आवरण कथा» अभिमानी ओली

  • देवत्वकरणका कारण एमाले अध्यक्षमा अहंकार भाव जागृत

- माधव बस्नेत

नेकपा एमालेको मुख्यालय धुम्बाराहीमा स्थायी समिति बैठक भइरहेको थियो, १३ चैतमा । बैठकको अध्यक्षता गरिरहेका थिए, अध्यक्ष केपी शर्मा ओलीले । बैठकमा लामो समयदेखि विवादमा रहेको पर्सा जिल्ला कमिटी विघटन गर्ने सन्दर्भ उठ्यो । पर्सा जिल्ला अध्यक्ष चिरञ्जीवी आचार्य थिए, माधव नेपाल पक्षधर । आचार्यको स्थानमा अर्कैलाई ल्याउने टुंगो लागेपछि उनलाई केन्द्रीय सल्लाहकार परिषद्मा मनोनित गर्न पटक–पटक अनुनय भावमा आग्रह गरिरहे, नेपालले अध्यक्ष ओलीसमक्ष । तर, ओलीले वास्तै गरेनन् । बरू, आफूभन्दा अघि नै पार्टी प्रमुख र प्रधानमन्त्री भइसकेका नेपालको आग्रहलाई ‘ए त्यसो पो !’ भन्दै उपेक्षा नै गरे । 

ओलीको यो शैलीलाई उपमहासचिव घनश्याम भुसालले पचाउन सकेनन् । उनले नेपालतिर फर्कंदै भने, ‘हुन्दिनूस् । उहाँले आचार्यलाई सल्लाहकार परिषद्मा ल्याउनुहुन्न । किनभने, उहाँले आफ्ना गुटका बाहेक अरूलाई च्याप्नुहुन्न ।’ यति कडा प्रतिक्रिया आएपछि ‘जुनियर’ले ठाडठाडै बोल्ने भन्दै ओलीले भुसाललाई नै दपेटे । भुसाल पनि के कम ! उनले ‘कुरा सिनियर, जुनियरको होइन, तथ्यको हो । सिनियरकै कुरा गर्ने हो भने तपाईंभन्दा सिनियर पनि छन् । उनीहरूलाई तपार्इंले कति मान्नुभएको छ ?’ भने । ‘मभन्दा सिनियर को छ ?’ ओलीले प्रश्न गरे । महासचिव ईश्वर पोखरेलले थपे ‘भर तमोहन अधिकारी हुनुहुन्छ ?’ यसपछि ‘बैठक बस्ने वातावरण नै छैन’ भन्दै अध्यक्ष ओली जुरुक्कै उठेर हिँडे । अध्यक्ष नै हिँडेपछि बैठक अघि बढ्ने कुरै भएन । त्यसरी अवरुद्ध भएको बैठक २१ चैतमा मात्र हुन सक्यो ।

पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका एमाले कमान्डर ओली अरूलाई होच्याउने र आफूलाई नै नेपाली राजनीतिको मियो ठान्ने अहंकारले ग्रस्त छन् यतिबेला । त्यसैको प्रतिनिधि घटना हो, स्थायी समिति बैठकको उक्त दृश्य । ओली अहंकारको पारो अहिले यसरी बढेको छ कि उनी आफू र अति निकटका केही व्यक्तिलाई बाहेक अरूलाई राष्ट्रवादी र सही देख्नै छाडेका छन् ।

आफूसँग असहमत हुने व्यक्ति वा समूहलाई जति दुर्वाच्य बोले पनि, जति अपमान गरे पनि हुन्छ भन्ने उनको मनोविज्ञान अहिले उत्कर्षमा छ । जस्तो : एमालेले १४ चैतमा कुपण्डोलस्थित हिमालयन होटलमा करिब डेढ सयजति बुद्धिजीवीलाई बोलाएर बृहत् विद्वत्सभा गर्‍यो । त्यहाँ अध्यक्ष ओली त हुने नै भए, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका शीर्ष नेताहरूको पनि उपस्थिति थियो । दुई पूर्वप्रधानमन्त्रीलाई दायाँबायाँ राखेर कार्यक्रमको अध्यक्षता गरिरहेका ओलीले दुवैलाई एक शब्द पनि बोल्न दिएनन् । कार्यक्रम जति समय चल्यो, ओली एकलौटी ढंगले प्रस्तुत भइरहे । नेपालले पटक–पटक बोल्न चाहेको बुझिन्थ्यो । तर, ओलीले उनलाई मौका दिनै चाहेनन् । 

आफूसँग असहमत दलसँग जनताको तहमा देखिने गरी संवाद अघि नबढ्नुमा अध्यक्ष ओलीको कार्यशैलीसमेत केही हदसम्म जिम्मेवार रहेको कताकता आभास पाउँछन्, एमाले पोलिटब्युरो सदस्य विजय पौडेल । पौडेलका शब्दमा राष्ट्रियताका विषयमा, समसामयिक सन्दर्भमा ओलीले लिएको अडान ठीक छ । प्रतिकूल स्वास्थ्यस्थितिका बाबजुद पनि उनी निरन्तर खटिरहेका छन् । तर, राजनेता नै हुने स्तरको काम भने गरेका छैनन् । पौडेल भन्छन्, “लामो त्याग गरेर, जेल बसेर ओली राजनीतिमा स्थापित हुनुभएको हो,” पौडेलको कथन छ, “उहाँको समस्या भनेको पार्टीभित्र न्याय नगर्ने, गुटका मात्र कुरा सुन्ने, आफूलाई जे लाग्यो त्यो मात्र सही ठान्ने, कतिपय सन्दर्भमा उत्तेजक अभिव्यक्ति दिने, देवत्वकरण गरेको रुचाउने हो ।”

क्लासिक कम्युनिस्ट कला
३ असोज ०७२ मा संविधान जारी हुनुअघि ओलीसँग बाक्लै संगत गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तत्कालीन सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालका बुझाइमा ओलीको बोल्ने शैली एकदमै घोचपेचको हुन्थ्यो । तर, उनी अरूलाई जति घोचपेच गर्छन्, आफूमाथि त्यस्तै प्रहार भए सहन सक्तैनन् । संविधान जारी गर्ने बेलामा पनि ओलीको प्रस्तुति र अभिव्यक्तिले कठिनाइ परेको रिजाल बताउँछन् । “ओलीजीमा अहंकार एकदमै बढेको र उहाँलाई देवत्वकरण गर्दै गरेको देखिन्छ,” रिजाल भन्छन्, “साँच्चिकै अहंकार बढेको हो वा निर्वाचनअघि त्यस किसिमको छवि बनायो भने फाइदा हुन्छ भनेर हो, समयले मात्र बताउला ।” 

नेकपा एमालेले आफूलाई कांग्रेसभन्दा पनि एक कदम अघि बढेर प्रजातान्त्रिक भइसकेको दाबी गरिहेको छ । तर, ओलीका हकमा भने पुराना कम्युनिस्ट पार्टीको संस्कृति बाँकी नै रहेको आभास पाइन्छ । त्यो कसरी भने पुर ाना कम्युनिस्ट पार्टीमा नेताहरूको आलोचना गर्ने होइन, कमजोरी खुट्याइदिने होइन, नेताको देवत्वकरण गर्नुपर्छ भन्ने संस्कृति थियो । रिजाल थप्छन्, “ओलीजीमा पुराना कम्युनिस्टको संस्कृति जरा गाडेर बसेको देखिन्छ ।”

पद्धतिप्रति निरन्तर उपेक्षा
कुनै पनि व्यक्तिको आलोचना खास गरी दुई प्रकारले हुन्छ । पहिलो, कसैको गल्ती भेटियो भने त्यसबाट उठ्नै नदिन । दोस्रो, गल्तीबाट सच्चिँदै फेरि–फेरि गल्ती नदोहोर्‍याओस् भनेर असल मनसायले । यद्यपि, ओलीले भने दोस्रो कोणबाट गरिएको आलोचनालाई समेत प्रतिशोधका रूपमा लिने गरेको गुनासो उनकै पार्टीपंक्तिमा समेत व्याप्त छ । उनका आलोचकहरू त कतिसम्म भन्छन् भने असल नियतले नै सही, आफ्ना कमजोरी खुट्याइदिनेलाई निरन्तर उपेक्षा गर्छन् ओली । 

यस्तै आलोचना गर्नेमध्येका एक उपमहासचिव भुसाल नै हुन् । तर, ओलीले चाहिँ उनका आलोचनालाई समेत प्रतिशोधका रूपमा लिएर महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुग्न लाग्दा पनि भुसाललाई कुनै जिम्मेवारी दिएका छैनन् । महाधिवेशनमा भुसालले अघि सारेको विचार पारित भएकाले उनी पार्टी स्कुल विभाग प्रमुख हुन चाहन्थे । कम्युनिस्ट पार्टीमा स्कुल विभागलाई महत्त्वपूर्ण मानिन्छ । त्यो विभाग भुसाललाई नदिनकै लागि ओली आफैँ प्रमुख भए । र, स्थायी समिति सदस्य शंकर पोखरेललाई जिम्मा लगाए । भुसाल त एक प्रतिनिधि पात्र मात्र हुन्, आफूसँग फरक मत राख्ने सुरेन्द्र पाण्डे, पर्शुराम मेघी गुरुङ, विजय पौडेललगायत थुप्रै नेतालाई ओलीले काम चलाउ विभागका जिम्मेवारी दिएर थन्क्याइदिएका छन् । 

पार्टीभित्र ओलीको मनमौजी कतिसम्म छ भन्ने बुझ्न मन्त्री प्रकरण नियाल्दा छर्लंग हुन्छ । ०७० को संविधानसभापछि सुशील कोइराला नेतृत्वको सरकारमा पार्टी सचिव भीम आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए । वरिष्ठ नेता झलनाथ खनालबाहेक कसैलाई पनि पत्तो नदिई ओलीले आचार्यलाई हटाएर उनको स्थानमा आफू निकटस्थ कार्यकर्ता दीपक अमात्यलाई नियुक्त गरे । अमात्य पनि मन्त्री भएको लामो समय बितेकै थिएन, ओलीले कसैलाई सुइकै नदिई उनलाई पनि मन्त्रिपरिषद्बाट फिर्ता गरिदिए र विवादास्पद छविका कृपासुर शेर्पालाई मन्त्री बनाए । यता सुशील कोइराला नेतृत्वको सरकारमै उद्योग मन्त्री रहेका आफू निकटस्थ कर्ण थापालाई किन हटाएको भन्ने कारण अहिलेसम्म कसैलाई थाहा छैन । थापालाई हटाएर ओलीले विवादास्पद छविका आफ्ना अर्का सहयोगी महेश बस्नेतलाई मन्त्री बनाए । सरकारमा सहभागी, पार्टीको उपल्लै वरीयताक्रममा रहेका यतिका मन्त्री हटाउँदा ओलीले न त सचिवालय–स्थायी समिति बैठक राख्नु आवश्यक ठाने, न त कसैलाई पूर्वजानकारी दिनु कर्तव्य सम्झिए । कतिसम्म भने उनीहरूलाई हटाउनुको औचित्य पनि प्रमाणित गर्न आवश्यक ठानेनन् । 

मन्त्रिपरिषद्मा सहभागी व्यक्तिका सवालमा मात्र होइन, सभासद्, संसदीय दलको प्रमुख सचेतक नियुक्तिमा पनि ओलीले जंगे शैली नै अपनाएका छन् । ०७० को संविधानसभाअघि नै एमालेमा ०६४ को संविधानसभामा समानुपातिक सभासद् रहेका सदस्यहरूलाई फेरि नदोहोर्‍याउने सहमति भएको थियो । पूर्वसहमति विपर ीत ओलीले विश्वास–पात्र अग्नि खरेललाई सभासद्मा दोहोर्‍याएरै छाडे । यति मात्र होइन, सामान्यतया संसदीय दलको प्रमुख सचेतक प्रत्यक्ष निर्वाचनबाट विजयीलाई नै बनाइन्छ । तर, ओलीले प्रत्यक्षबाट निर्वाचित सभासद्लाई प्रधानता दिने प्रचलनलाई पछ्याउन जरुरी ठानेनन् । अग्नि खरेल हुन् वा भानुभक्त ढकाल, दुवैपटक नै समानुपातिक सभासद्लाई प्रमुख सचेतक नियुक्त गरे । 

कुनै समय ओलीका दौतरीसमेत रहेका एमाले केन्द्रीय सदस्य राधाकृष्ण मैनालीका भनाइमा ‘म आफैँ ज्ञाता हुँ । मैले कसैको सल्लाह लिनुपर्दैन’ भन्ने अहंकारयुक्त बुझाइ छ ओलीमा । अनि, सबैले आफूलाई पूजिदिऊन् भन्ने पनि चाहन्छन् उनी । यही बुझाइकै कारण प्रधानमन्त्री हुँदा ओलीले सल्लाह दिनै नसक्ने, अह्रन–खटन मान्ने पात्रहरूलाई केवल जागिर मात्र दिलाउनका लागि सल्लाहकार नियुक्त गरेका थिए । पार्टीभित्र होस् वा बाहिर ओली कसैको पनि सल्लाह लिँदैनन् । “प्रधानमन्त्री हुँदा कसैको सल्लाहमा नचलेकै कारण ओली नेतृत्वको सरकारी मोर्चा लामो समय टिकेन,” मैनाली भन्छन्, “भारतलाई झुकाएँ, चीन मेरो साथमा छ । त्यसैले एसियामा नै म बराबरको नेता अर्को छैन भन्ने भ्रममा ओलीको अहंकार बढेको हो ।” आफ्ना भाषणबाट आफैँ उत्तेजित भएर देशभित्रका बहुमत जनताले ‘मलाई मात्र स्वीकार्छन्’ भन्ने टुंगोमा पुगेपछि ओलीको अहंकार चुलिएको मैनालीको ठम्याइ छ ।

कपट–कलामा माहिर 
आफूले गरेको वाचामा ओली खासै टिकेको उदाहरण छैन । त्यसको ज्वलन्त उदाहरण त असोज ०७२ मा बालकोट, भक्तपुरस्थित निवासमा तत्कालीन एमाओवादीका शीर्ष नेताहरूसँग जे सहमति गरेका थिए, ओलीले त्यो सहमतिलाई नै मानेनन्, धोका दिए । यसपछि नै माओवादी विकल्प खोज्न बाध्य भएको हो । सहमति अनुसार बजेट घोषणालगत्तै ओलीले प्रचण्डलाई प्रधानमन्त्री छोडिदिनु पथ्र्यो । तर, उनले ‘कहाँ, कहिले, के सहमति भएको छ ? मलाई थाहा छैन’ भन्न त थाले नै, प्रचण्डलाई पलपलमा अपमान गरेको अहिले पनि दुखेसो पोख्छन् एमाओवादी नेताहरू । “आजसम्म हाम्रो अध्यक्ष प्रचण्डलाई ओलीले जति अपमान अरू कसैले गरेका छैनन्,” प्रधानमन्त्री प्रचण्डका सल्लाहकार चक्रपाणि खनाल भन्छन्, “ओली अरूलाई एकदमै अपमान गर्ने नेता हुन् । हाम्रो अध्यक्षलाई अपमान पनि गरिरहने, उनलाई साथ पनि दिनुपर्ने भएपछि हामी कांग्रेससँगको विकल्पमा गएका हौँ ।” 

प्रचण्डलाई मात्र होइन, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमसँग पनि ओलीले कपटपूर्ण व्यवहार गरिसकेका छन् । नेपाल पक्षधर एक सचिवालय सदस्यका भनाइमा असार ०७१ मा भएको नवौँ महाधिवेशनमा ओलीले खनाललाई राष्ट्रपति बनाउने आश्वासन दिएर उनको समर्थन लिएका थिए । जब आफ्नो उद्देश्य पूरा भयो, खनालसँग गरेको वचनबद्धताको तमसुक च्यातचूत पारिदिए । एक व्यक्ति एक पदको पासोमा टेकेर ओली संसदीय दलको नेता र अध्यक्ष निर्वाचित भएका थिए । त्यसका लागि वामदेव गौतमलाई आफ्नो कित्तामा ल्याए । एमालेमा गौतम यस्ता निर्णायक नेता हुन्, उनी जता खुल्छन्, पार्टीभित्रको समीकरणमा त्यही पक्षले बाजी मार्दै आएको छ । गौतम निकट एक केन्द्रीय सदस्यका भनाइमा ओलीले आफू पार्टी अध्यक्ष भएपछि संसदीय दलको नेता र प्रधानमन्त्री भएपछि कार्यवाहक अध्यक्ष दिने वाचा गरेका थिए । तर, उनले न त संसदीय दलको नेता बनाए, न कार्यवाहक अध्यक्ष नै दिए । ओलीले वाचा तोडेपछि गौतम उनीसँग रुष्ट छन् । 

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराएर संसदीय दलको नेता, पूर्वप्रधानमन्त्री माधव नेपाललाई पराजित गरेर पार्टी अध्यक्ष र बहालवाला प्रधानमन्त्री सुशील कोइरालासँग प्रतिस्पर्धा गरेर ओली प्रधानमन्त्री निर्वाचित भएका थिए । भारतीय संस्थापन पक्ष आफूलाई प्रधानमन्त्री हुन नदिने प्रयत्नमा रहेको बुझेका ओलीले त्यो अवरोध छिचोले । ओली प्रधानमन्त्री निर्वाचित हुनुअघि नै नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाइसकेको थियो । प्रधानमन्त्रीको कुर्सीमा बसेर उनले झन्डै पाँच महिनासम्म नाकाबन्दीको प्रतिरोध गरे । कतिसम्म भने कतिपय राजनीतिक दल र नेताहरू बोल्न नसकिरहेका बेला ओलीले नाकाबन्दीको प्रतिवाद नै गरे । नाकाबन्दी फिर्ता नलिएसम्म आफू भारत भ्रमणमा नजाने अड्डी लिए । अन्तत: केही अनौपचारिक सहमतिपछि भारत नाकाबन्दी फिर्ता लिन बाध्य भयो । यही घटनापछि नै हो, पार्टीभित्रका आलोचक मात्रै होइनन्, आमजनमानसको माझ पनि उनले मुलुकका पक्षमा अडान लिएको भन्दै प्रशंसा कमाए । 

यसपछि त ओलीको अहंकारको पारो एकाएक बढेर गयो । उनी एकाएक राष्ट्रवादी कहलिए । कुनै निश्चित जात र समुदायप्रति आग्रह र पूर्वाग्रहयुक्त टिप्पणी गर्न थाले । उनलाई लाग्दै गयो कि प्रशंसा कमाइरहेका कारण आफूले जे बोले पनि र जे गरे पनि हुन्छ । यही सेरोफेरोमा एमालेभित्रका उनका अनुयायीहरूले ओलीको देवत्वकरण प्रारम्भ गरिदिए (हेर्नूस्, बक्स) । सायद यसैले फुर्किएर होला, आफू निकटका केहीबाहेक अरूका कुरा नसुन्ने, आफूलाई नै सर्वज्ञाता ठान्ने, सबैलाई आफ्नो नठान्ने, पार्टी र राष्ट्र सञ्चालन दुवैमा असहिष्णु व्यवहार प्रदर्शन गर्ने उनको प्रवृत्ति बढेको छ ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलका अनुसार मूलधारको राजनीति गर्ने नेताले समाजलाई धु्रवीकरण गर्नुहुन्न । तर, ओलीको प्रस्तुति र अभिव्यक्तिले समाजलाई धु्रवीकरण गरिरहेको छ । नाकाबन्दीविरुद्ध उभिएका ओलीले एउटै तीरले दुई निसाना ताकिरहेका छन् । “प्रतिपक्षमा पनि ओलीको विरोध गर्दा राष्ट्रवादको विरोध गरेजस्तो अप्ठ्यारो छ,” प्रा पोखरेल भन्छन्, “पार्टीभित्र पनि गलत शैलीको विरोध गर्दा लोकप्रियताबाट डराएर विरोध गरेका हुन् भन्न सजिलो भएको छ । तर, यही कारण ओलीको अहम् भने बढेको छ ।”

स्वाभिमानी हुन खोज्दाखोज्दै बाटो बिराएर अभिमानको बाटोमा हिँडिरहेका ओलीले समय छँदै आफूलाई सच्याए, उनको र ाजनीतिक उचाइलाई उनका आलोचकले एक इन्च पनि घटाउन सक्ने छैनन् । 

देवत्वकरणको प्रयास

राजधानीको माइतीघर मण्डलामा गत २८ मंसिरमा फरक चहलपहल थियो । त्यहाँ ठूलो र ाष्ट्रिय झन्डा फहराइएको थियो । कारण थियो, एमाले अध्यक्ष केपी ओलीमाथि बनाउन लागिएको रातो सूर्य फिल्मको शुभ–मुहूर्त । ओलीकै प्रमुख आतिथ्यमा फिल्मको मुहूर्त भयो । जीवित राजनीतिज्ञमाथि फिल्म बन्दै गरेको पहिलो पात्र सायद ओली नै हुन् । फिल्मले ओलीको जीवनका तीनवटा कालखण्ड समेट्ने निर्देशक दीपेन्द्रप्रसाद दाहालको दाबी छ । बुझ्न कठिन छैन, अरू राजनीतिज्ञभन्दा ओली फरक हुन् भन्ने देखाउनका लागि अर्थात् उनको देवत्वकरण गर्नै फिल्म बनाउन लागिएको हो । 

यसै पनि ओली निकट एउटा टिम उनलाई देवत्वकरण गर्न लागिपरेकै छ । खास गरी युवा संघ र अनेरास्ववियुमा आबद्ध एउटा पंक्ति सामाजिक सञ्जालमार्फत ओलीलाई देवत्वकरण गर्न परिचालित छ । ओलीकै चाहनामा उक्त टिम परिचालित भएको जानकारहरू बताउँछन् । युवा संघका एक सचिवालय सदस्य भन्छन्, “अध्यक्षको चाहनाबिना यस्तो अभियान चलाउन सम्भव नै छैन ।” विडम्बना के भने सिंगो देश, जनताले गरेको नाकाबन्दीको प्रतिरोधलाई ओली आफू एक्लैले गरेको भनेर प्रचार गरिरहेका छन् । उनका अनुयायीहरू त्यसैलाई पुष्टि गरेर देवत्वकरण गर्न लागिपरेका छन् । ओली जहाँ जान्छन्, वरिपरि मोटरसाइकल, गाडीको लर्को धेरै हुनु, कार्यक्रमस्थलमा अन्य नेताभन्दा उनलाई फरक ढंगले मान–सम्मान देखाउनु देवत्वकरण नै हो । 

तर, एमाले काभ्रेका पूर्वअध्यक्ष तथा प्रदेश–३ कमिटीका सदस्य रहेका ओलीनिकट नेता गोकुल बाँस्कोटा भने ओलीमा अहम् बढेको तथा उनको देवत्वकरण भइरहेको मान्न तयार छैनन् । एमालेजस्तो पार्टीमा कसैको देवत्वकरण प्रस्तावना नै बन्न नसक्ने उनको तर्क छ । “नेपाली राष्ट्रवादको भ्रुणहत्या गर्ने प्रयास भइरहेको थियो । तर, ओलीले नेपाली राष्ट्रियताको पुन:जागरण गरिदिए । यसबाट आत्तिएको पंक्तिले ओलीमा अहंकार बढेको देखेका हुन्,” बाँस्कोटाको कथन छ, “ओलीको मुद्दा आफूले बोकेर हिरो हुन खोज्नेहरूले देवत्वकरण भयो भन्न थालेका हुन्, अरू केही होइन ।”

 

प्रकाशित: चैत्र २९, २०७३