[झटारो] प्रचण्डबिजोग

- लक्ष्मण गाम्नागे

एउटा प्रसंगमा पूर्वसभामुख सुवास नेम्वाङले भनेको सम्झन्छु, कसैको बिजोग हुँदा किन ‘हरिबिजोग’ भनेर बिजोगसँग ‘हरि’लाई मात्र जोडेको ? अरू कसैको बिजोगै नहुने हो र ? रामबिजोग, घनश्यामबिजोग किन नभएको ?

नेम्वाङजीको जिज्ञासा मनासिब थियो । हरिप्रतिको यो पूर्वाग्रह नै हो । कन्त र हरिको मात्र होइन, बिजोग जसको पनि हुन सक्छ । त्यसकारण हरिबिजोग वा कन्तबिजोग शब्दको सट्टा अबदेखि जसको बिजोग हुन्छ, उसैको नाममा मात्र प्रयोग गर्नुपर्छ । उदाहरणका लागि प्रचण्डबिजोगको चर्चा गरौँ ।   

हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्डको जिम्मेवारी कति धेरै छ, कसलाई थाहा छैन र ! निर्वाचन गराउनु छ । मुलुकलाई निकास दिनु छ । पार्टीको आयतन बढाउनु छ । आफ्नो साख जोगाउनु छ । इतिहासमा नाम राख्नु छ । तर, कस्तो भुमरताउलोमा परेका छन् भने भ्यागुताहरूको धार्नी मिलाउँदा मिलाउँदै उनको नौ महिने म्याद सकिन लाग्यो । धार्नी पुग्दै पुग्दैन । तनावै तनावले उनलाई दिनको भोक न रातको निद्रा बनाएको छ । कामैकामको चाङ र चटारोले उनलाई असिनपसिन बनाएको छ । यो हरिबिजोग होइन, प्रचण्डबिजोग हो । 

यसलाई फकाउँछन् मान्दैन, उसलाई फकाउँछन् मान्दैन । एउटाले मान्ला मान्लाजस्तो गर्दा अर्को बिच्किन्छ । अर्कोले माने मानेजस्तो गर्दा अर्को चिप्लिन्छ । एउटालाई ‘पख्नूस् है’ भन्यो यता कुद्यो, अर्कोलाई ‘एकछिन है’ भन्यो उता दौडियो । आजचाहिँ ल्याप्चे नै ठोकाउँछु भनेर कागज ठिक्क पार्‍यो, मसी दल्ने बेलामा पहिलो उठेर शौचालयतिर भाग्छ, दोस्रो उठेर मदिरालयतिर लाग्छ, तेस्रो ठिमीतिर मुन्टिन्छ, चौथो थानकोटतिर घस्किन्छ । बसेर खाउन्जेल डकार्दै खान्छन्, खाइसकेपछि हकार्दै जान्छन् । 

अरूलाई मनाउँदैमा हाम्रा प्रधानमन्त्री चाउरी परिसके, हेर्दाहेर्दै उदास, निराश र बूढा भइसके, फतक्कै गलिसके । ‘जेठी माग्छे पानी, कान्छी माग्छे घाम, म एक्लो बूढो, कतातिर जाम’को गतिमा पुगिसके । एमालेले भनेको मान्दा मोर्चा भड्किने, मोर्चाले भनेको टेर्दा एमाले अड्किने । अदालतले भनेको मान्दा देउवा रड्किने, देउवाले भनेको नटेर्दा आफ्नै पद पड्किने । दिल्लीतिर पल्किँदा बेइजिङ रिसाउने, बेइजिङतिर ढल्किँदा दिल्ली ठुस्किने । आपत् पनि कस्तो भने उपप्रधानमन्त्रीहरूको रोल नम्बर नमिलेर मन्त्रिपरिषद्को बैठक नै भाँडिने । एक जना उपप्रधानमन्त्री एकातिर चोसो पसार्ने, अर्को अर्कातिर थुतुनो फुुलाउने । ‘तँ ठूलो कि म ठूलो’ भन्ने उनीहरूको गाँड कोराकोरले सरकारै ढल्लाजस्तो भइसक्यो । यसभन्दा प्रचण्डबिजोग अरू के हुन्छ ? 

अरूकै लागि खटिँदा खटिँदै प्रधानमन्त्रीको आफ्नो भन्नु केही बाँकी रहेन । कहिले मोर्चाको एजेन्डा बोकेर एमालेलाई फकाउनुपर्ने, कहिले एमालेको एजेन्डा लिएर मोर्चालाई सम्झाउनुपर्ने । कहिले देउवाको दबाब लगेर मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने, कहिले कुनै दूतावासका इच्छा लगेर पास गराउनुपर्ने । गर्दागर्दै उनलाई आफ्नै पार्टीका एजेन्डा के थिए भन्ने नै थाहा हुन छाडिसक्यो । गन्जागोलमा आफ्नै एजेन्डा हराए । 

एउटा मुलुकको प्रधानमन्त्रीका लागि नौ महिनाका २ सय ७० रातमध्ये सात रात पनि सन्चोले सुत्न नपाएको स्थितिलाई कन्तबिजोग वा हरिबिजोग भन्ने शब्दले समेट्न सक्दैन, यसलाई प्रचण्डबिजोग नै भन्नुपर्छ । अत: हामीले प्रधानमन्त्री पुष्पकमल दाहालका नाममा ‘प्रचण्डपथ’ शब्दलाई स्थापित गर्न नसकेको बदलामा ‘प्रचण्डबिजोग’ शब्दलाई नयाँ शब्दकोशमा समावेश गरेर प्रधानमन्त्रीको सत्प्रयासको उच्च सम्मान गरौँ । आगे नेपाल प्रज्ञा–प्रतिष्ठानको जो विचार !

प्रकाशित: चैत्र २८, २०७३