दशकौँदेखि एकछत्र

  • साना पार्टीहरूको नेतृत्व एकै व्यक्तिको कब्जामा

- माधव बस्नेत

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छे विसं ०४८ देखि ०७० सम्मका पाँचवटै निर्वाचनमा अटुट रूपमा जित्ने थोरै नेतामध्येका एक हुन् । २६ वर्षदेखि विजुक्छे भक्तपुरबाट निर्वाचन जितिरहेका त छन् नै, त्यसभन्दा रोचकचाहिँ माघ ०३१ देखि अर्थात् ४२ वर्षदेखि उनी अविछिन्न नेमकिपाका अध्यक्ष छन् । 

चैत ०७० मा पार्टीको छैटौँ महाधिवेशन भएको थियो । पार्टीका केन्द्रीय सदस्य एवं विदेश सम्बन्ध विभाग प्रमुख रहेका सभासद् प्रेम सुवालका भनाइमा महाधिवेशनमा झन्डै ५० जिल्लाका प्रतिनिधि/पर्यवेक्षक सहभागी थिए । ती कसैले पनि विजुक्छेको नेतृत्व क्षमतामाथि प्रश्न उठाएनन् । प्रश्नै उठाउने हिम्मत नगरेपछि उनीसँग प्रतिस्पर्धा गर्ने आँट त झन् कसले गरोस् ! त्यसैले महाधिवेशनबाट विजुक्छे फेरि एकपटक सर्वसम्मत अध्यक्ष निर्वाचित भए । अब कम्तीमा चैत ०७५ सम्म उनी पार्टी अध्यक्ष रहनेछन् । 

नेमकिपाका अध्यक्ष विजुक्छे मात्र किन, ०१४ मा भएको नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनबाटै केन्द्रीय सदस्य बनेका मोहनविक्रम सिंह पनि ३१ वर्षयता दुई वर्षबाहेक निरन्तर नेकपा मसालको प्रमुखमा बहाल छन् । ०४२ मा मोहन वैद्य नेतृत्वको नेकपा मशाल विभाजित भएपछि सिंहको नेतृत्वमा नेकपा मसाल गठन भएको थियो । त्यसयता ०५७ सम्म सिंहले एकछत्र रूपमा मसालको रथ हाँके । ०५७ मा भएको राष्ट्रिय सम्मेलनले सिंहले पार्टीकै कार्यकर्ता दुर्गा पौडेलसँग औपचारिक रूपमा दोस्रो विवाह गर्नु सामाजिक परिवेश अनुसार बेठीक भएको निष्कर्ष निकाल्यो । यसपछि उनी दुई वर्ष महामन्त्रीबाट हटे । त्यो दुई वर्ष पार्टीको कमान्ड रामसिंह श्रीषलाई सम्हाल्ने मौका जुर्‍यो ।

०५९ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र र मसालबीच एकीकरण भयो । यसपछि सिंह पुन: महामन्त्री चुनिए । श्रेष्ठ सह–महामन्त्री तोकिए । तर, ०६२/६३ को जनआन्दोलनताका नेकपा एकता केन्द्र मसाल विभाजित भयो । एकता केन्द्रको कमान्ड श्रेष्ठले नै सम्हाले भने मसालको रथ सिंहले गुडाए । विभाजनपछि २६–३० फागुन ०६३ मा मसालले सातौँ महाधिवेशन गर्‍यो । त्यसबेला सिंहलाई टक्कर दिने हैसियत कसैले देखाएन । र, उनी त्यसयता निरन्तर महामन्त्री छन् । २०–२१ साउन ०७० मा मसालले राष्ट्रिय परिषद् र ११ असार ०७३ मा द्वितीय राष्ट्रिय भेला गर्‍यो । यी भेलामा पनि सिंहको नेतृत्वलाई कसैले चुनौती दिएन । सिंहको पार्टीबाट अवसर पाउने बेलामा चित्रबहादुर केसी नै अगाडि छन् । उनी ०५१ देखि निरन्तर सांसद छन् र उपप्रधानमन्त्री पनि भइसकेका छन् । सिंहपत्नी दुर्गा पौडेलचाहिँ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र सांसद छिन् । 

यी दुई यस्ता प्रतिनिधि घटना हुन्, जसले कम्युनिस्ट पार्टीमा आबद्ध भएकाले जनवादको अभ्यास–वकालत त गर्छन् तर व्यवहारमा भने आफ्नो जीवनकालभरि पार्टी नेतृत्व अरूलाई सुम्पन चाहँदैनन् । 
नेकपा मालेका महासचिव सीपी मैनाली पनि त्यस्तै अर्का उदाहरण हुन् । ४ फागुन ०५८ को बिहानै तत्कालीन नेकपा मालेको केन्द्रीय समिति बैठक थियो, गुटविहीन रूपमा सबै नेता–कार्यकर्ता एमालेमा फर्कने निर्णय गर्न । किनभने, त्यही दिन माले–एमालेबीच एकीकरण हुँदै थियो । बैठकले सबै एकसाथ एमालेमा फर्कने माइन्युट पनि गर्‍यो । र, दिउँसो पत्रकार सम्मेलनमार्फत एकीकरण घोषणा सार्वजनिक गर्ने सहमति भयो । बैठकमा मालेका तत्कालीन स्थायी समिति सदस्य सीपी मैनाली पनि सहभागी थिए । निर्धारित समयमा पत्रकार सम्मेलन भयो । तत्कालीन महासचिव वामदेव गौतमले एकीकरणको घोषणा गरे । ठीक यही बेला मञ्चमा सँगै आसीन मैनालीले जुरुक्क उठेर भने, “म यो एकताका पक्षमा छैन । म एमालेमा फर्कन्नँ ।” बिहान आफैँ सहभागी बैठकबाट एमालेमा फर्कने निर्णयमा सहमति जनाए पनि मैनाली त्यही क्षणदेखि अहिलेसम्म निरन्तर नेकपा मालेको नेतृत्वमा छन् । 

मैनालीले मालेको कमान्ड सम्हालेयता त्यस पार्टीमा पटक–पटक विभाजन भयो । उनीसँग असहमत हुनेहरू लुरुक्क बाहिरिए । तर, मालेभित्रै बसेर मैनालीको नेतृत्वलाई टक्कर दिने हैसियत कसैले पनि देखाउन सकेन । १७ चैतमै पनि मालेका पोलिटब्युरो सदस्य कपिल पोखरेलले पार्टी परित्यागको घोषणा गरे । महासचिव मैनालीले पार्टीमा निर्णयहरू गराउनुपर्दा प्रजातान्त्रिक पद्धति अनुसार छलफल नगर्ने, पार्टीका कुनै पनि नेताका कुरा नसुन्ने, आफूलाई जे लाग्यो त्यही अनुसार मात्र चल्ने, उनलाई स्वीकार गर्ने भए अनुयायी मात्र भएर रहनुपर्ने भएपछि आफूले माले परित्याग गरेको पोखरेल बताउँछन् । भन्छन्, “सामन्तवादी चेत एक पटक नेतृत्वमा पुगेपछि फेरि तल झर्न चाहन्न । मुखले जे पनि भन्ने र व्यवहारमा सामन्तवाद हाबी भएकाले सीपी अरूलाई नेतृत्व हस्तान्तरण गर्न मानिरहेका छैनन् । बरू आफूलाई टक्कर दिन खोज्नेलाई पार्टीबाटै बाहिरिने वातावरण बनाइरहेका छन् ।” त्यति मात्र होइन, सांसद र मन्त्री बन्नेमा पनि मैनाली र उनकी पत्नी नीलम केसी खड्काले नै अवसर पाएका छन् । अघिल्लो पटक मैनाली दम्पती सँगै सभासद् थिए भने ०७० पछि उनीहरू आलोपालो मन्त्री र उपप्रधानमन्त्री भए ।

गैरवाम पनि उही पथमा 
कम्युनिस्ट नेताहरू मात्र आजीवन पद त्याग्न नचाहने रोगबाट आक्रान्त छैनन् । आफू प्रजातान्त्रिक भएको दाबी गर्नेहरू पनि यस्तो सूचीमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (तत्कालीन राप्रपा नेपाल)का अध्यक्ष एवं उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापा नै यसका एक गज्जब उदाहरण हुन् ।

०६० मा तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग्गिएर थापाले राप्रपा नेपाल स्थापना गरेका थिए । स्थापना हुँदा रवीन्द्रनाथ शर्मा अध्यक्ष थिए । तर, शर्माबाट छिट्टै उनले आफ्नो हातमा अध्यक्षको लगाम खोसे । त्यसयता १४ वर्षदेखि उनी निरन्तर पार्टी अध्यक्ष छन् । थापाले पद्मसुन्दर लावती, राजेश्वर देवकोटाजस्ता पात्रलाई नेतृत्व सुम्पन नमानेकै कारण पार्टी पटक–पटक विभाजित भयो । बरू, उनी विभाजन सहन तयार भए, नेतृत्व सुम्पन तयार भएनन् । दुई महिनाअघि भएको एकता महाधिवेशनमा पनि प्रकाशचन्द लोहनीले थापासँग प्रत्याशी हुने रहर गरेका थिए । तर, लोहनीलाई उम्मेदवार हुनबाट रोकियो । अन्तत: लोहनीले राप्रपा नै परित्याग गरे । 

२४ चैत ०५० मा हरिचरण साहले नेपाली जनता दलका नामको पार्टी गठन गरेका थिए । स्थापनाकालमा साहले पार्टी अध्यक्ष श्रीमती रामदुलारी देवीलाई बनाए । अध्यक्ष रामदुलारी भए पनि उनी त थपना न थिइन् । पार्टीको शक्तिजति हरिचरणसँगै थियो । ०६४ को संविधानसभा निर्वाचन सम्मुखमा उनी आफैँ पार्टी अध्यक्ष भए । यस निर्वाचनमा उनको पार्टीले समानुपातिकमा दुई सिट पायो । जसमा एक जना आफ्नै छोरी गायत्री साहलाई सभासद् बनाए भने अर्का वीरगन्जका विश्वनाथप्रसाद अग्रवाललाई । छोरी गायत्री रातो पासपोर्ट काण्डमा मुछिइन् भने अग्रवालले 
अर्को पार्टी बनाए । 

छानबिन समितिले गायत्रीको पासपोर्ट बेच्न जनता दलका अध्यक्षसमेत रहेका उनका बाबुको समेत संलग्नता रहेको निष्कर्ष निकाल्यो । उनी केही समय ‘फरार’ पनि भए । गायत्री सभासद् मनोनीत हुँदा पार्टी सचिवसमेत थिइन् । ०७० को संविधानसभामा उनको पार्टीले समानुपातिकमा एक सिट प्राप्त गर्‍यो र आफैँ सभासद् भए । भन्छन्, “अघिल्लो पटक आफ्नी छोरीलाई भन्दा पनि पार्टी सचिवलाई सभासद् बनाएको हो । पछिल्लो पटक पनि पार्टीले अध्यक्षले नै प्रतिनिधित्व गर्नुपर्छ भन्ने निर्णय गरेकाले म सभासद् भएको हुँ ।” उनका अनुसार पार्टीले आउँदो असोजमा पाँचौँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ । आफ्नो पक्षमा बहुमत पुर्‍याएर नेतृत्व सम्हाल्न आफूले आग्रह गरिरहेको उनी बताउँछन् । तर, घुमाउरो लबजमा भन्छन्, “साथीहरूले अहिलेदेखि नै फेरि पनि तपाईंले नेतृत्व गर्नुपर्छ भनिरहेका छन् । त्यसैले फेरि पनि अध्यक्ष हुन सकिन्छ ।”

कुनै समय एमाले नेतासमेत रहेका प्रेमबहादुर सिंहले राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि दरबारको समर्थन गरेका थिए । ०६२/६३ को जनआन्दोलनपछि उनले आफू नेतृत्वमा नयाँ पार्टी नै बनाए, जसको नाम समाजवादी जनता पार्टी हो । तर, व्यवहारमा भने स्थापनादेखि नै उनको पार्टी समाजवादी छैन । किनभने, पार्टी नेतृत्वमा निरन्तर आफू मात्रै छैनन्, सभासद् होस् वा मन्त्रीको अवसर, आफू एक्लैले पड्काइरहेका छन् । 

सिंहकै अर्का संस्करण हुन्, विवादास्पद नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल । यिनी पनि स्थापनाकालदेखि अविछिन्न आफैँ अध्यक्ष छन् । ०६४ को संविधानसभामा समानुपातिकको एक सिटमा आफैँ मनोनीत भए । ०७० मा दुई सिट पाएपछि एउटा आफैँले लिए भने अर्कोमा झापाकी मिलन राजवंशीलाई सभासद् बनाए । दुई पटक नै ढकाल आफैँ सभासद् भएका छन् नै, ०६८ मा बाबुराम भट्टराई नेतृत्वमा होस् वा ०७२ मा केपी ओली नेतृत्वको सरकारमा मन्त्रीमा पनि उनले आफूले आफैँलाई सिफारिस गराए । 

दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानको रवाफ पनि यस्तै छ । उनी पनि स्थापनाकालदेखि नै आफैँ पार्टी अध्यक्ष र सभासद् छन् । भन्छन्, “पार्टी मैले नै दु:ख गरेर स्थापना गरेको हुँ । त्यसैले नेतृत्व पनि म आफैँले गरिरहेको छु ।”

ओरालो यात्रा
लामो समयदेखि एकलौटी नेतृत्व गरेका मध्ये कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलबाहेक सबै ओरालोमै छन् । ०६४ को संविधानसभा निर्वाचनमा थापा नेतृत्वको पार्टीले प्रत्यक्षमा एक सिट जित्न नसके पनि समानुपातिकबाट पाँच स्थान प्राप्त गरेको थियो । उनकै नेतृत्वमा ०७० को निर्वाचनमा होमिएको राप्रपा नेपालले २४ सिट प्राप्त गर्‍यो । ढकाल नेतृत्वको परिवार दलले पनि ०६४ मा समानुपातिकतर्फ एक स्थान पाएकामा ०७० मा दुई सिट पाउन सक्यो । थापा त अझ पञ्चायतकालदेखि अहिलेसम्मै निरन्तर सत्तामा छन् । 

नेमकिपाका नेता सुवालका भनाइमा सत्ता र तिकडमको राजनीति गर्नेका हकमा नेतृत्वमा एउटै व्यक्ति बस्दा बेफाइदा होला । निरंकुशताजस्तो पनि देखिएला । तर, देश, क्रान्ति, सिद्धान्तका लागि राजनीतिक पार्टीलाई एउटै व्यक्ति नेतृत्वमा बसेर कुनै घाटा हुन्न । भन्छन्, “हाम्रो पार्टीमा चाहिँ नेतृत्वले त्याग गरेको हुनाले एउटै व्यक्ति रहिरहँदा क्रान्तिका लागि झन् राम्रो र फाइदा भइरहेको छ ।”
हुन त एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा रहँदा उनी निकट नेता–कार्यकर्तालाई त भलै होला तर आमनागरिकमा भने त्यसको नकारात्मक असर पर्दो रहेछ भन्ने घटनाक्रमले पुष्टि गरेका छन् । त्यो मानक निर्वाचनले निर्धारण गरिदिएको छ । त्यसैले लामो समयसम्म एउटै व्यक्तिले नेतृत्व गरेको पार्टी अपवादबाहेक निरन्तर खस्कँदो ग्राफमा देखिन्छन् । भनिन्छ, बगुवा पानी जति गतिशील र सफा हुन्छ, सधैँ जमिरहने पोखरी त्यस्तो हँुदैन । साना पार्टीका नेताहरूका हकमा पनि नदी र पोखरीसँगको यो तुलना हुबहु लागू भइरहेको छ । बगुवा पानीजस्तो नेतृत्व फेरबदल गर्न नचाहने पार्टीको सञ्जाल विस्तार हुन सकेको छैन भने भएका पनि खुम्चँदै गएका छन् । मोहनविक्रम सिंह नेतृत्वको खुला मोर्चा राष्ट्रिय जनमोर्चा नेपालका एक नेता नै भन्छन्, “लामो समयदेखि निरन्तर पार्टी नेतृत्वमा रहने नेताहरू वास्तवमै स्वेच्छाचारी र निरंकुश छन् ।” 

प्रकाशित: वैशाख १२, २०७४