[स्मरण] पहिलो नियुक्ति वीरमा

- गौरीशंकर लाल दास

प्रिन्स अफ वेल्स मेडिकल कलेज (हाल: पटना मेडिकल कलेज)बाट एमबीबीएस सकेर १८ फागुन २००९ मा वीर अस्पतालको रेजिडेन्ट मेडिकल अफिसर भएको थिएँ । त्यतिबेला डाक्टरको तलब १ सय ८० रुपियाँ थियो । त्यसबाहेक २० रुपियाँ भत्ता दिइन्थ्यो । त्यसबेला वीर अस्पतालमा दिनेशानन्द वैद्य, यज्ञराज जोशी, रघुवर वैद्य, भरतराज वैद्यजस्ता वरिष्ठ चिकित्सक कार्यरत थिए । मिलिटरीतर्फ डा हल्दरको नाम प्रख्यात थियो ।

००८ सालमा लोकसेवा आयोगको स्थापना भएपछि सरकारी सेवाका लागि लोकसेवाको परीक्षा अनिवार्य रूपमा उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको थियो । म लोकसेवाको मौखिक परीक्षा उत्तीर्ण गरेर वीर अस्पताल प्रवेश गरेको थिएँ । लोक सेवा आयोगका सचिव खड् गमान मल्ल र स्वास्थ्य सेवा विभागका डाइरेक्टर जितसिंह मल्लले अन्तर्वार्ता लिएका थिए । प्राविधिकतर्फको प्रश्न सोध्ने जिम्मा जितसिंहको थियो । उनले मलाई सोधेको पहिलो प्रश्न थियो, ‘टनसिलको अपरेसन कसरी गर्नुहुन्छ ?’

त्यतिबेला शल्यक्रियाका लागि हाइड्रोसिल, हर्निया र टनसिलका बिरामीहरू अस्पताल आउँदा रहेछन् । औषधि खाएर टनसिल निको हुन्छ भन्ने विश्वासै थिएन । टनसिल बढ्यो कि अपरेसन गरिँदो रहेछ । सायद त्यसै कारण जितसिंहले मलाई उक्त प्रश्न सोधेका थिए । मैले शल्यक्रियाको तरिकाबारे बताएपछि उनी सन्तुष्ट देखिए ।

अस्पतालका नाममा काठमाडौँ उपत्यकामै वीर अस्पताल मात्र थियो । त्यसको हालत पनि वास्तवमा अस्पताल भन्नलायक थिएन । अस्पतालभित्र असाध्यै फोहोर र दुर्गन्ध थियो । सरकारद्वारा नि:शुल्क खाना र औषधोपचारको व्यवस्था गरिएको भए पनि आम मानिस अस्पताल आउन डराउँथे । सरकारी अस्पताल भनेको अति विपन्न मानिसहरूका लागि मात्र हो भन्ने मान्यता थियो । 

सामान्य र मध्यम वर्गीय परिवारसमेत अस्पताल आउन भनेपछि लाज मान्थे । त्यस्ता व्यक्तिहरू बरू डाक्टरलाई घरमै बोलाएर उपचार गराउँथे । दुई–तीन रुपियाँ शुल्क दियो भने डाक्टर घरमै गएर चेक–जाँच र औषधिमूलो गरिदिन्थे । त्यसक्रममा कैयौँपटक काठमाडौँका मानिसहरूका घरमा पुगेर जाँच गरेको अनुभव मैले पनि सँगालेको छु ।

त्यतिबेला औषधिको कुरा गर्दा ट्याब्लेटको उति चलन थिएन । हरेक औषधि झोल र पाउडर–पुरियामा पाइन्थ्यो । सर्वसाधारण मानिस पेट पोल्यो र दुख्यो भने रातो झोल दिनूस् न भनेर अस्पताल आउँथे । प्राय: औषधि रातो र सेतो झोलमा पाइन्थ्यो । सिसी लिएर औषधि पसल र अस्पताल जानुपथ्र्यो । औषधि पसलका नाममा नयाँसडकमा काठमाडौँ मेडिकल हल र बागबजारमा पशुपति मेडिकल हल थिए । 

अहिलेको वीर अस्पताल रहेको उत्तरतर्फ मर्दाना (पुरुष) र दक्षिणतर्फ जनाना (महिला) वीर अस्पताल थिए । मर्दानाका सुपरिटेन्डेन्ट डा मजुमदार थिए भने जनानातर्फ रानीसाहेब भनिने डा राजाबाई राणा थिइन् । मजुमदार स–साना अपरेसन आफैँ गर्दा रहेछन् ।

एक दिन दिउँसो हाइड्रोसिलको अपरेसन गर्ने क्रममा क्लोरोफर्म र इथरको प्रयोग गरेर बिरामीलाई बेहोस गराउने क्रममा कम्पाउन्डरले क्लोरोफर्मको धेरै प्रयोग गरेछन् । बिरामीलाई जुन टेबुलमा बेहोस पारिएको थियो, उनी त बेहोसको बेहोसै भए । उनको इहलीला समाप्त भयो । 

खास गरी बिरामीलाई बेहोस गराउने काममा कम्पाउन्डरलाई प्रयोग गरिँदैनथ्यो । मेरो ड्युटी समय सकिएकाले म किनमेल गर्न न्युरोडतर्फ गएको थिएँ । बिरामीलाई एनेस्थेसिया अर्थात् बेहोस बनाउने काम डा भवानी भक्तले गर्थे । तर, त्यति बेला उनी पनि थप तालिमका लागि भारतको मुम्बई गएकाले उनको अनुपस्थितिमा अर्को डाक्टरको दरबन्दी नरहेकाले कम्पाउन्डरको सहयोगमा बिरामी बेहोस गराइएको रहेछ ।

त्यसरी मृत्यु हुने व्यक्ति नेपाल परोपकार संस्थाका सदस्य रहेछन् । लापरबाहीका कारण उनको निधन भएको विरोधमा परोपकार संस्थाबाट आएका मानिसहरूले मजुमदारको सातो नै लिए । अपरेसनलाई सामान्य ढंगले लिने र कम्पाउन्डरको भरमा अपरेसन गर्दा त्यस्तो परिणाम हात लागेको थियो । 
सिद्धिमणि दीक्षितलाई हटाएर राणाहरूको नजिक रहेका जितसिंह मल्ललाई वीर अस्पतालको डाइरेक्टर बनाएपछि धेरै डाक्टरहरू असन्तुष्ट बनेका रहेछन् । स्वास्थ्य क्षेत्रमा सिद्धिमणिको नाम र लोकप्रियता उच्च थियो । सायद यस कारण पनि मानिसहरू जितसिंह मल्लप्रति रुष्ट भएका होलान् । जितसिंहलाई हटाउन भनेर भरतराज वैद्यको नेतृत्वमा डाक्टरहरूको एउटा समूह बनेको थियो । यत्तिकैमा झन्डै ६ महिना वीर अस्पतालमा काम गरेपछि म टोखा सिनेटेरियममा सरुवा भएँ ।

(दास वरिष्ठ छाती रोग विशेषज्ञ हुन् ।) 

प्रस्तुति : ईश्वरी ज्ञवाली
 

प्रकाशित: वैशाख १४, २०७४