नोटबुक

- गोकर्ण गौतम

‘बलात्कारभन्दा बुर्का बेस’

गलत अर्थ नलागोस्, पाँचदिने पाकिस्तान बसाइमा यस्ता युवती देखिएनन्, जो ‘ वाह !’ भन्न लायक नहुन् । सबै एक से एक सुन्दर, फूलजस्तै । तर, धेरैजसो कालो बुर्काले ढपक्कै ढाकिएका हुन्थे, अनुहारले मात्र हावाको प्रत्यक्ष स्पर्श पाउँथ्यो । त्यसमाथि गर्मी बढिरहेको थियो । कति भयावह होला, त्यो भोगाइ ? कराँचीस्थित नेसनल एकेडेमी अफ पफर्मिङ आर्ट्सको परिसरमा भर्खरै चिनजान भएका पाकिस्तानी मित्र इसहाकसँगै यस्तै जिज्ञासा राखेँ । उनी केही बोल्न खोज्दै थिए, त्यही बेला उनकी एक महिला मित्र हामीसँगै मिसिन आइपुगिन् । परिचय गराएपछि बुर्कासम्बन्धी मेरो सवाल उनले ती युवतीतिर ‘फरवार्ड’ गरिदिए ।

यसपटकको पाकिस्तान यात्राबाट के महसुस भयो भने अक्सर पाकिस्तानीहरु हरेक कुरा भारतसँग तुलना गर्छन् । नेपाली भन्ने थाहा पाएपछि त अझ धेरै । सायद हामी भारतसँग अलि बढी नै लहसिएका छौँ भन्ने लाग्दो हो । सल्मा नामकी ती युवतीले पनि भारतमा हुने महिलामाथिको चरम यौन दुव्र्यवहारतिर इंगित गर्दै भनिन्, “बलात्कारभन्दा त बुर्का नै बेस हुन्छ ।” कतिसम्म भने भारतको क्यापिटल सिटी (राजधानी)लाई ‘रेप सिटी’सम्म भन्न भ्याइन् उनले । हुन पनि अघिल्लो वर्ष भारतमा बलात्कारका ३६ हजार मुद्दा दर्ता भए । अदालतसम्म नआइपुग्ने पीडित त कति हुन् कति ! यही तथ्यांक उल्लेख गर्दै उनले बडो दम्भका साथ भनिन्, “बाहिरबाट हेर्दा हामी जति दमित देखिन्छौँ, भित्र त्यति नै खुसी र सुरक्षित पनि । तर, त्यहाँ (भारत) स्वतन्त्रताका नाममा शोषण भइरहेको छ ।”
सल्मा आफ्नो ठाउँमा सही होलिन् । तर, हामीले निर्माण गर्नुपर्ने समाज त ‘जहाँ न बुर्काको बन्धन होस्, न बलात्कारको भय होस्’ त्यस्तो किसिमको होइन र ! 

हाँसोभित्रको आँसु 

कृत्रिम नै सही, विमान परिचारिकाहरु हरदम मुस्कुराउँछन् । मुस्कुराउनु उनीहरुको कार्यक्षमताको मानक हो । तर, १२ चैतमा दुबईबाट कराँचीका लागि उडेको विमानकी एक एयर होस्टेज टोलाइरहेकी थिइन् । विमान ‘टेकअफ’ गरेदेखि नै उनी ‘मुडअफ’ थिइन् । जबकि, उनका अरु सहकर्मी साबिकझैँ यात्रुलाई ‘सर्भ’ गरिरहेका छन् । भित्र मनमा चिसो पस्यो, विमान या रुटमा खराबी भएर उनी बेचैन भएकी त होइनन् ? त्यसैले बाथरुम जाने बहानामा नजिकै गएर सोधेँ, “एनिथिङ रङ् विद यू ?” उनले झसंग भएझैँ गरेर भनिन, “नो–नो, आई एम ओके ।” 

तर, मेरो मनले भनिरहेको थियो, केही त पक्का गडबड छ । त्यसैले यात्रुभन्दा पनि मानवीयताका हिसाबले जान्न चाहेको बताएँ । सायद यो कुराले उनको मन छोएछ, केही सहज भइन् । त्यसपछि एउटी एयर होस्टेजलाई हातले इसारा गर्दै देखाइन्, जो मन्द मुस्कानका साथ यात्रुलाई पानीको बोतल बाँडिरहेकी थिइन् । तर, कसलाई के थाहा, त्यो मुस्कानको भित्री तहमा आफूलाई जन्म दिने बुबा भर्खरै गुमाएको अथाह दर्द लुकेको छ । फ्लाइट हुनुभन्दा एक घन्टा अगाडि बुबा बितेको खबर पाइछन् उनले तर न तत्काल थाइल्यान्डस्थित घर जाने स्थिति थियो, न ड्युटीमा नजाने नै । पीडाको पल पनि त्यसरी हाँस्नुपर्ने ! यो थाहा पाएपछि मसँग ‘सरी टू हियर’ भन्नुको विकल्प थिएन ।

अल्लाहको संयोग

कराँचीको स्काइ टावर होटलबाट जब बाहिर निस्कन लाग्थ्यौँ, गाडीको सिसाभित्र एउटा न एउटा माग्ने हात पसाथ्र्यो । म देखे/नदेखेझैँ गर्थें । चालक सलिमचाहिँ झर्को नमानी पैसा दिन्थे । यही सिलसिला चलेको तेस्रो दिन सोधेँ, “सधैँ पैसा दिएर साध्य लाग्छ त ?” हँसिलो मुहारका सलिमले सिट बेल्ट कस्दै भने, “अरुलाई सेवा गर्दा अल्लाह खुसी हुन्छन् र हामीलाई अप्ठ्यारो पर्दा कोही न कोही पठाउँछन् ।” 

चौथो दिन हामी एयरपोर्टका लागि निस्कनै लागेका बेला एउटा भिखारीले उसै गरी हात पसार्‍यो । अघिल्लो दिन दुबईका लागि हाम्रो उडान रद्द भएको थियो । त्यो दिन पनि हुने/नहुने टुंगो थिएन । भिसाको म्याद त्यही दिनसम्म मात्र भएकाले ढुकढुकी बढिरहेको थियो । त्यसैले खासै केही नसोची हत्तपत्त माग्ने मान्छेलाई २० रूपियाँ दिएँ । मुसुक्क हाँस्दै सलिमले भने, “आज पक्का फ्लाइट हुन्छ । त्यो पैसा अल्लाहले कुनै न कुनै रुपमा पुर्ताल गर्नुहुन्छ पनि ।”

जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलको तीनवटा कडा सुरक्षा जाँच कटाएर बोर्डिङ पासको लाइनमा बस्यौँ । दुर्भाग्य ! टिमका १३ मध्ये ११ ले मात्र पास पाए । नपाउने म र सहयात्री प्रजित थियौँ । उडानको समय एक घन्टा मात्र बाँकी थियो । आयोजकहरु फर्किसकेका थिए । न हामीसँग फोन थियो, न त्यहाँ वाइफाइ चल्थ्यो । टिम लिडर विमल सुवेदीले विमानस्थलका कर्मचारीसँग फोन गरिदिन आग्रह गरे । तर, उनीहरुलाई त्यहाँ मोबाइल लानै निषेध रहेछ । ओठमुख सुक्न लाग्यो । 

हामी छटपटाइरहेको देखेरै हुनुपर्छ, एक अधबैँसे हाम्रो छेवैमा आएर आफैँ मोबाइल दिए । आयोजकसँग कुरा भयो । पैसा दिन खोज्दा मरिगए माननेन्, ‘इन्सा अल्लाह’ भन्दै बिदा भए । पाँच मिनेटपछि फेरि दगुर्दै आएर उनले मोबाइल दिए । आयोजकको फोन रहेछ । त्यसपछि बोर्डिङ पास पाइयो । 

आतंकवादले ग्रस्त पाकिस्तानमा चिनेजानेकालाई समेत फोन दिन आनाकानी गरिन्छ, दुरूपयोग हुने डरले । तर, उनको विश्वास र सहयोगले हामीलाई भावुक बनायो । के सलिमले भनेजस्तै तिनलाई अल्लाहले नै पठाएका हुन्, या संयोग मात्र थियो ? 

प्रकाशित: चैत्र ३०, २०७३