[अनुभूति] ७५ भएँ तर थाकेको छैन

- कालीप्रसाद रिजाल

केही दिन पहिले एक जना पत्रकार भाइले मसित प्रश्न गरे, ‘ तपाईं किन लेख्नुहुन्छ ?’ यस्तो अप्रत्यासित प्रश्नले एकछिन म अकमकाएँ । तर, त्यसबेला उनलाई ‘कुनै घटना वा विषयले मन–मस्तिष्कलाई छोएर उद्वेलित गराएपछि त्यसलाई अभिव्यक्त गर्नका लागि लेख्छु’ भनेर मैले चलनचल्तीको जवाफ दिएँ । तर, आफ्नै मनले आफूसित त्यही प्रश्न बारम्बार गर्न थालेपछि जवाफ दिन अप्ठ्यारो पर्दोरहेछ । 

कुनै बेला धनकुटाको सिंबुवा डाँडोबाट बसाइँ सरेर मेरा पुर्खा धरान झरेका थिए । धरानको सिरानबजारको एउटा घरमा मेरो जन्म भएको थियो । पछि तराईको जंगल फाँडेर खेतीपाती र कृषिउपजको व्यापार गर्न थालेपछि मेरा मातापिता स्थायी रूपमा विराटनगर बस्न थाल्नुभयो । त्यसबेला घरमा भारतीय मास्टर राखेर केटाकेटीलाई पढाउने चलन थियो । धरानमा मास्टर राखेपछि मलाई पनि काकाहरूका छोराछोरी सित्तैँ पढ्नका लागि पाँच–छ वर्षको उमेरमा धरान पठाइयो । यसप्रकार मेरो सम्पूर्ण बाल्यकाल र किशोर अवस्था धरानमा बित्यो । छुट्टीमा स्कुल बन्द भएका बेलामा मात्र केही दिनका लागि म बाबुआमासित बस्न पाउँथेँ ।

 

तेह्रथुमको पोकलावाङमा जन्मिएकी मेरी आमाले घरमै पण्डितबाट संस्कृत, नेपाली र गणितको सामान्य शिक्षा पाउनुभएको थियो । आमालाई पढ्ने ठूलो रहर थियो । खास गरेर संस्कृत र नेपाली साहित्यमा उहाँको विशेष रुचि थियो । माध्यमिक शिक्षाका लागि मेरा काका र दाइहरू विराटनगरको आदर्श विद्यालयमा भर्ना भएपछि आमाले पनि लुकीछिपी उनीहरूको कोर्सका नेपाली किताब पढ्न थाल्नुभयो । एकचोटि पढेपछि आमालाई कण्ठस्थ हुन्थ्यो । छुट्टीमा विराटनगर आएका बेला राती सुत्ने बेलामा आमा हामीलाई आफूले लुकीछिपी पढेका किताबका कविता गुनगुनाएर सुनाउनु हुन्थ्यो । यसप्रकार मैले पाँच–छ वर्षकै उमेरमा लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम आदिका कविता आमाको मुखबाट सुन्न पाएँ । कविता सुन्दासुन्दै म निदाउँथेँ र सपनामा पनि तिनै कविताको संसारमा विचरण गरिरहेको हुन्थेँ । आमाको स्वरमा सुनेका ती कविताले मेरो बालमस्तिष्कमा यति गहिरो प्रभाव पारिदिए कि म जानीनजानी केही कथेर तुकबन्दी गर्न थालेँ । मेरो चाला देखेर सबै हाँस्थे, मलाई जिस्क्याउँथे ।

आठ–नौ वर्ष पुग्दानपुग्दै म धरान–विराटनगरका समारोहहरूमा आफूले कथेका गीत आफैँ लय हालेर गाउनसक्ने भइसकेको थिएँ । धेरै पुरस्कार, पदकहरू पनि पाएँ । त्यसबेला तराई क्षेत्रका विद्यार्थीहरू उच्च अध्ययनका लागि भारतका कलेजमा जाने गर्थे । तर, म भने विसं ०१३ मा एसएलसी पास गरेपछि आमाले सुनाएका कविताका स्रष्टाहरूसित साक्षात्कार गर्ने धोको बोकेर काठमाडाँैतिर लागेँ । त्यसबेला म प्राय: गीत लेख्ने गर्थें ।

रेडियोमा गीत गाउने रहरले पनि मलाई काठमाडौँ पुर्‍याएको थियो । तर, काठमाडौँका गोष्ठीहरूमा लेखनाथ पौड्यालदेखि विजय मल्ल, माधव घिमिरेसम्मका कविता सुनेपछि गीत लेख्ने, गाउने रहरलाई छाडेर म कविता लेख्नेतिर केन्द्रित भएँ । त्रिचन्द्र कलेजबाट निस्कने ज्योति पत्रिकाको आयोजनामा ०१४ मा गरिएको अन्तरकलेज साहित्यिक प्रतियोगितामा मेरो ‘मायाको प्रदेश’ शीर्षकको कविता पुरस्कृत भएपछि म काठमाडौँमा पनि चर्चित हुन पुगेँ । पत्रपत्रिकामा मेरा कविता प्रकाशित हुन थाले । पछि मैले बनारस हिन्दु विश्वविद्यालयबाट एमए पास गरेँ । 

त्यसपछि धनकुटा डिग्री कलेजमा प्रिन्सिपल भएर दुई वर्ष प्राध्यापनको काम पनि गरेँ । कलेजमा काम गर्दागर्दै मलाई भूमिसुधार अधिकारीमा नियुक्त गरियो । पाल्पा जिल्लामा दुई वर्ष काम गरेपछि काठमाडौँ आएर झन्डै पाँच–छ वर्ष भूमिसुधार विभागमा काम गरेँ । आखिर ०३२ मा लोकसेवा आयोगको परीक्षा पास गरेपछि सूचना विभागको निर्देशकमा मेरो पदस्थापना भयो । त्यहीँ मेरो भेट नारायणगोपालसित भयो । उनकै आग्रहमा मैले फेरि गीत लेख्न थालेँ । झन्डै २० वर्षपछि लेखेका दुई गीत नारायणगोपालले एकैचोटि रेडियो नेपालमा रेकर्ड गराए । ‘आँखा छोपी नरोऊ भनी’ र ‘झरेको पातझैँ भयो’  बोलका ती गीतले मलाई एकाएक चर्चाको शिखरमा पुर्‍याइदिए । त्यसपछि एकपछि अर्को गरेर मैले लेखेका सबै गीत नारायणगोपालले आफ्नै संगीतमा गाउँदै गए । मलाई गीत क्षेत्रमा स्थापित गराइदिए । 

तर, मेरो लेखनयात्रा त्यति सहज र निरापद भने रहेन । कर्मचारीको सीमा र अनुशासनमा रहेर लेखकको धर्म र दायित्व निर्वाह गर्ने कुरा निकै कठिन एवं सकसपूर्ण हुँदो रहेछ । ‘आँखा छोपी’ बोलको गीत पञ्चायती व्यवस्थाविरोधी भएकाले कर्मचारी भएर यस्ता विद्रोही गीत लेख्नेलाई फाँसी दिइनुपर्छ भनेर एक जना पञ्चले राजासमक्ष बिन्तीपत्र चढाउन पुगे । केही समयका लागि गीत प्रतिबन्धित भयो ।

उच्चस्तरीय छानबिन टोलीले सफाइ दिएपछि गीतमाथिको प्रतिबन्ध हटाइयो । मैले पनि ज्यान बकस पाएँ । जनमतसंग्रहपछि फेरि उस्तै घटनाको पुनरावृत्ति भयो । विभागीय प्रमुखको पदमा रहँदारहँदै प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना गरिएको गाईजात्रा समारोहमा व्यंग्य कविता सुनाउन पुगेँ । प्रधानमन्त्री सूर्यबहादुर थापाले भोलिपल्टै ठाडो पर्चा उठाउन लगाएर मेरो जागिर खोस्ने निर्णय गरे । पुर्जी नबुझेर मैले राजीनामा पेस गरेँ । राजीनामा स्वीकृत गर्ने कि नगर्ने भनेर झन्डै दुई महिना रस्साकसी चल्यो । आखिर ‘आइन्दा यसो नगर्ने’ कागज गराएर मलाई पुन:बहाली गरियो । 

अब प्रश्न उठ्छ– किन बारम्बार जोखिम उठाएर लेख्ने गर्छु ? कुन शक्तिले मलाई खतरा, अनिष्ट र दुष्परिणामको पर्वाह नगरी आत्माको वाणीलाई अक्षरमा प्रतिध्वनित गर्न उत्प्रेरित गरिरहन्छ ? मलाई थाहा छ– लेखक मात्र भएर बाँच्न सकिँदैन । जहान–परिवारको भरण–पोषण हुन सक्दैन । यो पनि थाहा छ– भएको जागिर गुम्यो भने अर्को पाउन कठिन छ । एकचोटि खोसिएको कर्मचारीलाई कसैले काम दिँदैनन् । तर पनि किन कलम हातमा लिएपछि म सबै कुरा बिर्सन्छु र आत्माको आवाज फेरिफेरि लेख्न पुग्छु ? 

गीतिक्षेत्रकै कुरा गर्ने हो भने पनि गीतकारका लागि यो क्षेत्र अझै पनि त्यति आकर्षक बन्न सकेको छैन । दामको त कुरै नगरौँ । सञ्चार माध्यमले गीतकारको नाम प्रसारित गर्न पनि गाह्रो मान्छन् । कुनै प्रकारले गीत लोकप्रिय हुन पुग्यो भने त्यो गीत गायक/गायिकाको हुन पुग्छ । गायक/गायिकाको नामले गीत बज्न थाल्छ । तर, यसो हुँदा पनि कमसेकम गीत बजेकामा सन्तोष मानेर गीतकारले आफूलाई सान्त्वना दिनुपर्ने स्थिति छ । गीतकारलाई कतैबाट कुनै प्रोत्साहन छैन । श्रोताहरूसित पनि प्रत्यक्ष सम्पर्क हुँदैन । तर पनि गीतकारहरू गीत लेखिरहेका छन् । ७५ वर्षको उमेरमा पनि म गीत लेखिरहेको छु । बेलामौकामा केही नयाँ गर्ने, नवीनता ल्याउने प्रयास पनि गर्छु । मैले पहिलोपल्ट गीतमा ‘गर्‍या छ’, ‘पर्‍या छ’ जस्ता बोलीचालीको भाषा प्रयोग गरेँ । श्रोताहरूले मन पराए । तर, केही साहित्यिक मित्रहरूबाट व्याकरण बिगारेको आरोप लाग्यो । गीत विशेषत: लोकबोलीमा आधारित हुन्छ भन्ने कुरो अहिले पनि धेरै विज्ञहरूले बुझेका छैनन् । 

केही वर्ष पहिले मलाई अर्को सुर चढेर आयो । हाम्रो देशमा पनि कुनै बेला सुगम ठुमरी गाउने चलन थियो । मेलवादेवीले गाएको ‘सवारी मेरो रेलैमा’ बोलको ठुमरी गीत अहिले पनि निकै लोकप्रिय छ । चलचित्र प्रेमपिण्डमा यो गीत प्रयोग गरिएको छ । तर, त्यसपछि सुगम ठुमरी गीत कसैले गाएर रेकर्ड गरेको देखिँदैन । मैले सय वर्षपछि त्यही सुगम नेपाली ठुमरीको परम्परालाई अघि बढाउने अठोट गरेर दुइटा ठुमरी गीत तयार पारेँ । ठुमरी गीत सबैले गाउन नसक्ने भएकाले उपर्युक्त संगीतकार गायक/गायिकाको चयन गर्ने काम कठिन थियो ।

एक–दुई जनासँग कुरा गर्दा उनीहरूले खास रुचि देखाएनन् । आखिर मेरो आग्रहमा शिलाबहादुर मोक्तान र गुरुदेव कामतले संगीत तयार गरिदिनुभयो । गुरुदेव कामत, संगीता राना प्रधान र कुन्ती मोक्तानले गाएका दुई ठुमरी गीत म्युजिक नेपालबाट निकालिएको मेरो बिस्तारै बिस्तारै एल्बममा समावेश भएका छन् । तर, झन्डै सय वर्षपछि सुगम ठुमरी गीतको परम्परालाई अघि बढाउने मेरो प्रयासलाई कतैबाट कुनै प्रोत्साहन प्राप्त भएन । सञ्चार माध्यममा पनि ती गीतले खास स्थान पाउन सकेनन् । 

यस्तो सनक मलाई बेलामौकामा चलिरहन्छ । कुनै बेला टोलटोलमा भजन गाउने प्रचलन थियो । नरराज ढकाल, नातिकाजी, कृष्णमान, शिवशंकर, फत्तेमान, नारायणगोपाल, प्रेमध्वजजस्ता अग्रज गायकहरूले भजन गायनबाटै आफ्नो सांगीतिक–यात्रा सुरु गरेका थिए । तर, पछि त्यो परम्परा अघि बढ्न सकेन ।

नयाँ पुस्ताले यसतर्फ रुचि देखाएनन् । भजन देवदेवीहरूको स्तुति र जयगान मात्र होइन । यसको सांगीतिक विशेषता र महत्त्व पनि छ । गजल गायनजस्तै भजन पनि संगीतको एउटा विशेष स्वरूप हो । यही कुरालाई ध्यानमा राखेर मैले युवापुस्ताका गायकलाई भजन गराउन लगाउने अठोट गरेँ । आखिर मेरो आग्रहपछि रामकृष्ण ढकाल भजन गाउन तयार भए । किरण कँडेलको संगीतमा रामकृष्ण ढकालले गाएको उपासना सीडी नि:शुल्क उपलब्ध गराइयो । तर, त्यसको परिणति पनि फासफुसमा समाप्त भयो । यहाँसम्म कि सञ्चारमाध्यमका धार्मिक कार्यक्रममा पनि ती भजनहरूले उचित स्थान पाउन सकेनन् ।

उल्टै रामकृष्णले केही दिनपछि मसित गुनासो प्रकट गरे । ‘दाइ † रामकृष्ण ढकाल पनि अब भजनमा पो उत्रिएछ भनेर साथीभाइले गिल्ला गर्न थाले’ भनेर । अझ अर्को घटना पनि छ–  प्रात: भ्रमणका सिलसिलामा चाबहिल गणेशस्थान जाँदा हरेक दिन हिन्दी भजन मात्र बजाएको पाउँथेँ । मैले एक दिन होडा भाइलाई मिल्छ भने गणेशस्थानमा नेपाली भजन बजाउन लगाइदिनूस् भनेर सीडी दिएँ तर केही दिनपछि होडा भाइले पेनड्राइभमा राखेर दिए मात्र बजाउने रे भनेर मेरो सीडी फर्काइदिनुभयो । चाहेको भए उपासनाका भजन उहाँहरूले आफ्नो पेनड्राइभमा सार्न सक्नुहुन्थ्यो । तर, त्यो झन्झट गर्नुभन्दा हिन्दी भजन नै बजाउनु उहाँहरूले ठीक सम्झनुभयो । 

यस्ता अनुभव धेरै छन् । साँच्चि भन्ने हो भने पाठक र श्रोताहरूको मायाबाहेक गीतकारहरूले केही पाउँदैनन् । कुनै राजनीतिक समूहमा सम्मिलित नभई स्वतन्त्रपूर्वक लेख्न खोज्ने लेखकले हरेक व्यवस्था, हरेक कालखण्डमा उपेक्षित भएर रहनुपर्ने स्थिति छ । देश–विदेशमा गीत जति नै लोकप्रिय भए पनि गीतकारले पाउने भनेको श्रोताहरूको माया मात्र हो । कतैबाट कुनै सकारात्मक सहयोग छैन । प्रोत्साहन छैन । तैपनि, लेखकहरू लेखिरहेका छन् । ७५ वर्ष पूरा गरिसकेँ । आँखा धमिलोधमिलो भइसक्यो । शरीरमा शिथिलता आइसक्यो । तैपनि, मेरो लेखनीमा शिथिलता आएको छैन । म थाकेको छैन । कसैले साथ दिए पनि नदिए पनि एक्लै केही न केही गरिरहन्छु । एक्लै आफ्नो बाटोमा हिँडिरहन्छु । गाली या तालीको कुनै पर्वाह नगरेर आत्माको आवाज कागजमा उतारिरहन्छु । कुन शक्तिले मलाई अभिप्रेरित गरिरहेको छ ? निरन्तर उत्प्रेरित गरिरहेको छ ? प्रश्न अझै अनुत्तरित छ । 

प्रकाशित: वैशाख १४, २०७४