५५ वटा घरको बस्ती सार्ने आँट कसरी आयो ?

- मनबहादुर बस्नेत

दिनेशकुमार तामाङ, ३६, सायदै सुनिएको नाम हो । १२ वैशाख ०७२ को भूकम्पबाट क्षतविक्षत ५५ वटा घरको एकीकृत पुनर्वास गरिदिएपछि भने उनको नाम एकाएक चुलियो । भूकम्प र त्यसपछि पहिरो खसेर बस्ती नै जोखिममा परेको धादिङ, लापाका यी परिवारलाई उनले धादिङकै ढोला ठाउँमा पक्की घर बनाएर सारेका हुन् । गत १६ चैतमा यी तयारी घर पीडितहरुलाई हस्तान्तरण गरिएको थियो । लापामै जन्मिएका तामाङले विभिन्न संघ–संस्था, व्यक्तिहरुमार्फत १६ करोड रुपियाँ बराबरको सहयोग जुटाएर प्रत्येक परिवारलाई ४ आना ३ पैसा जग्गामा घर बनाइदिएका हुन् । डेढ दशकदेखि सामाजिक सेवामा सक्रिय तामाङसँग गरिएको कुराकानी :

काम थालेको कति समयमा सकियो यी घर बनाउन ? 
सहयोग खोजेकोदेखि हिसाब गर्ने हो भने २२ महिना लाग्यो । जग खनेदेखिचाहिँ १६ महिनामै सकियो ।

कतै पनि चर्चा नभईकन यत्रो काम गर्नुभएछ त ? 
हल्ला गर्न चाहेनौँ । म कुनै नेता, कलाकार वा धनीमानी मानिस परिनँ । खुरुखुरु काम गरिरह्यौँ ।

यस्तो राम्रो कामबारे अझ धेरैले थाहा पाएको भए बढी सहयोग जुट्थ्यो कि ? 
आफ्नै पौरखमा काम गरिरह्यौँ । बाहिरी सहयोग भनेको निर्माण सामग्री र त्यसका लागि चाहिने पैसा मात्रै हो । सायद प्रचारका लागि फुर्सद पनि भएन होला । 

यत्रो बस्ती सार्ने आँट कसरी आयो ? 
म आफैँ पनि भूकम्पबाट मुस्किलले बाँचको हुँ । हामी २० जना साथी सिन्धुपाल्चोक, नवलपुरको एउटा घरमा थियौँ । म एकैछिनका लागि बाहिर निस्किएको मात्र थिएँ, भुइँचालोले घर माटोमा मिल्यो । साथीहरू पुरिए । दुई जना त्यहीँ मारिए । अरूलाई उद्धार गरियो । एक हप्तापछि आफ्नो गाउँ पुग्दा झन् बिजोग देखेँ । मेरा सात जना आफन्त बिते । एउटै घर सग्लो थिएन । 

यति ठूलो सहयोग जुटाएर काम गर्न कत्तिको गाह्रो हुँदो रहेछ ? 
कुनै पनि काम सुरु गरेपछि पूरा गरेरै छोड्ने मेरो बानी छ । यसअघि समेत मैले शिक्षा, स्वास्थ्यको क्षेत्रमा केही काम गरेको थिएँ । इमानदारीपूर्वक काम गरेकाले नै यो योजनालाई धेरैले सहर्ष स्वीकार त गरे तर सजिलो तरिकाले सहयोग जुटेन ।  

सरकारले पुन:निर्माणमा ढिलाइ गरिरहेको छ । तर, तपाईंले चाहिँ चाँडै बस्ती नै सारिसक्नुभयो । यसको खास कडी के हो ? 
हामी व्यवस्थापनलाई बढी जोड दिन्छौँ । लहडमा थालेको होइन ।  

यसमा त्यस्तो कुनै भिन्न व्यवस्थापकीय पक्ष थियो ? 
मैले ‘पुल’का रूपमा मात्र काम गर्ने हो । बस्ती बसाल्नुअघि हामीले पञ्चशीलका आधारमा एउटा आचारसंहिता बनायौँ । हत्या नगर्ने, चोरी नगर्ने, झूट नबोल्ने, परस्त्रीगमन/परपुरुषगमन नगर्ने र मादक पदार्थ सेवन नगर्ने । यो नियमको पालनाले सफल बनायो । यसमध्ये सबैभन्दा पछिल्लो बुँदालाई बढी जोड दियौँ । किनभने, समाजमा धेरै समस्या मादक पदार्थ सेवनका कारण आउने गर्छन् । यसलाई कडाइका साथ पालना गरेपछि अन्य कुरा स्वत: हुन्छ । त्यो हाम्रो अनुभवले सिद्ध गरिदियो । 

अरू बस्ती पनि बनाउने कि यही अन्तिम हो ? 
धादिङकै टिप्लिङ, सेर्दुङ, लापा र रि–गाउँ बर्सेनि बाढी–पहिरोको चपेटामा पर्छन् । यस्तो जोखिमयुक्त क्षेत्रका एक सय घरधुरीलाई पुनर्वासमा लैजाने लक्ष्य छ । जग्गा र सहयोगी हातहरू खोजिरहेका छौँ ।

प्रकाशित: वैशाख १०, २०७४