शिष्टाचार सिकाउँदा सिकाउँदा हाम्रो आधा मासु भइसक्यो, ऊ सिक्दै सिक्दैन । हामीजस्तो जान्ने छिमेकीबाट भारत कुनै शिक्षा नै लिँदैन ।  

भारतलाई त्यत्रो महत्त्व दिएर हामीले हाम्रा राष्ट्रपति भारत जाँदा दुई दिन बिदा दियौँ । उताका राष्ट्रपति आउँदा पनि बिदा दिएर त्यत्रो सम्मान गर्‍यौँ । तर, हाम्रा राष्ट्रपति भारत जाँदा भारतले आधा दिन पनि बिदा दिएन । पैँचो तिरेन । लिन मात्रै जान्ने दिन नजान्ने कस्तो छिमेकी हो यो ? 

हामीले कति मान–सम्मान गरेका छौँ उसलाई भने उसको एउटा सहसचिव स्तरको राजदूतलाई हामी देवदूत नै ठान्छौँ । देवदूतले बोलाएपछि खाँदाखाँदैको गाँस छाडेर, सुरालको इँजार पनि राम्ररी नबाँधी हामी मन्त्रीहरू, नेताहरू लर्को लागेर दूतावास पुग्छौँ । उनका सल्लाह, सुझाव, प्रवचन ध्यान दिएर सुन्छौँ र भोलिपल्टदेखि त्यसलाई देववाणी सम्झेर लागू गर्न थाल्छौँ । दिल्लीमा बोलावट भयो भने त खुसीले आत्तिएर सासै फेर्न बिर्सिएलाझैँ गर्दै दौडन्छौँ । आगो भएर गएका हामी पानी भएर आउँछौँ, हिउँ भएर गएका हामी भुङ्ग्रो भएर फर्कन्छौँ । 

हामी हाम्रो संविधान बनाउन उसलाई सोध्छौँ । कानुन बनाउन सोध्छौँ । कुनै तेस्रो मुलुकसँग व्यापार–व्यवसाय गर्नुपर्‍यो भने उसैको आदेश खोज्छौँ । हाम्रा नदीको पानी उपयोग गर्न ऊसँग अनुमति माग्छौँ । उसकै अभिभावकत्वमा आन्दोलनहरू गर्छाैं, सम्झौताहरू गर्छौं । उसले हामीकहाँ नाकाबन्दी लगाउँदा त्यसलाई सफल पार्न आफ्नै सिमाना नाका बन्द गरेर पनि उसलाई हामी सहज बनाइदिन्छौँ, सहयोग गर्छौं । हामीचाहिँ यसरी सधैँ एक असल छिमेकीको नाताले हरपल उसलाई सघाउँछौँ, ऊचाहिँ हामीलाई अपमान मात्रै गर्छ । 

तर, हामी पनि हार मान्नेवाला छ्रैनौँ । पचासौँ वर्षदेखि जुध्दै आएका छौँ । सम्मान माग्दै आएका छौँ । जबसम्म उसले हामीलाई सम्मान गर्दैन, हामीले लगाएको पैँचो तिर्दैन, तबसम्म हामी यसरी नै पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत जेहाद छेड्न छाड्दैनौँ । बंगारा हल्लिएर खुस्किए पनि खुस्कियून्, हामी दाह्रा किट्न छाड्दैनौँ । रिस पोखेरै पैँचो उठाउँछौँ । भारतलाई चेतना भया † किट् किट् किट् ।

प्रकाशित: वैशाख १५, २०७४