सगरमाथा फेदीमै ब्रेकफास्ट

यदि पैसा ठूलो कुरा होइन भने आकर्षक भोजनका लागि यहाँको टेबलमा अनेकथरी सम्भावना आइपुग्छन् । एउटा त्यस्तै हो, सगरमाथाको फेदीमै बसेर स्याम्पेन ब्रेकफास्ट गर्ने अवसर । बेलायतमा अहिले थुप्रै ट्राभल कम्पनीहरुले ‘सगरमाथामा ब्रेकफास्ट’ प्याकेज ल्याएका छन् । ती प्याकेजहरु तीन हजारदेखि चार हजार पाउन्डसम्म लाग्नेछन् । सौखिनहरुलाई काठमाडौँबाट हेलिकप्टरले सुरुमा झन्डै ५ हजार ३ सय मिटर उचाइमा पर्ने सगरमाथा आधार शिविरसम्म पुर्‍याउँछ । त्यसपछि थोरै तल अर्थात् ४ हजार २ सय मिटरमा झारेर पृष्ठभूमिमा हिमाल पारेर ब्रेकफास्ट सर्भ गरिन्छ । 

उचाइलाई मध्यनजर राखेर ब्रेकफास्टको समय भने १५ मिनेट मात्र राखिएको छ । अधिकले हतारहतार पाउरोटी मात्र खान भ्याउँछन् । तर, त्यस क्षणको सेल्फी खिच्न भने छाड्दैनन् । आसपासमा याकका बथान देख्दा नडराउनु भनेर ट्राभल कम्पनीहरुले पहिल्यै सचेत गरेका हुन्छन् । बेलायती पत्रिका डेली मेलका अनुसार केही फरक गर्न चाहने महँगा ग्राहकले यो अवसर औधी रुचाएका छन् । 

प्रकाशित: वैशाख ३, २०७४