गैरशेर्पा पर्वतारोही

  • हिमाल आरोहणमा विभिन्न जातिका आरोही

- मनबहादुर बस्नेत

अग्लो काँटको खिरिलो शरीर । लाम्चो अनुहारमा आँखा केही भित्र पसेका । अनि, लामै नाक । यस्तो हुलिया भएको मान्छे पनि पर्वतारोहण पेसामा छन् भन्दा पत्याउन कठिन हुन्छ । तर, अनिल भट्टराईको पेसा नै हिमाल चढ्ने/चढाउने हो । यद्यपि, हिमाल आरोहण भन्नेबित्तिकै शेर्पा समुदाय मात्रै चिनिन्छ, विश्वभरि । अझ शेर्पा र पर्वतारोहण पर्यायवाचीझैँ भइसकेको छ । तर, भट्टराई त्यस्ता गैरशेर्पा समुदायका प्रतिनिधि हुन्, जसले हिमाल आरोहणबाटै आफ्नो साहसिक परिचय बनाएका छन् । उनी ब्राह्मण समुदायबाट सगरमाथा चढ्ने पहिलो आरोहीसमेत हुन् । 

१ हजार ३ सय मिटर उचाइमा पर्ने सुकेटार, ताप्लेजुङमा जन्मिएका भट्टराईले दुई खेप ८ हजार ८ सय ४८ मिटर अग्लो विश्वकै सर्वोच्च शिखर सगरमाथामा पाइला राखिसके । भट्टराई कम उमेरमा सगरमाथा चढ्ने बेलायती नागरिकको कामदारका रूपमा २१ जेठ ०६२ मा ७० दिन लगाएर सगरमाथा पुगेका थिए । उनी र मिङमा नुरु शेर्पा यो टिममा नेपाली सहयोगी थिए । तिब्बतमा पर्ने उत्तरी मोहडाबाट उनीहरू चुचुरो पुगेका थिए । 

आरोहण पेसामै लागेका भट्टराई दोस्रोपटक फेरि ०६५ मा सगरमाथा उक्लिए, दुई जना ब्राजिलियन पाहुना लिएर । यो पटक उनी नेपालतिर अर्थात् दक्षिणी मोहडाबाट चढेका थिए । भट्टराईले खुम्बु क्षेत्रमै पर्ने मेरा पिक, आइल्यान्ड पिक थुप्रै पटक चढिसके । ताप्लेजुङमै छँदा सोलुखुम्बुका एक जना शेर्पासँग चिनजान भएपछि भट्टराई ट्रेकिङमा हिँड्न थाले, ०५१ सालतिर । भारी बोक्ने कामदेखि ट्रेकिङमा छिरेका उनी केही समय कुक बने र बिस्तारै हिमाल आरोहणमा लागे । “शेर्पाहरूले सक्दा हामीले किन सक्दैनौँ भन्ने लाग्थ्यो,” उनी भन्छन् । 

आफू त आफू उनले अरू भाइलाई समेत यतै डोर्‍याएका छन् । उनका अन्तरे भाइ रोशनसमेत आरोहण पेसामै छन् र सगरमाथा पनि चढिसकेका छन् । तर, उनी अहिले भने अमेरिकामा छन् । हिमाल चढ्दा/चढाउँदै उनले आरोहण कम्पनी नै खोले, हिमालय एस्कासिटी । कम्पनी चलाउन थालेपछि भने उनी ग्राहक खोजेर अरूलाई काम दिन्छन्, आफू चढ्दैनन् । भन्छन्, “आँट्यो भने जस्तोसुकै कठिन काम गर्न सकिँदो रहेछ भन्ने सिकायो मलाई 
हिमाल आरोहणले ।” 

अन्तर्राष्ट्रिय आरोही
लमजुङ, भलायखर्कका नरेन्द्र शाही ठकुरी अर्का यस्ता व्यक्ति हुन्, जसले स्वदेशमा मात्रै होइन विदेशमा समेत आफ्नो आरोहण कला बेचिरहेका छन् । विसं ०५७ मा लमजुङबाट कलेज पढ्न काठमाडौँ छिरेका उनी पढाइ खर्च जुटाउने मेसो खोज्दै ट्रेकिङ कम्पनीमा काम गर्न थालेका थिए । अन्तत: त्यही जागिरले उनलाई नामुद आरोहीको परिचय दिलाइदियो । ट्रेकिङ गर्दागर्दै उनले पाँच हजार मिटरमाथिका हिमाल चढ्न सिके । ०६२ ताका उनले मेरा पिक, आइल्यान्ड पिक चढिसकेका थिए । आरोहणमा रस बस्न थालेपछि उनले दक्ष भएर यही पेसा अवलम्बन गर्ने निधो गरे । अनि, ०६५ मा नेपाल पर्वतारोहण संघ (एनएमए)ले दिने आधारभूत तालिम लिए । त्यसको तीन वर्षपछि उनले अन्तर्राष्ट्रिय माउन्टेनरिङ गाइडको कोर्स पूरा गरे । 

आठ हजार मिटर उचाइको हिमाल उनी पाँच वर्षअघिदेखि मात्र चढ्न थालेका हुन् । र, उनले पहिलो चढेको हिमाल थियो, मनास्लु । ताइवानको टोली लिएर उनी त्यहाँ पुगेका थिए । १२ ताइवानीमध्ये दुई जनालाई उनले ‘केयर’ गर्नुपर्ने थियो । चौथो क्याम्पमा पुगेपछि एक जनाको खुट्टा चलेन । उद्धार गरेर तल झार्ने क्रममा एक जनाको टाउको हिमाली चट्टानमा ठोक्किएर मृत्यु भयो । “तर पनि हामी भने चुचुरो पुग्न उकालो लाग्यौँ,” उनी सम्झन्छन् । 

दुई वर्षअघि मात्रै उनले आमादब्लम (६,८१२ मिटर) हिमाल चढे । बेलायत, नर्वे र आयरल्यान्डका १२ जनाको यो समूहले १२ दिनमै चुचुरो टेकेको थियो । यतिबेला उनी सगरमाथाको टुप्पो टेक्न आधारशिविरमा छन् । सम्भवत: यो याममा उनको खातामा सगरमाथा आरोहीको परिचयसमेत थपिनेछ । “यसपालि सगरमाथा चढेर मात्रै फर्कने मन छ,” सगरमाथातिर लाग्नुभन्दा अघि उनी नेपालसँग भन्दै थिए, “यदि पुग्न सकियो भने जीवनको एउटा धोको पूरा हुनेछ ।”

पढाइ इन्जिनियरिङको, पेसा हिमाल चढाइ
लालबहादुर जिरेलले स्कुल पढ्दादेखि नै लौरो टेकेर हिँडिरहेका गोराहरूको लर्को देखेका हुन्, दोलखाको जिरीमा । त्यसबखत विद्यालयको फि प्रतिमहिना १० रुपियाँ थियो । फि तिर्ने पैसा जुटाउन पनि उनी त्यतिबेलै ‘टुरिस्ट’को भारी बोकेर हिँडे । एसएलसी सकेपछि ०४८ मा उनी कलेज पढ्न काठमाडौँ हानिए र रत्नराज्यलक्ष्मी क्याम्पसमा भर्ना भए । कलेज पढ्दा उनी फुटबल, भलिबल खुब खेल्थे । चिनियाँ कुङफुको त राष्ट्रिय खेलाडी नै हुन् । खेलेर मात्रै पैसा नआउने भएपछि उनी जीविका धान्ने ट्रेकिङ पेसातिर ढल्किए । भारी बोक्ने, कुक बन्ने, पाएसम्मका जम्मै काम गरे । “मरिन्जेल खटे पनि पैसा थाप्दा आँखा नलाग्ने भएपछि हिमाल चढाउने काममा लाग्ने विचार आयो,” उनी भन्छन् । अनि, ०५७ ताका अन्नपूर्ण क्षे त्रको चुलु फार इस्ट चढ्न गए । ट्रेकिङमा जाँदा केही अग्ला हिमाली भञ्ज्याङ सहजै काटेकाले उनलाई सुुरुमै ६ हजार ५९ मिटर अग्लो यो हिमालमा आरोहण दललाई पुर्‍याउने जिम्मा दिइयो । त्यसपछि उनी यही पेसामा अडिने मुडमा थिए । 

तर, माओवादी विद्रोह उत्कर्षमा भएकाले उनलाई चिनारुहरूले आन्दोलनमा लाग्न कर गरे । भन्छन्, “त्यसपछि म कामै छोडेर काठमाडौँ बस्न थालेँ ।” बिनाकाम बस्दा ज्यान पाल्न गाह्रो भयो, त्यसपछि लागे दुबईतिर । एक वर्षपछि नेपाल फर्किएका उनले सिभिल इन्जिनियरिङमा तीन वर्षे डिप्लोमा कोर्स सकाए । पढाइ सके पनि काम पाइरहेका थिएनन् । चिनेजानेका साथीहरू पर्यटन व्यवसायतिरै थिए । त्यतिबेलासम्म गैरशेर्पा समुदायका केही व्यक्ति हिमाल चढ्न थालिसकेका थिए, उनी पनि यतै लागे । भन्छन्, “अनि, ०६७ मा सगरमाथा चढ्ने निधो गरेँ ।” चन्दा उठाएरै १७ लाख रुपियाँ खर्च जुटाएर सगरमाथा उक्लिए । सर्विया, बंगलादेशी र ताइवानी समूहमा मिसिएर तिब्बती मोहडाबाट उनले ९ जेठ ०६७ मा सगरमाथाको सफल आरोहण गरे । जिरेल भन्छन्, “इन्जिनियरिङतिर काम गरेको भए कुनै भौतिक संरचना कोर्थें । हदै भए त्यहीँ चढ्थेँ होला । तर, हिमाल चढ्छु भन्दा बेग्लै आनन्द हुँदो रहेछ ।” 

१ सय ३५ मिटरबाट चचुरोमा
सन् २०१५ मा आमादब्लम हिमाल चढ्न आधारशिविर पुगेका थिए, धु्रव विष्ट, ३० । आठ वर्षअघि समावेशी महिला समूहको सगरमाथा चढ्ने टोलीमा उनकी दिदी उषा पनि थिइन् । “दिदीले चढेपछि मलाई पनि आँट आयो,” विष्ट भन्छन् । त्यसपछि उनले एनएमएको तालिम लिए र एक्लै हिमाल चढ्ने अभ्यास गर्न थाले । आइल्यान्ड, मेरा पिक एक्लै चढे । पछि त उनी आफू मात्रै चढ्ने होइन, अरूलाई पनि चढाउने पेसामै लाग्न चाहे । नभन्दै उनले त्यसपछि काम पनि पाउन थाले । पहिलो पटक आइल्यान्ड चढे र त्यसपछि आमादब्लम । उनले रुकुमको ५ हजार ८ सय ४९ मिटरको सिस्ने चढिसके भने काञ्जीरोवा आधा पुगेपछि मौसमका कारण फर्कनुपर्‍यो । 

उनी यतिखेर कञ्चनजंघा आधारशिविरदेखि दोलखाको रोल्वालिङसम्मको हिमाली पदयात्रामा छन्, एक जना अमेरिकीसँग । दुई महिनाको यो यात्रामा उनीहरूले डेढ दर्जन भञ्ज्याङ पार गर्नुपर्छ । मकालु हिमशृंखलामा पर्ने ६ हजार ३ सय मिटरको शेर्पिनी कोल पिकसहित अन्य पाँचवटा चुचुरोसमेत चढ्नेछन्, उनीहरूले । विष्टले अन्तर्राष्ट्रिय माउन्टेनियरिङको तालिम लिइसकेका छन् । थप अनुभवपश्चात् अबको दुई वर्षमा उनी अन्तर्राष्ट्रिय लाइसेन्सधारी आरोही हुनेछन् । १ सय ३५ मिटरको उचाइमा पर्ने कैलालीको पथरैयामा जन्मिएका विष्टलाई हिमाल चढाउने काममा औधी आनन्द आएको छ । भन्छन्, “क्षत्रीको छोरो भएर हिमाल चढेकामा गर्व लाग्छ ।” 

दुई पुस्ते आरोही 
ओखलढुंगाको एक हजार मिटरको उचाइमा पर्ने तलुवाका कुलबहादुर थापामगरको दुई पुस्ता हिमाल आरोहणको पेसामा संलग्न छ । ०४८ ताका नेपाली सेनामा भर्ती हुन काठमाडौँ छिरेका उनी सिपालु आरोही बनेर उदाए । भर्तीको समय सरेपछि उनी चिनजानका साथीमार्फत ट्रेकिङको काममा आबद्ध भए । ट्रेकिङमा उच्च भेगमा जाँदाजाँदै उनलाई हिमाल प्रिय लाग्न थाल्यो । उनको जोस देखेर ट्रेकिङ कम्पनीले हिमाल चढ्ने पाहुना नै जिम्मा दियो । त्यसपछि उनले लगालग तीनवटा हिमाल चढे ।
५ जेठ ०६६ मा उनले पहिलोपटक सगरमाथा चुचुरोमा पनि पुगे, न्युजिल्यान्डको समूहलाई लिएर । दक्षिणी मोहोडाबाट चुचुरोमा पुग्न उनीहरूलाई ७० दिन लागेको थियो । त्यसपछि त उनी सगरमाथा चढेका चढ्यै छन् । अहिलेसम्म चारपटक चुचुरो चुमिसके । गत वर्ष मात्रै सर्वोच्च शिखर चढेका उनी अहिले पनि बेलायती समूहसँग सगरमाथा आधारशिविरमै छन् । 

उनैका २२ वर्षे छोरा शेरबहादुरसमेत अहिले सगरमाथा चढ्ने टोलीमा छन् । “यसपालि बाउछोराले नै सगरमाथा चढ्ने भनेको, हेरौँ के हुन्छ ?,” उनी भन्छन् । शेरबहादुरले पनि करिब ६ हजार मिटरका तीनवटा हिमाल दोहोर्‍याइ तेहर्‍याइ चढिसकेका छन् । बाबु कुलबहादुर भन्छन्, “पेसा नै यही जानेको छ हामीले । र, छोराले पनि यही रोज्यो ।” 

भित्री मधेसबाट सगरमाथासम्म 
घर बनाउने ज्यामी काम गर्दागर्दै इन्द्र राईले पत्रिकामा र्‍याफ्टिङ तालिमसहित जागिर खुलेको विज्ञापन देखे । कठोर शारीरिक श्रमको कामले दिक्क बनेका उनी विकल्प खोजिरहेका थिए । अनि, एकमहिने तालिम गरे । यो ०५३ सालतिरको कुरा हो, जतिखेर उनी रत्नराज्य क्याम्पसमा आईए पढ्दै थिए । तालिम सकिनासाथै उनले काम पाइहाले । “त्यो मेरो जीवनको ठूलो घुम्ती हो,” उनी विगततिर फर्कंदा यस्तै देख्छन् । 

हुन पनि त्यो घुम्ती नभेटेको भए सायद राईको हिमाल आरोहीको परिचय बन्ने थिएन । किनभने, उनले त्यसबेलासम्म कहिल्यै ट्रेकिङ, र्‍याफ्टिङबारे सुनेकै थिएनन् । केही समयपछि नै उनी र्‍याफ्टिङ गाइड भए । संगतको दायरा फराकिलो बन्दै गएपछि बिस्तारै उनले उपल्लो क्षेत्रमा ट्रेकिङ, क्लाइम्बिङ गर्न थाले, सिजन अनुसार । आरोही अनिल भट्टराईलाई भेटेपछि भने उनलाई बल मिल्यो । भन्छन्, “राईले किन यो पेसा अपनाउन सक्दैन भनेर लागेँ ।” उच्च भेगमा ट्रेकिङ गर्दा पाँच हजार मिटर अग्ला भञ्ज्याङ पास गर्दै गएपछि उनले तालिम लिएरै हिमाल चढ्ने पेसामा लाग्ने निधो गरे । र, एनएमएमा गए । तर, उनी सुरुमा छनोटमै पर्न सकेनन् । 

र्‍याफ्टिङ गाइड भएकाले उनको सञ्जाल भारतको दार्जीलिङ, उत्तर काशी, लद्दाख, जम्मु कश्मीरसम्म फैलिएको थियो । नेपालमा नछानिएपछि उनी लागे भारतको उत्तर काशी । त्यहाँ पनि तालिमका लागि अवसर नपाएपछि दार्जीलिङ हानिए । त्यहाँको हिमालयन माउन्टेनरिङ इन्स्टिच्युटमा उनले एक महिनाको आधारभूत तालिम लिए । “मलाई जसरी पनि तालिम लिएर हिमाल चढ्नु थियो,” उनी भन्छन्, “समुद्रको तहबाट आएकाले त सक्छन् भने हामीले किन नसक्नु आफ्नै देशका चुचुरा चढ्न भन्ने लाग्यो ।” तालिमपछि उनले लबुचे, आइल्यान्ड पिकमा पाहुना लिएर गए । अन्तत: १ सय ५० मिटरको उचाइमा उदयपुरको त्रिवेणीमा जन्मिएका इन्द्रले ०६३ मा सर्वोच्च शिखरमा पाइला राखे । उनैको आरोहण दलका एक सदस्यले बोर्डर स्केच नामक कवितासंग्रह सगरमाथामै विमोचन गरेर कीर्तिमान राखेका थिए । 

अर्को संयोग कस्तो भने राई विश्व साइकल यात्री पुष्कर शाहको सहयोगी बने, ०६८ मा । यो चोटि भने उनीहरू नेपालतर्फबाट चढेका थिए । “राईको छोरो भएर पनि कीर्तिमानी आरोहीहरूको सहयोगी बन्न पाउँदा खुसी लागेको छ,” उनी भन्छन् । उमेर ढल्कँदै गएपछि भने उनी आरोहणसम्बन्धी तालिम दिन थालेका छन् । “आरोहण विश्वास पनि हो,” उनको अनुभवले भन्छ, “जैविक रूपमा केही फरक परे पनि यो माथिल्ला भेगकाले मात्रै गर्ने भन्ने धारणा गलत हो । त्यसैले यो पेसामा अरू समुदायको आगमन पनि बिस्तारै बढिरहेको छ ।” 

अवकाशप्राप्त पर्वतारोही
सोलुखुम्बु नेचाका धर्मबहादुर राई, ४८, ले पर्यटकका भारी कति बोके गनीसाध्य छैन । तर, उचाइमा समेत हलुका जीउले भारी बोकेको देखेर एक जना स्वीस पर्यटकले हिमाल चढ्न सक्ने सम्भावना देखाइदिएछन् र तालिम लिन भनेछन् । हिमाल चढ्ने टिममा कहिलेकाहीँ कुक भएर काम गरेकाले उनलाई पनि सक्छु भन्ने लाग्यो र तालिम लिए, एनएमएमा । तर पनि उनलाई कसैले पत्याइहालेन । “सायद शेर्पा समुदायको नभएकाले हो कि †” उनलाई अहिले कताकति लाग्छ । तालिम लिएरसमेत हिमाल चढ्न नपाएपछि ०५६ मा भने उनले विदेशीसामु अड्डी नै कसे, सानो चुचुरो चढ्न । त्यो खुम्बु क्षेत्रका स्वास्थ्य चौकी, विद्यालयहरूमा काम गर्ने स्वयंसेवकको टिम थियो । तर पनि उनीहरूले दिएनन् । “निकै नमज्जा लाग्यो,” उनी भन्छन् । 

त्यसपछि उनी ट्रेकिङ पिकहरू चढ्न थाले । खुम्बु क्षेत्रका स–साना पिक सबै चढे उनले । धमाधम चुचुरा चढ्न र विदेशीलाई चढाउन थालेपछि त्यतिखेर आफूलाई खुम्बुमा फेप्पा (तिब्बती) भनेर स्थानीयले भनेको उनी बताउँछन् । ०६० मा उनले आमादब्लम चढे, डेनिस नागरिकसँग । यो अप्ठ्यारो हिमालको टुप्पोमा उनीहरू आधारशिविरबाट दुई दिनमै पुगे । यो चुचुरोमा त उनी तीन पटक पुगिसके । त्यसपछि त उनलाई हिमाल चढाउन भ्याइनभ्याइ हुन थाल्यो । 

०६५ मा उनी ७६ वर्षीय वृद्ध मीनबहादुर शेरचनको सगरमाथा चढ्ने आरोहण दलमा परे । शेरचनले सबैभन्दा पाको उमेरमा सर्वोच्च शिखर चढेको कीर्तिमान राखेका थिए, त्यसबेला । “नानीलाई हिँडाएजस्तो गरी लगेको,” उनी सम्झन्छन् । शेरचनले कीर्तिमान राखे पनि धर्मबहादुरका लागि भने यो शिखरचुमाइ सुखद भएन । चुचुरो पुगेर झर्दा एक्कासि हावाहुरीसहित हिमपात भएपछि धर्मबहादुर एक्लै सबैभन्दा माथि थिए । “हामीले छुटेका सबै सामान बोकेर झर्नुपर्छ । म अन्तिममा थिएँ, अरू झरिसकेका थिए,” उनी भन्छन्, “हावाहुरी आएपछि म घोप्टो परेर बसेँ । हावाले पल्टाउलाजस्तो गथ्र्यो ।” 

करिब ११ घन्टा उनी यसरी एक्लै हिमआँधीमा फसे । आँधी रोकिँदा हिउँले झन्डै पुरिसकेका थिए । बल्लतल्ल उनी चौथो क्याम्पमा झरे । त्यतिखेरसम्म उनका दुवै हात र खुट्टाका औँला हिउँले खाइसकेको थियो । त्यहाँबाट तेस्रो शिविरमा झर्ने क्रममा हिउँको खाल्डोभित्र खसे उनी । धन्न, तलबाट साथीहरू उनलाई खोज्दै निस्किएका रहेछन् । उनलाई तानेर निकाले । “नत्र उतै मरिन्थ्यो होला,” उनी भन्छन् । उनका दुवै हातखुट्टाका औँला हिउँले खाएर काट्नुपर्‍यो । “त्यसपछि मेरो हिमाल चढ्ने काम बन्द भयो,” उनी भन्छन् । तैपनि, उनका हातखुट्टा सकसकाउँछन् कहिलेकाहीँ । “यो हालत नभएको भए म आरोहणमै हुन्थेँ,” उनी विश्वाससाथ भन्छन्, “अहिले पनि बेलाबेला ट्रेकिङ गएर चित्त बुझाउँछु ।” 

प्रकाशित: वैशाख ६, २०७४