[अनुभूति] सयौँ वर्षको प्रेम

- गुरुङ सुशान्त

कोठाभित्रको सानो परिवेशलाई गुफामय एकान्तमा रूपान्तरण गर्ने एकलकाँटे प्रयास गर्दै छु म । कोठाबाहिर होलीले विभिन्न रङको हल्ला गर्दै छ । म हल्लासिर्जित लघु आतंकबाट आफूलाई सर्वथा मुक्त राख्न कोसिस गर्दै छु । तर, मेरा कोसिसमाथि अनवरत पानी खनाइएको भान हुँदै छ । पिचकारी र लोलाको तरल आवाजले शृंखलाबद्ध झर्को दिइरहेको छ मलाई । 

एमालेको मेची–महाकाली अभियानमा गोली चलेपछि तराईको हावामा एक किसिमको उदासीको गन्ध फैलिँदै छ । तर, त्यो गन्ध काठमाडाँैको उत्सवी नाकसम्म आइपुग्न सकेको छैन । मेलम्चीको दीर्घ प्रतीक्षामा रहेको काठमाडाँैले हिलोमिश्रित पानी एकअर्काको अनुहारमा छ्याप्दै छ । र, बेढंगीको उल्लास मनाउँदै छ । तर, उपत्यकाको आकाशमा तन्किरहेका अनेक रङसँग मेरो तार्किक गुनासो छैन । फगत एकान्तिक मौनता खोजिरहेछु म । सायद मभित्र फैलिएका काल्पनिक सडकहरूमा यात्रारत एउटा छाया–मनुवा हल्ला गरिरहेछ । हल्लाबीचबाट झर्ने केही शब्दलाई टिपेर म अतीतको माला उन्दै छु ।

मेरो तन मात्र होइन, मनका अंगप्रत्यंगलाई केही बिसन्चो भएजस्तो छ । मित्रहरूको फोन कठोरतापूर्वक बेवास्ता गर्दै छु म । यिनै मित्रहरूसँग मैले पुराना होलीलाई मदिरा र रङले लतपत्याएर मनाएको छु ।

तर, अहिले अतीतयात्राका लागि निस्किसकेको छु म । मेरो मनका गोडा पुरानो होली–यादका फराकिलो चौरतिर कुदिरहेका छन् ।

गाउँको घर–आँगनमा अड्कली–अड्कली फागुको खस्रा रङ दलेका केही श्यामश्वेत झझल्का छन् । काठमाडाँैका गल्लीहरूमा गाँजाको धूवाँमा हराउँदै आवारागिरी गरिएका मदहोशी–पलले स्मृतिको झ्याल चियाउँछ कहिलेकाहीँ । होली खेलेरै एक तोला सुनको सिक्री हराएको टर्रो याद पनि छ साथैमा । तर, आज म अरू होली–यादहरूलाई पन्छाइरहेको छु । सायद ती बिर्सिन लायक छन् । र, एउटा मात्र होलीको अतीत–यात्रा गर्दैछु यो एकान्तमा । 

यो यात्राका लागि करिब १८ वर्षअघिको स्मृतिका सिँढीहरूमा आफूलाई हिँडाउँदै छु । 

***

समयको भित्तामा झुन्डिएको क्यालेन्डरमा अंकित तिथिमितिलाई पल्टाउने झन्झट गर्दिनँ म । सपनाका पत्रलाई छातीको खल्तीमा पट्याएर राखेको छु । रसुवाको कन्दरामा देखिएका सपनालाई त्रिशूली नदीकिनारमा उभिएको यो होस्टेलमा बसेर अघि बढाउने प्रयत्न गर्दै छु । मसँग निजी सपना छन् । बाआमाका सामूहिक सपना छन् । आफन्ती गाउँलेजनका सामुदायिक सपना छन् । मलाई यो हाई स्कुल पाठशालाजस्तो लाग्छ । यहाँ केही किंवदन्ती छन् । सानो बजारछेउ छाती फुलाएर बसेको यो फराकिलो पाठशाला सिस्नुघारी फाँडेपछि जन्मिएको हो रे † नेवार र मुस्लिम समुदायको मिश्रण रहेको त्रिशूली बजार मेरा लागि बाल्यकालमा जस्तै अहिले पनि उत्तिकै आकर्षक छ । हाम्रो होस्टेलपछाडि मुस्लिमहरूको चिहानघर छ । रातसाँझ शौच–समयमा बाहिर निस्कँदा कसोकसो डराउँछौँ । युवावयको फुर्ति देखाउन हामीभित्र व्याप्त डरको साम्राज्यलाई केही नक्कली आवरणले छोप्छौँ । प्रध्यानाध्यापक र एकाध शिक्षक पनि यही होस्टेलरूपी लघुसमाजमा बस्छन् । हाम्रा एकएक कोठा सिंगो घरजस्ता छन् । सदस्यहरू बदलिन सक्छन् । तर, यहाँभित्र उर्लिरहने गफका व्याकरण बदलिँदैनन् । गफका बीचबीचमा बजारका फेसनदार युवतीहरू आइरहन्छन् । हामीबीच समान रुचि छ, आफ्ना कक्षाका केटीहरूको चर्चा गर्ने । 

तर, हामी सबैले चिन्ने केटीहरूको समूहचाहिँ ‘गल्र्स होस्टेल’मा छ । फुटबलको भव्य मैदानको दुई छेउमा रहेका हाम्रा होस्टेलहरू आपसमा नबुझिने भाषामा संवाद गरिरहेझैँ लाग्छ । ब्वाइज होस्टेल जिस्किरहेजस्तो, बोल्न खोजिरहेजस्तो । गल्र्स होस्टल लज्जालु भाकामा अधुरा शब्दहरू फुस्फुसाउँदै त्रिशूलीको सुसाइसँग साउती बाँधिरहेजस्तो । बडो अप्ठ्यारो लय बग्छ हामीबीच । मचाहिँ गल्र्स होस्टेलमा गइरहेको हुन्छु । त्यहाँ मेरा गाउँले साथी छन् । । एउटै आँगनकी दिदी छे । हामी एकअर्कालाई भेट्न होस्टेलमा आउजाउ गरिरहन्छौँ । 

***

म साथीहरूको माझमा होली खेल्ने अल्लारे मुडमा छु । हामी होस्टेलभित्र मात्र भिज्न चाहँदैनौँ । हाम्रो रसिलो समूहको एउटै रङ्गीन गन्तव्य हो, गल्र्स होस्टेल । थाहा छैन, अरू साथीहरूका लागि गल्र्स होस्टेलतिर गएर रङ्गिने चाहनामा रामरमिताभन्दा परको मनोविज्ञान छ/छैन ? तर, मेरा लागि निकै अर्थपूर्ण र कठिन समय हुनेवाला छ अब । होस्टेलमा केटीहरू मात्र छैनन्, साथीहरू मात्र छैनन् । सबैभन्दा तड्पनको अध्याय त त्यहाँ प्रेम छ मेरो ।

जसलाई आफ्नो दिलको उपल्लो थलोमा सजाएर प्रेमको स्वरूप दिइरहेछु, उसले मेरोबारे बुनेका धारणासँग नितान्त अपरिचित छु । धेरै आशा र थोरै डरलाई घोलेर हृदयका भित्तामा अनेक कविता र चित्र कोरिरहन्छु अचेल । कहिलेकाहीँ कल्पनाका कविताले मीठो लय लिन्छ । र, आफैँसँग गुनगुनाउँछु । कहिलेकाहीँ यथार्थका अनेक टेढोमेडो रेखाले चित्रको अनुहार भत्काइदिन्छ । र, टुक्रिन्छु ।

प्रश्न र तर्कभन्दा पर बसेर मैले उसलाई प्रेम गर्न थालेको छु । जुनसुकै बेला म उसैका बारेमा सोच्छु । हरेक प्रेमगीत सुन्दा या गुनगुनाउँदा उसलाई मात्र कल्पन थालेको छु । म कविता लेख्छु । तर, उसलाई काव्यिक शब्द–गुम्फनबाट आफ्नो प्रेमको छटपटी अभिव्यक्त गर्न असमर्थ छु । साथीको हातमा पोस्टकार्डमा केही प्राविधिक शब्द कोरिपठाएको छु कुनै सन्दर्भमा । उसको सहमतिसूचक अभिव्यक्ति मेरो कानको भित्तामा ठोक्किन आइपुगेको छैन । तर, आशाको डोरीलाई चुँडाउने साहस छैन मसँग ।

मैले यही डोरी समातेरै जाने आँट गरेँ गल्र्स होस्टेलमा होली खेल्न । केटाहरू हौसिएका छन् । लोला बोकेका छन् । प्लास्टिक बोकेका छन् । एक चक्कर बजार घुमेपछि निर्धारित गन्तव्यतिर जाने सल्लाह गर्छौं । बजारका साथीहरूसँग जति नै राम्रो सम्बन्ध भए पनि स्थानीय नजरमा हामी ‘आउटसाइडर’ नै हौँ । होलीको बाहनामा भित्रिया र बाहिरिया मनोविज्ञानको रङ सतहमा पोखिएमा झगडा/लफडाको स्वरूप लिने सम्भावनालाई सबैले अव्यक्त रूपमा बुझेका छौँ । आफ्नो त मन अघि नै होस्टेलमा पुगिसकेको छ ।

चौरतिरको गेटमा ताला झुन्डिएको देखेपछि पर्खाल चढ्न तयार हुन्छौँ । अनुशासनको मामिलामा होस्टेल वार्डेन जानुका म्यामको कडा मिजाससँग कोही पनि अपरिचित छैनौँ हामी । तर, आज अलिअलि आँटका दाना एकत्रित गरेका छौँ । 

अलिकति हल्ला गर्दै होस्टेलको गेटमा पुगेका छौँ । केटीहरू आपसमा होली माहौलमा रहेको सजिलै बुझ्छौँ । केटीहरू हामीसँग खेल्न अप्ठ्यारो मानिरहेका छन् । तर, हामीमध्ये कसले आँट गर्ने ? स्कुल पढ्दा दाइहरूले उक्साइदिएपछि म १२ हातमाथि उफ्रिन्थेँ । साथीहरूले अनेक व्यंग्य गरे पनि आँट छैन आज मसँग । म एउटा अनुहार खोजिरहेको छु । मेरो प्रेमको अनुहार । म उसको प्रेमिल प्रहारको पर्खाइमा छु ।

तर, ऊ कतै देखापरेकी छैन । हाम्रो साथीहरूबीचमा कसैले आँटले एउटी केटीलाई लोला फ्याकेपछि होलीको आनन्ददायक हानाहान सुरु हुन्छ । तर, मैले खोजेको अनुहार अझै नेपथ्यमै छ । अब केटीहरू ट्यांकीमै पसेर जगले पानी भरेर छ्याप्न थाल्छन् । केटाहरू पनि ट्यांकीमै पुग्छन् । भिजेका केटीहरू हेरी हामी रोमाञ्चित भइरहेका छौँ । अब निथ्रुक्क भिजेको छ मेरो शरीर पनि । पूरा माहौलले हल्ला गर्न थालेपछि मेरा आँखाले खोजेको अनुहार बल्ल–बल्ल कुइनेटाबाट झुल्केको छ । अब मेरा नौनाडी गल्न सुरु हुन्छ । बिस्तारै उसको सहभागिता मिसिन थाल्छ जलमेलामा । म आफूभित्र उठेको आँधीलाई ढाक्दै छु । र, सहज हुने कोसिस गर्दै छु । कस्तो देखिएको छु होला ?

उसको हातको एक जग पानी अपेक्षा गरेको मेरो शरीरले त्यो मौका पाएन । पानीले भए पनि उसलाई छुने आँट गर्नै सकिनँ । अरू केटीहरूले छ्यापेको पानीमा कुनै रोमाञ्च अनुभूति गर्न सक्दिनँ सायद । उफ्रिरहेको हावाबीच मेरो ध्यान उसैमा अडिरहेको छ । केटाहरू अलि आक्रामक हुन थालेपछि जानुका म्यामको निर्देशनमा केटीहरू भित्र छिर्छन् । र, हामी पनि हाँस्दै फर्किएका छौँ । 

आफैँलाई सोध्छु, मप्रति किन ऊ यति निरपेक्ष भएकी होली ? अनि, आफूप्रति निरपेक्ष केटीलाई किन यति प्रेम गर्छु म ?

म खल्लो र रित्तो फर्किएको छु । रित्तो–रित्तो । तन भिजे पनि मेरो मन सुख्खा छ । मेरो सुख्खा मनको जर्जरता छाम्न सकेका छैनन् साथीहरूले । मैले यो कुरा लुकाएको छु । सायद अब सधैँ लुकाउनेछु । अपेक्षाका चित्रहरूलाई मेट्दै जानेछु बिस्तारै ।

***

यतिखेर, अनेक रङ र हल्ला दलेर एक हुल केटाकेटी कोठामा छिरेपछि म १८ वर्षअघिको अधुरो सपनाको भूतबाट वर्तमानमै ओर्लिएको छु । हुरीजस्तै आएका उनीहरू उसरी नै बाहिरिन्छन् । उनीहरूले मेरो मनको उदास हुरी अनुभूत गर्न सकेनन् । होली सम्झनालाई त्रिशूलीतिरै छाडेर एकछिन प्रेम–कवितातिर विचरण गर्छु । तर, फेरि एकैछिनमा निकट विगतमा फर्किन्छु ।

***

अहिले ०७२ को जाडोको अन्त्यतिर छु म । उसको स्कुटीपछाडि बसेर टौदहतिर जाँदै छु । जसलाई बेहद प्रेम गर्थेंं, उसकै स्कुटीमा एकान्तको खोजमा जाँदै छु । स्कुटी बिग्रिएर ऊ ढिला आउँदा पनि पृथ्वीको गति ढिला भएको अनुभूति हुनु ऊप्रतिको प्रेमको पुनरावृत्ति त होइन ?

काठमाडाँैमा हाम्रो आक्कल–झुक्कल भेट हुन्थ्यो । तर, म हीनताग्रन्थिले ग्रस्त हुँदै भाग्थेँ । म चाहन्नथेँ, उही पुरानो प्रेमको मुहान फुटेर आओस् फेरि । आफूलाई रोक्नु थियो । तर, मलाई उसको नजिक जाँदा कसोकसो खुसी लाग्थ्यो । हामी फेसबुक र फोनबाट संवादको तुइन चढिरहन्थ्यौँ । साथी मात्र नै सही, ऊ नजिक आएको मन पथ्र्यो । तर, डराउँथेँ ।

आजको पूरा दिन हामीले टौदहलाई छुट्याएका छौँ । पानी कम भएको टौदहमा हामीले माछालाई आहारा खुवाउँछौँ । र, आफ्नो भोक कम गर्छौं । सुतिरहेको अल्छी सर्प हेर्छौं । सोच्छु– आजको समय पनि यही सर्पजस्तै होस् । उसले आफ्नो विवाहित जीवनबारे बताउँछे । मैले पनि आफ्नो विगतका कथालाई उसको अगाडि फुकाउँछु । हामी परस्पर निकै सहज भइरहेका छौँ । लाग्छ, भूकम्पमै पुरिएका भए हामीसँग हाम्रा आत्मीयता पनि किचिने रहेछन् । परोक्ष अभिव्यक्तिमा त्यो प्रेमको स्मरण गराउन खोजिरहन्छु । साँझपख फर्किने बेला म आँटेर भन्छु, ‘तिमीले मेरो प्रेमलाई लत्यायौ हगि ?’ उसले भनी, ‘मैले केही नकारात्मक जवाफ पनि त दिएकी थिइनँ ।’ 

बत्ती बालेर उभिएका घरहरूबीच लमतन्न सुतेको सडकमा गुड्दै ऊ भन्छे, ‘एउटा गीत याद छ ?’ म आफ्नो चनाखा कान उसको हेल्मेटनजिक पुर्‍याउँछु । भित्र कतैबाट उसको गलाको बाटो हुँदै यी शब्द गुञ्जन्छन्, ‘सौ साल पहेले मुझे तुमसे प्यार था, आज भी है और कल भी रहेगा ।’

***

यतिखेर म त्यही गीत गुनगुनाउँदै छु । र, सोच्दै छु– सायद सयौँ वर्षअघि पनि मलाई प्रेम गर्थी ऊ । 

प्रकाशित: वैशाख ८, २०७४