मीनबहादुर फेरि सगरमाथातिर

- नेपाल संवाददाता

कुनै समयका ज्येष्ठ सगरमाथा आरोही मीनबहादुर शेरचन, ८५, आफ्नो कीर्तिमान बचाउन यो याममा पुन: हिमाल चढ्दै छन् । १७ नातिका हजुरबुबा शेरचन सर्वप्रथम ७६ वर्षे उमेरमा सन् २००८ मा सगरमाथाको चुचुरोमा पुगेका थिए । तर, सन् २०१३ मा ८० वर्षे जापानी आरोही युइचिरो मियुराले उक्त रेकर्ड तोडिदिए । सोही साल उनी पनि सगरमाथा चढ्ने धुनमा थिए तर आर्थिक अभाव र ढिलो अनुमति

पाउँदा त्यो तुहियो । सन् २०१५ मा गरिएको अर्को प्रयाससमेत भूकम्पका कारण सफल

हुन सकेन ।

यस वर्ष आफूलाई रोक्न सक्ने केही नरहेको शेरचनले बताएका छन् । अमेरिकी समाचार संस्था एपीसँग उनले भनेका छन्, ‘मौसमको कुरा आफ्नो नियन्त्रणमा हुँदैन । श्वासप्रश्वास र रक्तचाप सामान्य छ मेरो ।’ आरोहण उनका लागि ठूलो विषय नभए तापनि सगरमाथा आधार शिविर र क्याम्प वानबीचको खुम्बु आइसफलले पनि सबैलाई झैँ आफूलाई समेत पिरोल्ने उनको भनाइ छ ।  

उनको पर्वतारोहण सोख सन् १९६० तिरबाटैको हो । पछि उनी स्याउ खेतीमा लागे, सडक र बाँध निर्माणको पेसा अँगाले र काठमाडौँमा होटल व्यवसाय सुरु गरे । आफ्नो यो आरोहणले शान्तिको सन्देश विश्वभर फिँजाउन सघाउने उनको विश्वास छ ।

प्रकाशित: वैशाख ११, २०७४