‘...अब राजनीतिमा सुधार हुन्न’— रामेश्वर खनाल

  • राजनीति भनेको तिकडम मात्र हो भन्ने बुझियो र गरियो ।

- बाबुराम विश्वकर्मा

रामेश्वर खनाल अर्थविद् र कुशल प्रशासक हुँदै हुन्, शासकीय सुधार, सुशासन र समृद्धिका योजनाकार पनि हुन् । अर्थसचिवका रुपमा गरेको प्रशंसनीय कामका कारण तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको अवैतनिक सल्लाहकार पनि भए उनी । पछि, नेपाली कांग्रेस र भट्टराईकै पार्टी नयाँशक्तिमा पनि आबद्ध भए । राजनीति बदल्ने र बदलिएको राजनीतिले देश बदल्ने आफ्नो लक्ष्य विद्यमान कुनै राजनीतिक दलबाट पनि पूरा नहुने देखेपछि एक हिसाबले राजनीतिबाट विरक्तिएका छन् उनी । तर, खनालले यो निराशाबीच पनि आमनागरिकलाई घचघच्याउने र उनीहरुका पक्षमा आवाज उठाइरहने आफ्नो आगामी योजना सार्वजनिक गरे, नेपालसँगको अन्तर्वार्ताका दौरान । सम्पादित अंश :

नयाँ शक्ति पार्टी किन परित्याग गर्नुभयो ?

नयाँ शक्ति परित्याग गरेको होइन, सक्रिय राजनीति छाडेको मात्र हो । यो मेरो एउटा दलसँगको क्रियाशील आबद्धताको अन्त्य हो । राजनीतिक दलभित्र बसेर त्यहाँ परिवर्तन गर्न सकिन्छ भन्ने आकांक्षाले गएको थिएँ । तर, त्यहाँ बाहिरबाट देखिएको भन्दा ज्यादै दु:ख लाग्ने, चित्त नबुझ्ने अगतिला कुरा भएपछि यसरी सक्रिय राजनीतिक भूमिका निर्वाह गर्न सकिन्न भनेर बाहिरिएको हुँ ।

अब के गर्नुहुन्छ त ?

मुलुकको विकासका लागि राजनीतिको भूमिका स्वाभाविक रूपमा  महत्त्वपूर्ण हुन्छ नै । अब राजनीतिक दलभन्दा बाहिर बसेर राजनीतिक सुधारमा योगदान गर्नुपर्छ भन्ने सोचमा छु । त्यो सुधारको पात्र म मात्र होइन, समाजमा अरू पनि छन् । ती सबैसँग मिलेर नै अहिलेका राजनीतिक विकृतिको अन्त्य गर्न सकिन्छ ।

राजनीतिमा कस्तो सुधार खोज्नुभएको हो ?

राजनीतिमा भन्ने कुरा एउटा र गर्ने व्यवहार फरक रहेछ । राजनीति भनेको तिकडम मात्र हो भन्ने बुझियो र गरियो । राजनीति समाधान खोज्ने विधा होइन, समस्या बल्झाइरहने र त्यसमा आफूलाई प्रमुख पात्र बनाइराख्ने विधा हो भन्ने बुझिएको छ । राजनीतिलाई समस्या समाधानको विधा बनाउनुपर्छ भन्दा त्यसलाई स्वीकार गरिँदैन । तिकडमबाजी, पैसा र शक्ति आर्जनको माध्यम राजनीति भएपछि त्यसले जनताको सेवा गर्न सक्दो रहेनछ । 

दलका सिद्धान्त त राम्रा छन् नि ! 

सिद्धान्त भन्न मात्र हो, लागू गर्न होइन । यदि सिद्धान्त लागू हुने हो भने राजनीति सुधार हुन बेर लाग्दैन । समस्या बल्झाउने, गलत गतिविधि गरेर नेता भइरहने अभ्यास नै अहिलेको राजनीतिको मूल प्रवृत्ति हो । यस्तो प्रवृत्ति देखेपछि त्यहाँ दलमा बस्नुको औचित्य रहेन । अब बाहिर बसेर मतदातालाई राजनीतिक विकृतिबारे सचेत गराउने भूमिकामा हुन्छु । परिवर्तनका वाहक मतदाता मात्र हुन् । राजनीतिक सुधार गर्न र नेतृत्वका खराब आचरणलाई दण्डित गर्न आममतदाताले मात्र सक्छन् । गलत चरित्र भएका व्यक्तिलाई सत्ता र शक्तिमा आउनै नसक्ने गरी मतदाताले चुनावमार्फत अस्वीकार गर्नुपर्छ । 

देखेको र भोगेको राजनीतिबीच के अन्तर रहेछ ?

निष्ठा, इमान, वचनप्रतिको जवाफदेहिता राजनीतिको मानक हुनुपर्छ । तर, हामीकहाँ प्रचलित राजनीतिक थेगोहरू नै गलत छन् । युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भनेजस्तै राजनीतिमा पनि सबै कुरा जायज हुन्छ भन्ने ठानिएको छ, जुन गलत हो । राजनीतिमा स्थायी शत्रु कोही हुन्न र जहाँ पनि सम्झौता गर्नुपर्छ भन्ने मान्यता छ । नेताले इमान राख्नु नपर्ने र जे कुरा पनि स्वीकार्ने गरेकाले नै राजनीतिलाई विकृत बनाएको छ । नेताले जे गर्‍यो, त्यही राजनीति हो भन्ने मान्यताले नै तमाम विकृति सिर्जना गरेको हो ।

राजनीति र प्रशासनमध्ये कहाँ धेरै विकृति रहेछ ?

विकृति सर्वत्र छ तर त्यसको जडचाहिँ राजनीति हो । राजनीतिक सुधार भयो भने अरू क्षेत्र स्वत: सुध्रिन्छ । दुई सय वर्षअघि अमेरिकामै पनि डन र माफियागिरी थियो । तर, त्यहाँको राजनीति सुधार भयो, परिणाम सामुन्ने छ । राजनीतिक नेतृत्व विधि, नियम र आचरणमा बस्नेबित्तिकै अरू क्षेत्रमा सकारात्मक असर पर्छ । इमान–जमानलाई व्यवहारमा उतार्ने नेतृत्व नहुँदा सबैतिर अराजकता बढेको हो । 

राजनीतिक नेतृत्व ठीक परेन भने कर्मचारीतन्त्रले कामै गर्न सक्दैन । प्रशासन चुस्त हुनका लागि पनि राजनीति गतिलो चाहिन्छ । हरेक पटक मन्त्रिमण्डल परिवर्तन हुनेबित्तिकै कर्मचारीको सरुवा हुन्छ । कर्मचारीतन्त्रमा अस्थिरता पैदा गराउने काम राजनीतिले गरेको छ अनि विकास कसरी हुन्छ ? त्यसैले राजनीति बिग्रिएको हुने र प्रशासनचाहिँ सुध्रिएको हुने संसारमा कतै छैन ।

यति धेरै विकृति हुँदा पनि नयाँ राजनीतिक शक्तिचाहिँ किन स्थापित हुन नसकेको ?

०६२/६३ को जनआन्दोलनपछि मधेसी र जनजातिका मुद्दामा आधारित नयाँ राजनीतिक दलहरू खुले । पहिलो संविधानसभाको चुनावमा मतदाताले नयाँ दललाई जिताएर आफूहरूले परिवर्तन खोजेको संकेत दिए । माओवादी र मधेसी दलहरूले पाएको मत जनताले परिवर्तन चाहेको कुराकै पुष्टि हो । त्यो चुनावमा सबैभन्दा बढी सिट जितेको माओवादीका उम्मेदवार पार्टीभित्र बाहेक कतै पनि चिनिएका थिएनन् । तैपनि, जनताले तिनलाई मत दिए । तर, दुर्भाग्य के भयो भने नयाँ दलमा पनि पुरानै रोग सर्‍यो । छिमेकीलाई रोग छ भने त्यो अर्को छिमेकीलाई पनि सर्छ । त्यस्तै भयो राजनीतिमा पनि । पुराना दल सुध्रेनन् अनि नयाँले पनि आफूलाई नयाँ नै राख्न सकेनन् । 

कस्तो रोग ?

मूलभूत रूपमा राज्यसत्ता, सार्वजनिक संस्था, प्रहरी आदिसँग संघर्ष गर्नु र प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्नु नै राजनीतिक दलको योग्यता भएको छ । दलहरूले सत्तामा गएपछि ‘डेलिभर’ गर्न नसक्नुको कारण यही हो । विरोध गर्ने र समस्या बल्झाउने सीप छ, समाधानको सूत्र छैन । लड्न सक्ने तर विकास र समृद्धिको चुनौती पूरा गर्न नसक्नु पुराना राजनीतिक दलको मूल प्रवृत्ति हो । त्यसैले समृद्धिको सपना पूरा गर्न नयाँ राजनीतिक शक्ति खडा भएका हुन् । परम्परागत राजनीतिको ठाउँमा नयाँ राजनीतिक विचार र संस्कारका लागि खोलिएका नयाँ दल पनि परम्परागत विकृतिबाट मुक्त हुन सकेनन् । त्यसैले अब मतदाताले नै चुनावबाट पुरानो दललाई मटियामेट पार्ने समय आएको छ । अब मतदाताले बोलेको कुरा पूरा गर्नेलाई मात्र मत दिन्छौँ भन्नुपर्छ, झूटको खेती गर्नेलाई दण्डित गर्नुपर्छ । 

व्यवस्था नयाँ तर पार्टी, नेता र प्रवृत्तिचाहिँ पुरानै छ । यस्तो अवस्थामा अग्रगति र समुन्नति कसरी सम्भव होला ?

एक अर्थमा भन्ने हो भने अहिलेको व्यवस्था पनि नयाँ होइन, लोकतन्त्रको अभ्यास कुनै न कुनै रूपमा हुँदै आएकै छ । विधिमा मात्र थोरै परिवर्तन गरिएको हो, लोकतन्त्रलाई समावेशी बनाउन खोजिएको हो । बहुमतको मात्र होइन, अल्पमतको पनि आवाज सुनिने विधिमा हामी गएका हौँ । त्यति मात्र परिवर्तन हो, बाँकी लोककै शासन हो । 

मानिस पुरानो हुँदैमा परिवर्तन हुँदैन भन्ने होइन । प्रणालीले मानिसलाई बदल्न सक्छ । उदाहरणका लागि विदेश जाने नेपालीको छवि राम्रो छ जहाँ भए पनि । यहाँ जति बिग्रे पनि विदेशमा तारिफ पाउनेमा नेपाली नै पर्छन् । विदेश जाने नेपालीलाई त्यहाँ प्रणालीले बदलेको हो । प्रणाली बलियो र गतिलो भयो भने मानिसलाई परिवर्तन गर्न सक्छ । तर, यहाँ प्रणाली नै बनाइएन । 

किन बनेन त प्रणाली ?

प्रणाली, विधि र नियमभन्दा माथि बस्ने प्रवृत्ति राजनीतिमै व्याप्त छ, जसले प्रणाली बन्नै दिएन । अहिलेको राजनीतिक दलको प्रणालीमा नियम बनाएपछि पालना गर्नुपर्छ भन्ने नै छैन । बरू बनेको नियम उल्लंघन गर्न सके ठूलो भइन्छ भन्ने छ । जब राजनीतिक दलले नै यस्तो गर्छन् भने अनि कसरी बन्छ प्रणाली ?

कसरी बदल्ने त यो प्रणाली ?

प्रणाली बदल्न–बाध्य पार्न राजनीतिक दलका कार्यकर्ताले सक्ने अवस्था छैन । अब मतदाता र आमनागरिकले चुनावबाट प्रणाली बदल्न बाध्य पार्ने काम गर्नुपर्छ । मतदाताले नै सही र गलत नछानी अब राजनीतिमा सुधार हुन्न ।

समृद्धिको सपना साकार होला त ?

समृद्धि हासिल गर्न तीनवटा कुरा आवश्यक पर्छ । पहिलो, प्राकृतिक स्रोत हो, त्यो हामीसँग छ । दोस्रो हो, जनशक्ति । त्यो पनि हामीसँग छ । ५७ प्रतिशत ऊर्जाशील जनशक्तिलाई समृद्धि र परिवर्तनका लागि प्रयोग गर्ने हो भने फड्को मार्न सकिन्छ । तेस्रो हो, प्रविधि । अन्तर्राष्ट्रिय बजारमा जुन प्रविधि छ, त्यो हामी किन्न सक्छौँ । हामीसँग नभएको चाहिँ विधिको शासन हो । त्यसैले देश समृद्धिको बाटोमा अपेक्षित रूपमा अघि नबढेको हो । विधिको शासन हुने हो भने नागरिक काम गर्न तयार छन् । यहाँ काम गर्ने अवस्था, अवसर र वातावरण नभएकाले उत्पादनशील जनशक्ति विदेश गएको हो । 

प्रकाशित: वैशाख ५, २०७४