मखमली प्रेम

  • गीत गाउँदा जवानी फर्किएको अनुभव हुन्छ प्रेमध्वजलाई । ‘सफ्ट मेलोडी’ अर्थात् मखमली स्वरका लागि चिनिएका प्रेमध्वज झन् झन् फुर्तिला हुन पुग्छन् ।

- राजकुमार बानियाँ

सदाबहार गायक भन्ने ‘टाइटल’ सोह्रैआना सुहाउँछ, प्रेमध्वज प्रधान, ८१, लाई । साढे ६ दशकदेखिको चिरपरिचित आवाज अहिले पनि नयाँ एल्बमको तयारीमा छ । आठवटै गीतको कम्पोज आफैँले गरेका उनलाई ‘जीवन फूल हो कि भूल ?’को मिक्सिङ र मास्टर्सले व्यस्त बनाएको छ । 

गीत गाउँदा जवानी फर्किएको अनुभव हुन्छ प्रेमध्वजलाई । ‘सफ्ट मेलोडी’ अर्थात् मखमली स्वरका लागि चिनिएका प्रेमध्वज झन् झन् फुर्तिला हुन पुग्छन् । नेपाली सुगम संगीतमा उनको स्थान तलत महमुद, मेहदी हसनको हाराहारीमा छ । 

आफ्नो जमानाका यी स्टाइलिस गायकको पुख्र्यौली थलो सिन्धुपाल्चोकको चौतारा हो । काठमाडौँमा घर नभएकालाई छोरी नदिने भएकाले उनका जमिनदार बाजे उत्तरध्वजले बांगेमुढाको नघल: टोलमा घर किनेका रहेछन् राणाकालमा । उनका जिजुबाजे नारायणकृष्ण र बाजे शास्त्रीय संगीतका सोखिन थिए भने बाबु र आमा दुवै कलाकार । 

असनमा हुर्किएकी उनकी आमा १० वर्षको उमेरमा नारायणहिटी राजदरबार छिरेकी रहिछन् । दरबारमा तबला र हार्मोनियमको तालिम पाएकी उनी राजा त्रिभुवनकी आमाकी प्रियपात्र भइन् । उनले रेडियो नेपालमै प्रत्यक्ष गीत गाइसकेकी थिइन् । 

राजदरबारकै एक नाट्य कार्यक्रममा उनका बाबु रत्नध्वज प्रधान र आमा प्राणदेवी तुलाधरबीच हेराहेर भयो, मन परापर भयो । र, बाजेको इच्छाविपरीत दुवैले प्रेमविवाह गरेकाले प्रेमध्वजको बाल्यकाल त्यति सुखद हुन सकेन । 

राणाकालीन समाज जातभातमा कट्टर थियो । नेवारभित्रै पाँच थरी र ६ थरीको छुवाछूत थियो । प्रधान र तुलाधरबीच त छोएको नखानेसम्म । प्रेमध्वज ६ वर्षको छँदा बाबुआमाबीच सम्बन्धविच्छेद भयो । महाराज जुद्धशमशेरले बाबु रत्नध्वजलाई हनुमानढोका थानामा बोलाएर सम्बन्धविच्छेद गर्न लगाएको प्रेमध्वजको कथन छ ।

त्यसपछि डेरा बास भयो आमा–छोराको । प्रेमध्वज कहिले जमलमा आमासँग बस्थे भने कहिले बाबुको कपडा पसल मखनमा । उनले आमासँगै त्रिताल, दादरा, कहरवा तालमा तबला बजाउन सिके । सात–आठ वर्षको उमेरमा उनको अक्षरारम्भ भयो । बाल्यकालमा उनको बोलाउने नाम थियो, गणेशध्वज । पछि, विश्व निकेतन स्कुलमा प्रधानाध्यापक प्रेमबहादुर श्रेष्ठले आफ्नै नाम लेखिदिएछन्, प्रेमध्वज । 
इन्द्रजात्राका बेला ज्यापू नाच हुन्थ्यो डबलीमा । केटी बनेर नाच देखाउने व्यक्ति अचानक बिरामी परेछन् । अनि, त्यहाँ नाच हेर्न पुगेका प्रेमध्वजलाई कसैले भन्यो, ‘यो केटो राम्रो छ । यसैलाई केटी बनाएर नचाउनुपर्छ ।’ सुरुमा त प्रेमध्वजले मानेनन् । तर, शान्ति निकुञ्जमा कक्षा फड्किएर चार कक्षामा भर्ना पाउने भएपछि तयार भइहाले ।

नाचगानमा अभ्यस्त प्रेमध्वजले ००९ मै रेडियो नेपालमा स्वरपरीक्षा दिए । उस्ताद भैरवबहादुर थापाको शब्द र संगीतमा ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा ।’ जाँचकी थिए, वाद्यशिरोमणि उस्ताद गणेशलाल श्रेष्ठ । पछि उनैसित १५ महिना शास्त्रीय संगीतको शिक्षा लिए । पैसा तिर्न नसकेको बदलामा उनले त्यो अवधिभरि दुवै आँखा नदेख्ने गुरुलाई घरदेखि रेडियो नेपाल लैजाने–ल्याउने काम गरे ।

“म एकैचोटि क श्रेणीको गायक भएँ । रेडियो नेपालले महिनाको दुई–तीनवटा गीत गाउन बोलाउँथ्यो,” उनी सम्झिन्छन्, “एउटा गीत गाएबापत १० रुपियाँ आउँथ्यो, आफूलाई पाकेट खर्च एक रुपियाँ राखेर बाँकी आमालाई दिन्थेँ ।” बिस्तारै उनी गीतकार राममान तृषितको संस्था नवकला परिवारमार्फत काठमाडौँका कार्यक्रममा सक्रिय भए ।

त्यतिबेलासम्म रेडियो नेपालमा सबथोक प्रत्यक्ष प्रसारण मात्रै हुन्थ्यो । देश दुनियाँ आफ्नो स्वरमा लठ्ठिसक्दा पनि प्रेमध्वजले आफ्नै गीत सुन्न पाएका थिएनन् । ०१२ मा आएर अमेरिकी दूतावासले पुरानो रेकर्डिङ मेसिन दियो । त्यसको दुई वर्षपछि तारादेवीसँग उनको पहिलो गीत रेकर्ड भयो, ‘यो नेपाली शिर उचाली...’, भूपी शेरचनको शब्द र नातिकाजीको संगीतमा ।

आफ्नै देशमा, आफ्नै रेडियोमा, आफ्नै स्वर सुन्न पाउनु अहोभाग्य सम्झन्छन् प्रेमध्वज । प्रौढ शिक्षा निकेतन (नाइट स्कुल)बाट ०१० को एसएलसीमा फेल भए उनी । संस्कृतमा उत्तीर्णांक १६ थियो, उनको आठ अंक पुगेन । दुई वर्षजति भारततिर भौँतारिएर पद्मोदय स्कुुलमा भर्ना भए र एसएलसी गरे । बाबुको इच्छा थियो इन्जिनियर बनाउने । त्रि–चन्द्रमा आईएस्सी पढेका पनि हुन् । तर, हैजाका कारण परीक्षा छुटेपछि सरस्वती कलेजबाट आईए र बीए गरे । 

सधैँभरि बाबुको कपडा पसलमा बस्न मन लागेन उनलाई । यसबीचमा टाइपिङ पनि सिकेकाले रेडियो नेपालका हाकिमलाई गुहारे । त्यतिबेला टाइपिस्टको तलब सय रुपियाँ थियो । उनले त्यसको आधा दिए पनि हुन्छ भन्दा पनि काम पाएनन् । 

त्यसपछि साथी श्यामबहादुर थापासँग अमेरिकन लाइब्रेरी पुगेछन् प्रेमध्वज । जागिरको आशामा त्यहाँ २२ दिनजति स्वयंसेवीका रूपमा काम गरे । गुजाराका लागि तीन ठाउँमा जनही १२ रुपियाँ लिने गरी ट्युसन पढाए । रेडियोमा गीत गाएर आमा–छोराको केही भरथेग हुन्थ्यो ।

०१७ मा हरेस खाएर साथी श्यामबहादुरसित भारत भासिने मनस्थिति बनाइरहेका बेला अमेरिकन लाइब्रेरीबाट उनलाई बोलावट आयो । लाइब्रेरी प्रमुख नन्दरामभक्त माथेमाले भनेछन्, ‘आजैदेखि काम सुरु गर । तलब दिनको पाँच मोहोर भारु ।’ 

नभन्दै प्रेमध्वजले लाइब्रेरीको अमेरिकी सूचना केन्द्रमा टाइपिस्टको जागिर पाए । दुई महिनापछि रेडियो नेपालबाट पनि खबर आयो । तर, उनले वास्तै गरेनन् । केही महिनामै स्थायी पनि भए । त्यहाँ काम गर्नुको फाइदा के भने संसारका खबर थाहा हुन्थ्यो उनलाई । भियतनामदेखि कोरियाको लडाइँसम्म । 

अलिकति पैसा जम्मा भएपछि मुम्बई गए ०१८ मा । लङ लेइङ डिस्कमा चारवटा गीत रेकर्ड गराए । एउटा गीतको खर्च दुई सय भारु लाग्थ्यो । त्यतिबेलाकै गीत हुन्, ‘गोरेटो त्यो गाउँको...,’ ‘माया नमार मायालु.... ।’ बर्सेनि पैसा भयो कि मुम्बई पुगिहाल्थे प्रेमध्वज । हरेकचोटि चार–चारवटा गीत रेकर्ड गराउँथे । पछि गएर रत्न रेकर्डिङ संस्थानले उनका १२ वटा गीत नि:शुल्क रेकर्ड गरिदियो । त्यसबेला उनले जे गायो, त्यो हिट भइहाल्थ्यो । राष्ट्रिय गीत, नेवारी गीत होस् या भजन । रेडियो नेपालमा ३ सय ४० वटा आधुनिक गीत रेकर्ड गराएछन् प्रेमध्वजले । तर, पछि त्यहाँ जाँदा ५६ वटाभन्दा बढी भेटेनन् उनले । 

नेपाल भाषाको ‘बाला बाला चिंगु मिखा:’ रक एन्ड रोल स्टाइलमा गाएका थिए प्रेमध्वजले । ‘राजमती कुमती’ उनको ‘सिग्नेचर’ गीत हो । प्रेमध्वजले आमाकै संगीतमा चारवटा भजन गाएका छन् । त्यतिबेला सेलिब्रिटी गायक तीन जना मात्रै थिए, बच्चुकैलाश, नारायण गोपाल र प्रेमध्वज । तिनका आवाजमा सुगम संगीतको बास्ना थियो । “हामीबीच त्यस्तो कुनै प्रतिद्वन्द्विता थिएन,” उनी भन्छन्, “थियो भने उसले गीत रेकर्ड गर्‍यो, म पनि गर्छु वा उसले राम्रो गायो, म पनि राम्रो गाउँछु भन्ने सकारात्मक भावना मात्रै ।” 

प्रेमध्वजले सांगीतिक जोडी बनाएका थिए माणिकरत्नलाई । प्रेम–माणिककै कारण नारायण गोपाल रेडियो नेपालको माइक्रोफोन समाउन पुगेका थिए । तर, प्रेम–माणिकका कुनै गीत नारायणले गाएनन् । बरू ०१५ मा प्रेमध्वजका काका भक्तध्वज उम्मेदवार बनेका बेला नारायण चौतारासम्म पुगेका थिए । नारायण गोपालसँग छुटानाम भइहाल्यो, बच्चु कैलाशसँग अझै दोस्ती छ ।
०२३ मा माइतीघर सिनेमाको सुटिङका लागि संगीतकार जयदेव र हिरोइन माला सिन्हा आएको हल्ला सुने उनले । तिनताका प्रेमध्वज, नारायण गोपाल र भूपी शेरचनको भेटघाटको थलो थियो, धर्मपथको पारस होटल (अहिले पिनट्स भएको ठाउँ) । माइतीघरमा गीत गाउनका लागि नाम लेखाए उनले । एक दिन डेपुटी प्रोडक्सन म्यानेजर किशोर तिमिल्सिनाले भने, ‘गीत रेकर्डका लागि तिमीलाई नै लैजाने भयौँ ।’ 

अनि के थियो र ? अफिसबाट एकमहिने छुट्टी लिएर मुम्बई हानिए प्रेमध्वज । उनलाई आशा भोसलेसँग पाश्र्व स्वर दिने भनिएको थियो, गाए उनकै बहिनी उषा मंगेशकरसँग । बोल थियो, ‘नमान लाज यस्तरी... ।’ निजी क्षेत्रबाट बनेको पहिलो सिनेमा थियो त्यो । १५ वटा गीत थिए फिल्ममा । फिल्मकी नायिका माला सिन्हा मखमली आवाजका धनी प्रेमध्वजलाई खुब मन पराउँथिन् र सुटिङको चार्टर्ड प्लेनमा सँगै पोखरा पनि लगिन् । फेवातालको डुंगामा बसेर सँगै गीत पनि गाइन् । 
त्यतिबेला जम्मा २८ वर्षका थिए प्रेमध्वज तर अत्यन्त लजालु । आमाबाबुको डिभोर्सले उनको बालमनोविज्ञानमा बडो असर गरेको थियो । प्रेमविवाह असफल हुन्छ भन्ने छाप परेकाले कहिल्यै प्रेमको भाषा अभिव्यक्त गरेनन् । “मालाले मलाई ग्य्राजुएट गरेर मुम्बई आउन भनेकी थिइन्,” उनी सम्झिन्छन्, “तर, म आमालाई एक्लै छाड्न सक्ने अवस्थामा थिइनँ ।”

 मुम्बईको महानगरीय जीवन हेर्ने रहर नभएको होइन, प्रेमध्वजलाई । मुम्बई त्यस्तो मायानगरी थियो, नायक बन्न गएका गायक बन्थे, गायक बन्न गएका नायक । आखिर प्रेमध्वज भारतीय विद्याभवनमा संगीत सिक्ने मनसुवाले एक वर्ष बेतलबी बिदा लिएर गए पनि । उनलाई सुनेपछि प्रशिक्षकहरूले ‘तिमीले संगीत सिक्न आवश्यक छैन’ भनेर फर्काइदिए । मालाको अनुरोधमा सत्यकामना फिल्म फेयर अवार्डमा पनि गाए उनले । ‘तुमबिन जाऊँ कहाँ...’ गाउँदा ‘वान्स मोर’ त कति हो कति !
मुम्बई बस्दा ‘माला सिन्हाको ब्रदर’ भन्न थालियो प्रेमध्वजलाई । जयदेवमार्फत मोहम्मद रफी, मुकेश, खय्याम, लक्ष्मीकान्त–प्यारेलाल, मन्ना डे, कल्याणजी–आनन्दजी, मनोहरि सिंहसँग नजिकिए । उनीहरूले प्रेमध्वजलाई उतै राख्न चाहेका थिए । तर, उनी आमा बिरामी छन् भनेर उम्किहाले । त्यसैले त जयदेव उनलाई भनिरहन्थे, ‘आमाप्यासी ।’

त्यतिबेला मनोहरिले १० घन्टा लगाएर उनका १० वटा गीत रेकर्ड गराइदिए । ‘घुम्तीमा नआऊ है...,’ ‘टाढा टाढा भैगयो फेरि...’ ‘तारा मात्र होइन तिमीलाई...’ आदि । त्यतिबेला युरोपेली पोलिडर कम्पनीबाट निकालिएको आफ्नै एल्बम हिमालयन ब्याङ्क्वेट फ्रम सिङ्गिङ् काठमान्डू अमेरिकामा भेटेर कान्छा छोरा कविरले ल्याइदिँदा छक्क परे प्रेमध्वज ।

माइतीघरपछि अन्याय, मायालु, बदलिँदो आकाश, फेरि फेटौँला, जीवनरेखालगायत १२ फिल्ममा पाश्र्व स्वर दिए उनले । बागबजारमा घर बनाएको सात दिनमै उनले महावीर फुटबल क्लबकी खेलाडी किरणकुमारी श्रेष्ठसँग घरजम गरे, फागुन ०२८ मा । त्यतिबेला उनी ३३ वर्षका थिए भने किरणकुमारी १६ वर्ष कान्छी । 

एक महिना फरकका बाबु–आमाबीच डिभोर्स भएकाले उनले धेरै कान्छी किरणलाई रोजेका रहेछन् । दुई छोरा भए, प्रसन्नध्वज र कविरध्वज । अमेरिकामा बसोवास गरिरहेका सफ्टवेयर इन्जिनियर प्रसन्नध्वज पनि गायक हुन् । उनका दुइटा एल्बम छन्, प्रसन्न र इनर्जी । छोराका लागि उनले ‘घुम्तीमा नआऊ है’ र ‘गोरेटो त्यो गाउँको...’ गीतकार रत्नशमशेर थापालाई चार गीत लेखाएछन् । कान्छा छोरा अमेरिकी लिग खेलिसकेका फुटबलर हुन् । प्रेमध्वजले अमेरिकी ग्रिनकार्ड त्यागिसकेका छन् भने छोरालाई अमेरिकी नागरिकता लिन दिएका छैनन् ।

युवाकालमा तीन मोहोर तिरेर १० महिने सैनिक तालिम लिएका प्रेमध्वज एकान्तप्रेमी छन् । बिहान ५ बजे घरभित्रै तीनवटा कोठा मिलाएर ६ हजार पाइला हिँड्छन् । २० मिनेटजति योगा गरेर एक घन्टा रियाज गर्छन् । 

आफ्नै नाममा संगीत प्रतिष्ठान स्थापना गर्ने मनसुवा राखेका छन् प्रेमध्वजले । अनुशासित गायक नै गन्तव्यमा पुग्छ भन्ने मान्यता राख्ने उनका सफलताका सूत्र बेग्लै छन्, गीत रेकर्ड हुने तीन दिनअघिदेखि सम्भोग गर्नुहुन्न, गायकको सबैभन्दा ठूलो सम्पत्ति दाँत हो आदि इत्यादि । 
अमेरिकन लाइब्रेरीमा ३३ वर्ष सेवापछि अवकाश लिँदा ५५ वर्षका थिए उनी । सांगीतिक क्षेत्रमै केही गर्ने हुटहुटी थियो उनमा । त्यही बेला मुद्दा–मामिलाको झमेलामा फसे प्रेमध्वज । तारेख–पेसी भन्दाभन्दै १९ वर्ष बितिहाल्यो । “जागिर छाडेपछि मैले हजारौँ गीत गाउन सक्थेँ,” उनी खेद मान्छन्, “मुद्दा–मामिलाकै कारण दिल फुकाएर गाउन सकिनँ ।”

पित्तथैलीको क्यान्सरबाट बाबु रत्नध्वजको निधन भएको भोलिपल्टै काका भक्तध्वज प्रधानले उनीविरुद्ध मुद्दा हाले । प्रेमध्वज रत्नध्वजका छोरा होइनन् भनेर । उनकी कान्छी आमा गंगादेवीबाट जायजन्म भएको थिएन । उनको नाममा लाजिम्पाटमा रहेका तीनवटा घर नै मुद्दाको कारक थियो । विश्वनाथ उपाध्यायको बेला सुरु भएको त्यो मुद्दा खिलराज रेग्मीको पालामा कात्तिक ०६६ मा आएर टुंगियो । फैसला उनकै पक्षमा आयो । 

पोहोर साल प्रेमध्वजको खुट्टा लरबरिएको देखिछन् भान्जी भुवन मास्केले । फोटो खिचेर अमेरिका पठाइछन् । छोराहरूको जोडबलमा जाँच्दा मगजबाहिर पानी जम्ने रोग हेमाटोमा भएको पत्ता लाग्यो । भित्ता वा ढोकामा टाउको धेरैपटक ठोक्किएमा यस्तो रोग लाग्दो रहेछ । लामो उपचार र ‘बेडरेस्ट’ पछि उनी फेरि संगीतमै जुर्मराएका छन् । र, गोल्डेन भ्वाइसमा गुनगुनाउँदै छन्, ‘जीवन फूल हो कि यो भूल हो ?’ 

प्रकाशित: चैत्र २९, २०७३