नोटबुक

- रामबहादुर रावल

साँच्चै मुस्कानसहितको सेवा

घरमा चोरी भयो । खबर गरेको केहीबेरमा प्रहरीको गाडी आइपुग्यो । चोरले उधिनपाधिन गरेका सामान, तोडफोड गरेका फर्निचर सबै देखाइयो । थाहा भएजतिका विवरण सुनाइयो । प्रहरी अधिकृतले साह्रै विनम्र भएर कुरा सुने । धेरै क्षति नभएकामा बधाई दिँदै आगामी दिनमा चनाखो रहन ‘टिप्स’ पनि दिए । उनको कुरा सुन्दा लाग्थ्यो, उनी यसअघि अतिथि सत्कारसम्बन्धी पेसा/व्यवसायमा हुनुपर्छ । यति लामो समयसम्म धैर्यपूर्वक सुन्ने, हार्दिकतापूर्वक सहानुभूति प्रकट गर्ने र मीठो बोलीमा काउन्सिलिङ गर्ने प्रहरी अहिलेसम्म देख्न पाएको थिइनँ । लाग्यो, हाम्रो प्रहरी निकै परिवर्तन भइसकेछ ।

करिब पौने घन्टा उनले लोभलाग्दो लबजमा लठ्ठै पार्ने गरी प्रवचन सुनाए । तर, उनले पीडितको नाम र फोन नम्बरबाहेक एक शब्द अरु टिपेनन् । घटनाबारे शंका गरिएका व्यक्तिका हुलियातिर पनि ध्यान दिएनन् । चोरी गर्ने समय र शैली, चोरले ताकेका सामग्रीको प्रकृति आदि, जो अनुसन्धानका निम्ति सहायक हुन सक्थे, त्यसबारे पनि उनले वास्ता गरेनन् । सामान्यत: चोरले फेला पारेका सामान दोस्रो बजारमा बेच्ने गर्छ । प्रहरीलाई पनि प्राय: यसबारे थाहा हुन्छ ।

चोरका समूहहरुबारे पनि प्रहरीसँग सूचना हुन्छ । तर, ती प्रहरी अधिकृतले चोरलाई चिन्ने, चोरसम्म पुग्ने कुनै कष्ट उठाएनन् । अझ भनौँ, पीडितलाई सोधीखोजी गरेर थप पीडित बनाउन चाहेनन् । त्यसबाहेक उनले पीडितको मन जित्न सबथोक गरे । त्यसपछि लाग्यो, प्रहरी वास्तवमा मुस्कानयुक्त भएछ । प्रहरीले मुस्कानबाहेक अरु दिनु नपर्ने भएछ । यही रुपमा मुस्कान कायम रहेमा ठोकुवा गर्न सकिन्छ, अब समाजमा कोही पनि कानुनको कठघरामा उभिनुपर्ने छैन, अपराध गरेबापत । अपराध अनुसन्धान भन्ने विधा नै प्रहरीमा रहनेछैन । रहनेछ त केवल मुस्कान ।

डिजिटलको भर पर्दा

राम्रो पत्रिका, पुस्तक, तस्बिर, पोस्टर, पोस्ट कार्ड जे भेटे पनि चिटिक्कसँग कोठामा सजाउने लत थियो कुनै समय । कतै सुन्दर उद्धरण, महान् वाणीहरु, रोचक प्रसंगहरु भेटेमा डायरीमा लेखेर राखिन्थ्यो । कतिपय मित्रको यो बानी अझै छुटेको छैन । तस्बिरका एल्बमले दराज भर्नेहरु अझै छन् । डिजिटल दुनियाँको पत्रकार हुने भूतसवार भइराखेको मलाई चाहिँ लाग्यो, आजको दुनियाँमा पनि केको कागजको थुप्रो घरमा राख्ने ?

मोबाइलको सक्दो बढी फिचरको उपयोग गर्नेदेखि सूचनाहरु लयबद्ध ढंगबाट संग्रह गर्नतिर लागेँ । राम्रै समय खर्चेर फाइलमा संग्रह गरिएका सामग्री पनि तस्बिर खिचेर डिजिटल बनाइयो । लाग्थ्यो, आवश्यक पर्दा जहाँसुकै भए पनि तुरुन्तै ‘कमाल’ गर्न सकियोस् । पछिल्लो भूकम्पमा अफिसकै कम्प्युटर र कागजात यताउता हुँदा महफ्वपूर्ण दस्तावेज गुमाउँदाको पीडा आलै थियो ।

अनलाइन क्लाउडमा संग्रह गर्ने सोच्दै थिएँ । डिजिटल मिडियासम्बन्धी एक कार्यक्रममा भनेको सम्झेँ, ‘ अनलाइनमा गइसकेपछि गोप्य भन्ने केही हुँदैनन् ।’ पत्रकारलाई सुनभन्दा प्यारो आफ्ना सूचना जो हुन्छन्, गोप्य नरहने चुनौती लिन मनले मानेन । अन्तत: एउटा हार्ड डिस्क किनियो । सम्भव भएसम्मका तस्बिर, पुराना पत्रिकाका अंकहरु त्यसैमा राखियो । कोठामा थन्किएका कागजका चाङलाई हार्डडिस्कले विस्थापित गर्दाको आनन्द बेग्लै थियो । 

अफिस र घरको डेस्कटप कम्प्युटरभित्र अटेसमटेस भएका सामग्री पनि सबै त्यही हार्ड डिस्कमा राखियो । कति दिनसम्म त त्यही हार्ड डिस्क बोकेरै हिँडियो, अफिस–घर आदि । महफ्वपूर्ण दस्तावेजदेखि टुटाफुटा लेख, रचना, पछि काम लाग्छन् भनेर टिपिएका टिपोटहरु, दुर्लभ ठानिएका र कुनै समय दुर्लभ बन्न सक्ने तस्बिर, भिडियो, अडियो सबै त्यसैमा खाँदियो । अहिले डिजिटल पत्रकारको सपना भारी भएको छ । 

पत्रकारको घरमा अरु थोक खोजेर भेट्ने कुरा थिएन । चोर महोदयले सबैभन्दा किमती माल त्यही हार्ड डिस्क भेटेछन् । त्यसैलाई सिकार गरेर भागेछन् । हुन त त्यति पनि नभेटे त चोरको प्रयास नै बेकार हुन्थ्यो । लाग्छ, डिजिटलको मात्र भर नपरेर भएका हार्ड कपीहरु जोगाएर राखेको भए केही त बाँकी रहन्थ्यो कि ! 

प्रकाशित: वैशाख ८, २०७४