'घामपानी'मा मौलिक स्वाद

  • अन्तरजातीय प्रेमकथा भनिएको यस फिल्ममा आयातीत भन्नु केही छैन तर कथा पस्कने शैली खुकुलो छ ।

- गोकर्ण गौतम

घामपानी प्रदर्शनको पूर्वसन्ध्यामा निर्देशक दीपेन्द्र लामाले बारम्बार दोहोर्‍याउने वाक्य थियो, ‘नेपालीपन मिसिएको फिल्ममा केही गल्ती भए पनि दर्शकले स्वीकार्छन् ।’ उनी अप्रत्यक्ष रूपमा भन्न खोज्दै थिए, घामपानीको कथा पूर्णत: मौलिक हो तर कमजोरी पनि उत्तिकै छ । नभन्दै रहेछ पनि त्यस्तै । 

अन्तरजातीय प्रेमकथा भनिएको यस फिल्ममा आयातीत भन्नु केही छैन तर कथा पस्कने शैली खुकुलो छ । खिचाइमा पनि उस्तै सम्झौता गरिएको छ । सम्पादनमा हेलचेक््रयाइँ । तैपनि, रसिलो र इमानदार ढंगले ग्रामीण भेगको जीवन र मनोविज्ञान उतारिएकाले घामपानी हेर्दा अपनत्व महसुस हुन्छ । 
डेढ दशकदेखि कलममार्फत नेपाली सिनेमाको चिरफार गरिरहेका लामाले यसको पटकथा पनि आफैँ लेखेका हुन् । यसअघि उनले नागबेलीको पटकथा लेखेका थिए भने निर्देशकका रूपमा यही ‘डेब्यु’ हो । गिनेचुनेका कलाकार दयाहाङ राई र केकी अधिकारीलाई मुख्य भूमिकामा देख्न पाइन्छ । अर्का कलाकार अंकित खड्का नेपाली फिल्मवृत्तका लागि घामपानीको ‘गिफ्ट’ हुन् । 

तामाङ ठिटो फुर्वा (दयाहाङ) र बाहुनकी छोरी तारा (केकी) बालसखा हुन् । तारा काठमाडौँबाट पढेर गाउँ फर्किएपछि यो जोडीको प्रेम मौलाइरहेको छ । तर, जात नमिलेकाले लुकिछिपी प्रेम गर्नुपर्छ । सानो गाउँ, जति नै लुकाउन खोजे पनि के साध्य लाग्थ्यो र ? घरमा सुइँको पाइहाल्छन् । त्यसमाथि गाउँमा भर्खरै आएको असई कमल (अंकित)ले तारामाथि आँखा गाडेको छ । अब तारालाई भगाउनुको विकल्प छैन फुर्वासँग । तर, जातीय विभेदले जरा गाडेको समाजमा बाहुनकी छोरीलाई विहे गर्दा फुर्वाले कति सास्ती बेहोर्नुपर्ला ? घामपानी यही उतारचढावमा अडेको छ । ‘सस्पेन्स’ भन्नु करिब ‘शून्य’ छ फिल्ममा । त्यसैले यसको ‘क्लाइमेक्स’ नेपाली फिल्म आक्कलझुक्कल हेर्नेले पनि अड्कल गर्न सक्छ ।

घामपानीको सबभन्दा सशक्त पक्ष भनेकै कथाप्रतिको निर्देशकको इमानदारी र विश्वास हो । सलल बगेको र खासै ‘ट्वीस्ट’ नभएको कथा भन्न उनी खासै हतारिएका छैनन् । बरू, दर्शकलाई झिजो नहोस् भन्नका निमित्त सकेसम्म मीठा संवाद र दृश्यलाई सिर्जन खोजेका छन् । पात्र अनुकूलको वेशभूषा र बोलीचालीले गर्दा नाटकीयता महसुस हुन्न । एउटै गाउँमा मिलेर बसेका फरक जात तर प्रेम र विवाह आउँदा त्यही सम्बन्धमा आउने दरार हाम्रै परिवेश अनुरूप प्रतिविम्बित गरिएको छ । एउटै निधारमा रातो र सेतो टीका लगाएको दृश्यले जातीय समभाव महसुस गराउँछ । 

कथा मौलिक छ तर त्यसलाई रोचकता प्रदान गर्न लामाले पटकथामा जति मिहिनेत गर्नुपथ्र्यो, त्यसमा कन्जुस्याइँ गरेका छन् । फिल्ममा यस्ता कुनै दृश्य छैन, जसले दर्शकलाई चित खुवाओस् । असईको नियत र उसको बुबाको सच्चाइ पहिल्यै भेउ पाइन्छ । पुराना नेपाली फिल्ममा गुन्डाहरू विवाहको मण्डपमा भाँडभैलो मच्चाउन आइपुग्थे, घामपानीमा दुलाहाकै बूढी आइपुग्छिन्, त्यो पनि छोरी च्यापेर । तर, यसको भेदलाई बचाउन नसक्दा फिक्का र पुरातन लाग्छ । राँगाको मासु देख्दा ताराले बान्ता गरेको, फुर्वाको साथीको घरको ‘हनिमुन रुम’ वा फुर्वाले तारालाई भगाएपछि सहर नपुगुन्जेका दृश्य पूरापूर अनावश्यक लाग्छन् । पुलिसको चरित्र चित्रण ‘कमेडी’ पैदा गर्ने हेतुले गरिएको छ, सुरुआतबाटै । 

शैलेन्द्र डी कार्कीले खिचेका अधिकांश दृश्यमा ‘डेप्थ’ छैन । तर, होटल साहुनी, घाँस बोकेका महिला, गाउलेको हुलिया र आनीबानीबाट ग्रामीण परिवेशको आभास गराउँछ । मुख्य कलाकारले नै बोकेका कतिपय संवादको डबिङमा त्रुटि छ । जसले निर्देशकमा प्राविधिक ज्ञानको अभाव रहेको छनक पाइन्छ । तामाङ सेलो गीतले फिल्मको बहाब बिगारेको छ । न त त्यसको कोरियोग्राफीमा पर्याप्त सांस्कृतिकता झल्किएको छ । अर्को गीत ‘पन्छी...’ श्रुतिमधुर भए पनि कोरियोग्राफी झारातिराइ शैलीमा गरिएकाले पर्दामा हेर्दा फिक्का लाग्छ । ‘जात मिल्ने होइन, भात मिल्ने भए पुग्छ’ भन्ने संवाद फिल्मको पेटबोली हो । 

सारमा दयाहाङको भूमिका अघिल्ला फिल्मका भन्दा भिन्न छैन । तैपनि, यसपटक निर्देशक लामाले उनलाई ‘लाउड’ हुनबाट जोगाएका छन् । उनको पहिचान बनिसकेको ‘ह्युमर’लाई यसमा पनि निरन्तरता दिएका छन् । केकी पनि तुलनात्मक रूपमा स्वाभाविक लाग्छिन् । उनको बोल्ने शैली, हुलिया, हाउभाउ गाउँले युवतीकै जस्तो छ । दयाहाङ र केकीको दबदबाबीच पनि नयाँ अनुहार अंकित आफूलाई चिनाउन सफल छन् । रंगमञ्च पृष्ठभूमिका अंकित सम्भावना बोकेका अभिनेता हुन् भन्नेमा शंकै छैन ।

घामपानीबाट उनले सहायक होइन, मुख्य पात्रमै आफू काबिल रहेको प्रमाणित गरेका छन् । प्रकाश घिमिरे, पुष्कर गुरुङ, कविता आले, अरूणा कार्कीलगायतका कलाकार पनि त्यत्तिकै प्रभावकारी छन् । 
सुरुमा भनिएजस्तै अग्र्यानिक कथामा कमी–कमजोरी भए पनि पचाउन सक्ने क्षमता छ भने घामपानी हेर्नु उत्तम हुन्छ । रमाइलो त छ नै, सँगै फरक जाति र संस्कृतिप्रतिको सम्मान गर्नुपर्ने सन्देश ‘बोनस’ पाइन्छ । तर, मसलायुक्त अनि गम्भीर र कलात्मक फिल्मका पारखीको चित्त बुझाउन मुस्किल पर्छ निर्देशक लामालाई । यत्तिचाहिँ हो कि, घामपानीबाट आफूप्रति आशा राख्नुपर्ने प्रशस्त कारण छोडेका छन् उनले 

प्रकाशित: वैशाख ८, २०७४