असली आत्मकथा

  • पाठकको रोजाइमा कन्फेसनसहितका आत्मवृत्तान्त

- राजकुमार बानियाँ

कमाठीपुरा, १२ नम्बर गल्लीमा एउटा अनौठो घटना भयो । बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरू आएका थिए । ती केटाहरू आफूले मन पराएका केटी लिएर कोठामा गए । तीमध्ये एउटा केटाले मलाई रोज्यो र मेरो कोठामा आयो । 

भर्खर बच्चा जन्मिएकाले मेरो स्तनबाट दूधका धारा चुहिरहेको थियो । निपलबाट दूध बगेपछि त्यो केटो अर्कै लोकमा पुगेछ । उसले मलाई भन्यो, ‘मलाई तिमीसँग अरू केही गर्नु छैन । बस् मलाई दूध खान देऊ ।’ नितान्त नयाँ र नौलो प्रस्तावले दिमाग खराब गर्‍यो, रिस पनि उठ्यो । 

‘मैले आजसम्म दूध खान पाइनँ । त्यसैले तिमीलाई आमा बनाउन चाहेको हुँ । ऊसँगै म पनि भावुक भइगएँ । बच्चालाई स्तनपान गराउन नपाउँदा छाती चर्किरहेको थियो । उसले मलाई आमा नै भनिसकेको छ भने उसलाई छोरा मानेर स्तनपान गराउन केको आपत्ति ? कुराकानी गर्दागर्दै उसले काखमा बसेर बच्चाजस्तै स्तनपान गर्‍यो ।


एसिया डेमोक्रेसी एन्ड ह्युमन राइट अवार्ड विजेता सुनीता दनुवारको आत्मवृत्तान्त आँसुको शक्तिमा गरिएको ‘बम्बई बयान’ हो यो । १३ वर्षको उमेरमै बलात्कृत भएर कुमारी आमा बनेकी सुनीता ६ महिने शिशुसँगै मुम्बईको कोठीमा बेचिन्छिन् । एक महिनामै कोठीवालाले फेरि अर्को कोठीवालालाई बेचिदिन्छ । त्यसको सात महिनामा उद्धार गरिएपछि आफूजस्तै महिलाका निम्ति शक्ति समूह खोल्छिन् र त्यही संस्थामार्फत जीवनको नयाँ अध्याय सुरु हुन्छ । उनको जीवन–संघर्षको सन्देश हो, जीवनको पुन:निर्माण सम्भव छ । 

वेश्यालयको दिनचर्या आख्यानमा त आएकै थिए तर आत्मवृत्तान्तमै जीवन्त रूपमा प्रस्तुत गरेकी छन्, सुनीताले । आफ्नो उमेरदार जीवन र करिअरको लोभलालच नगरी एक महिलाले गरेको कठोर ‘कन्फेसन’ दुस्साहसी लाग्छ ।

आत्मलेखन नेपालीमा नयाँ विधा होइन । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेश (कथनकाल १८३१, प्रथम प्रकाशन २००९) देखि सुरु भएको आंशिक आत्मलेखन सुनीता दनुवारसम्म आइपुग्दा कति विश्वासिलो हुन सक्यो त ? आमरूपमा आत्मलेखन आत्माश्लाघा/आत्मसंकोच, सामाजिक नैतिकताको पर्दा, समयको दूरी र समकालीनको भयबीच रूमल्लिएको छ । 

आफ्ना जीवनका घटना र अनुभवबाट अरू लाभान्वित होऊन् भन्ने मनसायभन्दा पनि स्वाङ, पाखण्ड, बडप्पन र मपाईंत्व मात्रै देखिएको छ । आत्म–प्रस्तुतिभन्दा पनि आत्मपरिचय निर्माणमै जोडबल लगाएकाले आत्मकथा पढेर निराश हुने पाठकको जमात ठूलो छ । आत्मकथा कसले लेख्ने, कहिले लेख्ने र कसरी लेख्ने यसको सैद्धान्तिक जवाफ छैन । तर, अद्भुत घटना, सन्देश या पाठ भएका व्यक्ति या ऐतिहासिक मोड र बिसौनीको प्रत्यक्षदर्शीले नै लेख्ने हो आत्मकथा । 

सुनीतालाई बिर्साउने अर्को अद्भुत आत्मकथा छ, दमनराज तुलाधर (०३९) । प्रख्यात प्रशासक एवं अनुवादक तुलाधरको आत्मकथा कति विवादास्पद भयो भने परिवारका सदस्यहरूले बजारबाटै रातारात खरिद गरेर जलाइदिए । संग्रह प्रकाशन पुल्चोकले ३ सय ६५ थान छापेको त्यो आत्मकथाको झड्का अहिले पनि पाठकहरू अनुभव गर्छन् । 

तुलाधरले कति इमानदारीपूर्वक आफूलाई अभिव्यक्त गरेका थिए भने आफूभन्दा जेठी केटीसित टोलमा बिहेको खेल खेल्दाखेल्दै कामक्रीडा सुरु भएको प्रसंग बिनाहिचकिचाहट लेखेका छन् । अढाई–तीन वर्ष ‘वैकुण्ठ आनन्द’ भोगेपछि केटीको वीरगन्ज साहूको छोरासित बिहे भएको र सात महिनामै काटीकुटी आफ्नै अनुहार भएकी छोरी जन्माएको मात्र होइन, धादिङकी श्रेष्ठ थरकी केटीसित गोप्य विवाह, बाबुले भगाएर ल्याई आफ्नो कोठामा हुलिएकी नारीसँगको समागम आदि प्रसंगले जाँ ज्याक रुसोकै कन्फेसनको सम्झना दिलाउँछ ।

१९१० मा भोटसितको लडाइँमा सबैभन्दा धेरै भरिया जुटाएबापत राणा प्रधानमन्त्री जंगबहादुरबाट सात गाउँको महानाइके लालमोहर पाएका बाजे मुनिराजको क्रूरता मात्र नभएर प्रजापरिषद् काण्डमा आफू थुनिएको घटनादेखि राणाकालीन काठमाडौँको सामाजिक परिवेश, ००७ को परिवर्तन, नेपालको परराष्ट्र नीतिमा भारतको दबदबा, चीनसँगको सम्बन्धलगायत सुदूर अतीतलाई रोचक/घोचक शैलीमा उधिनेका छन् उनले । 

तुलाधरले ६६ वर्ष पूरा भएको अवसरमा निकालेका थिए आत्मकथा । उनलाई उक्साउनेमा थिए, वासुदेव शर्मा लुइँटेल । अंग्रेजीबाज तुलाधरको कलम नेपालीमा त्यति सर्थेन । दिनको सात घन्टासम्म तुलाधरले भन्ने, वासुदेवले सुन्ने र दाताराम शर्माले लेख्ने क्रम ४० दिनसम्म चलेको पुस्तकमा उल्लेख छ । उनले त्यसलाई ‘अधुरो जीवनी’ भन्दै आफ्नै गोप्य सम्बन्धबारे लेख्दा मानसिक रूपमा हलुंगो भएको स्वीकारेका छन् । 

दमनराज तुलाधरमा कुनै फुर्तिफार्ती छैन । विषयवस्तु बलियो छ भने प्रस्तुति सरल । राणाकालीन नेपालको सम्पूर्ण चित्रका साथै तत्कालीन नेपाली नेताका कमजोरी केलाइएको छ । “त्यो नेपाली माटो चिनेको आत्मकथा हो । तुलाधरको जगमा आत्मकथा लेखिएको भए नेपाली समाज धेरै अघि पुगिसक्थ्यो,” लेखक सौरभ भन्छन्, “जर्नेल, मन्त्री, सचिव हुनेबित्तिकै ती उल्लेखनीय हुन्छन् या पठनीय हुन्छन् भन्न सकिँदैन । तीन करोड नेपालीकै आत्मकथा लेखियो भने कसले, किन र केका लागि पढ्ने ?” 

त्यतिबेला संग्रह प्रकाशनले १०–१२ जना नेपालीको जीवनकथा टेप गरेको थियो । हवल्दार देवीप्रसाद, हरिहर शास्त्री, शंकर कोइराला, शंकर लामिछाने, साम्बभक्त शर्मा सुवेदी, धरणीधर कोइराला, नरपति शर्मा पोखरेल, भरतराज पन्त, मुक्तिनाथ तिमिसिना, छविलाल पोखरेल, अलि मियाँ आदि आत्मकथा त्यतिबेलैका हुन् । 

भारतीय समाजवादी चिन्तक राममनोहर लोहियाले इमानदार नहुनुभन्दा आत्मकथा नलेख्नु नै जाती हुने अभिव्यक्ति दिएका थिए कुनै बेला । उनलाई सोधिएको थियो, ‘तपाईं आत्मकथा किन लेख्नुहुन्न ?’ उनले भने, ‘किनभने, म महात्मा गान्धीले जस्तो पूराका पूरा सत्य कुरा लेख्न पनि सक्दिनँ र जवाहरलाल नेहरुले जस्तो पूराका पूरा झूटा कुरा लेख्न पनि सक्दिनँ ।’

नेपाली आत्मकथामा महात्मा गान्धी दुर्लभ छन्, नेहरु फालाफाल । यति हुँदाहुँदै पनि नेपालमा आत्मवृत्तान्त एक रोचक विधाकै रूपमा विस्तार भइसकेको छ । गोपालदास श्रेष्ठले जाँ जाक रुसोको कन्फेसन्स (०२९)मा नेपालीमा उल्था गरे भने भिक्टर प्रधानले नेपाली जीवनी र आत्मकथाको सैद्धान्तिक तथा ऐतिहासिक विवेचना गरे । आत्मकथा भनेको आफैँसँग संवाद हो । तर, त्यो संवादमा पनि छलछाम गर्न कतिपय आत्मकथाकार अभिशप्त छन् ।

संग्रह प्रकाशनबाट आएको मुक्तिनाथ तिमिसिना (०४०) छलछामको नमुना हो । पोखरा क्षेत्रका सामाजिक र राजनीतिक कार्यकर्ता तिमिसिनाले आत्मकथामा आजको पोखरा आफैँले बनाएको उल्लेख गरेका छन् । तर, पोखरामा कसैले उनको नाम लिएको देखिँदैन । 

“यहाँ आत्मकथाकार त उदाएका छन्, अरूलाई होइन आफैँलाई ढाँटेर,” सौरभ थप्छन्, “धेरैका आत्मकथा या जीवनी टाइम क्याप्सुलभन्दा व्यक्तिगत चिनाटिपनका रूपमा छन्, रमेशनाथ पाण्डे मुक्तिनाथ तिमिसिनाकै कार्बन कपी भएर निस्किए ।”

पछिल्लो समय सेलिब्रिटीदेखि अर्बपतिसम्मका आत्मकथा आए । राजदरबारका सचिव विवेक शाहदेखि पूर्वप्रधानसेनापति रुक्मांगद कटवालसम्मको आत्मबखान आलोचित भए । आत्मकथाका रूपमा झूटकै पुलिन्दा आउन थालेकाले पाठकमा एकखाले डिप्रेसन भइसकेको छ । आत्मलेखनमा इमानदारीकै कारण बीपी कोइरालाको आत्मवृत्तान्त, धच गोतामेको कालान्तर, डाक्टर शंकर उप्रेतीको जीवन एक सपना, भैरवबहादुर थापाको हिँड्दाहिँड्दै बनेका तस्बिरहरू, मदनमणि दीक्षितको जीवन महाभियान, जगदीश घिमिरेको अन्तर्मनको यात्रा, झमक घिमिरेको जीवन काँडा कि फूल र आनी छोइङ डोल्माकोफूलको आँखामा प्रशंसित छन् । 

व्यावसायिक रूपमा आत्मकथा लेखाउनकै लागि घोस्ट राइटिङ कम्पनीसमेत खुलिसकेको छ । घोस्ट राइटिङ नेपालले अहिलेसम्म राजनीति, प्रशासन, साहित्य, समाजसेवा, कृषि, शिक्षा, पर्यटन, खेलकुद, सिनेमा, संगीतलगायत विधाका १ सय ३० जनाको आत्मकथा लेखाइरहेको त्यसका अध्यक्ष कमल ढकालको दाबी छ । उनका अनुसार निकट भविष्यमै भुवन केसी, करिश्मा मानन्धर, ओमविक्रम विष्ट, अम्बिका श्रेष्ठ, ओनसरी घर्ती, भूमिका श्रेष्ठ, विमला थापा, बिके श्रेष्ठलगायतका आत्मकथा आउँदै छन् । 
“बीपी कोइरालाले त मेरो आत्मकथा लेख्ने बेला भएको छैन, गणेशराज शर्माले झकझकाइरहेकाले मात्र सम्भव भएको भनेका छन्,” ढकाल भन्छन्, “कन्फेसनसहितका आत्मकथालाई समाजले सम्पत्तिका रूपमा लिन सक्नुपर्छ ।” अपवादबाहेक जीवन छर्लंग हुने गरी आत्मकथा आउनै नसकेको उनको स्वीकारोक्ति छ । ‘आत्मकथा वा जीवनीको केन्द्रविन्दुमा व्यक्ति हुनु स्वाभाविक हो,” कमल भन्छन्, ‘किताबमा ती व्यक्ति हिरो हुन् तर अरूले नमान्न पनि सक्छन् ।” 

त्यसो त आत्मवृत्तान्तकारलाई पनि सजिलो भने छैन । जीवनका दुर्घटना लुकाउन्जेल महान् मान्ने र त्यसलाई इमानदारीपूर्वक पोख्दा परिवार र समाजबाटै प्रताडित हुनुपर्ने अवस्था पनि आउँछ । “क्रिस्चियन सोसाइटीमा क्लासमा पनि कन्फेसन हुन्छ, चर्चमा पनि कन्फेसन हुन्छ,” सिकाइ समूहका सुदर्शन घिमिरे भन्छन्, “उनीहरूलाई कन्फेसन गरेपछि माफी मिल्छ, हामीकहाँचाहिँ जीवनभर कालो धब्बा लाग्छ ।” आत्मवृत्तान्तकारको इमानदारीलाई लिएर मजाक उडाउने र खेद्ने भएकाले पनि अधिकांशले दमनराज तुलाधरले जस्तो दुस्साहस गर्न सक्दैनन् । 

त्यसो त नेपालमा आत्मकथा लेख्नुपर्ने थुप्रै व्यक्तित्व छुटिसकेका छन् । नेपाल र नेपालीले थाहा पाउन जरुरी कुरा उनीहरूसँग थियो । ज्ञान, अनुभव र आरोह–अवरोह भएका योगी नरहरिनाथ, जनकलाल शर्मा, यदुनाथ खनालका आत्मकथा आएनन् । अत्यन्त विवादास्पद नेता सूर्यबहादुर थापा, शरदचन्द्र शाह पनि आत्मकथा नल्याई बिदा भए । तर, कतिपयका आत्मकथा भने नक्कली ठहरिए । 

“पूर्वराजा ज्ञानेन्द्रले व्यापार र राजनीति, पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिल्ली बसाइका आठ वर्ष, महन्थ ठाकुरले गुप्त अभीष्ट इमानदारीसाथ खोल्ने हो भने त्यो पठनीय हुन सक्छ,” सौरभ भन्छन्, “१०–१५ वर्षपछि कमल थापा, जगदीशचन्द्र पोखरेलदेखि वीर नेम्बाङसम्मले इमानजमान राखेर 
लेखे हुन्छ ।” 

प्रकाशित: वैशाख १३, २०७४