[फिल्म] नाम मात्र 'लभ लभ लभ'

- गोकर्ण गौतम

सामान्य कथालाई गहकिलो र मनछुने शैलीमा पस्किएको फिल्म पशुपतिप्रसादले दीपेन्द्र के. खनाललाई उत्कृट निर्देशकको राष्ट्रिय अवार्ड दिलायो । अवार्डले सर्जकप्रतिको अपेक्षा बढाउँछ, त्यसमाथि उनले त राष्ट्रिय अवार्ड नै चुमेका थिए । स्वभाविकरुपमा उनका फिल्म थप वजनदार हुँदै जानुपर्ने हो, कथादेखि कथ्य शैलीसम्म । तर चपली हाइट २ ले पशुपतिप्रसाद त परको कुरा, चपली हाइटकै पनि ‘हाइट’ जोगाएन ।

वर्ष २०७४ को पहिलो दिन रिलिज भएको उनी निर्देशित नयाँ फिल्म लभ लभ लभको हालत पनि त्यस्तै छ । सामान्य तर संवेदनशील प्रेमकथा पस्कने उनको प्रयास फिक्का भएको छ । यसको पटकथा खनालले नै लेखेका हुन् तर नाम अनुसार फिल्मका पात्र र तिनका प्रवृत्तिले दर्शकलाई भावनात्मक रुपमा जोड्दैन । किनभने पात्रको आँखामा आँसु बग्नासाथ हेर्नेको आँखा पनि रसाउँछ भन्ने हुन्न । भलै फरक आयामका पात्र र तीभित्रका मनोविज्ञानमा खेल्न खोज्नु सकारात्मक पक्ष हो । अक्सर प्रेमकथाका फिल्ममा झैँ यसमा तडकभडक पनि छै्रन ।  

बाल्यकालका साथी सुरज (सुरज पाण्डे) र समृद्धि (स्वस्तिमा खड्का) को प्रेम र त्यागको कथा हो, लभ लभ लभ । सुरज समृद्धिलाई साथीभन्दा माथि अर्थात् प्रेमिकाको नजरमा हेर्छ तर व्यक्त गर्न सक्दैन । जब व्यक्त गर्छ, समृद्धिबाट ‘साथीको रुपमा हेरेको’ जवाफ पाउँछ । उसले अलि जोडबल गरेपछि आफूलाई ‘इम्प्रेस’ पार्न समृद्धिले १२ दिन समय दिन्छिन् । अनि सोझो र भद्र स्वभावको सुरज जसरी हुन्छ, समृद्धिको मन जित्न खोज्छ प्रेमीका रुपमा । तर विदेश जान तयार समृद्धिलाई त्यति छोटो समयमा आफ्नो मायाले प्रभावित पार्न सुरज सक्षम होला ? फिल्म यसकै वरपर घुमेको छ । आधा घन्टा अगाडी नै लभस्टोरी फिल्मपारखीले क्लाइमेक्स भेउ पाइसक्छन् । 

चरित्र चयन फिल्मको सशक्त पक्ष हो । अन्तर्मुखी स्वभाव सुरजको एकोहोरो प्रेमले जोकोहीको मन जित्छ । मनमा पीडाको पोको हुँदा पनि समृद्धिको खुसीकै खातिर कहिल्यै देखाउँदैन । बुबा (रमेश बुढाथोकी) सँगको सम्बन्धको अवरोधका बीच पनि उसको समृद्धिप्रतिको लगाव गिर्दैन । यता, चुल्बुले स्वभावकी समृद्धिले लिएको प्रेमको परीक्षा पनि आफैँमा अप्रिय लाग्दैन । त्यसो भए समस्या कहाँ छ ? समस्या निर्देशकको कथा भन्ने शैलीमा छ । किनभने समृद्धिले १२ दिनको समय दिएपछि पनि कथाले न गति पकड्छ, न रसिलो हुँदै जान्छ । प्रत्येक दृश्यमा प्लट वा पात्रको नयाँ पाटो उघ्रिँदै जानुपर्ने हो तर निर्देशक खनाल खुद्रा कुरामा अल्झन्छन् । पात्रको ‘बन्डिङ’ मजबुत बनाउन अल्छयाइँ गरेको भान हुन्छ । 

जस्तो, सुरजको सोझोपन र समृद्धिप्रतिको लगाव देखाउनकै लागि मात्र सिर्जिएको भान हुन्छ, मनकामना दर्शनका लामो दृश्य । जबकि सुरजले बसमा बान्ता गरेको बाहेक अन्य दृश्य खास गतिलो लाग्दैन । त्यस्तै, समृद्धिको मामाघर यात्राको पूरै शृंखलामा बोक्सीवाला दृश्यमात्र सम्झनालायक छ । तैपनि यही सिक्वेन्सलाई स्थापित गरेर सुरजप्रति थप संवेदना पैदा गर्न चुकिएको छ । उनी कान नसुन्ने भएकैले दर्शकले माया गर्नुपर्ने खास कारण पनि दिन सकेका छै्रनन्, निर्देशकले ।

यस्तो लाग्छ, उनमा बिस्तारै कथा अगाडि बढाएर क्लाइमेक्समा दर्शकलाई ‘चक्मा’ दिन चाहिरहेका छन् । ताकि हलबाट बाहिर निस्कँदा पनि फिल्मको ‘ह्यांग’ नउत्रियोस् । पशुपतिप्रसादमा यही शैलीले सबैको मन जित्यो तर लभ लभ लभ त्यति गहिरो संवेदना खिच्न सकेका छैनन् । र, अन्त्यको दश मिनेट तुलनात्मक रुपमा यादगर छ । त्यस्तै, क्लाइमेक्समै सुरजले पानीको बोतल बोकेको र मध्यरातको १२ बजेको विम्ब प्रभावकारी लाग्छ । तर दुर्घटनाको दृश्य ‘कार्टुन’ हेरेजस्तो लाग्छ । 

यही फिल्मबाट अभिनययात्रा सुरु गरेका सुरज कान कम सुन्ने र हेर्दा आकर्षक नलाग्ने भूमिकामा फिट छन्, तैपनि कतिपय दृश्यमा उनी ज्यादै ‘लो’ प्रतीत हुन्छन् । होस्टेल रिटन्र्समा सहायक भूमिकामा देखिएकी स्वस्तिमाको यो दोस्रो फिल्म हो । सुन्दरताले भरिएकी यही हिरोइनको अभिनयकौशलचाहिँ निखारिँदै गएको उतिविघ्न आभास हुन्न । सुरजको साथी बनेका आयान खड्काको अभिनय स्वाभाविक छ ।

खासमा उनी फिल्मका ‘रिफ्रेसिङ’ तत्व हुन् तर अनावश्यक दृश्यको चाङ लगाएका निर्देशकले आयानको पृष्ठभूमिमा भने एक दृश्य खर्चिएका छैनन् । सुरेश राईको संगीतमा मुखमा झुन्डिने खालको नभए पनि कथाको वहाबलाई बिथोल्दैनन् । नीरज कँडेलले पोखरा आसपास र स्याङजाको पन्चासेका दृश्य कैद गरेका छन् । 

पटकथा खदिलो र कसिलो नभएकाले लभ लभ लभ हेर्दा आँत भरिन्न । कथा बुन्न कतै अल्मल्लिएजस्तो लाग्छ ।  फेरि राष्ट्रिय अवार्ड विजेता निर्देशकसँगको अपेक्षा यति मात्र पनि त होइन नि ! यसलाई चाहिँ खनालप्रतिको प्रेम र विश्वास मान्न सकिएला । 

 

प्रकाशित: वैशाख १, २०७४