विन्डोज टेनमा क्रिएटर अपडेट

- नेपाल संवाददाता

विन्डोज टेनमा अहिले क्रिएटर अपडेट आएको छ । यो अपडेटले विन्डोज टेनलाई अझ बढी सजिलो र युजर फ्रेन्ड्ली बनाएको छ । यही अपडेटले माइक्रोसफ्ट एजलाई पनि हलुका र फास्ट बनाएको छ । माइक्रोसफ्ट एज विन्डोज टेनको डिफल्ट वेब ब्राउजर हो । सुरुमा आउँदा अप्ठ्यारो र हेभी भए पनि एज हरेक अपडेटसँट सुधारिएको छ ।

क्रिएटर अपडेटले विन्डोज टेनमा चल्ने डिभाइसमा ब्लु लाइटलाई कम गर्ने सेटिङ पनि थपेको छ । यस्तो लाइटका कारण मानिसलाई निद्रा नलाग्ने समस्या निम्त्याउन सक्छ । अब प्रयोगकर्ताले विन्डोज टेनमा नाइट लाइट भन्ने सेटिङ देख्नेछन् । नाइट लाइट अन गर्दा स्क्रिनबाट कम ब्लु लाइट निस्कने छ । र, कतिबेला नाइट लाइट आफैँ अन हुने पनि प्रयोगकर्ताले आफैँ मिलाउन सक्नेछन् ।

गेम मोड यो अपडेटमा आएको अर्को राम्रो फिचर हो । यो अन गर्दा गेम खेल्न चाहिने आवश्यक सबै सेटिङ अन हुनेछन् । विन्डोज डिफेन्डरको सट्टा अब विन्डोज डिफेन्डर सेक्युरिटी हुनेछ । जसले डिभाइसमा भाइरसबाट डिफेन्ड गर्नेदेखि लिएर डिभाइसको परफर्मेन्स र एपलाई कन्ट्रोल गर्ने सुविधा एकै ठाउँबाट दिनेछ । र, क्लिनर एप पनि डाउनलोड गर्नुपर्दैन । अनावश्यक फाइलले ओगटेको मेमोरी स्पेस खाली गर्न फ्रि स्पेस फिचर पनि थपिएको छ । विन्डोज टेनमा थुप्रै एड आउनाले प्रयोगकर्ता हैरान हुन्छन् ।

अब यस्ता एड अफ पनि गर्न मिल्ने भएको छ ।

प्रकाशित: वैशाख ८, २०७४