[आवरण टिप्पणी] अति देवत्वकरणले सिध्याउँछ

  • अहंकार र देवत्वकरण दुवैले राष्ट्रिय एकतालाई खलल पुर्‍याउँछ ।

- प्रा कृष्ण हाछेथु

विसं ०२८ को झापा विद्रोहअघि सर्वप्रथम कम्युनिस्ट राजनीति गर्ने नेताहरूमा साना दलको नेतृत्वमा रहेका मोहनविक्रम सिंह, मोहन वैद्यजस्ता केही बाहेक लगभग जीवित छैनन् । कसैको अनुपस्थितिले कसैलाई फाइदा हुन्छ । झापाली समूहका नेता खड् गप्रसाद ओली (केपी ओली)को उदय पनि त्यही हो । पुराना नेताहरूको मृत्यु वा किनारा लागेपछि उनी उदाएका हुन् । 

०४६ मा बहुदल स्थापनापछि राष्ट्रिय राजनीतिमा तत्कालीन नेकपा माले नेकपा एमाले हुँदै ठूलो पार्टीका रूपमा उदायो । एमालेको उदयसँगै ओली पनि स्थापित हुँदै गए । उनको राजनीतिक यात्राको आफैँमा झन्डै ५० वर्षको विरासत छ । एमालेमा यतिकै लामो विरासत बोकेका अरू नेताहरू पनि छन् । तर, ओलीको ‘राइज’ चोथाले नेताको खोजीसँग पनि गाँसिएर आएको छ । त्यही खोजीका विम्ब विन्दु हुन्, ओली । 

‘जनयुद्ध’का कारण देश दुई ‘फ्याक’मा विभाजन हुँदा माओवादीलाई कठोर शब्दले प्रहार गर्ने नेताका रूपमा ओली देखा परे । अतिवादको एउटा खेमामा माओवादी थियो भने अर्को खेमाबाट ओलीले जतिको चोटिलो प्रहार अरूले गरेनन् । माओवादीले जुन डिग्रीको प्रहार गर्‍यो, ओलीले त्यही डिग्रीमा ‘रियाक्ट’ गरे । दोस्रो संविधानसभा निर्वाचनपछि राजनीति भिन्न रूपमा विभाजित हुन पुग्यो ।

माओवादी विद्रोहकालको विभाजन रेखा राजनीतिक विचारधाराको बाहुल्यमा थियो । दोस्रो संविधानसभापछि राजनीति राष्ट्र र राष्ट्रिय एकताको मुद्दामा बल्झियो । राज्यको पुन:संरचनाको सवालमा पहिचान पक्षधर र त्यसका विरोधीका रूपमा समाज र राजनीतिमा जुन धु्रवीकरण भयो, त्यसमा एक खेमाको प्रतिनिधि पात्रको विम्बका रूपमा ओली देखा परे । पहिचान आप् mनो अरूचिको विषय हो भनेर ओलीले निरन्तर भन्दै आएका छन् । खस आर्य र जनजातिबीचको दूरीभन्दा मधेसी–पहाडीको विभाजन गहिरो हुँदै गएको छ अहिले । नेपालको इतिहासमा समाज यति धेरै विभाजित यसअघि कहिल्यै भएको थिएन । मधेसी–पहाडी विभाजित हुँदा मधेसप्रति कठोर शब्द प्रहारमा पनि अग्रस्थानमा ओली नै आए ।

उनी एउटा समूहका लागि प्रिय पात्र र अर्को समूहका लागि अति घृणित बने । मधेस आन्दोलनका क्रममा आयोजित मानव साङ्लोलाई ओलीले ‘माखे साङ्लो’ भने । मधेस आन्दोलनमा मान्छे मरिरहँदा ‘रुखबाट दुई–चारवटा आँप झर्दैमा फरक पर्दैन’ भने । दोस्रो मधेस आन्दोलन बिसौनीतिर पुग्दै गर्दा म मधेस नियाल्न पुगेको थिएँ । त्यहाँका आमनागरिकसँग मैले सोधेको थिएँ, आन्दोलनमा हजारौँ मान्छे सहभागी हुनुमा केले काम गरेको छ ? ओलीको बोली र पुलिसको गोलीलाई उनीहरूले त्यसको कारण बताएका थिए । 

मधेस आन्दोलनका बेला भोग्नुपरेको नाकाबन्दीको पीडाले गर्दा पनि ओलीको व्यक्तित्वलाई उचाइमा पुर्‍यायो । नाकाबन्दीले हरेक परिवार प्रभावित भयो । त्यसले पैदा गरेको राजनीतिक पुँजीले ओलीको उचाइ ह्वात्तै बढायो । चोथाले नेताको खोजी यहाँ पनि लागू भयो, त्यसयता ओलीले मधेस र भारतलाई एकसाथ प्रहार गर्दै आएका छन् । अहिले कस्तो समय छ भने मधेसीलाई गाली गर्दा पहाडी र पहाडीलाई गाली गर्दा मधेसी खुसी हुने सामाजिक विभाजन भइरहेको छ । हो, यस्तै समयमा चोथाले नेताका रूपमा ओली स्थापित त भए तर दीर्घकालीन रूपमा त्यसले राष्ट्रिय एकतालाई नकारात्मक असर पार्छ/पारिरहेको छ । 

यतिबेला राजनीतिमा ओलीको अहंकार बढिरहेको छ । यसका पछाडि केही कारण छन् । पहिलो, ओलीको राजनीतिक यात्रालाई थिच्न सक्ने पुष्पलाल, तुलसीलाल, मनमोहन अधिकारीजस्ता नेता जीवित छैनन् । दोस्रो, उनी ठूलो राजनीतिक दलका अध्यक्ष हुन् । त्यसैले पद र दलको हैसियतले उनको अहंकार बढेको हो । तेस्रो, समकालीन अन्य दलका नेताको छवि गिर्दो अवस्थामा छ । कोही दलको उच्च पदाधिकारीका साथै अनुभवको कारणले मात्रै नेतामा गणना हुन पुगेका छन् । तिनमा समाज रूपान्तरणको ‘भिजन’ बिलकुलै छैन । कोही रूपान्तरित नेताको छविबाट राजनीतिक व्यवस्थापनमा रूपान्तरित हुन गएका छन् । आफैँले देखाएको परिवर्तनको सपना विगतको कथामा सीमित हुँदै सत्ता राजनीतिको चलाख खेलाडीमा गनिन पुगेका छन् । चौथो, चोथाले नेताको छविलाई फुल्न/फल्न दिने तथाकथित बुद्धिजीवी, कलमबाज र मिडियाले पनि ओलीलाई हौस्याएका छन् । पाँचौँ, नेपाली कांग्रेसलाई पछारेर एमाले पहिलो राजनीतिक दल हुँदै छ भन्ने ओलीको आत्म मूल्यांकन छ । त्यसले पनि उनको अहंकार बढाएको छ । छैटौँ, अखबारहरूमा आए अनुसार ओलीले जे कुराको औषधि सेवन गरिरहेका, त्यसको असरले पनि मान्छेलाई मै हुँ भन्ने बनाउँछ । यिनै कारणले गर्दा ओलीमा अहंकार बढेको बुझ्न सकिन्छ । 

चोथाले नेता, खास समयकालमा देखापर्ने तत्कालीन परिस्थतिको उपज हो, दीर्घकालीन होइन । राजनीति भद्रगोल भएका बेला र समाज विभाजित हुने अवस्थामा ओलीजस्ता व्यक्तिको महत्त्व देखा पर्छ । तर, राजनीतिक स्थिरताको अवस्थामा, लोकतन्त्र संस्थागत हुँदै जाँदा र समाजको विभाजनको खाडल घट्दै जाँदा यस्ता असामान्य स्वभावको चरित्र बोकेका नेताको औचित्य हुँदैन । 

ओलीमा अहंकार त बढेको छ नै, उनलाई देवत्वकरण पनि गरिँदै छ पछिल्ला दिनहरूमा । देवत्करणका लागि उनी निकटहरूले लबिङ गरिरहेका छन् । नेतालाई देवत्वकरण गर्दा तिनले आफ्नो हैसियत, क्षमता, सामथ्र्य सबै बिर्सन्छन् भन्ने निकटस्थहरूले बुझेकै छैनन् । अहंकार र देवत्वकरण दुवैले राष्ट्रिय एकतालाई खलल पुर्‍याउँछ । एउटा समुदायले कहिल्यै नमेटिने गरी घृणा पालेर बस्छ । यति कुरा बुझिदिए नेतामा अहंकार बढ्ने र देवत्वकरण गर्ने संस्कार बस्ने थिएन । यो सत्य बुझ्न र आत्मसात् गर्न सके अति अनुयायीहरूले पनि देवत्वकरण गर्ने थिएनन् कि !

प्रकाशित: चैत्र २९, २०७३