हुन्डाईको नयाँ ग्रान्ड आइटेन

- नेपाल संवाददाता

हुन्डाईको २०१७ मोडलको ग्रान्ड आइटेन नेपालमा पनि लन्च भएको छ । नयाँ मोडलको ग्रान्ड आइटेनमा रेडिएटर र डेटाइम लाइटमा मुख्य परिवर्तन गरिएको छ । अगाडि नम्बर प्लेटसँग रहेको यसको रेडिएटरलाई नयाँ डिजाइन दिइएको छ । गाडीमा रेडिएटरले इन्जिनबाट निस्किएको तापलाई बाहिरको हावामा फालेर इन्जिनलाई छिटो तात्नबाट जोगाउँछ ।
त्यस्तै यसको डेटाइम लाइट पनि हल्का फरक आकारमा आएको छ । यसबाहेक यसको इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन । यसमा उही पुरानै १२ सय सीसीको पेट्रोल इन्जिन छ । जसले ८२ ब्रक हर्सपावरको अधिकतम शक्ति र १ सय १४ एनएमको टर्क निकाल्छ ।
यो सानो कारमा रियर पार्किङ क्यामेरा, एन्टिलक ब्रेकिङ सिस्टम, डुअल एयर ब्याग लगायतका अन्य आधुनिक फिचर पनि छन् । यसको मूल्य २६ लाख ९६ हजारदेखि ३४ लाख ५६ हजार रुपियाँसम्म पर्छ ।

प्रकाशित: वैशाख ८, २०७४