फेक न्युजविरुद्ध फेसबुक

- नेपाल संवाददाता

इन्टरनेट र सोसल मिडियामा अहिले ‘फेक न्युज’को बिगबिगी छ । फेक न्युजले अफवाह फैलाएर सामाजिक सद्भाव भड्काउन पनि सक्छ । यस्ता कुरा अचेल शक्तिशाली राष्ट्रका लागि पनि टाउको दुखाइ बनिरहेका छन् । पाँच महिनाअघि अमेरिकी निर्वाचनमा पनि फेक न्युजले ठूलै प्रभाव पारेको विश्वास गरिन्छ ।
प्रविधिका ठूला कम्पनीहरु अब फेक न्युजविरुद्ध ठूलै रणनीतिका साथ प्रस्तुत हुन लागेका छन् । अमेरिकामा राष्ट्रपतिका लागि भएको निर्वाचनमा सबैभन्दा बढी फेसबुकबाटै फेक न्युज फैलाइएको थियो । यसमा निकै आलोचना भएपछि फेक न्युजलाई नियन्त्रण गर्न यो कदम चालिएको बुझ्न गाह्रो छैन ।
हालै फेसबुकले प्रयोगकर्ताका न्युजफिडमा फेक न्युज कसरी चिन्ने भनेर भिडियोमार्फत जानकारी दिएको छ । तर, यो भिडियो पहिलो चरणमा १४ देशका प्रयोगकर्ताका न्युजफिडमा मात्रै छ । भिडियोमा त्यस्ता न्युज पोस्ट गर्ने वेबसाइट कत्तिको भरपर्दा हुन्, त्यो प्रयोगकर्ता आफैँले चेक गर्नुपर्ने बताइएको छ । त्यस्तै यस्ता कुरा सत्य भए/नभएको थाहा पाउन अन्य स्रोतबाट पनि खोजी गर्न भनेको छ ।
फेसबुकले भविष्यमा यस्तो टुल बनाउन खोज्दै छ, जसले झूट्टा स्टोरीको पहिचान गरी त्यसलाई फैलिनबाट रोकोस् । हालै फेसबुकले फ्याक्ट चेक गर्ने अन्य कम्पनीसँग पनि सहकार्य गर्न लागेको छ । यस्ता कम्पनीलाई पैसा तिरेरै फेक न्युज पत्ता लगाउन फेसबुक लागिपरेको छ ।

प्रकाशित: वैशाख ७, २०७४