[फरक मत] कुनचाहिँ विकास ठीक ?

  • राजनीति अहिले निराशाको सबभन्दा ठूलो स्रोत भएको छ ।

- उज्ज्वल प्रसाईं

‘नेपालमा कहिल्यै विकास हुन सकेन ।’

यो गुनासो नयाँ होइन । घागडान साम्यवादी हुन् वा कटिबद्ध हिन्दुवादी, उदार लोकतन्त्रवादी हुन् वा कट्टर नवउदारवादी, सबैले सधैँ गरिरहने गुनासो यही हो । कोही काठमाडौँका ढलका दुर्गन्धले आहत भएर यस्तो गुनासो गर्छन्, कोही गाउँका मान्छे जागिर माग्न काठमाडौँका डेरामा ताँती लागेको देखेर । तर, जति गुनासो गरियो, सम्भवत: त्यसको तुलनामा ‘विकास’ भन्ने अवधारणालाई प्रश्न गर्ने र त्यससम्बन्धी खोज गर्ने काम न्यून भयो । ज्ञान उत्पादन गर्न नसक्ने र भएका मौलिक ज्ञानको संवद्र्घनमा कुनै कसरत नगर्ने थिति बस्यो । त्यसैले विकासको बिलकुल पश्चिमा रूपरेखाभित्र रहेर गरिएका कच्चा प्रयत्नहरूले उपलब्धि कम गर्‍यो, धूलो बढी उडायो । 

आफैँले आफ्नो समाजका लागि ज्ञान उत्पादन गर्न नसक्दा र आयात गरिएका नयाँ अवधारणालाई समाजमा उचित ढंगले ‘लोकेट’ गर्न नसक्दा परिणाम राम्रो नहुने रहेछ । रामचन्द्र गुहाले आफ्नो पुस्तक डेमोक्र्याट्स एन्ड डिसेन्टर्समा भारतमा दक्षिणपन्थी धारका बौद्धिकहरूको कमीका कारण दक्षिणपन्थी राजनीतिको आवरणमा ठगहरूको बिगबिगी भयो भन्ने गुनासो गरेका छन् । नेपालको हकमा भने विकासका नाममा भएका क्रियाकलाप हेर्दा, विकास कहिले शासकहरूको वर्चस्व कायम गर्ने आकर्षक कथ्य बन्यो भने कहिले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता संस्थाको प्रभाव जमाउने ‘डिस्कर्सिभ’ हतियारका रूपमा प्रयोग भयो । विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाहरूको सान्दर्भिकता बचाइराख्ने उपाय पनि यही विकासे गफ नै हो ।

भौतिक सुख–सुविधाका वस्तु र झिलिमिली सहरका चित्र सामान्य मानिसका मस्तिष्कमा कोरेर बनाइएको विकासको कथ्य अहिले शक्तिशाली छ । ठूला पक्की पुल र चिल्ला बाटालाई विकास भन्ने हो भने अहिलेको नेपालको सबैभन्दा विकसित जिल्ला सप्तरी हुनुपर्ने हो । कारण, कोसी ब्यारेज, त्यसमाथि यामानको पुल, सबैभन्दा पुरानो सिँचाइ नहर चन्द्रनहर, पूर्वपश्चिम राजमार्ग त्यहाँ बनेको दशकौँ भयो । तर, सबैभन्दा बढी संख्यामा गरिब नागरिक भएको जिल्ला पनि सप्तरी नै हो । त्यसैले विकासको एकांगी व्याख्या अहिलेको मुख्य समस्या हो भन्ने स्पष्ट देखिन्छ । 

नयाँ ढंगले राजनीति गर्ने भनेर सतहमा आएका राजनीतिक शक्तिहरूले आफ्नो मूल राजनीतिक विचारधारा नै त्यही चित्रलाई बनाएका छन् । पुराना राजनीतिक दलमा उदाएका नयाँ नेताहरूले प्रचार गरिरहेका अवधारणा पनि पुँजीवादी विकासको त्यही झिल्के तस्बिर नै हो । त्यसैले विकास नामको यो उपाख्यान अझै लामो समयसम्म प्रभावशाली रहन्छ भन्ने आकलन गर्न सकिन्छ । साथै, अहिलेका ठूला विकासे संस्थाहरू समेत पुरानै ढर्रामा चलिरहन सहज मान्छन् । पहिले भएका कामका गम्भीर समीक्षा गर्ने र बिलकुल फरक बाटो पहिल्याउन उनीहरू तयार नै छैनन् । सुविस्तासँग चलिरहेको अवस्था अर्थात् ‘कम्फोर्ट जोन’बाट बाहिर निस्केर त्यस्ता गैरसरकारी संस्थाले काम नै गर्न सक्दैनन् ।

अर्को सत्य के पनि हो भने ती ठूला विकासे संस्थामा पनि उही वर्चस्वशाली समूहका क्लिष्ट अंग्रेजी जान्नेहरू नै छन् । अर्थात्, विकासको आवरणमा एक वा अर्को रूपको ठगी अनवरत चलिरहेछ । साथै, विकासकै नाममा वर्चस्वशाली वर्ग र समुदायको राजनीतिक र सामाजिक प्रभाव कायम छ, रहनेछ ।

त्यसो भए अब गर्ने के त ? सबभन्दा पहिले विकासको साबिक अवधारणा र आमबुझाइमाथि प्रश्न उठाउने । जेलाई विकासे कामका सफलता मानिएको छ, के ती सफलता जीवन र वातावरण अनुकूल छन् भनेर परख्ने । साथै, हिजो निश्चित गरिएका लक्ष्य र प्राप्त उपलब्धिको तालमेलको अध्ययन गर्ने । यसो भन्दै गर्दा अर्को खाले सन्देह उब्जिन सक्छ । फेरि पनि कामको साटो गफ नै गर्ने ? ज्ञान उत्पादन गर्न थाल्नु भनेको अहिले भइरहेका गलत वा सही सबै खाले प्रयत्नलाई पूरै ठप्प बनाउनु होइन । बरू, हिजो भएका कामको समीक्षा गर्दै, ज्ञानका मौलिक परम्पराको खोजी गर्दै र दुनियाँमा भएका अभ्यासबारे अध्ययन गर्दै, विकासका वैकल्पिक अवधारणाबारे चिन्तन गर्न थाल्नु हो । 

यति गर्न थाल्दा सबै गलत काम सच्चिने होइनन् र विकासको बिलकुल नयाँ स्वर्गमा अवतरण हुने पनि होइन । बरू, यस्ता प्रयत्नले विकासलाई केवल आयातीत ‘जार्गन’हरूको साँघुरो फ्रेम र बिलकुल प्राविधिक जकडबन्दीबाट निकाल्न सहयोग पुर्‍याउँछ । विकासको प्राविधिक व्याख्याको राजनीतिक नियत उजागर गर्ने काममा सहयोग पुर्‍याउँछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले अघि सारेका संरचनागत समायोजनजस्ता अवधारणाबारे खोलिएका पोलहरूको हाम्रामा कति महत्त्व छ भनेर खोजी गर्छ । साथै, विकासको कुनै खास मोडल खोज्ने उपक्रमको अर्थहीनता पनि प्रस्ट्याउन काम लाग्छ । विकास कुनै निश्चित मोडलको कैदमा नबसेर बरू अग्र्यानिक प्रक्रियाका रूपमा नयाँ परस्थितिहरूको सामना गर्दै निरन्तर चलायमान रहने पो हो कि ? यस्ता सन्देहबाट खोजी सुरु गर्नलाई अध्ययन–अनुसन्धानको थालनी अहिलेको आवश्यकता हो । 

नेपालमा विकाससम्बन्धी अध्ययन–अध्यापन नभएका होइनन् । विकासे भनिएका संघ–संस्थाले आफैँले लगानी गरेर विकासका अनेक अवधारणा अघि सारेका छन् । एउटा अवधारणा काम नलाग्ने सिद्ध भएपछि अर्को रूपरेखा तयार पार्न पनि उत्तिकै लगानी हुने गरेको छ । यो उपक्रम चल्न थालेको पनि दशकौँ भइसकेको छ । त्यसो त हाल हाम्रा विश्वविद्यालयहरूमा ‘डेभलपमेन्ट स्टडिज’ नामका अनेक विकासे कोर्सका पढाइ पनि हुन्छ । तर, माथि उल्लेख गरिएका मुख्य चासोहरूको अध्ययन गर्न विश्वविद्यालयका कोर्स र विकासे संघ संस्थाका चिल्ला दस्तावेज कति काम लाग्ने छन् भनेर सोच्नुपर्ने बेला भइसकेको छ । 

गैससका जार्गन प्रयोग गरेर रिपोर्ट लेख्न सक्ने विद्वान्हरूको उत्पादन त ठूलो मात्रामा भएको छ । विकासे क्रियाकलापले थुप्रै विकासे नेता र कार्यकर्तालाई धनवान् बनाएको पनि सत्य हो । सामान्य पढेलेखेका केही मानिससमेत यस्ता क्रियाकलापबाट लाभान्वित भएका छन् । तर, विकास नभएको गुनासो सर्वत्र छ । नेपाली समाजका धेरैजसो मानिसले अहिलेसम्म त्यो विकासको उपयोग गरेर इज्जतिलो जिन्दगी जिउन पाएका छैनन् भने ज्ञान उत्पादनको प्रक्रियालाई स्वाभाविक र निरन्तर प्रक्रियाका रूपमा सुरु गर्न जरुरी छ ।

अहिले चलिरहेको विकासे ‘डिस्कोर्स’लाई चुनौती दिएर नयाँ खोज गर्ने ल्याकत भएका अध्येताहरूको उत्पादन भएको छैन । त्यस्ता केही मानिस छन् भने पनि उनीहरूले आफ्नो ढंगले काम गर्ने मौका पाएका छैनन् । गैससहरूमा निर्भर नहुँदासम्म, त्यस्ता अध्येताहरूले गरिखान सक्ने अवस्था नहुनु अहिलेको विडम्बना हो । यस्तो अवस्थामा यथास्थितिको विकासे गफलाई आलोचनात्मक विवेचना गर्ने र फरक बाटो पहिल्याउनलाई चाहिने ज्ञान उत्पादनको थलो के हुन सक्छ ? सम्भवत: विश्वविद्यालयहरू हुन सक्छन् । तर, अहिलेकै अवस्थाका विश्वविद्यालयहरूबाट यस्ता कामको कतिको अपेक्षा गर्न सकिन्छ र ? 

विश्वविद्यालयका केही ‘म्याभरिक’हरूले आफ्नो व्यक्तिगत प्रयत्नमा गर्ने यस्ता कामले बहससम्म त सिर्जना गर्न सक्ला तर ठोस परिवर्तन सम्भव हुँदैन । हाम्रा विश्वविद्यालयहरूमा सम्भावना भएका थुप्रै मानिस छन् तर उनीहरूको प्रयत्नले खासै ठूलो बहससमेत सिर्जना गर्न सकेको छैन । त्यसैले विश्वविद्यालय र ज्ञान उत्पादन गर्ने अन्य संस्थामा त्यस्तो वातावरण सिर्जना गर्ने त फेरि उही राजनीतिले नै हो ।

राजनीति भने अहिले निराशाको सबभन्दा ठूलो स्रोत भएको छ । निराश नहुने हो भने राजनीतिक संस्कार बदल्ने चुनौती कसैले न कसैले सामना गर्नैपर्ने हुन्छ । राजनीतिक वृत्तमा देखिएका नयाँ दलहरूले यस्ता विषयमा प्रशस्त काम गर्न सक्ने ठाउँ छ । तर, यी राजनीतिक शक्ति बन्न खोजिरहेकाहरूमध्ये केहीमा खासै गहिरो राजनीतिक सुझबुझ नै छैन । राजनीतिक र सामाजिक जटिलता बुझ्न सक्नेले ‘विकास’ नामको अवधारणाको नियतमाथि प्रश्न गर्न सक्ने साहस देखाउन जरुरी छ । केही समयअघि एउटा नयाँ राजनीतिक शक्तिले सुझावका लागि बोलाएको एक छलफलमा त्यसका शुभचिन्तक एक विद्वान्ले भनेको एक प्रसंग यहाँ सान्दर्भिक हुन्छ । ती विद्वान्ले चिन्तित मुद्रामा भनेका थिए, ‘यो मुलुकमा दुई नारा खुबै बिक्ने थिए : राष्ट्रवाद र विकास । यी दुवै नारा केपी ओलीले लगिदिए ।’

भोटको राजनीतिमा यो चिन्ता सही सुनिन सक्छ । तर, राजनीतिको मियो यति सतही विचारमा कति दिन टिक्न सक्छ ? टिक्यो नै भने पनि केही वर्षको न्यानो मात्रै हो । मानौँ, वर्षौं टिक्यो, त्यसो भयो भने सारा विनाशको कारक नै त्यही बन्छ । सफल हुनुको अर्थ उही पुँजीवादी झिल्के विकास नै हो, जसले स्रोतको अनन्त दोहन गर्छ, विभेद बढाउँछ, सीमान्तकृतहरूलाई झन् सीमान्तमा धकेल्छ र ठूला वातावरणीय विनाश निम्त्याउँछ । 

चुनावी जोड–घटाउको साँघुरो घेरामा राजनीतिलाई सीमित गर्नेहरूले यस्ता सवाललाई बेवास्ताको हाँसोले उडाइदिन सक्छन् । त्यसैले सतहमुन्तिरको राजनीतिक जटिलतासँग जोडिएको यो दुनियाँको भविष्य उधिन्न सक्ने नेतृत्व नै अहिलेको आवश्यकता हो । दुनियाँमा भएका वैकल्पिक डिस्कोर्सहरू सहायक बन्न सक्छन्, त्यसैले ती विमर्शहरूको अध्ययन गर्न थाले नयाँ उदाएका नेतृत्वले फरक ढंगले सोच्न सक्ने अपेक्षा गर्न सकिन्थ्यो । सन् १९९२ मा वल्फगांग सासले सम्पादन गरेको द डेभलप्मेन्ट डिक्सनरी : अ गाइड टू नलेज एज पावर र सन् २०१३ मा छापिएको गुस्ताभ इस्टेभाको द फ्युचर अफ डेभलप्मेन्ट : अ र्‍याडिकल मेनिफेस्टो पढेर सुरुआत गरे राम्रै हुन्छ । 

प्रकाशित: चैत्र ३०, २०७३