वीरमा सफलता

  • अनुहारको बनोट नै फेर्ने अर्थोग्न्याथिक शल्यक्रियामा पहिलो प्रयासमै उत्कृष्ट नतिजा

- रामबहादुर रावल

मातातीर्थ, काठमाडौँकी सोफिया शर्माले २० वर्षे जीवनमा मन फुकाएर हाँसेको सायदै होला । हाँसिहाले उनले मुख छोप्नुपथ्र्यो । अरूसँग कुरा गर्दा पनि मास्क लगाउनुपथ्र्यो । समूहमा काम गर्दा, बोल्दा वा धेरै जनाको अगाडि उभिँदा उनलाई अप्ठ्यारो महसुस हुन्थ्यो । कसैले कुनै टिप्पणी नगर्दा पनि उनलाई केही असहज अनुभव हुन्थ्यो ।

अहिले उनको जीवनको अध्याय बदलिएको छ । उनका हरेक क्रियाकलापमा संकोचको कारक बनेर आउने अनुहारको आकृति एकाएक परिवर्तन भएको छ । र, उनको अनुहार आफैँलाई ऐनामा हेरूँहेरूँ लाग्ने भएको छ । बीबीएस तेस्रो वर्ष अध्ययनरत उनी भन्छिन्, “अहिले ममा आत्मविश्वास बढेको छ ।”

उनमा यस्तो परिवर्तन वीर अस्पतालको दन्त विभागले ल्याइदिएको हो । समस्या के रहेछ भने अनुहारको विकास हुने क्रममा उनको मुखको तल्लो भागको हड्डी लामो भयो र माथिल्लो भागको छोटो । त्यसले उनको अनुहारलाई मात्रै होइन, खान, हाँस्न र बोल्न पनि असहज भयो । वीर अस्पतालमा अर्थोग्न्याथिक शल्यक्रिया गरेर उनको अनुहारको माथिल्लो हड्डीलाई काटेर पछाडि धकेलियो भने तल्लो भागको हड्डीलाई केही अगाडि सारियो । गत २० कात्तिकमा गरिएको उनको शल्यक्रियामा करिब चार घन्टा लागेको थियो । शल्यक्रिया कक्षबाट बाहिर निकाल्दा त सोफियाकी आमाले भनिछन्, ‘डाक्टरसाहेब, छोरीलाई त नाकले मात्र चिन्यौँ । अर्कै भएर आइछ ।’ 

त्यसपछि चिकित्सक टोलीबीच खुसीको सीमा रहेन । ओरल एन्ड म्याक्जिलोफेसियल सर्जन डा किशोर भण्डारी भन्छन्, “सफल हुन्छौँ भन्नेमा हामी विश्वस्त त थियौँ तर कुनै भवितव्य आएमा कसरी हेन्डल गर्ने, बिरामीलाई के भन्नेजस्ता प्रश्न मनमा आएका थिए । तर, हामीले निकै होसियारीपूर्वक योजना बनाएका थियौँ । पहिलो प्रयासमै सफल भयौँ । उत्कृष्ट नतिजा आयो ।”

६ वर्षअघि भारतीय चिकित्सकहरू नेपालमै आएर पहिलोपल्ट यस्तो शल्यक्रिया गरेका थिए । तर, त्यसको नतिजा र प्रभाव के भयो भन्ने मूल्यांकन नै भएन । कारण, एकपटकका लागि आएका चिकित्सकले शल्यक्रिया गरे, फर्किए । धेरै बिरामीले नियमित फलोअपसमेत गर्न पाएनन् । त्यसबेलाको प्रविधि निकै पुरानो र जटिल थियो । त्यसैले आठ हप्तासम्म बिरामीको मुखै बाँधिएको थियो । त्यतिखेर हड्डी र बंगारा काट्ने हाते औजार थिए भने अहिले वीर अस्पतालमा अत्याधुनिक मेसिन ल्याइएको छ । चिकित्सकहरूको टोलीले पनि अत्याधुनिक तालिम लिएर आएका छन् । भारतीय चिकित्सक टोलीले एकातिरको (तल वा माथि) बंगारा मात्र मिलाएको थियो भने अहिले दुईतिरैका हड्डी मिलाउन सकिएको छ । कन्सल्ट्यान्ड अर्थोडोन्टिस्ट डा मनीष बज्राचार्य भन्छन्, “अहिले शल्यक्रिया सकिनेबित्तिकै मुख खुल्छ । ४८ घन्टामा बिरामी डिस्चार्ज गर्छौं ।”

चिकित्सकहरूका अनुसार अनुहारलाई सुन्दर देखाउन मात्र होइन, सास फेर्न गाह्रो हुने, घुर्ने, राती अचानक उठेर हिँड्ने, बोली असहज र अप्ठ्यारो हुनेजस्ता स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न यो शल्यक्रिया गर्नुपर्ने हुन्छ । मुखको तल्लो र माथिल्लो हड्डी असन्तुलित रूपमा फैलिँदा सास नलीमा दबाब पर्ने, खाना चपाउन गाह्रो हुने, त्यही कारणले पाचन प्रणालीमा पनि असर पर्ने लगायतका समस्या हुन्छन् । यसको समाधानका लागि यस्तो शल्यक्रिया आवश्यक हुन्छ ।

पहिलो प्रयोगमै यो शल्यक्रिया सफल भएसँगै वीर अस्पतालले अब यो सेवालाई नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्ने भएको छ । यसले हड्डीको कारणले अनुहार विकृत देखिने, बोल्न, खान, सास फेर्न गाह्रो हुने लगायतका समस्या बेहोरिरहेकाहरूका लागि राहत दिनेछ । 

यस्तै उपचारका लागि धेरै नेपाली भारत र अन्य मुलुकमा गइरहेका छन् । चिकित्सकहरूका अनुसार भारतमा यसमा शल्यक्रियाका क्रममा आवश्यक पर्ने उपकरण तथा सामग्रीबाहेक मात्र पाँचदेखि आठ लाख रुपियाँ खर्च लाग्छ । त्यसमाथि उपचार लामो समय चल्ने भएकाले नियमित जाँच गराउन पनि सम्भव नहुँदा पैसा हुनेहरूलाई पनि यो उपचार कठिन छ । तर, मुलुककै जेठो सरकारी अस्पतालले गरेको यो सफल प्रयोगपछि निकै कम खर्चमा सेवा लिन सकिने भएको छ । शर्माको शल्यक्रियामा करिब ६० हजार रुपियाँ खर्च भएको उनको भनाइ छ । अस्पतालकी दन्त विभाग प्रमुख डा शैली प्रधान भन्छिन्, “यसले मुलुककै ठूलो वीर अस्पतालको इज्जत बढाउनेछ । किनभने, धेरै नेपालीले अब आफ्नै मुलुकमा निकै कम खर्चमा यो उपचार पाउन सक्नेछन् ।”

यो शल्यक्रिया जटिल नभए पनि संवेदनशील मानिन्छ । स्वास्थ्यसम्बन्धी समस्या नभएका तर अनुहारको आकार मात्र मिलाउन गरिँदा बिरामीको सन्तुष्टि महत्त्वपूर्ण पक्ष हुन्छ । बिरामी सन्तुष्ट भएन वा पहिलाको भन्दा झनै अनुहार बिग्रियो भने चिकित्सकहरूलाई अर्को आपत् आइपर्न सक्छ । कन्सल्ट्यान्ट अर्थोडोन्टिस्ट डा मनीष बज्राचार्य भन्छन्, “त्यसैले निकै सावधानीसाथ योजना बनाउनुपर्ने हुन्छ । यो शल्यक्रियामा योजना निकै महत्त्वको विषय हो ।”

उनका अनुसार बिरामीको अनुहारलाई कुन आकारमा ढाल्ने हो, पहिले नै योजना तयार पारिन्छ । करिब दुई वर्षसम्म लाग्न सक्छ, शल्यक्रियाको चरणसम्म पुग्न । प्राय: बिरामी सुरुमा दाँतको समस्या लिएर अस्पताल पुग्छन् । समस्याको जरो खोज्दै जाँदा हड्डीको असन्तुलित विकास हो भन्ने निष्कर्षमा चिकित्सक पुगेमा शल्यक्रियाका लागि सिफारिस हुन सक्छ । कसैकसैको दाँत मात्र मिलाएर पनि अनुहारको आकारमा परिवर्तन ल्याउन सकिन्छ । तर, हड्डीको अवस्थिति नै परिवर्तन गर्न शल्यक्रिया गर्नुपर्छ । मुखभित्रबाट हड्डी फुकालेर ठीक आकारमा काट्नुपर्छ र त्यसपछि जोड्नुपर्छ । शल्यक्रियाअघि बिरामीको अनुहारको नापो लिएर नक्कली अनुहार तयार पारिन्छ । र, त्यही नमुना अनुहारको शल्यक्रिया गरी ठीक नतिजा निस्किए मात्र वास्तविक अनुहारको शल्यक्रिया थालिन्छ । 

पहिलो शल्यक्रियाको नतिजा उत्कृष्ट आएकाले अरू ६ जना बिरामीको पनि शल्यक्रियाका लागि योजना अघि बढाइएको छ । अबको तीन महिनामा दुई जनाको शल्यक्रिया गरिसकिनेछ । पहिलो प्रयोग भएकाले वीर अस्पतालले सुरुका १० जनाको नि:शुल्क शल्यक्रिया गर्ने डा बज्राचार्य बताउँछन् । “मुलुककै केन्द्रीय अस्पतालमा यस्ता प्रयोग भइरहनुपर्छ,” उनी भन्छन्, “यो काम संवेदनशील छ तर ठूलो होइन । आजसम्म किन भएन भन्ने प्रश्न विचारणीय छ ।” 

बल्ल जीवन पायो ट्रमा सेन्टरले 

२० वर्षअघि तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजराल नेपाल भ्रमणमा आउँदा शिलान्यास भएको ट्रमा सेन्टरको निर्माण सम्पन्न हुन मात्र ११ वर्ष लाग्यो । त्यसपछिका सात वर्ष केवल भवन मात्र ठडिइरह्यो, सञ्चालनमा आएन । एक वर्षअघिसम्म पनि अस्पतालका भित्तामा जडित अक्सिजनका पाइपमा माकुराको जालो थियो । संवेदनशील क्षेत्र मानिने अपरेसन थिएटरमा धूलो जमेको थियो । वर्षौंदेखि जडान गरेर सञ्चालनमा नआएका सामानहरूको धूलो पुछेर पूर्ण रूपमा सञ्चालनमा ल्याउने जिम्मेवारी पाए, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा प्रमोदकुमार उपाध्यायले । 

अहिले त्यहाँ जाँदा यो सरकारी अस्पताल हो भन्ने पत्याउनै गाह्रो पर्छ । सफा र फराकिला वार्ड, आधुनिक प्रविधियुक्त सेवा अनि भौतिक पूर्वाधारको बन्दोबस्तले परम्परागत सरकारी अस्पतालप्रतिको धारणा नै खण्डित बनाउँछ । यसले काठमाडौँको मुटुमा अवस्थित वीर अस्पतालको पुरानो संरचना र बिरामीको चापलाई समेत नियन्त्रण र व्यवस्थापन गर्न सघाउ पुगेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत विशेषज्ञता हासिल गरिरहेको आवासीय जनशक्तिले पनि यो सेन्टर सञ्चालन र व्यवस्थापन सहज भएको छ । डा उपाध्याय भन्छन्, “स्वास्थ्य मन्त्रालयले पनि हामीले लिएका पहलकदमीमा उत्साह थपेको छ । असल मनसायले काम गर्न खोज्दा साथ पाइँदो रहेछ ।”

हुन पनि सञ्चालनमा आउँदा न अस्पतालको नाम कतै लेखिएको थियो, न त कर्मचारी हाजिर गर्ने विद्युुतीय यन्त्र नै थियो । अहिले अस्पतालमा लुगा धुने आफ्नै मेसिन जडान भएको छ, जसले सँगैको वीर अस्पतालका वार्ड, शल्यक्रिया कक्षका लुुगा धुुन सजिलो भएको छ । अस्पतालको मसिनरी र औजार तथा अन्य सामानहरूमा पानीको अशुद्धता र कडापनले हुन सक्ने नोक्सान कम गर्न शुद्धीकरण मेसिन छ यहाँ । 

उपचारसम्बन्धी उपकरणहरूको सुरक्षाका लागि जरुरी ठाउँहरू पाँचवटा अपरेसन थिएटर, आईसीयू, पोस्ट अपरेसन कक्ष, प्रयोगशाला र इमर्जेन्सी एक्स–रे कक्षमा एसी जडान गरिएको छ । अस्पतालका सामग्री तथा गतिविधि निगरानी गर्न ३६ वटा सीसी क्यामेरा जडान गरेर मोबाइल एपबाट हेर्न सकिने बनाइएको छ । अस्पताल तथा स्वास्थ्य सेवासम्बन्धी सम्पूर्ण गतिविधिलाई अनलाइन आधारित बनाउन नौवटा सफ्टवेयर उपयोग गरिएको छ । अस्पतालको आफ्नै औषधि पसल सञ्चालन गर्न पूर्वाधार तयार भएको छ । विपन्न नागरिक उपचार सहायताका निम्ति बेग्लै कोष र सामाजिक सेवा एकाइ स्थापना भएको छ । आईसीयू र अपरेसन थिएटरमा उपकरण थपेर क्षमता बढाइएको छ । अर्थात्, भारत सरकारको सहयोगमा निर्मित नेपालको एक मात्र ट्रमा सेन्टरले बल्ल जीवन पाएको छ । दुई सय शय्याको यो अस्पताल अहिले पूर्ण क्षमतामा सञ्चालनमा छ । डा उपाध्याय भन्छन्, “कुनै घटना, दुर्घटना वा चोटपटक लाग्दा निजी अस्पतालमा गएर महँगो शुल्क तिर्नुपर्दैन । हामी सकेसम्म नि:शुल्क र नभए न्यूनतम शुल्कमा सेवा दिन तयार छौँ ।”

९ मंसिर ०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो नेपाल भ्रमणपछि उद्घाटन भएको ट्रमा सेन्टरले पछिल्लो दुई वर्षमा उल्लेख्य बिरामीलाई सेवा प्रदान गरेको छ । आर्थिक वर्ष ०७१/७२ मा १० हजार ३ सय ५६ ओपीडी बिरामीको उपचार गरेको यस सेन्टरमा ०७२/७३ मा यही संख्या २९ हजार ८ सय १५ पुग्यो । त्यसै गरी इमर्जेन्सीमा दुई वर्ष गरी करिब १३ हजार बिरामी आइपुगेका छन् । ०७१/७२ मा प्रयोगशालासम्बन्धी सेवा २२ हजार एकाइमा दिइएको थियो भने अर्को वर्ष यो संख्या करिब एक लाख पुग्यो । डा उपाध्याय भन्छन्, “पहिला विभिन्न कारणले सञ्चालनमा आउन नसके पनि ०७२ को भूकम्पले गर्दा यो सेन्टरको आवश्यकताबारे सबैलाई बोध भएको छ ।”

विगत दुई दशकमा नेपालले सर्ने र नसर्ने रोगको उपचार क्षेत्रमा केही काम गरे पनि दुर्घटना, हिंसा, चोटपटकका कारणबाट हुने स्वास्थ्य समस्या सम्बोधन गर्ने विशेष क्षमतायुक्त संस्था स्थापना गर्न सकेको थिएन । त्यसमाथि प्राकृतिक जोखिम, जलवायु परिवर्तनको नकारात्मक असर, सडक दुर्घटना, हिंसा र चोटपटकका कारणले हुने स्वास्थ्य समस्याहरूमा भारी परिवर्तन हुँदा पनि यसको सम्बोधन गर्न ध्यान नपुग्दा मुलुकले अनपेक्षित क्षति बेहोर्दै आएको थियो/छ । जस्तो कि, नेपालमा सडक दुर्घटनामा मर्ने दर मात्र प्रति १० हजार सवारी साधनमा १७ जना छ, जुन संसारमा सबैभन्दा बढी र चिन्ताजनक अवस्थामध्येमा पर्छ । अझ मृत्युका कारणमध्ये सबै उमेर समूहको हिसाब गर्दा चोट–पटक तेस्रो प्रमुख कारण मानिन्छ भने उत्पादनशील उमेर समूहमा यो पहिलो कारण हुन्छ । 

सडक दुर्घटनाका कारण मात्र कुल गार्हस्थ्य उत्पादनमा ०.८ प्रतिशत नोक्सानी मुलुकले बेहोर्छ भने संसारभर रोगको भारमा १२ प्रतिशत त यस्तै दुर्घटना वा चोटपटक नै हुने गर्छ, जसका कारण दैनिक १६ हजार जनाको ज्यान जान्छ । विश्वमा मलेरिया, क्षयरोग र एड्सबाट मृत्यु हुने सामूहिक तथ्यांकभन्दा यस्तै चोटपटक वा ट्रमाबाट ज्यान जानेको संख्या बढी छ । यिनै समस्या सम्बोधन गर्न ट्रमा सेन्टरको व्यवस्था गरिन्छ र यस्ता सेन्टरहरूको गुणस्तर, व्यवस्थापन र प्रभावकारिताका आधारमा विभिन्न वर्गमा बाँड्ने गरिन्छ । डा उपाध्याय भन्छन्, “अहिले नै हाम्रो वर्गीकरण गर्ने हो भने दोस्रो वर्गमा पर्न सक्छौँ । हाम्रो योजनामा यसरी नै सफल हुँदै गयौँ भने केही वर्षमै पहिलो वर्गमा सूचीकृत हुन गाह्रो छैन ।”

धेरै ठाउँमा चोट भएका बिरामीहरू साह्रै सिकिस्त हुनाले केही शय्या इमर्जेन्सीमा अत्याधुनिक सघन उपचार कक्षको विकास गर्ने तयारी भइरहेको छ । त्यसै गरी अस्पतालबाट उत्पादन हुने फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न अत्याधुनिक मेसिन स्थापना गरिँदै छ । र, आगोले जलेका र स्नायु प्रणालीमा क्षति पुगेका बिरामीहरूका लागि उच्च क्षमताका शय्या स्थापना गर्ने सोच पनि सेन्टर व्यवस्थापनले लिएको छ । विभिन्न क्षेत्रका विशेषज्ञ र नर्सिङ कर्मचारी थप गर्ने र बिरामी कुरुवाका लागि समेत बस्ने, सुत्ने र सामान राख्न मिल्ने फर्निचर व्यवस्थापनको काम पनि तत्कालै अघि बढाउँदै छ । 

ब्लड बैंक, डाइलाइसिस मेसिन, एमआरआई मेसिनलगायतको स्थापना गरी सेन्टरलाई सम्भावित ठूला भवितव्यहरूमा हुन सक्ने एकदमै सिकिस्त र शरीरका धेरै अंग तथा प्रणालीमा क्षति पुगेका घाइतेहरूलाई एकै ठाउँमा उपचार गर्न सकिने संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको डा उपाध्याय बताउँछन् । अहिले नै पनि कुनै ठूला दुर्घटना वा हिंसामा परेका एक सय घाइते/बिरामी एकैपटक अस्पताल आएमा तत्कालै उपचार गर्न सकिने अवस्थामा सेन्टर रहेको छ । “ठीक समयमा बिरामीलाई आकस्मिक कक्षसम्म पुर्‍याउन सके तत्काल प्रभावकारी र व्यवस्थित उपचारद्वारा २५ प्रतिशत बिरामीलाई बचाउन सकिने विश्वव्यापी तथ्यांक छ,” डा उपाध्याय भन्छन्, “हामी विश्वव्यापी मापदण्डभन्दा कम छैनौँ ।”

 

प्रकाशित: वैशाख ६, २०७४