समाचार निर्माता २०७३

  • सकारात्मक र नकारात्मक रुपमा जो धेरै छाए सञ्चारमाध्यममा

- नेपाल टिम

बोल्ड प्रधानन्यायाधीश
सुशीला कार्की ।। प्रधानन्यायाधीश

सरकार र संवैधानिक निकायको स्वेच्छाचारितामा लगाम लगाउन प्रधानन्यायाधीश सुशीला कार्कीले निर्भीकतापूर्वक निर्णय गरिन् । राजनीतिक दलहरूको अकर्मण्यता र दण्डहीनतालाई उनले न्यायिक सक्रियतामार्फत गतिलो झापड दिइन् । पहिलो महिला प्रधानन्यायाधीश हुनु आफैँमा एक ऐतिहासिक घटना त थियो नै तर उनी केवल पद र सुविधाको भोग गरेर मात्रै बसिनन् । यसअघिका कैयौँ फाइल बढुवा प्रधानन्यायाधीशलाई ओझेल पार्ने गरी उनले न्यायपालिकालाई सक्रिय बनाइन् र केही साहसिक निर्णय गरेर ‘बोल्ड’ न्यायिक नेतृत्वको परिचय स्थापित गरिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो शक्तिशाली संवैधानिक निकायका प्रमुखका रूपमा पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई नियुक्त गर्नुअघिदेखि नै उनको नैतिकता र योग्यतामाथि प्रश्न उठ्दै आएको थियो । जनस्तरबाट व्यापक विरोध पनि भएको थियो । तर, राजनीतिक दलहरूको मिलेमतोमा ०७० मा अख्तियार प्रमुखका रूपमा नियुक्त गर्दा तत्कालीन न्यायिक नेतृत्वले सहीछाप लगाइदियो । प्रधानन्यायाधीश सुशीला कार्कीले अख्तियार प्रमुख कार्कीविरुद्धका रिटमा सर्वोच्च अदालतले नै गरेको पूर्वफैसला पुनरावलोकन हुन सक्ने आदेश गरिन् । र, अन्तत: उनकै कार्यकालमा सर्वोच्चको पूर्वफैसला उल्टियो । 

तीन वर्ष अख्तियार प्रमुखका रूपमा रहेका लोकमान त्यो पदका निम्ति अयोग्य ठहरिए । संसद्मा उनीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भए पनि केही दलको उनीप्रतिको सहानुभूतिका कारण उक्त प्रस्ताव अघि बढ्न सकिरहेको थिएन । संसद्ले समेत लोकमानका अराजक गतिविधिमा नियन्त्रण गर्न नसकिरहेको अवस्थामा प्रधानन्यायाधीश कार्कीले साहसिक निर्णय गरिन् ।

यति मात्र होइन, शक्ति, सम्बन्ध र सम्पर्कको आडमा न्यायलाई प्रभावित पार्ने लोकमानका प्रयासको समेत प्रधानन्यायाधीश कार्कीले निर्भीकतापूर्वक सामना गरिन् र उनी नेतृत्वको न्यायालयले न्यायिक प्रक्रिया बिथोल्न खोज्नेहरूलाई दण्डित गरेर स्वतन्त्र न्यायालयको गरिमा कायम राख्न अर्थपूर्ण भूमिका खेल्यो । नेपाल बार एसोसिएसन, महान्यायाधिवक्तालगायतको असहयोगबाट पनि विचलित भइनन् ।
पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजोका नाममा दिइएको छाउनीस्थित १५ रोपनी १ आना जग्गा नेपाल ट्रष्टका नाममा फिर्ता हुने निर्णय अर्को साहसिक र दूरगामी महत्त्वको रह्यो । सिंहका पक्षमा गरेको सर्वोच्च अदालतकै पूर्वफैसला कार्की नेतृत्वको इजलासले उल्टाएको थियो ।

कुनै वस्तुगत मूल्यांकन नगरी नेपाल प्रहरीका नायब महानिरीक्षक जयबहादुर चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय पनि उनी नेतृत्वको पूर्ण इजलासले उल्टायो । त्यसअघि मन्त्रिपरिषद् निर्णय कार्यान्वयनमा रोक लगाउँदै अन्तरिम आदेश पनि कार्कीले नै गरेकी थिइन् । बाह्य तथा आन्तरिक स्थिति प्रतिकूल हुँदाहुँदै पनि प्रधानन्यायाधीश कार्कीले साहसका साथ गरेका निर्णय, भ्रष्टाचारविरोधी अभियान र उनका पालामा भएको न्यायिक सक्रियतालाई पछिसम्मै सम्झिइनेछ ।

उज्यालोका साझेदार

जनार्दन शर्मा, ऊर्जामन्त्री 
कुलमान घिसिङ, प्रबन्ध निर्देशक, नेपाल विद्युत् प्राधिकरण

राजधानीलगायत ठूला सहर अहिले पूर्णत: लोडसेडिङमुक्त छन् । बाँकी स्थानमा पनि दैनिक चार घन्टाभन्दा बढी लोडसेडिङ छैन । उद्योगधन्दा १८ घन्टासम्म निर्वाध चल्न पाएका छन् । यो, ऊर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङका कारण सम्भव भएको हो । 

शर्माले साउन अन्तिम साता अर्थात् मध्य वर्षामा ऊर्जा मन्त्रालयको जिम्मेवारी लिइरहँदा मुलुकमा आठ घन्टा लोडसेडिङ थियो । मन्त्री भएलगत्तै घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशक बनाए । मन्त्री शर्माको त्यही सही निर्णय नै अहिले अन्धकार हट्नुको प्रमुख कारण हुन पुगेको छ । ऊर्जा शक्तिको उज्यालो छरेर आफ्नो कुशल व्यवस्थापन क्षमताको प्रदर्शन गरिरहेका घिसिङले नयाँ वर्षदेखि सदाका लागि लोडसेडिङ अन्त्य भएको घोषणा गरिसकेका छन् । 

उज्यालोका साझेदार मन्त्री शर्मा र प्रबन्ध निर्देशक घिसिङको प्रारम्भिक लक्ष्य थियो, लोडसेडिङ अन्त्य । अब उनीहरू द्रूत गतिमा जलविद्युत् आयोजनाहरूको निर्माण र बिजुली निर्यातको उद्देश्य प्राप्तिमा अघि बढेका छन् । देशलाई उज्यालो बनाउने लक्ष्य पूरा गरेर भविष्यको सम्भावना देखाएकैले सर्वत्र उनीहरूको हाइहाइ छ ।

चाँदीको घेरा
गगन थापा ।। स्वास्थ्यमन्त्री 

नागरिकका लागि स्वास्थ्य आधारभूत कुरा हो । गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच नागरिकको मौलिक अधिकार हो । त्यसैका लागि क्रियाशील छन्, पहिलो पटक मन्त्री बन्ने मौका पाएका गगन थापा । स्वास्थ्य मन्त्रीका रूपमा उनी नीति निर्माण र सुधारमा मिहिन ढंगले सक्रिय छन् भने अव्यवस्था र विकृति पन्छाउन दत्तचित्त पनि । सरकारी स्वास्थ्य संस्थामा नियमित रूपमा चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था, सबै सरकारी अस्पतालमा ९ देखि ३ बजेसम्म नियमित बहिरंग सेवा, जनशक्ति अभाव भएको स्थानमा सात सय चिकित्सक करारमा नियुक्ति, प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरणको व्यवस्था, पूर्वविशिष्टलाई १५ लाखभन्दा बढी रकम नदिने निर्णय स्वास्थ्य क्षेत्रमा गरिएका उल्लेख्य सुधार हुन् ।

उनको योजना अनुसार हरेक नेपालीका लागि स्वास्थ्य बिमा लागू हुने हो भने औषधि उपचार नपाएर अनाहकमा कसैले पनि ज्यान गुमाउनुपर्ने छैन । देशभरिका एक हजार स्वास्थ्य संस्थामा नसर्ने रोगको परीक्षणको सुरुआत, सरकारी अस्पतालमा नि:शुल्क मिर्गाैला प्रत्यारोपण र डायलासिस सेवा, अनेकौँ नि:शुल्क उपचारजस्ता दर्जनौँ जनहितकारी काम सुरु गर्नुमा उनकै ‘भिजन’ले काम गरेको छ । 

उनकै अग्रसरतामा चिकित्सा शिक्षा ऐन, मदिरा ऐन, मेडिकल काउन्सिल, स्वास्थ्य गुणस्तर सुनिश्चितता, मानसिक स्वास्थ्य नीति, अपांगतासम्बन्धी नीतिलगायत स्वास्थ्य क्षेत्रका सुधारसम्बन्धी कानुनका मस्यौदामा छलफल अघि बढेको छ । निराशा र गतिहीनताबीच पनि थापाले आमजनमानसमा आशा जगाउने काम गरेका छन् । त्यसैले गगन थापा नेपाली समाजका लागि बादलबीचको चाँदीको घेरा हुन् । 

दानवीर दम्पती
जोगेन्द्र भगत/ठाकोदेवी भगत ।। सामाजिक अभियन्ता

राजविराजका जोगेन्द्र भगत र उनकी पत्नी ठाकोदेवीले आफ्नो अधिकांश सम्पत्ति विद्यालय, अस्पताललगायत सामाजिक आवश्यकताका लागि दान दिए । बाँकी सम्पत्ति पनि सामाजिक कार्यमै लगाउने भगत दम्पतीको प्रतिबद्धता छ । पैतृक सम्पत्ति र व्यवसायमार्फत जोडेको सम्पत्ति उनीहरू यसैगरी धमाधम दान दिइरहेका छन् । 

पछिल्लो पटक ७ साउनमा भगत दम्पतीले दान गरेको ३५ करोड रुपियाँ बराबरको जग्गामा नेपाल प्रहरीले अस्पताल सञ्चालनमा ल्याएको छ । उनीहरूले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रूपनी चोकभन्दा सय मिटरपूर्व ३५ करोड रुपियाँ मूल्य पर्ने जग्गा दान दिएका हुन् ।

यसअघि उनीहरूले सशस्त्र प्रहरीलाई विद्यालय सञ्चालनका लागि सप्तरी शम्भुनाथ नगरपालिका–११ मा पर्ने साढे आठ बिघा जग्गा दान दिएका थिए, जसको हालको मूल्य ३० करोड रुपियाँभन्दा बढी छ । सुरक्षाकर्मीलाई अस्पताल र विद्यालय बनाउन मात्र होइन, भगत दम्पतीले सर्वसाधारणका लागि विद्यालय र अस्पताल निर्माणमा पनि मन फुकाएर सहयोग गरेका छन् । राजविराजस्थित राजदेवी माध्यमिक विद्यालयका लागि ०४४ सालमै भगत दम्पतीले ४० लाख रुपियाँभन्दा बढी सघाएका थिए । 
०५३ सालताका भगत दम्पतीले दन्त चिकित्सालय निर्माणका लागि राजविराज–४ स्थित आफ्नो जग्गा लायन्स क्लबलाई प्रदान गरे । ०४८ मा सप्तरीको जीर्ण रेडक्रस भवनलाई नयाँ स्वरूप दिन १० लाख रुपियाँ नगद दिएर होस्टेमा हैँसे गरे ।

लोभ–लालचबाट पर रहेर सामाजिक कार्यमा सहयोग गर्ने उदारमना दाताको अभाव भइरहेका बेला भगत दम्पती दानवीर देवका रूपमा देखिएका छन् ।

सलामयोग्य सपूत​
गोविन्द गौतम ।। सहिद​

आफ्नो मातृभूमि रक्षाका लागि मृत्युवरण गर्ने अवसर कमैलाई जुर्छ । आफन्तको मन चहर्‍याएर भए पनि मृत्युवरण गर्ने सपूत हुन्– गोविन्द गौतम । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादतीविरुद्ध कञ्चनपुरको पुनर्बास क्षेत्रमा विरोध गर्दागर्दै एसएसबीकै गोलीले घटनास्थलमै सहिद भए उनी ।

आफ्नो माटोको रक्षाका निम्ति आफ्नै आँगनमा विदेशीको गोलीले सहिद भएका गौतमको पक्षमा सिंगो मुलुक उभियो । सर्वसाधारण सडकमा उत्रिए । उनलाई सहिद घोषणा गर्न मात्र होइन, राष्ट्रिय सम्मान र सलामी दिन सर्वत्रबाट माग भयो । सुरुमा सरकार मौन रहे पनि आमनागरिकको दबाबका कारण राष्ट्रिय सम्मानसाथ गौतमको अन्त्येष्टि गर्ने र सहिद घोषणा गर्ने निर्णयमा पुग्न मन्त्रिपरिषद्लाई बाध्य पार्‍यो । सहिद गौतमको परिवारलाई सरकारले त १० लाख रुपियाँ दियो नै, नेकपा एमालेले पाँच लाख र सत्तारूढ नेकपा माओवादी केन्द्रले ६ लाख रुपियाँ दियो । अर्थात्, उनी साँच्चैका सहिद हुन्, जसले देशको सीमा रक्षाका निम्ति प्राण उत्सर्ग गरे ।

सुदूरका ऐना​
रामलाल जोशी ।। साहित्यकार​

रामलाल जोशी, ४२, ऐना कथासंग्रहका कारण ०७३ भरि चर्चामा रहे । आफ्नै लगानीमा ०७२ चैतमा पुस्तक छापेका जोशीलाई पाठक र प्रकाशकले भने तब मात्र पत्याए, जब ऐना मदन पुरस्कारका लागि सूचीकृत भयो । त्यसपछि पुस्तकलाई आफ्नो प्रकाशन संस्थाबाट छाप्न चल्तीका धेरै प्रकाशक अघि सरे । अन्तत: चल्तीको नयाँ प्रकाशनबाट छापियो पनि । मदन पुरस्कार पाएपछि त ऐनाको बिक्री एकाएक बढ्यो । सुदूरका यी साहित्यकार राष्ट्रको ऐनामा समेटिए ।

जोशी कैलालीको धनगढीमा बसी पञ्चोदय उच्च माविमा नेपाली विषय अध्यापन गर्छन् । उनी सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्षसमेत हुन् । उनको नेतृत्वमा रहेको समाजको आफ्नै भवन छ, १० लाख रुपियाँको अक्षयकोष पनि खडा गरेका छन् । ऐनामार्फत उनले सीमान्त मुद्दा र पात्रलाई मूल प्रवाहीकरण गरिदिए । सुदूरपश्चिममा बसेर पनि नेपाली साहित्यको सर्वाधिक प्रतिष्ठित मानिएको पुरस्कार हात पार्न सकिन्छ भनेर उनले देखाइदिएका छन्, नव सर्जकका लागि यो प्रेरणा पनि हो ।


सुपर हिरो
पुष्पा बस्नेत ।। समाजसेवी


विभिन्न कारणले अभिभावक जेल परेका तर समाज र राज्यको दृष्टि नपरेका बालबालिकालाई आश्रय दिएर सामाजिक सेवा गरिरहेकी पुष्पा बस्नेत अमेरिकी टेलिभिजन सीएनएनद्वारा सीएनएन सुपर हिरो उपाधिबाट विभूषित भइन् । यसअघि उनी सीएनएन हिरो घोषित भइसकेकी थिइन् । सीएनएनले पछिल्ला १० वर्षमा हिरो घोषित गरेका समाजसेवीहरूमध्येबाट बस्नेतलाई सुपर हिरो चयन गरेको थियो, जसलाई नेपालीमा रहेको सामाजिक तथा मानवीय सेवाको भावनालाई अन्तर्राष्ट्रियस्तरबाट प्राप्त पहिचान र कदर थियो ।

समाजमा ससानो पहलकदमीमार्फत मानवीय सेवाका निम्ति गरिने कार्यहरूलाई प्रोत्साहित गर्न प्रदान गरिने सीएनएन हिरो र सुपर हिरो उपाधि बस्नेतले प्राप्त गरेसँगै उनले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा असल कीर्तिमार्फत चिनाइन् । र, मुलुकभित्र मात्रै नभई अन्तर्राष्ट्रिय रूपमै उनी चर्चामा रहिन् । भलै उनको गन्तव्य यस खालको चर्चा बटुल्नु, हिरो–सुपर हिरो हुनु थिएन । त्यही कारण उनी अहिले पनि निरन्तर खटिएकी छन्, सामाजिक सेवामा ।

क्रिकेटका कायाकल्पकार​
सुवास शाही ।। खेल अभियन्ता

एक समय थियो, ३५ हजार रुपियाँ कुल पुरस्कार राशिको एसपीए कप क्रिकेट प्रतियोगिता भयो धनगढीमा । त्यहीँ, त्यसको सात वर्षमै अर्थात् चैत अन्तिम सातादेखि २८ लाख रुपियाँ पुरस्कार भएको नेपालकै सर्वाधिक ठूलो घरेलु क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) भइरहेको छ । ६ वटा फ्रेन्चाइज टिमका बीच भइरहेको डीपीएलमा नेपालका सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी सहभागी छन् । अक्सनमार्फत डीपीएलको दुई साताको प्रतिस्पर्धाका लागि खेलाडीले ३० हजारदेखि डेढ लाख रुपियाँसम्म पारिश्रमिक पाएका छन् । 

डीपीएलको यो पहिलो संस्करणमै यसले यति वाहवाही कमाएको छ कि आगामी संस्करण अझ उम्दा र उत्साहजनक हुनेमा शंका छैन । वास्तवमा डीपीएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गरेको छ । र, यसको सम्पूर्ण श्रेय जान्छ, धनगढीका क्रिकेटप्रेमी युवाहरूको एक समूहलाई, जसको नेतृत्व गरिरहेका छन्, सुवास शाही, ३२, ले । शाही एसपीए कपदेखि नै क्रिकेटको विकासमा लागेका लाग्यै छन्, निरन्तर । धनगढीलाई क्रिकेटको सहर बनाउने र धनगढीकै फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने उनको सपना छ । नेपाली क्रिकेटलाई नयाँ रंग र रूपका साथ कायाकल्प गरिदिएर शाही र उनको टिमले बिर्सनै नसकिने गुन लगाएको छ । 

अविरल अञ्जली
अञ्जली लामा ।। मोडल

मुम्बईको ल्याक्मे फेसन विकको पछिल्लो संस्करणका विभिन्न २० सोमा क्याटवाक गरिन् अञ्जली लामा, ३२, ले । बर्सेनि दुईपटक आयोजना हुने यो फेसन सप्ताहलाई लामाको सहभागिताले गत वर्ष विशेष बनाइदियो । कारण थियो, लामा ट्रान्सजेन्डर थिइन् र ल्याक्मेको १८ वर्षे इतिहासमा त्यस्तो पहिलो सहभागी । नुवाकोटको सामान्य परिवारमा छोराका रूपमा जन्मिएकी उनमा हुर्कंदै जाँदा छोरीका गुणहरू हाबी भइदिए । तर, पुरातनवादी समाजको समस्या त्यसलाई नबुझ्नु र बुझ्न नखोज्नु दुवै थियो । 

त्यतिबेला उनको नाम नै नवीन लामा थियो । अन्तत: उनी अञ्जली लामा भइन् । ल्याक्मेमा फेसन विकमा समेत उनी ट्रान्सजेन्डरको रूपमा होइन कि अन्य सुन्दरीहरूसरह नै र्‍याम्पमा उत्रेकी थिइन् । संसारलाई यी ‘सुपरमोडल’को सुन्दरतासँगै मुम्बई पुग्दासम्मको कथा रोचक लाग्यो । अञ्जली संसारभरका सञ्चार माध्यममा छाइन् । फेसन जगत्को नयाँ आयाम र दक्षिण एसियामा सीमान्तीकृत ट्रान्सजेन्डर समुदायमा आएको बदलावको प्रतीकका रूपमा उनलाई हेरियो । वास्तवमा नवीन छोडेर अञ्जलीलाई आत्मसात् गर्नु आफैँमा एउटा क्रान्ति थियो भने नुवाकोटदेखि ल्याक्मेसम्मको यात्राचाहिँ संघर्ष र धैर्यको फल । 


देश चिनाएकी धाविका​

मीरा राई ।। खेलाडी​

मीरा राईलाई चिनाउन अब उनले जितेका विभिन्न अल्ट्रा रेसका फेहरिस्त सुनाइराख्नु पर्दैन । प्रसिद्ध नेसनल जियोग्राफिक म्यागेजिनले उनलाई सन् २०१७ को ‘पिपुल्स च्वाइस एडभेन्चरर अफ दी इयर’ घोषणा गर्‍यो । पछिल्ला १२ वर्षयता बर्सेनि नेसनल जियोग्राफिकले अन्वेषण, साहसिक खेल, संरक्षण वा मानवीय कार्यका लागि साहस प्रदर्शन गर्ने १० प्रेरणादायी साहसिक व्यक्तिहरूको पहिचान गरिरहेको छ । भोजपुरको दुर्गम गाउँ दुम्मामा जन्मे–हुर्केकी मीराले एसियादेखि युरोपसम्मका साहसिक रेस जितेकी छन् । तर, जीवनमा कुनै बेला धावक बनुँला भन्ने उनले केही वर्षअघिसम्म पनि सोचेकी थिइनन् । 

उनको अभ्यास भनेकै नुन–तेलको जोरजाम गर्न धनकुटाको हिलेदेखि भारी बोकेर घरसम्म ल्याउने र त्यहाँबाट नाक ठोक्किने उकालो र खुट्टा थरथराउने ओरालो पार गर्दै च्यांग्रेबजार लगेर बेच्ने रुटिनमै भइराखेको थियो । त्यसमाथि १५ वर्षमै देश बदल्ने सपना बोकेर माओवादी लडाकु बनिन् । धन्य, हिंसा त रोकियो तर उनी सेना समायोजनका बेला अयोग्य दरिइन् । विरक्तिएकी उनी दैनिकी चलाउन खाडी मुलुक जाने अन्तिम तर्खरमा पुगिसकेकी थिइन् । संयोगले उनलाई हौस्याउने र सघाउनेहरू भेटिए, जसले मीरालाई त्यस्तो बाटो मोडिदियो, जसको अभ्यास उनले पाइला चाल्न थालेदेखि भइरहेको थियो । साहसिक खेल जगत्मा अहिले उनको बेग्लै नाम र सान छ । यस वर्ष उनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको मान–सम्मानसमेत बढाइन् ।

फुटबलका नयाँ युग

नवयुग श्रेष्ठ ।। खेलाडी

दुई वर्षयता नेपाली फुटबलले पाएको सबैभन्दा भरपर्दा स्ट्राइकर हुन्, नवयुग श्रेष्ठ । पछिल्लो समयको हरेक राष्ट्रिय सफलतामा उनको अतुलनीय योगदान छ । गोल गर्न नसक्ने कमजोरीले ग्रस्त नेपाली टोली नवयुगको आगमनपछि अहिले लगभग सबै खेलमा गोल गरिरहेको छ । बितेको वर्ष राष्ट्रिय टिमबाट उनी पाँच खेलमा सहभागी भए । कात्तिकमा एएफसी सोलिडारिटी कप जित्दा पनि नवयुग नेपाली टोलीका मुख्य स्ट्राइकर थिए । ब्रुनाईविरुद्धको गोल यस वर्ष नवयुगले राष्ट्रिय टिमबाट गरेको एक मात्र गोल हो । राष्ट्रिय टिमले यस वर्ष खासै धेरै खेल खेलेन । तर, राष्ट्रिय टिमबाट जति खेल नवयुगले खेले, ती सबैमा उनको प्रदर्शन उम्दा रह्यो । घरेलु प्रतियोगितामा उनी वर्षभरि नै छाइरहे । 

हिट सर्जक
कालीप्रसाद बाँस्कोटा ।। संगीतकार​

बितेको वर्ष कालीप्रसाद बाँस्कोटाका जम्मा चार गीत सार्वजनिक भए, ‘नीर जहिल्यै रिसाउने...’, ‘ठमेल बजार...’, ‘साइँली...’ र ‘पन्छी...’ । संख्यात्मक रूपमा निकै कम हो यो तर सबै गीत भाइरल भए । संगीत क्षेत्रमा एकछत्र राज गर्न यति गीत काफी नै भयो बाँस्कोटाका लागि । उनको स्वर र संगीत रहेको ‘ नीर जहिल्यै रिसाउने...’ले फिल्म पुरानो डुंगालाई उचाइमा पुर्‍यायो । यसका दर्जनौँ कभर भिडियो यूट्युबमा अपलोड भएका छन् । आइटम नम्बर ‘ठमेल बजार...’ यूट्युबमा १ करोड ४० लाख पटक हेरिएको छ भने उनको संगीतमा हेमन्त रानाले गाएको ‘साइँली...’ को भ्युज एक करोड पुगेको छ । यी सबै गीतको शब्द लेखनमा पनि जोडिएका छन् उनी । 

नेपाली फिल्म संगीतमा ‘ट्रेन्ड सेटर’ मानिएका बाँस्कोटाको सफलताको एउटै कारण हो, शब्द, ट्युन र संगीतमा सरलता । अक्सर बोलीचालीका भाषा र भावनालाई प्राथमिकता दिन्छन् उनी । उनको स्वर आमगायकभन्दा आफैँमा ‘युनिक’ छ । उनको गीत सुन्दा छुट्टै माहोल सिर्जना हुन्छ । धेरैभन्दा स्तरीय गीत सिर्जना गर्नु उनको विशेषता हो । सबै गीत बरोबर हिट भएपछि बाँस्कोटाको लोकप्रियताको ग्राफ चुलिँदो छ ।

विवादित प्रहरी प्रकरण​
प्रकाश अर्याल, नवराज सिलवाल, जयबहादुर चन्द

वर्षका प्रमुख चर्चित प्रकरणमध्येको एक हो, नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकै पार्टीका नेता एवं गृहमन्त्री विमलेन्द्र निधिबीच यही विषयमा विवाद सिर्जना भयो । विवादका बीच देउवाको दबाबमा मन्त्रिपरिषद्ले चौथो वरीयताका नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्ति दियो । प्रकरण यत्तिमै सकिएन, अदालत प्रवेश गर्‍यो । अदालतले सरकारको निर्णय उल्टाइदियो । महानिरीक्षकका लागि आफू मात्र योग्य रहेको दाबी गर्दै अर्का नायब महानिरीक्षक नवराज सिलवालको माग अनुसार सर्वोच्च अदालतले निर्णय गर्‍यो । त्यसपछि सरकारले अर्का नायब महानिरीक्षक प्रकाश अर्याललाई महानिरीक्षकमा नियुक्त गरेको छ । तर, विवाद सेलाएको छैन, फेरि अदालत प्रवेश गरेको छ । 

अयोग्य र स्वेच्छाचारी पात्र
लोकमानसिंह कार्की ।। पूर्वप्रमुख आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग 

संवैधानिक निकायमा रहेर पद र शक्तिको दुरुपयोग गरेको आरोप खेप्दै आएका तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध यही वर्ष संसद्मा महाभियोग प्रस्ताव दर्ता भयो । र, उनी निलम्बित भए । नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका सांसदहरूले दर्ता गरेको प्रस्ताव केही दलको अनिर्णयका कारण संसदीय प्रक्रियामा अघि बढ्न सकेन । दलहरू कार्कीको पक्ष र विपक्षमा बाँडिए । सर्वोच्च अदालतले यसअघि उनको पक्षमा सुनाएको फैसलाको पुनरावलोकन हुने आदेश गरेपछि कार्की न्यायिक प्रक्रियामै अवरोध गर्ने विभिन्न हत्कन्डामा उत्रिए । उनका यी क्रियाकलाप पनि वर्षभरि चर्चाका विषय बने । उनीविरुद्धको रिटमा भएको पूर्वफैसला सर्वोच्चबाट पुनरावलोकन हुने आदेश भएकै साँझ उनले अख्तियारका प्रवक्तालाई पत्रकार सम्मेलन गर्न लगाई पूर्वलडाकूका शिविरमा भएको भनिएको अनियमितता छानबिन अगाडि बढाउने धम्की दिए ।

अख्तियारको क्षेत्राधिकार नाघेरसमेत उनले राज्यका अन्य निकायलाई आफ्नो स्वार्थमा परिचालन गरेका घटनाहरूले उनी झनै विवादित बने । प्रमुख दलका नेता, उच्च प्रशासक, सुरक्षा अधिकारीदेखि सञ्चार उद्यमीहरूका सम्पत्तिसम्बन्धी विवरण संकलन गर्न राज्यको गुप्तचर निकायलाई समेत प्रयोग गरेको तथ्य सार्वजनिक भयो । अन्तत: सर्वोच्च अदालतले उनको नैतिकता र योग्यतामाथि प्रश्न उठाउँदै उक्त पदका लागि अयोग्य घोषित गरिदियो ।

अराजक वकिल​
रमनकुमार श्रेष्ठ ।। महान्यायाधिवक्त्ता

सरकारी तथा फौजदारी मुद्दाको वकालत गर्नुपर्ने नेपाल राज्यका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले पदीय मर्यादा र जिम्मेवारीविपरीत सर्वोच्च अदालत र न्यायिक नेतृत्वविरुद्ध प्रदर्शन र वक्तव्यबाजी मात्रै गरेनन्, सबै सरकारी वकिलहरूलाई चार–चार दिनसम्म इजलास बहिष्कार गर्न लगाएर विधि र व्यवस्थाकै धज्जी उडाउने काम गरे । राज्यको मानो खाएर राज्यकै अर्को महत्त्वपूर्ण अंगको विरुद्धमा प्रदर्शन गर्नु आफैँमा जग हँसाउने काम त छँदै थियो, त्यसमा पनि न्यायालयजस्तो संवेदनशील अंगका विरुद्धमा विषवमन गर्ने कार्य कानुन व्यवसायी पृष्ठभूमिका श्रेष्ठको पेसागत मर्यादाका दृष्टिले समेत सुहाउने कुरा थिएन । सर्वोच्चमा विचाराधीन मुद्दाको बहस बहिष्कार गरेर मुद्दालाई प्रभावित पार्ने कोसिसमा राजनीतिक दलका नेताहरूकहाँ धाउनेसम्म उनले गरे । आफ्नो स्वार्थ जोडिएका र भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइलाई प्रभावित पार्न कहिले पेसीबाटै मुद्दा हटाउने त कहिले इजलास बहिष्कार गरेर समय कटाउने काम पनि उनले गरे । गत साउनमा महान्यायाधिवक्ता नियुक्त भएयता उनी यिनै अराजक र अशोभनीय गतिविधिका कारण चर्चामा रहे ।

बदनाम पाइलट

सुवर्ण अवाले ।। निलम्बित वरिष्ठ क्याप्टेन, नेपाल एयरलाइन्स

पेसाले वरिष्ठ पाइलट हुन्, सुवर्ण अवाले । तर, उनले जहाज मात्र उडाइरहेका थिएनन्, अवैध कारोबार पनि गरिरहेका थिए । यो त्यतिबेला प्रमाणित भयो, जतिबेला उनी जहाज उडाउन जाने क्रममा थिए । नेपाल एयरलाइन्सका क्याप्टेन अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित काठमाडौँ–दुबईको उडानका त्रिभुवन विमानस्थलमा जहाजतिर जाँदै गरेका बेला समातिए, २७ चैतमा । राष्ट्रिय ध्वजावाहकको वरिष्ठ क्याप्टेन भईकन विदेशी मुद्राको अवैध ओसारपसारमा संलग्न भएर उनले आफ्नो मात्रै होइन, नेपाल एयरलाइन्सकै बदनामी गराएका छन् ।

तस्कर–मैत्री प्रहरी

श्याम खत्री ।। निलम्बित एसएसपी, नेपाल प्रहरी

तस्करी नियन्त्रणको जिम्मेवारी लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका एसएसपी श्याम खत्री आफैँ सुन तस्करका मतियार भए । दुबईबाट आएको ३४ किलो सुन त्रिभुवन विमानस्थल हुँदै काठमाडौँ भित्र्याउन तस्करलाई सहयोग गर्न एसएसपी खत्रीले कुनै कसर बाँकी राखेनन् । गलत कर्मको नतिजा पनि गलत नै हुन्छ, उनी प्रहरी मुख्यालयबाटै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा पुगे । कारागारमा रहेका निलम्बित एसएसपी खत्री अहिले मुद्दा खेपिरहेका छन् । सुन तस्करीमा बहालवाल प्रहरी अधिकारी पक्राउ परेको यो पहिलो घटना थियो, त्यो पनि प्रहरी मुख्यालयमा कार्यरत रहँदाकै बखत ।

 

 


 


 


 


 

 

 


 

 



 

 

 

प्रकाशित: वैशाख ४, २०७४