बार–बेन्च सम्बन्ध महत्त्वाकांक्षाहरूको कठघरामा

- मेघराज पोखरेल

अहिले बार–बेन्च सम्बन्ध इतिहासकै विभाजित र खण्डीकृत मानसिकताको उत्कर्षमा छ । केही राष्ट्रिय महत्त्वका मुद्दा र उच्च अदालतका न्यायाधीश नियुक्तिमा बार र बेन्चले खेलेका पृथक् भूमिकाको मूल्यांकन गर्ने हो भने यही निष्कर्षमा पुग्न बाध्य हुन्छौँ हामी । देशमा शान्ति र अमनचैनको भूमिकामा रहेको प्रहरी प्रमुख बढुवा मुद्दामा राज्यका महान्यायाधिवक्ताले केही स्वच्छ सुनुवाइको सरोकार राखेका थिए, पूर्ण इजलासमा सुनुवाइ सुरु हुनुपूर्व । महान्यायाधिवक्ताको उक्त सरोकार स्वीकार नगरी बेन्च पूर्ण सुनुवाइमा अगाडि बढेको थियो । तत्कालै महान्यायाधिवक्ताको टोली बेन्चबाट बाहिरिएको र सोही दिन सन्ध्यामा अमूक दलका नेतासमक्ष प्रस्तुत भएको थियो ।

उक्त परिदृश्य हेर्दा महान्यायाधिवक्ताको सरोकारै नसुनी सुनुवाइ अगाडि बढाउने पूर्ण इजलास आफैँमा अतिवादी भान हुन्थ्यो भने इजलासमा बहस गर्नुपर्ने संवैधानिक दायित्व भएका महान्यायाधिवक्ता पूर्ण इजलास बहस बहिष्कार गरी विचाराधीन मुद्दामा असर पर्ने गरी दलका नेताकहाँ जानु र इजलासविरुद्ध टिप्पणी गर्न जानु अतिवादको पनि पराकाष्ठा थियो । 

बार र बेन्चको यस्तो तिक्ततापूर्ण सम्बन्ध र अतिवादका कारण पक्षहरूको न्याय प्राप्तिको हकको हत्या भइरहेको हुन्छ । अदालतका फैसला कार्यान्वयन नगर्ने प्रवृत्ति हाबी हुनु यसैको ज्वलन्त उदाहरण हो । बार र बेन्च दुवैतिर मनोमालिन्य भयो भने धमिलो पानीमा माछा मार्नेहरूले अवसर पाउँछन् । समाजमा अदालतको छवि नराम्रो हुँदै जान्छ । अदालतप्रति विश्वास मर्दै जान्छ । 

हामीजस्ता थुप्रै सामाजिक अभियन्ता न्यायपालिकाभित्रका यस्ता अतिवादी प्रवृत्तिबाट मुक्तिका दिन पर्खाइमा छौँ । मुक्ति अर्थात् बार र बेन्च दुवैतर्फका मूल पात्रहरूका यस्ता वैयक्तिक महत्त्वाकांक्षा तथा अतिवादबाट छुटकारा पाउनु र स्वतन्त्र न्यायिक पद्धतिका अगाडि उज्यालो बलिरहेको देख्नु । त्यस्तो उज्यालो, जसले विधिको राजमार्गमा हिँड्ने सामाजिक अभियन्ता आफ्ना सम्मुख आइपर्ने सम्पूर्ण वस्तु र घटना तथा कारण र असरका बीच साक्षीभावमा बस्न सक्छ । त्यसैले समयमै यस्ता अतिवादलाई नियन्त्रण र बार–बेन्च सम्बन्धलाई सन्तुलनमा ल्याउन दुवै पक्ष संवेदनशील हुनुपर्ने देखिन्छ ।

कस्तो हो बार र बेन्चको सम्बन्ध ?

न्याय प्रशासन न्यायाधीश र बारको संयुक्त प्रयासबाट मात्र सम्भव हुन्छ । न्यायाधीशहरूले जटिल कानुनी समस्या समाधान गर्नुपर्ने हुन्छ भने कानुन व्यवसायीले यसमा सहयोगीको भूमिका खेल्छ । त्यसैले कानुन व्यवसायीलाई अदालतको अधिकृत तथा अभिन्न अंग मानिन्छ । यस्तो सम्बन्ध न्याय प्रणालीको उषाकालीन समयदेखि कायम छ । अत: यसरी एकले अर्कालाई निषेध गर्नुले न्याय प्रशासनमा गम्भीर असर पार्छ ।

हुन त अन्य मुलुकका सन्दर्भलाई अध्ययन गर्ने हो भने पनि बार र बेन्चको सम्बन्ध भाँचिने, टुक्रिने र फेरि बन्ने निर्माण र विनिर्माणको चक्रबाट गुज्रिरहेको पाइन्छ । एकातिर बारका सदस्यहरूले आफ् नो व्यवसायिक दक्षता र क्षमता विनिमय गरेर जीवनशैली उच्च बनाइरहेका हुन्छन् । अर्कातिर बेन्च झिनो सरकारी तलब–भत्ताभित्र आफ्ना चाहनालाई बन्धक राख्न बाध्य हुन्छ । यसै परिदृश्यमा बारसँग बेन्च ईष्र्या गरिरहेको हुन्छ भने बेन्चले आफूलाई अर्कै ग्रह/उपग्रहको अब्बल प्राणीजस्तो व्यवहार गर्दा बार बेन्चसँग जलिरहेको हुन्छ । दुवैमा उत्पन्न हुने कुण्ठाग्रस्त मनोरोगले नै बार र बेन्चबीचको सम्बन्धमा अवरोध ल्याइरहन्छ । 

अपितु बार र बेन्च सामाजिक, निजी वा न्यायिक प्रक्रियामा एकापसबाट टाढा रहन पनि सक्दैनन् । हर आवश्यकतामा बारलाई बेन्च र बेन्चलाई बार नभई हुँदैन । बार र बेन्चको यो पारिवारिक कलह, मिलन, पुन:मिलनको चक्र सनातनी हो । त्यसैले यो सम्बन्धलाई प्रेम र घृणाका रूपमा पनि व्याख्या गरिन्छ । 

प्रचार र पहिचानको लत

न्यायपालिकाको गरिमा बचाउने काम बार र बेन्च दुवैको हुन्छ । जसरी बाजले कुखुराको चल्लालाई अपहरण गर्न आउँदा पोथीले बचाउका लागि आफ्नो प्राणको बाजी लगाउँछ, त्यसै गरी कार्यपालिकाका विरुद्ध संविधान, ऐन–कानुनका आधारमा जनताका हक–अधिकारको संरक्षण गर्ने उत्तरदायित्व न्यायपालिकाको हुन्छ । तर, हामीकहाँ कताकता यस्तो पवित्र न्यायिक अभीष्ट लिनेभन्दा प्रचार र पहिचानको लत लागेका व्यक्तिका हातमा न्यायपालिका पुगेजस्तो छ, जसलाई मान्छे फर्कीफर्की हेरेको मनपर्छ । हेरेन भने उसलाई तनाव हुन्छ । बार र बेन्च दुवैतर्फ यस्ता व्यक्तित्वको बाहुल्य रहेको देखिन्छ । आफूले स्वीकारेको बाहेक अन्य संकथनहरू बहिष्कार गरिने वैचारिक संस्कार बलियो हुँदै गइरहेको देखिन्छ न्यायिक क्षेत्रमा । जसले बार र बेन्च दुवैलाई न्यायको अभीष्टबाट सधैँ टाढा पुर्‍याउनेछ ।

न्याय प्रशासनका त्रिखुट्टी

बार, बेन्च र आमजनता न्यायप्रशासनका त्रिखुट्टी हुन् । यी त्रिखुट्टीमध्ये कुनै एक कमजोर भएमा समग्र न्याय प्रशासन कमजोर हुन्छ । त्यसमा पनि बार चौकोस र ढोकालाई जोड्ने कब्जाजस्तो हो, जसले बेन्च र आमजनतालाई जोड्ने काम गर्छ । बार त न्यायको वाहक फित्ता हो । जब वाहक फित्ताले पब्लिकका पीडा अदालतसमक्ष ल्याइदिन्छ, तब न्यायाधीशले कानुन र तथ्यका बीच मध्यस्थका रूपमा विवादको उचित निरूपण गर्छ । विवाद निरूपणको यस्तो प्रक्रियामा मुद्दाको जटिल प्रश्नउपर छलफल र मीमांसा गर्ने पर्याप्त समय बारलाई दिनुपर्छ । सुनुवाइका क्रममा न्यायाधीशभित्र अतुलनीय सहनशीलता र धैर्यधारणा हुनुपर्छ । त्यसो भएमा मात्रै गुणस्तरीय र गम्भीर सिद्धान्त बसाल्ने दूरगामी तथा युगान्तकारी फैसला लेखिन सक्छन् । 

न्याय प्रशासनमा सहभागी यी तीनै खुट्टी मानव हुन् । त्यसैले उनीहरू पूर्णरूपेण दोषमुक्त हुन सक्दैनन् र सामाजिक दबाब र चुनौतीबाट प्रभावित हुन सक्छन् । यस्तै दबाबको भुमरीमा परेको बेन्चले आफ्नो बचाउका निमित्त न प्लेकार्ड लिएर विरोधमा उत्रन सक्छ, न सार्वजनिक रूपमा टीका–टिप्पणी गर्न सक्छ । पद्धतिले नै न्यायाधीशलाई अन्याय गर्‍यो भने पनि उसले त्यसलाई बाहिर ल्याउन सक्दैन । यसका लागि बारले नै वाचक हुन जरुरी हुन्छ । तर, हामीकहाँ यो उल्टो देखिँदै छ । 

अचेल लाग्छ, बारले अदालतमा बोकेर ल्याउने बौद्धिक भारी बेन्चका लागि न्यायिक खुराक नभएर बोझ हुन लागेको छ । बेन्चमा सुनुवाइमा धैर्यधारण त विरलै पाइन्छ नै, बहस प्रस्तुतीकरणकै क्रममा बेन्च अधैर्य हुने प्रवृत्ति विकास भएको देखिन्छ । कानुन व्यवसायीहरूद्वारा जटिल कानुनी प्रश्नमा प्रयोग गरिने सामग्रीको प्रस्तुतीकरण तथा समग्र विश्लेषणको सुनुवाइ नगरी न्यायिक मन पोषणयुक्त हुँदैन । कमजोर न्यायिक मनले पूर्ण न्याय गर्न सक्दैन । त्यसैले शालीन र धैर्यपूर्ण सुनुवाइ पूर्ण न्यायका लागि अपरिहार्य प्रक्रिया हो । 

अर्कोतर्फ बारले बोक्ने भारीमा पनि बौद्धिकताको उज्यालो निख्रिँदै गएको आभास हुन्छ । बेन्चलाई सुन्न बाध्य बनाउन सक्ने बारको क्षमतामा पनि प्रश्न उठ्न थालेका छन् । असान्दर्भिक बहस–पैरवीले अदालतको बहुमूल्य समय खेर गइरहेको महसुस हुन्छ । त्यसैले बेन्चले ध्यान दिएर सुन्दैन । यस्तै हुँदै गयो भने दुवैतर्फ बौद्धिक र नैतिक जिज्ञासा नै पलाउन छाड्ने खतरा देखिन्छ । यदि न्याय निरूपणलाई गुणस्तरीय बनाउने हो भने यस्तो प्रवृत्तिमा सुधार गर्नु नितान्त आवश्यक छ । 

जनविश्वासमा क्षयीकरण

यी नकारात्मक भूमिकाको परिणामत: हामी सबैको सम्मानित संस्थाको जनआस्था घट्न जान्छ । समाजले न्यायपालिकाप्रति पिठ्यूँ फर्काउँछ र अन्तत: न्यायपालिकाप्रतिको सर्वसाधारणको विश्वासमा क्षयीकरण हुन थाल्छ । यसबाट कोही पनि लाभान्वित हुन सक्दैन । यसो हुँदै जाँदा हाम्रो समाज हब्र्सले भनेजस्तै अल्पकालीन, पाशविक र दुष्ट हुन जान्छ । कुखुरा न्यायाधीश भएको ठाउँमा साङ्लाले न्याय पाउन नसकेजस्तै हुन पुग्छ । यसका लागि तिनै खुट्टीहरू कुनै पनि धर्म, जातजाति, भाषा, पहिचान तथा दलीय विश्वासलगायत सबैखाले बाहिरिया तत्त्वबाट टाढै रहनुपर्छ, कम्तीमा न्याय निरूपणको सन्दर्भमा ।

अर्कातर्फ यो पनि बुझ्न जरुरी छ कि न्यायाधीश वा कानुन व्यवसायीहरू कुनै फ्याक्ट्रीका एसेम्ब्ली लाइन पनि होइनन्, जसले प्राविधिक सूत्रका आधारमा कच्चा पदार्थदेखि पूर्ण उत्पादन नहुँदासम्म स्वरूपित (फम्र्याटेड) काम मात्र गर्नुपरोस् । उनीहरूले त आफ् नो ज्ञान, अनुभव, विवेक प्रयोग गरी छिटोछरितो, प्रभावकारी तथा गुणस्तरीय काम गर्नुपर्छ, न्याय निरूपणको क्षेत्रमा । उनीहरूको भूमिकाले कानुन कठोर र निष्क्रिय यन्त्रका रूपमा परिणत हुनु पनि हुँदैन । एउटा यस्तो यन्त्र, जसले मस्तिष्कविहीन पदार्थलाई एउटा निश्चित ढाँचामा लिन्छ र पूर्व–निर्धारित सूत्र अनुसार उत्पादन निकालिदिन्छ । 

न्यायिक मन निर्माणकै लागि, न्यायिक परिणामकै लागि कानुन व्यवसायी र न्यायाधीश दुवैको जरुरत पर्छ । त्यसैले बार र बेन्चलाई दुई खम्बा भनिन्छ र दुवैको बलले मात्र न्यायको मन्दिरलाई थेग्न सक्छ । यिनीहरूबीच देखिनुपर्ने आपसी इमानदारी र आदरभाव सुमधुर सम्बन्ध र जनविश्वास क्षयीकरण रोक्ने आधार स्तम्भ हुन् ।

न्यायको अभीष्ट

न्यायको अभीष्ट भनेको स्वच्छ, निर्भीक र स्वतन्त्र न्याय सम्पादन र फैसलाको सामयिक कार्यान्वयन नै हो । बारको विलक्षण क्षमता र बेन्चको विलक्षण न्यायानुभूतिको सम्मिश्रणले मात्र यो पवित्र उद्देश्य पूरा हुन सक्छ । न्यायाधीशहरूको अभिमान हरपल त्याज्य हुनुपर्छ । उनीहरू अभिमानमा भन्दा करुणाका प्रतिमूर्ति हुनुपर्छ । बारले बेन्चलाई गहन र उच्च बौद्धिक धरातल निर्माण गरिदिनुपर्छ, आफ्नो प्रस्तुतीकरणका माध्यमबाट । बेन्चले त्यसलाई सम्यक् विश्लेषण गरी आफ्नो न्यायिक टिप्पणीमा स्थान दिनुपर्छ । 

कानुन व्यवसायीले पनि आफूभित्रको अन्तस्थ मानसलाई ब्यूँझाउनुपर्छ । यसका लागि राजनीतिक दलको छत्रछायाभन्दा आफ्नो ज्ञानको क्षितिज फराकिलो बनाउने तृष्णातर्फ लाग्नु श्रेयस्कर हुन्छ । ज्ञान र अनुभवबाट विकसित भएको अन्तर्चेतनाले देखाएको बाटो बेठीक हुँदैन । यसैबाट वर्गीय हितरक्षा तथा बौद्धिक प्रवद्र्धनको बाटो बलियो हुँदै जान्छ । यसैलाई पुस्तान्तरण गर्दै जानुपर्छ । यसका लागि सशक्त, फुर्तिलो र जोसिलो छलफलको वातावरणको आवश्यकता छ । 

बार र बेन्च दामली हुनैपर्छ न्याय सम्पादनको प्रक्रियामा । आपसी भाइचारा, सह–अस्तित्वको भावना विकास गर्नैपर्छ कम्तीमा समाजका खातिर भए पनि । एकापसमा आवश्यक पर्ने ज्ञान तथा सीप विकासका लागि पेसागत अवसर उपलब्ध गराउनुुपर्छ । बार र बेन्च दुवैलाई चिन्तन–मनन र समस्यालाई ओल्टाइपल्टाइ हेर्न प्रेरित गर्नुपर्छ । संवेदनशीलता, स्वाभिमानीपन, आपसी प्रेम बढाउने र पढ्ने र अन्तक्र्रिया संस्कृतिका पटांगिनीहरू खोल्नु जरुरी छ । तब मात्र सही मानेमा बार–बेन्च अतिवाद र महत्त्वाकांक्षाको कठघराबाट मुक्त हुन्छ र सम्बन्ध पनि सुमधुर हुँदै जान्छ । तब मात्र न्यायको उल्लिखित पवित्र अभीष्ट पूरा गर्न सकिन्छ । 

प्रकाशित: वैशाख ६, २०७४