यी हुन् छुटाउन नहुने ०७३ का ५ 'नेपाल' आवरण कथा

  • राजनीति, सुशासन कलादेखि इतिहासको समीक्षासम्म

- नेपाल संवाददाता

गुप्तचर प्रतिवेदन अख्तियारलाई: वैशाख २६, २०७३ मा प्रकशित

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई उच्च ओहोदामा पुगेका १९५ व्यक्तिहरूको सम्पत्ति तथा व्यक्तिगत आचार–व्यवहारका बारेमा सूचना संकलन गरी प्रतिवेदनका रूपमा पठाएको छ । तिनै व्यक्तिहरूमाथि अहिले अख्तियारले अकुत सम्पत्ति आर्जनको आशंकामा थप अनुसन्धान गरिरहेको छ ।  पत्र संख्या एवं संकेत नम्बर १११। प्र.नि.स.।२०४।६,०७२/७३ रहेको यो पत्र पठाइएको हो, गत वर्षको १० असोजमा । प्रमुख आयुक्तको निर्देशनमा विभागले राज्यको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई सम्पत्ति जाँचबुझ आयोगकै शैलीमा अनुसन्धानको जिम्मेवारी दिएको यो पहिलो घटना पनि हो । 

 

सरकारी कर्मचारीहरूले उनीहरूले सेवा प्रवेशपश्चात् जोडेको सम्पत्तिको विवरण, व्यक्तिगत आचरणदेखि केकस्ता व्यक्तिहरूसँग बसउठ छ भन्नेसमेत त्यसमा उल्लेख छ । विवादित र आपराधिक व्यक्तिहरूसँगको बसउठ, लेनदेन र कारोबारका विषयहरू पनि विवरणमा समावेश छन् । त्यति मात्र होइन, अकुत सम्पत्ति कुन–कुन अवधिमा कुन–कुन प्रकरणमा जोडेको हुन सक्छ भनेर समेत विश्लेषण गरिएको छ । (रामबहादुर रावलले लेखेको उक्त स्टोरी पूरा पढ्न यहाँ क्लिक गर्नुहोस्) 

***

बदनाम विमानस्थल: श्रावण ३०, २०७३ मा प्रकशित

बाह्य मुलुकहरूसँग जोड्ने नेपालको एक मात्र अन्तर्राष्ट्रिय हवाई मार्ग कसरी संगठित तवरमा अवैध गतिविधिको मार्ग बन्दै छ भन्ने यस्ता फेहरिस्त प्रशस्त छन् । नक्कली भारु, अवैध विदेशी मुद्रा र सुन तस्करीदेखि लागूऔषध कारोबार, हतियार तथा मानव ओसारपसार र भन्सार छलीसम्मका गिरोहको सञ्जालले बाँधेको छ विमानस्थललाई । (मनबहादुर बस्नेतले लेखेको उक्त स्टोरी पूरा पढ्न यहाँ क्लिक गर्नुहोस्) 

***

म दूर भएर के भो...: जेष्ठ ३०, २०७३ मा प्रकशित

संगीतज्ञ अम्बर गुरुङको सम्मानमा उनको निधन भएको साता आवरण अविचुरी लेखेको थियो । पूर्वीय र पाश्चात्य संगीतका गहिरो अध्येता अनि नेपाली लोक तथा परम्परागत संगीतका ज्ञाता थिए अम्बर । ‘एक जुगमा एक दिन एकचोटि’ जन्मिने यस्ता संगीत साधकलाई प्रज्ञा–प्रतिष्ठानले २८ वर्ष सिर्फ जागिर दियो तर उनको सिर्जनशील प्रतिभालाई पुष्पित र पल्लवित हुने परिवेश दिन सकेन । उनको प्रतिभा रातो जिल्दा भएको पहेँला पन्नाको बायाँ कुनामा गीतका बोल र दायाँ कुनामा स्वरलिपि लेखिएको बहीखाताभित्रै बन्द हुन पुग्यो । यति हुँदाहुँदै पनि अम्बरले संगीतमा विशिष्ट काम गरेर देखाए । नेपालमा दिव्य ४७ वर्ष बिताउँदा नेपाली आधुनिक संगीतका शिखर–पुरुषका रूपमा चिनिए, जानिए ।  (रमण घिमिरेले लेखेको उक्त स्टोरी पूरा पढ्न यहाँ क्लिक गर्नुहोस्) 

***

यसकारण प्रजातान्त्रिक थिएनन् राजा वीरेन्द्र: पुस १०, २०७३ मा प्रकशित

आफ्नो जीवनको अन्त्यतिर राजा महेन्द्रले जे वास्तविकताको बोध गरेर संवैधानिक सुधारको योजना तय गरेका थिए, त्यो वास्तविकता युवा वयका राजा वीरेन्द्रले बुझेनन् वा बुझेर पनि कार्यान्वयन गर्न चाहेनन् । बरू, गद्दीमा बस्नासाथ तिनै व्यक्तिलाई शासनसत्तामा स्थान दिन थाले, जसले १ पुस ०१७ को कदमका लागि राजा महेन्द्रलाई उकासेका थिए । उनकै शासनकालमा ४० बढि राजनीतिक नेता कार्यकर्ताको छानिछानी गुप्त हत्या गरियो । राष्ट्रिय मेलमिलापको नीति लिएर फर्केका बीपी कोइरालालाई कुनै रेस्पोन्स गरेनन् । ०४६ को आन्दोलन र ०४७ को संविधानले उनको शक्ति र अधिकारमा अंकुश लगायो । मुख खोलेर बोलेनन् तर अंकुशमा बस्नुपरेकामा जहिल्यै असन्तुष्ट रहे । (सीताराम बरालले लेखेको उक्त स्टोरी पूरा पढ्न यहाँ क्लिक गर्नुहोस्) कागजी लोकतन्त्र ('नेपाल सर्वेक्षण' सहित): फाल्गुन ३, २०७३ मा प्रकशित

जनताले विसं २००७ मा राणा शासन हटाए, प्रजातन्त्र ल्याए । तर, जनताले मताधिकार प्रयोग गर्न साढे आठ वर्ष कुर्नुपर्‍यो । ०१५ मा निर्वाचन भएर बीपी कोइरालाको प्रधानमन्त्रित्वमा जननिर्वाचित सरकार पनि बन्यो तर डेढ वर्षमै राजा महेन्द्रद्वारा ‘कू’ भयो, प्रजातन्त्रको घाँटी निमोठियो । र, ३० वर्षसम्म एकछत्र निर्दलीय पञ्चायती शासन चल्यो । ०४६ मा प्रजातन्त्रको पुन:बहाली भयो तर एकथरीले परिवर्तनलाई आंशिक समर्थन गरे भने अर्काथरीले त झनै त्यसविरुद्ध हतियार नै उठाए । १० वर्षमा १७ हजार मानिसको ज्यान लिएको सशस्त्र विद्रोहको अवतरण भयो, ०६३ मा । त्यसयताको लोकतान्त्रिक अभ्यास खास गरी जनतामा ‘डेलिभर’ गर्ने सन्दर्भमा कमजोर हुँदै गइरहेको छ ।

दशकयता नेपाली समाजले सबैभन्दा बढी प्रयोग भएको राजनीतिक शब्दावली पनि लोकतन्त्र नै हो । तर, नेपाल संसारको कम लोकतान्त्रिक मुलुक त हुँदै हो, यहाँ लोकतन्त्रको अभ्यास पनि टीठलाग्दो मात्र छ । विडम्बना यतिसम्म छ कि, लोकतन्त्रको ग्राफमा देश राजतन्त्रात्मक मुलुक भुटानभन्दा पनि तल छ । (बाबुराम विश्वकर्मा र रामबहादुर रावलले लेखेको उक्त स्टोरी पूरा पढ्न यहाँ क्लिक गर्नुहोस्, सर्वेक्षण: यो लोकतन्त्र, के लोकतन्त्र !) 

 

प्रकाशित: चैत्र २९, २०७३