नोटबुक

- ईश्वरी ज्ञवाली

जसले आफ्नै स्मरण पढ्न पाएनन्

पूर्वप्रशासक एवं राजनीतिज्ञ तेजबहादुर प्रसाईंलाई १० हप्तासम्म निरन्तर भेटिरहेँ । उनीसँग इतिहासका अनुद्घाटित पाटाबारे छलफल गरेर फर्किएको क्षण निकै रोमाञ्चक लाग्थ्यो आफूलाई । १८ मंसिर ०७२ शुक्रबारको राती कार्यालयको काम सकेर घर फर्किंदै थिएँ । प्रसाईंका कान्छा छोरा मोहनको एसएमएस आइपुग्यो, ‘बुबाको निधन भयो ।’ स्तब्ध भएँ ।

अन्तिम पटक १५ मंसिरमा ललितपुरस्थित सुमेरु अस्पतालमै पुगेर कुराकानी गरेको थिएँ । बोलक्कड र हक्की स्वभावका उनी भन्थे, ‘जीवनको अन्त्यनजिक पुगियो, किन ढाँट कुरा गर्ने ?’ कोही मानिस रिसाउलान् कि भन्ने डर उनमा रत्तिभर थिएन ।

ग्रीष्मबहादुर देवकोटाको नेपालको राजनीतिक दर्पण पढेपछि बडाहाकिम एवं अञ्चलाधीश भएर उनले गरेका कामबारे जानकारी पाएको थिएँ । विभिन्न व्यक्तिसँग उनीबारे सोधपुछ पनि गरेँ । तर, धेरैजसो बेखबर रहेछन् । कतिले त उनको भौतिक उपस्थितिमै शंका गरे । पुराना राजनीतिज्ञ एवं अधिकारकर्मी नूतन थपलियाले भने प्रसाईं कुपन्डोलतिर बस्ने गरेको जानकारी दिएका थिए । 

नेपाल वायुसेवा निगमका पूर्वप्रबन्ध निर्देशक मोहन खनालले प्रसाईंको कार्यकालमा सम्झनलायक काम भएका बताएका थिए । मैले प्रसाईंलाई धुइँपत्ताल खोजिरहेको कुरा गरेपछि उनैले खोजखबर गरिदिएर छोरा मोहनको टेलिफोन नम्बर पनि दिएका थिए ।

कुपण्डोलस्थित प्रसाईंको निवासमा पहिलोपल्ट पुग्दा उनी ओछ्यानमा थिए । घुँडाको शल्यक्रियाका क्रममा डाक्टरको लापरबाहीका कारण उनको त्यस्तो हालत भएको रहेछ । ओछ्यानबाटै उनले भनेका थिए, “पुराना राजनीतिज्ञ शंकरबहादुर केसीदेखि रञ्जनराज खनालसम्मका नेपालमा छापिएका स्मरण पढेको छु ।” तत्कालीन राजदरबारका प्रमुख सचिव खनालको ‘भलाद्मी राजा र रफ रानी’ पढेपछिको अनुभूति उनी सुनाउँदै गए, “कि अब धेरै अप्रकाशित कुरा प्रकट हुन्छन् कि उप्रान्त उनको स्मरण पढ्न पाइँदैन भन्ने लागेको थियो । नभन्दै दोस्रो कुरा सत्य साबित भयो ।” 

१९ मंसिर बिहान आर्यघाट पुगेर प्रसाईंको जलिरहेको चिता हेर्दा मेरो मनमा दु:ख त छँदै थियो, अर्को कुरा पनि मथिंगलमा घुमिरह्यो । त्यो थियो, उनले अस्पतालमै बोलाएर कोदारी राजमार्ग बनेपछिको अवस्थाबारे गरेको कुराकानी उनले पढ्न नपाउने भए । 

नासो फिर्ता गर्न नपाउँदा

‘स्मरण’ स्तम्भकै सिलसिलामा नुवाकोटका १ सय ३ वर्षीय वेददेव पाण्डेलाई भेट्न उनको घर पुग्दा अनौठो अनुभव भयो । एक जना सहयोगीका साथ गाउँमा रहेका पाण्डे १ सय ३ वर्षका जस्ता लाग्दैनथे । आफैँ खाना पकाउने र आफ्नो काम आफैँ गर्ने उनी हामी पुगेपछि असाध्यै खुसी भए । आफैँंले दाल–भात र साग पकाएर दिए । सहयोग गर्छौं भन्दा पनि हामीलाई भान्सामा ढिम्किनै दिएनन् । छिमेकीले आफूकहाँ लैजाने प्रस्ताव गर्दा ‘मेरो पाहुना तँलाई दिन्छु ?’ भन्दै उल्टै हकारे । रहरको दालमा उनले हालेको घिउको मात्रा देख्दा हाम्रो त सातो नै गएको थियो । “जाडोमा सबै पच्छ,” उनी भन्थे । झन्डै दुई दिन गफियौँ हामी । फर्किने बेला उनले भनेका थिए, “कान्छो र माहिलो छोराले अमेरिका जान हठ गरिरहेका छन् । अमेरिका जान काठमाडौँ आउँदा तपाईंहरुलाई अवश्य भेट्छु ।”

काठमाडौँ आएपछि फोन गरेरै बोलाए । लैनचौरमा उनीसँग भेट्दा उस्तै फूर्ति थियो । छुट्टिनै लाग्दा उनले भनेका थिए, “माहिलो छोराले घर खर्च गर्न भनेर आठ लाख रूपियाँ बैंकमा जम्मा गरिदिएको थियो । मैले त त्यो पैसा काम विशेषले माग्न आउनेलाई बाँडिदिएँ । उनीहरुले दिएको कागज अमेरिका लिएर जानु भएन । तपाईंले नै सुरक्षित राखिदिनूस् । पछि आएर लिउँला ।”

उनका कुराले मलाई अप्ठ्यारो पार्‍यो । मैले सजिलै टार्न पनि सक्दिनथेँ । १०–१२ वटा तमसुक र दिवंगत श्रीमतीको नागरिकताको प्रमाणपत्र मलाई थमाएर उनी अमेरिका उडे । अमेरिकाबाट फिर्ता आएपछि ती कागजपत्र लिन्छु भनेका उनको अमेरिकामै निधन भयो, गएको दसैँलगत्तै । उनले छाडेको नासो मसँगै रह्यो । आफ्ना छोराहरुलाई पनि थाहा नदिई गाउँमा बाँडेको पैसाका ती तमसुक अब म कसलाई दिउँm ?

बिन्दास पुरातत्त्ववेत्ता

पुरातत्त्वविद् तारानन्द मिश्र गौतम बुद्धको जन्मस्थल लुम्बिनीका अनुसन्धाता र शोधकर्ताका रुपमा परिचित नाम हो । दुई छोरीका पिता उनी एक्लै ललितपुरस्थित भैँसेपाटीको पल्लो छेउ चोभारनजिकै बस्दा रहेछन् । पुस महिनाको जाडोमा सार्वजनिक यातायात प्रयोग गरेर उनलाई भेट्न सहकर्मी प्रदीप बस्यालसँगै डेरामा पुग्दा उनी चिया पकाइरहेका थिए । सँगै चिया पिएपछि कुराकानी सुरु गर्‍यौँ । 

हरेक सोमबार–मंगलबार बिहान त्यतै भेट्ने कार्यतालिका पारित गरेर हामी फर्कियौँ । अर्को साता अर्थात् १ माघमा त्यहाँ पुग्दा त भोटेताल्चा लागेको थियो, मोबाइल पनि स्वीचअफ । तीनकोठे सिंगो घर भाडामा लिएर बसेका उनीबारे वरपरकालाई सोध्दा पनि केही जानकारी हात लागेन । अर्को दिन पनि त्यहाँ पुग्दा केही पत्ता लागेन । जेठी छोरीको नम्बर पत्ता लगाएर फोन गरेँ । उनलाई पनि केही थाहा रहेनछ । हरेक साता प्रकाशित हुनुपर्ने स्तम्भका लागि गर्नुपर्ने उनीसँगको कुराकानी त्यत्तिकै ब्रेक भयो । उनीसँग पुरातफ्वसम्बन्धी धेरै कुरा गर्ने धोको त्यत्तिकै रह्यो ।

१६ माघमा उनैले फोन सम्पर्क गरे, “म त महावीर जैनको शिलालेखबारे अध्ययन गर्न भारतको कानपुर जानुपर्ने भयो, तपाईंलाई खबरै नगरी चलदिएँ । भोलि आउनुभयो भने भेट हुन्छ ।” यति कुरा भनेर फोन राखिदिए । यस्ता बिन्दास अनुसन्धाता मिश्रबारे के भन्ने ? हामी अखबारकर्मीको सीमा र बाध्यताभन्दा उनको खोज–अनुसन्धान महफ्वपूर्ण भएरै होला, उनी त्यसरी बेखबर भएको । यही सोचेर चित्त बुझाएँ । 

प्रकाशित: वैशाख १०, २०७४