वर्षव्यक्ति ०७३: धुर्मुस-सुन्तली

  • नि:स्वार्थ मनले पुन:निर्माण, समाज सुधार र राष्ट्रिय एकताको भावधारा जागृत गर्ने सीताराम कट्टेल र कुञ्जना घिमिरेको स्तुत्य दृष्टान्त

- गोकर्ण गौतम

गिरानचौर र बर्दिबासबाट फर्केर ।। भूकम्प गएको ठ्याक्कै एक वर्षपछि अर्थात् १२ वैशाख २०७३ को मध्याह्न ११:५६ बजे राष्ट्रपति  विद्यादेवी भण्डारीले भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकमा भूकम्प स्मृति पार्क र स्थानीय गोपाल विकको घर शिलान्यास गरिन् । त्यही दिन तत्कालीन प्रधानमन्त्री केपी ओलीले सिन्धुपाल्चोकको गढी नगरपालिकाको गैरीगाउँस्थित सर्वे तामाङको घर अनि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोककै गिरानचौरमा एकीकृत बस्ती निर्माणको शिलान्यास गरे । 

वर्ष दिन बित्दै लाग्दा न बारपाकमा स्मृति पार्क बन्यो, न विकको घर । ओली प्रधानमन्त्री पदबाट बिदा हुँदासम्म गैरीगाउँका तामाङको घरमा एउटै इँटा जोडिएन । तर, गिरानचौरका ६६ तामाङ परिवार नयाँ घरमा सरेको ६ महिना भइसकेको छ । राज्यले घोषणा गरेबमोजिम सिन्को भाँच्न सकेन तर हास्य कलाकारले पूरै बस्ती नै बसालिदिए । कतिसम्म भने १२ कात्तिक ०७३ मा त्यो बस्ती हस्तान्तरण गर्न पुगेकी राष्ट्रपति विद्या भण्डारी गिरानचौर पुगेर मुख खोल्न बाध्य भइन्, “सरकारलाई ठूलो चुनौती हो यो ।”

अझ गर्विलो तथ्य त, सीताराम–कुञ्जना निर्मित एकीकृत बस्ती गिरानचौरमा मात्र सीमित थिएन/भएन । २७ साउन ०७३ मा यो जोडीले काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिकामा २० घर पहरीका लागि एकीकृत बस्ती हस्तान्तरण गरिसकेको थियो । गिरानचौरपछि पनि महोत्तरी बर्दिबास नगरपालिकाका ५३ मुसहर परिवारलाई १ वैशाख ०७४ का दिन कोसेलीस्वरूप नवनिर्मित एकीकृत बस्ती प्रदान गरे । यससँगै भूकम्प प्रतिरोधी एकीकृत बस्ती विकासमा उनीहरूको ‘ह्याट्रिक’ पूरा भएको छ । पहरी बस्ती बनाउँदा त सरकारले पुन:निर्माण प्राधिकरण गठनसम्म गरेको थिएन । सामान्य नागरिकबाट हास्य कलाकारितामा लोकप्रियताको शिखर चुमेको यो जोडीचाहिँ पीडितलाई राहत दिन सरकार, ठूला दातृ निकाय, गैरसरकारी संस्थाभन्दा निकै अगाडि र प्रभावकारी देखिएको छ ।

त्यो कसरी पनि भने भूकम्प गएको दुई वर्ष बित्न लाग्दा केही जिल्लाका बाहेक अन्य भूकम्पपीडितले सरकारले दिने भनेको दोस्रो किस्तासमेत पाएका छैनन् । अझ पनि अधिकांश भूकम्पपीडित जाडोयाममा कठ्यांग्रिएर अनि वर्षायाममा पानीले रुझेर दिनरात काट्न अभिशप्त छन् । बारपाककै दलित बस्तीमा संग्रहालय बनाउने सरकारी घोषणा कागजमै सीमित भएको छ । बरू, उनीहरूकै हितका लागि खोलिएको पुन:निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुई–दुई पटक परिवर्तन भइसके । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको गुप्सीपाखामा ५ सय ७३ घर बनाउने तामझामसाथ घोषणा गर्‍यो तर अहिलेसम्म एक चौथाइ घरको जगसम्म हालिसकेको छैन । 

गत वर्ष जेठमा प्राधिकरणले ६ हजार ७ सय ५९ निजी आवास निर्माणका लागि विभिन्न स्वदेशी तथा विदेशी गैरसरकारी संस्थालाई स्वीकृति दिए पनि कुनैले मूर्त रूप पाएका छैनन् । सबैको योजना कागजमै सीमित छ । हास्य कलामार्फत एक दशकदेखि नेपालीलाई हँसाइरहेका सीताराम भन्छन्, “हामीलाई चाहिँ योजनाले होइन, भावनाले डोर्‍यायो । पहिले योजना बनाऔँ, बजेट जुटाऔँ अनि काम थालौँला भनेको भए हामी पनि उही ड््याङकै हुन्थ्यौँ ।” 

यो जोडीको कामको रफ्तार हेर्दा लाग्छ, उनीहरूलाई केहीले तान्यो भने पीडितको प्रेमले तान्यो, इच्छाशक्तिले निरन्तरता दिलायो, हजारौँ सहयोगी हातहरूले ऊर्जा अनि पीडितको मुहारमा छाएको मुस्कानले अथाह सन्तुष्टि दियो । नत्र यति छोटो समयमा, त्यो पनि फरक भूगोल र समुदायमा सुविधासम्पन्न तीन बस्ती विकास गर्न सम्भव हुन्थ्यो ? पक्कै हुन्थेन । थोरै मात्र पैसाको लोभ, प्रचारको भोक र आफूले पाएको शारीरिक र मानसिक पीडाको शोक हुन्थ्यो भने अरू कथित समाजसेवीझैँ उनीहरू पनि खहरे हुन्थे । 

जबकि, पछिल्लो दुई वर्षमा बस्ती निर्माण र अन्य खुद्रा सामाजिक कार्यमा खर्चिएको समय स्टेज सो, फिल्म, विज्ञापनलगायतका व्यावसायिक काममा लगाएको भए आरामले बैंक ब्यालेन्स बढ्थ्यो । तर पनि क्लेश पछुतो छैन । “हिजो हामी शून्य थियौँ । आज हामीसँग जति नाम र दाम छ, त्यो सबै दर्शककै मायाको देन हो,” कुञ्जना भन्छिन्, “आज उहाँहरूलाई संकटमा पर्दा हामीले साथ नदिएको भए उहाँहरूको आत्माले मात्र होइन, भोलि हामीलाई हाम्रै आत्माले पिरोल्थ्यो ।” 

सायद यही दायित्वबोधले कला क्षेत्रमा मात्र होइन, नेपाली समाजमै उनीहरूको कद अग्लो बनाएको छ । नायककै छवि निर्माण भएको छ । 

जहाँबाट मन फर्कियो
सीताराम र कुञ्जनाले त्यो आर्तनाद क्षण अझ बिर्सन सकेका छैनन् । बिर्संदैनन् पनि । उनीहरू अमेरिकाको सिराकसमा सुतिरहेका थिए, भोलिपल्ट बिहान ३ बजे सेन्ट लुइसका लागि प्लेन समात्नु थियो । मध्यरातमा अस्ट्रेलियाबाट कुञ्जनाकी बहिनीले फोन गरिन् । झर्को मान्दै उठाइन्, उताबाट आत्तिएको आवाज सुनियो, ‘ दिदी भुइँचालोले नेपाल ध्वस्त भयो । धरहरा पनि ढल्यो ।’ ११ महिने छोरी छाडेर हँसाउनकै लागि अमेरिका पुगेका आमाबाबुका लागि त्यो खबर आकाश खसे समान थियो । घरमा सम्पर्क गर्न खोजे, पटक्कै भएन । भोलिपल्ट भिजेको आँखा लिएर सेन्ट लुइस पुगे, जहाँ दुई हजारभन्दा बढी दर्शक उनीहरूको प्रतीक्षामा थिए । त्यो पल सम्झँदै सीताराम भन्छन्, “हास्य सभा त शोक सभामा परिणत भयो । हामी रोयौँ, सँगै दर्शक पनि रोए ।” विभिन्न राज्यमा १७ सो गर्न उनीहरू अमेरिका पुगेका थिए । त्यहाँ पुगेपछि सोको संख्या २७ पुग्यो । त्यतिबेलासम्म जम्मा नौवटा सो सकिएका थिए । 



मनले भनिरहेको थियो, कार्यक्रम रद्द गरेर कुनै हालतमा फर्कनुपर्छ । आयोजकचाहिँ कार्यक्रम सकेर मात्र फर्कन सुझाउँथे । किनभने, उनीहरूलाई घाटा हुन्छ । उनीहरूको मन भने स्वदेशमै थियो । त्यसैले सबथोक त्यागेर एक हप्तापछि नै स्वदेश फर्किए । यो त्यही बेला थियो, जतिबेला कति ‘सेलिब्रिटी’हरू सुरक्षित हुने लालसामा देश छोड्दै थिए ।

छोरी र भूकम्पले ६ वटा करङ भाँचिएकी आमालाई छाडेर कुञ्जना पतिको साथ लागेर नुवाकोट पुगिन्, दालचामल, म्याट र त्रिपाल बोकेर । अमेरिका जानु एक महिनाअगाडि उनीहरूलाई सरकारले सरसफाइ दूत घोषणा गरेको थियो । त्यही दूतका रूपमा पूर्व–पश्चिम राजमार्गमा चर्पी बनाउने योजनाका साथ उनीहरूले अमेरिकामा १७ लाख रुपियाँ संकलन गरेका थिए । त्यो रकमले राहत सामग्री किनेर ११ जिल्लामा वितरण गरे, जुन अभियानमा उनीहरूलाई सगुन डटकमलगायतका विभिन्न संघसंस्थाले साथ दिएका थिए । दोलखाको भीरकोटका ७५ माझी परिवारलाई खाद्यान्न, सिरक–डस्ना प्रदान गर्न सुरुमा पुग्ने उनीहरू नै थिए । २९ वैशाखमा दोस्रो ठूलो परकम्प गएको भोलिपल्ट चर्पी बनाउन सिन्धुपाल्चोकको पीपलडाँडा पुगे, जहाँ एकै गाउँका १७ जनाको ज्यान गएको थियो । 

त्यहाँ चार दिनमा १० वटा चर्पी बनाए । सीतारामको हातभरि ठेला उठे/फुटे किनभने मुख्य डकर्मी त उनै थिए । प्यान बोक्दा कुञ्जनाको काँध खुइलियो । तर, स्थानीयको मुहारमा छाएको मुस्कानसामु त्यो दुखाइ त्यत्तिकै मत्थर हुन्थ्यो । उनीहरूलाई लाग्छ, अरूको खुसीमा आफ्नो पीडा भुल्ने आदत त्यहाँबाट अझ गहिरो भयो । त्यसपछि नुवाकोटको ओखरपौवा र ठूलोचित्रेमा ४४ वटा शौचालय बनाए । ठूलोचित्रेमा त श्री महाकाली निम्नमाध्यमिक विद्यालयको सातकोठे भवन नै बनाए । 

बिस्तारै सीतारामको दिमागमा खेल्न थाल्यो, अब चर्पी/विद्यालयमा मात्र अल्झिएर हुन्न, बस्ती नै निर्माण गर्नुपर्छ । भुइँचालोले विनाश त गर्‍यो तर यसलाई विकासको अवसरमा बदल्नु पर्छ । त्यसका लागि एकीकृत बस्तीको विकल्प थिएन । किनभने, एउटा डाँडामा एउटा घर, अर्को डाँडाको टुप्पोमा अर्को घर भएपछि, न त्यहाँ आधारभूत पूर्वाधार पुर्‍याउन सकिन्छ, न सुरक्षा नै हुन्छ । एकीकृत बस्ती समानताको प्रतीक पनि त हो । त्यसैले यो जोडी जसरी हुन्छ, एउटा नमुनालायक एकीकृत बस्ती निर्माण गर्ने ध्याउन्नमा लाग्यो । त्यसैको प्रतिफल थियो, पाँचखालको पहरी बस्ती ।

पहिलो प्रयास : पहरी बस्ती 
काभ्रेको पलाञ्चोक भगवतीबाट तीन किलोमिटर अगाडि बढेपछि पुगिन्छ, पहरी बस्ती । उसै त पिछडिएको जाति, त्यसमाथि भूकम्पले झन् घरबारविहीन बनायो । तर, राज्यको ध्यान ती विपन्नसम्म कहाँ पुग्नु ? यही पीडाबोध भएर सीताराम र कुञ्जना एउटा टोली नै लिएर पहरी गाउँ पुगे, भुइँचालो गएको एक महिनापछि । तर, त्यहाँ पुगेपछि अवरोधका पहाडहरू एकपछि अर्को आइलागे । कतिसम्म भने ‘जग्गा खान आयो’ भन्दै कोही पिट्न आइपुग्थे । सीताराम भन्छन्, “राजनीतिको फोहोर खेल कुन तहसम्म हुँदोरहेछ, त्यही बेला चाल पायौँ । तैपनि, रत्तिभर डराएनौँ किनभने हामी इमानदार र सफा मन लिएर त्यहाँ पुगेका थियौँ ।” 

दिनभर काम गर्थे तर बाघको डरले रातभर सुत्न पाइँदैन्थ्यो । सामाजिक सञ्जालमा उस्तो छाइसकेका थिएनन्, सोही कारण आर्थिक संकलन पनि प्रभावकारी हुन सकेको थिएन । त्यसमाथि माथिको आदेश भन्दै घर निर्माणमा सहयोग गरिरहेका सेनाको टोली पनि हिँड्यो । सीताराममा संशय पैदा भयो, बस्तीको सपना तुहिने भो ! मुख्य कुरा त पैसा थिएन । 

रातको ३ बजेको हुँदो हो, सिमसिम पानी परिरहेको थियो, आकाश रोएको त्यो पल सीताराम पनि पलाञ्चोक भगवतीतिर फर्केर रोइरहेका थिए । त्यही बेला कुञ्जना पुगिन् र अँगालो हाल्दै सल्लाह दिइन्, आफ्नै अढाई तले घर बेच्ने, यो बस्ती बनाउने र बाँकी रहेको पैसाले एक तले घर किन्ने । त्यो क्षण सम्भँmदा अझ पनि सीतारामको शिर ठाडो हुन्छ । भन्छन्, “बूढीले त्यस्तो आँट दिएपछि मलाई त बस्ती के संसार नै बनाउन सक्छु जस्तो लाग्यो ।” हुन पनि, देखिने सफलताभन्दा यो जोडीबीचको समन्वय र समझदारी अझ प्रेरणादायी छ । 

घर त बेच्नुपरेन तर २० लाख रुपियाँ आफैँले हालेर डेढ महिनामा तयार पारिछाडे, २० घर, २० धारा, २० चर्पी, २० बगैँचा अर्थात् एउटा पूरै बस्ती । पछि १३ लाख रुपियाँ मात्र फिर्ता आयो । यो बस्तीको अवलोकनपछि पुन:निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले भनेका थिए, ‘देशभरको पुन:निर्माणमा यही मोडालिटी अवलम्बन गर्नुपर्छ ।’ तर, दुर्भाग्य ! कहाँ त्यस्तो हुन्थ्यो र ?

गिरानचौर गौरव
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको कटुञ्जे, तनहर र सार्कीगाउँमा एकीकृत बस्ती बनाउने विषयमा स्थानीयसँग सहमति नजुटेपछि निराश हुँदै फर्किएका थिए, सीताराम । त्यही बेला उनको भेट भयो, गिरानचौरका अगुवा रामबहादुर तामाङ, ५५, सँग । सीताराम बस्ती बनाउन नपाएर अनि रामबहादुरचाहिँ आफ्नो बस्ती बनाइने नभेटेर रन्थनिरहेका थिए । कस्तो गज्जबको संयोग ? दुवैका लागि ढुंगा खोज्दा देउता मिलेजस्तो भयो । 

उद्देश्य त मिल्यो तर उद्देश्यको आयतन भिन्न भइदियो । जस्तो : सीताराम बढीमा ३० घरको बस्ती बनाउन चाहन्थे । किनभने, उनको धुर्मुस–सुन्तली फाउन्डेनको खातामा जम्मा १ लाख ७४ हजार रुपियाँ थियो । यता, रामबहादुरलाई चाहिँ बस्तीका ६५ परिवारकै लागि घर बनाउनुपर्ने । बस्ती टुक्र्याउने कुरा पनि त भएन ? रामबहादुरले सबै व्यथा कहेपछि सीताराम अनि कुञ्जनाको मन किन मान्थ्यो र ? जे पर्ला देखा जाला भन्ने सोचेर ६५ वटै घर बनाउन कम्मर कसे । 

बनेपा–धुलिखेलबाट अरनिको राजमार्ग र मेलम्ची–हेलम्बु सडक हुँदै जम्मा चार घन्टामा पुगिन्छ, गिरानचौर । अझ काठमाडौँबाट जरसिंहपौवा हुँदै जाने हो भने त मुस्किलले दुई घन्टा । तर, शतप्रतिशत तामाङ समुदायको बसाइँ रहेको यो बस्ती राज्यका आधारभूत सेवाबाट पनि पूरै वञ्चित । पानी पनि जोखी–जोखी पिउनुपर्ने । १५ वर्ष नपुग्दै विवाह, पुरुषमा मदिराको लत र महिलामाथि कुटपिट यहाँको दैनिकी । कोही बिरामी भयो भने अस्पताल होइन, देउता रिसाएको भन्दै झाँक्रीकहाँ लगिन्थ्यो । पाँच मिनेटको बाटोमा स्कुल छ तर आधाआधी बालबालिका पनि स्कुल जाँदैनथे । बिहान उठ्नासाथ पूर्वतिर गणेश हिमशृंखलाको चहकिलो र मनोरम दृश्य देखिए पनि गिरानचौर आफैँ भने अन्धकारमय थियो । 

त्यसमाथि भूकम्पले कति बिल्लीबाँठ बनायो होला ? यही प्रश्न गिरानचौरकी लासाङ तामाङ, ६६, लाई सोध्दा उनले भनिन्, “भुइँचालोले त हाम्रो भाग्य खोल्यो है ।” कसले खोल्यो त ? उनी फेरि भन्छिन्, “भगवान्ले ।” अनि, त्यो भगवान्चाहिँ को हो ? उनको मुखबाट फुत्त निस्कन्छ, “धुर्मुस बाबु र सुन्तली नानी ।” लासाङ तिनै गाउँलेमध्येकी एक थिइन्, जो बस्ती बनाउने भन्दै सुरुमा सीताराम र कुञ्जना गिरानचौर पुग्दा ‘घर नपाए पनि हाँस्न पाइन्छ’ भन्दै भेला भएका थिए तर त्यसको ६ महिनामा उनीहरूले घर त पाए नै, समाज त्यसभन्दा सानदार, सभ्य र आधुनिक बन्यो ।

३५ रोपनी जग्गामा निर्मित बस्तीमा एकैनासका सुविधाजनक र भूकम्प प्रतिरोधी ६५ घर छन् । तीन आना जमिनमा बनाइएको हरेक घरमा तीनवटा बेडरुम, एउटा भान्छाकोठा, बाथरुम र फराकिलो बुइगल छ । बुइगलमा ढुक्कैले खाद्यान्न र सरसामान राख्न मिल्छ । हरेक घरका अगाडि फूलबारी र पछाडि करेसाबारीले बस्तीकै सुन्दरता बढाएको छ । सबै घर र कोठासम्म ह्वीलचेयर पुग्ने बाटो हुनु बस्तीको अर्को मुख्य विशेषता हो । त्यस्तै, तीनवटा बालउद्यान, दुई विश्राम स्थल, नौवटा चौतारी, दुईवटा पार्किङ र एक–एक पाहुना घर र सामुदायिक भवन छन् । इन्टरनेटका लागि वाइफाइ फ्रि छ । तल सिन्धुखोलाबाट बस्तीसम्मको पाँच किलोमिटरको बाटो पनि ग्राभेल गरिएको छ । गाउँलेका लागि कुनै स्वर्णिम सपनाजस्तै । सीताराम भन्छन्, “हामीले सकेसम्म सुविधासम्पन्न र पर्यटक–मैत्री बनाउने प्रयास गरेका छौँ ।” 

जसै बस्ती निर्माण सुरु भयो, गिरानचौरमा बालविवाह ठप्पै भयो । न त रक्सी खाएर होहल्ला गर्ने र पत्नी पिट्ने नै कोही छन् अहिले । सीतारामको जोडीले कपी–किताब उपलब्ध गराइदिएपछि बालबालिका नियमित विद्यालय जान थालेका छन् । खान्की तुलाउन घरभित्र आगो बाल्नु पर्दैन । धूवाँको पिरलो छैन । बस्तीभित्र गाईवस्तु पाल्न नपाउने भएपछि गाउँ त्यसै सफा हुने भइहाल्यो । गिरानचौरलाई होमस्टेका रूपमा विकास गर्न तामाङ सांस्कृतिक टोली गठन भइसकेको छ । बाल क्लब र बचत समूह खोलिएको छ । 

त्यति मात्र होइन, शंकरापुर डाँडाबाट गुम्बा चौरमा प्याराग्लाइडिङ गराउन शंकरापुर प्याराग्लाइडिङ प्रालिसँग सम्झौता भएको बस्ती व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका रामबहादुर बताउँछन् । सोही कारण बस्तीमा आन्तरिक तथा बाह्य पर्यटक भित्रिन थालेका छन् । चैत दोस्रो साता यहाँ भारतीय चर्चित कलाकार राजपाल यादव अभिनीत नेपाली फिल्म करोडपतिको छायांकन भयो । त्यति सुन्दर बस्ती कलाकारले बनाएको थाहा पाएपछि गद्गद् हुँदै यादवले भनेका थिए, ‘यो त नेपालका मात्र होइन, संसारकै कलाकारले गर्व गर्नुपर्ने उपलब्धि हो ।’ 

यसरी नयाँ मान्छेको आगमन बढेपछि स्थानीय महिलामा सचेतना र आत्मविश्वास बढेको छ । कान्छीमाया थिङ, ५३, भन्छिन्, “कम्तीमा मान्छेसँग डर लाग्न छोडेको छ ।” हिजो उनीहरूले टीभीमा देखेको ठूलो कलाकारले त आफैँले भारी बोकेर घर बनाइदियो भने अरू नाथेसँग त के डराउनू ? गिरानचौरबासीलाई यस्तै लाग्छ अचेल । 

तर, यो बस्तीका लागि सीताराम र कुञ्जनाले चुहाएको पसिनाको कुनै लेखाजोखा छैन । सुरुमा त बजेटकै समस्या थियो । भूकम्पले क्षतिग्रस्त घर पन्छाएर जग्गा सम्याउनै दुई हप्ता लाग्यो । वर्षायाम भएकाले सम्याएको माटो पानीले बगाएर हैरान पाथ्र्यो । स्थानीय सोमबहादुर तामाङ सम्झन्छन्, “तर, धुर्मुस सर बिहान ४ बजे बेल्चा लिएर फिल्डमा उत्रिसक्नु हुन्थ्यो । कति जब्बर मान्छे भने जति बिग्रिए नि हरेस नखाने ।” 

स्थानीयबासी सीताराम र कुञ्जनासँग किन पनि अनुगृहीत छन् भने उनीहरूले डिलमा बसेर कहिल्यै काम अह्राएनन् । बरू सिमेन्ट, इँटा, जस्तापाता बोक्न आफैँ तम्सिन्थे । अनि, अरूले काम नगरी भयो त ? कुञ्जना भन्छिन्, “हामीले त्यसरी आफैँ नखटेको भए यति ठूलो बस्ती ५ करोड १४ लाख रुपियाँमा सम्पन्न हुन्थ्यो होला त ?” 

१ लाख ७४ हजार रुपियाँबाट सुरु गरिएको उक्त परियोजनाका लागि त्यति रकम खर्च भईकन पनि १ करोड ३ लाख रुपियाँ उब्रियो । दाताहरूको यसरी ओइरो लाग्यो कि पछि त ‘पैसा पुग्यो’ भनेर घोषणा नै गर्नुपर्‍यो । स्वच्छ मन लिएर सेवामूलक काम गर्दा उदाहरण पनि बने उनीहरू । फेरि उनीहरूको हिसाब–किताब उत्तिकै पारदर्शी पनि छ । हरेक दाताको नाम र रकमको बैंक खाताका अलावा धुर्मुस–सुन्तली फाउन्डेसनको वेबसाइट, फेसबुक पेज र बस्तीको सामुदायिक भवनमा रेकर्ड पनि राखिएको छ । 

बस्तीको सिरानमा एउटा बडेमानको रकेटको आकृति बनाइएको छ, जसमा महाकवि देवकोटाका शब्द लेखिएको छ, ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक ।’ गिरानचौर पुग्दा जोकोहीलाई सोधे हुन्छ, धुर्मुस र सुन्तलीले किन रकेट बनाए त ? रकेटजस्तै छिटो गतिमा गाउँ बनाएको र यही गतिमा विकासका अरू काम गर्न पनि प्रेरणा मिलोस् भनेर रे !

मुसहर बस्तीमा यो कस्तो जादू !
वर्ष ०७३ को अन्तिम दिन निकै रंगीन र भव्य देखिएको मुसहर बस्तीको फोटो फेसबुकमा अपलोड गर्दै सीतारामले लेखे, ‘पूरा भयो सपना ।’ सीतारामसँगै गाउँलेको पनि सपना पूरा होला नि ? यही प्रश्न राख्दा त्यस बस्तीका एक मात्र एसएलसी पास मञ्जय सदाले नेपाल प्रतिनिधिसँग मन पोल्ने कुरा सुनाए, “हामीमा त यस्तो घरमा बस्न पाइएला भनेर सोच्ने वा सपना देख्ने साहससम्म थिएन । यो त हाम्रा लागि जादूको पनि जादू हो ।” जसले पुस्तौँपुस्ता झुप्रोमा बितायो, तिनका लागि टिलिक्क टल्किएका घर, त्यो पनि कम्पाउन्डले घेरिएको एकीकृत बस्तीभित्र । जादू लाग्नु त स्वाभाविक नै भइहाल्यो । जम्मा ९५ दिनमा सीताराम र कुञ्जनाले ५३ आधुनिक घर बनाएर हस्तान्तरण नै गरे, के यो जादुई छैन त ? 

जबकि, यहाँका स्थानीयलाई धुर्मुस–सुन्तली को हुन् भन्ने सुइकोसम्म थिएन । र पनि, अघिल्ला दुई बस्तीभन्दा मुसहर बस्ती बनाएपछि यो जोडी निकै हर्षित छ । किनभने, पहरी र तामाङ भूकम्पपीडित मात्र थिए, मुसहरहरू त जन्मसिद्ध पीडित । भूकम्पले उनीहरूको केही बिगार गर्न सकेन । बिगार गर्न केही हुनु पनि त पर्‍यो नि † यहाँ थियो त केवल गरिबी, भोकमरी अनि अशिक्षा । तर, यो जोडीको आगमनसँगै घर त बन्यो नै, सँगै आशाका अरू दियो पनि झिलमिलाइरहेका छन् मुसहर बस्तीमा ।

गुल्जार भइरहेको महोत्तरीको बर्दिबास बजारबाट जम्माजम्मी डेढ किलोमिटरको दूरीमा छ, मुसहर बस्ती । बस्तीको आडैमा माध्यमिक विद्यालय छ । १० मिनेट हिँड्दा अस्पताल पुगिन्छ तर बस्ती पूरै ढुंगे युगमा । तीन–चार जना बालबालिका पनि स्कुल जाँदैनथे । औषधि खानु भनेको त महापापजस्तो । मञ्जयले मन अमिलो पार्दै सुनाए, “जीवनजल र सिटामोल खान नपाएर धेरै गाउँले मरेको म आफैँले देखेको छु ।” २० वर्षमा घटीमा तीन बच्चा पाइसक्ने । सबै कुपोषणका सिकार । 

यस्तो भयावह गाउँमा ०७२ पुसमा सिरक, डस्ना, दाल–चामल बोकेर यो जोडी पुगेको थियो । मुसहर एकीकृत नमुना बस्ती व्यवस्थापन समितिका अध्यक्ष बिल्टु सदा भन्छन्, “हामीले जीवनमा पहिलो पटक नयाँ सिरक त्यही बेला ओढेका हौँ । त्यसपछि त हामीले उहाँहरूको जयजयकार गर्न थालिहाल्यौँ ।” 

सिरक पाउँदा त त्यति मख्ख थिए भने अहिले हरेकले घर नै पाएका छन् । प्रत्येक घरसँगै जोडिएको धारा, शौचालय अनि बगैँचा । घरवरिपरि बाटो । बस्तीको बीचमा मन्दिर छ, जहाँ मुसहरहरू आफ्नो कुलपूजा गर्छन् । ३५ फिट अग्लो भ्यु टावर छ, जसमा चढेर बर्दिबास बजारतिर नजर डुलाउन आगन्तुकले पैसा तिर्नुपर्छ । त्यो रकम सामाजिक कार्यमा खर्च गरिने योजना छ । चौतारो अनि सामुदायिक भवन । मुसहर बस्तीको औसत आयु ४०–४५ वर्ष हो तर १ सय ८ वर्षकी मरणी सदा भन्छिन्, “अरू सबै छिट्टै मरे, सुख पाए । म दु:ख पाएर बाँचेको त यस्तो दरबारमा बसेर मर्न पो रहेछ ।” 

बालबालिका स्कुल जान थालेको अनि दाउरा बेचेर दिन गुजार्दै आएका मुसहरले बचत सुरु गरेको पनि सीताराम–कुञ्जना जोडीको गाउँ प्रवेशपश्चात् नै हो । हिजो मुसहरहरूको छाया पर्दा पानी पोख्ने वरपरका छिमेकी आज आफैँ बस्ती छिरेर मीठो बोली बोल्न थालेका छन् । “कम्तीमा मुसहरले आफूलाई मान्छे सोच्न सक्ने माहौल मिलेको छ,” १२ कक्षा अध्ययनरत तन्नेरी मञ्जय भन्छन्, “हाम्रा लागि त सरकार भने पनि, भगवान् भने पनि धुर्मुस–सुन्तली नै हुन् ।” 

तीन एकीकृत बस्ती अनि त्यहाँ फेरिएको जीवनशैलीका कारण सामाजिक सञ्जालदेखि स्वदेश/विदेशसम्म सीताराम र कुञ्जना सर्वथा प्रिय बनेका छन् । पीडितका लागि सरकार निर्दयी बनेका बेला व्यक्तिगत पहलबाट यति ठूलो संरचना र सोचको विकास गर्नु चानचुने हुँदै होइन । तर पनि, यो जोडीमा रत्तिभर घमन्ड छैन । 

बरू उनीहरूमा एकीकृत बस्ती प्रेमको आ–आफ्नै कारण छन् । “पेसाले कलाकार भए पनि सुरुमा हामी नागरिक हौँ । देश बनाउने दायित्व नेताको मात्र होइन, प्रत्येक नागरिकको पनि हो,” कुञ्जना गर्वसाथ सुनाउँछिन्, “हामीले सचेत नागरिकको त्यही जिम्मेवारी पूरा गरेका हौँ । कुनै महान् काम गरेका होइनौँ ।” कुञ्जनाको यो भनाइमा सहमति जनाउँदै सीतारामले आफ्नो बाल्यकालको एउटा घटना सम्झिए । जुन उनले अहिलेसम्म कुञ्जनालाई पनि ‘सेयर’ गरेका रहेनछन् ।

झापाको शनिश्चरेमा हुर्किएका सीतारामले एक दिन छेवैको तीनतले घर देखाउँदै बुबालाई सोधे, ‘हाम्रो घर किन सानो र थोत्रो ?’ बुबाको अनुहारमा कालो बादल मडारियो । तैपनि, नाबालक छोरालाई उनले ढाँटेनन्, ‘तिम्री आमाको पाठेघरको उपचार गर्दा नयाँ घर बनाउनै पाइएन ।’ छोराको त्यो प्रश्नले बुबाको मन कति चिरेको हुँदो हो, सीताराम बल्ल अहिले महसुस गर्न सक्ने भएका छन् । तर, नयाँ र ठूलो घरका अगाडि आफू पुरानो र पानी चुहिने घरमा बस्नुपर्दा सीतारामको मन र मस्तिष्कमा गहिरो चोट पर्‍यो । “मैले त्यसबेला गरिब भएकै कारण जस्तो हीनताबोध महसुस गर्नुपर्‍यो, आज एकीकृत बस्तीमा बस्ने एउटा बच्चाले त्यो आन्तरिक पीडा भोग्नुपरेन भने पनि म आफूलाई निकै भाग्यमानी ठान्नेछु,” सीताराम भावुक सुनिए, “त्यसैले एकीकृत बस्ती विकास र अन्य समतामूलक कार्यमा ज्यानपरान फाल्न मन लाग्छ ।” 

सद्भावका सारथि

नाकाबन्दीताका सीताराम कट्टेल (धुर्मुस) झापा घर जाँदै थिए, बर्दिबास पुगेपछि हेल्मेट लगाउनु पर्‍यो, आक्रमण होला भन्ने डरले । राती त मधेस छिर्नै पाइँदैन्थ्यो । आफ््नै देश जाँदा पनि विदेश गएजस्तो । पहाड र मधेसको दूरी तन्कँदो थियो । “त्यतिबेलै मलाई मधेस र पहाड जोड्ने कुनै काम गर्न मन लागेको थियो,” मेरी बास्सै टेलिसिरियलमा ४४ भूमिकामा देखिएका यी कलाकारले सुनाए, “मुसहर बस्ती छान्नुको कारण त्यही प्रेमभाव जगाउनु पनि एक हो ।” मधेसमा आगो दन्किरहेका बेला कुनै पहाडीले एउटा सामाजिक कर्म गर्दा त्यसले समाजमा सकारात्मक सन्देश दिने उनको बुझाइ थियो । थप्छन्, “फेरि धनले मात्र घर बन्दैन, मन जोडिँदैन । त्यसका लागि आपसी सद्भाव र सम्मानको खाँचो पर्छ । बस्ती विकासको बहानामा त्यो आदरभावको विकास गर्ने प्रयासमा पनि छौँ, हामी ।” 

र, फरक जाति र समुदायबीचको सम्बन्ध प्रगाढ बनाउने अभियानमा सीताराम र कुञ्जना धेरै हदसम्म सफल भए । जस्तो : फागुन दोस्रो साता काभ्रे गिरानचौर एकीकृत बस्तीका ५७ जनाको टोली मुसहर बस्ती पुग्यो, दाल–चामल, खसी, तरकारीलगायतका कोसेली–पात बोकेर । दुई हप्तासम्म श्रमदान गरे । खासमा गिरानचौरवासीले गुन तिरेका रहेछन् मुसहरहरुको । किनभने, उनीहरुले दाउरा बेचेर बचाएको १३ हजार रूपियाँ गिरानचौर निर्माणमा कोसेली पठाएका थिए । तामाङ टोली फर्कने बेला मुसहर बस्तीले बिदाइ कार्यक्रम राख्यो । तामाङ दाजुभाइले मुसहरहरुलाई मायाको चिनोस्वरुप ढाकाटोपी लगाइदिए अनि मुसहर समुदायका सदस्यले गिरानचौरका तामाङको टाउकोमा गम्छा बाँधिदिए । अनि, एकअर्कालाई अँगालो हाले । 

यही तस्बिर धुर्मुस–सुन्तली फाउन्डेसनको फेसबुक पेजमा अपलोड गरियो । त्यही दिन राजविराजमा प्रहरीको गोली लागेर तीन मधेसी युवाको ज्यान गयो । त्यसले गर्दा पनि ढाकाटोपी र गम्छा साटासाट गरिएको उक्त आत्मीय दृश्य सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । “देख्दा सामान्य लाग्छ तर यस्तै व्यवहारले हाम्रो विविधतापूर्ण समाजलाई एकताको डोरीमा बाँध्छ,” कुञ्जना भन्छिन्, “त्यही भएर बस्ती बनाउने बहानामा हामी फरक समुदाय र भूगोलबीच भाइचारा खोज्दै छौँ ।”

अबको सपना​

विविधता नेपालको सम्पत्ति हो तर यसलाई सही रुपमा आत्मसात् गर्न नसक्दा विग्रह उत्पन्न भइरहेको छ । सोही कारण नमुनाकै लागि सही, सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई सबै जातजाति र समुदायका मानिसलाई जम्मा पारेर एउटा छुट्टै्र बस्ती बनाउने रहर पलाएको छ । कुञ्जनाका अनुसार सुरुमा ७५ जिल्लाबाट ७५ विपन्न परिवार छान्ने, जुन फरक जातका हुन् । अनि, घरचाहिँ प्रत्येक जातको आफ्नै मौलिक विशेषता झल्कने बनाउने । यसरी फरक आयामका मान्छेलाई एकै ठाउँमा ल्याउँदा संस्कृति, रहनसहन, जीवनशैली र मनोविज्ञान जीवन्त हुन्छ । एकअर्कालाई हेय होइन, सम्मान गर्ने संस्कार बस्छ । बस्तीभित्र छिरेपछि पूरै नेपाल नै घुमेको आभास होस् । यत्ति भएपछि बस्ती पर्यटनको ‘हब’ भइहाल्छ । मुनाफा पनि हुने नै भो ! कुञ्जनाले सकारात्मक भावसहित भनिन्, “समय लाग्ला तर एक दिन पक्का यस्तो बस्ती निर्माण गर्नेछौँ ।” 

 

प्रकाशित: वैशाख ४, २०७४