नाम सबाना: एउटी ‘हिरो’मा अडेको अप्रेसन

  • यसले सिक्वेलले झैँ बेबीभन्दा पछाडिको होइन कि अगाडिको कथा भन्छ ।

- गोकर्ण गौतम

सिक्वेलको लहर चलिरहेको बलिउडमा त्यसभन्दा ठ्याक्कै विपरीत प्रिक्वेल फिल्म रिलिज भएको छ, नाम सबाना । दुई वर्षअगाडि प्रदर्शित बेबीको प्रिक्वेल हो यो । अर्थात् यसले सिक्वेलले झैँ बेबीभन्दा पछाडिको होइन कि अगाडिको कथा भन्छ । बेबीलाई नीरज पाण्डेले निर्देशन गरेका थिए भने नाम सबानालाई शिवम नइरले । पृष्ठभूमिको कथा हुने भएपछि मुख्य पात्र पनि फरक हुने भइहाल्यो । अक्षय कुमारलाई यसपटक तपसी पन्नुले विस्थापित गरेकी छन् । बेबीमा तपसीको जस्तै नाम सबानामा अक्षय कुमारको ‘स्क्रिन टाइम’ २० मिनेट मात्र छ । आतंकवादविरुद्धको भारतीय खुफिया एजेन्सीमा तपसी कसरी जोडिइन् भन्ने विषयमा केन्द्रित छ, नाम सबाना । निर्देशकले महिला हिंसा र पुरुष प्रशासनको अनुदारपनालाई नंग्याउँदै एउटी साहसी पात्रलाई जन्माएका छन् तर झिनामसिना घटनामा पनि समय खर्चिएकाले यसको पटकथा बेबीको झैँ कसिलो छैन । 

घरेलु कलहका बीच हुर्किएकी सबाना (तपसी)को हातबाट उसकै जँड्याहा बाबुको मृत्यु हुन्छ । दुई वर्षमा जेलमुक्त भएपछि अध्ययनसँगसँगै जुडो खेल्न थाल्छिन् । दुर्भाग्य ! निडर स्वभावकी सबानासामु एक दिन उसकै प्रेमीको हत्या हुन्छ । त्यही बेला उनलाई खुफिया एजेन्सीका टास्क फोर्स चिफ रणभीर सिंह (मनोज बाजपेयी)को फोन आउँछ । रणवीरले हत्यारालाई मार्न सहयोग गर्ने प्रतिबद्धता जनाएपछि तपसी एजेन्सीको हिस्सा बन्न पुग्छिन् । कठोर तालिमपश्चात् उनलाई मलेसियामा लुकेर बसेको खुंखार अपराधी मिखाइल उर्फ टोनी (पृथ्वीराज सुकुमारन), जो कैयौँ आतंकवादी संगठनलाई हतियार बेच्छ, लाई सिध्याउने अप्रेसनमा खटाइन्छ । उनको टिममा अजय (अक्षय कुमार) पनि हुन्छन् । ‘ ब्याक टू ब्याक’ वियोग खेपेकी तपसी त्यस्तो खतरनाक अप्रेसन सम्हाल्न सफल होलिन् ? फिल्म यसकै वरपर घुमेको छ ।

बेबीमा आतंककारी पक्रिन खुफिया एजेन्सी र एजेन्टले अपनाउने विविध तिकडमलाई प्राथमिकता दिइएको थियो । आतंककारीको सञ्जाललाई भित्रैबाट ध्वस्त बनाउने खेल थियो । तर, नाम सबानामा त्यस्ता एजेन्सीले अफिसरहरू कसरी छान्छन् र आममानिसलाई कसरी ट्रयाक गर्छन् ? विस्तृत रूपमा देखाइएको छ । प्रिक्वेल फिल्मको अर्को विशेषता अर्थात् चुनौती पनि के हुन्छ भने दर्शकलाई क्लाइमेक्स करिब–करिब थाहा हुन्छ । यसमा पनि सबाना उक्त अप्रेसनमा सफल हुन्छिन् भन्ने पक्का थियो किनभने बेबीमा उनलाई टिम सदस्यका रूपमा देखिसकिएको थियो । आतंककारी पक्रन अक्षय कुमारसँगै नेपाल पनि आएकी थिइन् । तर, निर्देशक नइरले सबानाको चरित्रकरण र त्यसको प्रस्तुतिमा रोचक ‘ ट्रिटमेन्ट’ मिसाएका छन् । सबानाको पारिवारिक अवस्था, उनको आनीबानी, पुलिस प्रशासन अनि भारतमा हुने महिलामाथिको दुव्र्यवहारजस्ता विभिन्न पक्षलाई देखाइएकाले फिल्म पट्यारलाग्दो हुनबाट बचेको छ । 

तपसीको प्रेम प्रसंगले दर्शकलाई ‘रिफ्रेस’ गराउँछ तर एक्सन फिल्म हुनुको नाताले जुन गतिमा कथा बग्नुपर्ने हो, सुरुआतबाटै त्यस्तो छैन । लामा–लामा ‘चेजिङ’ दृश्य र अनावश्यक पृष्ठभूमि यसका कारण हुन् । सुरुसुरुमा टोनीलाई पक्रिन खोज्ने एजेन्टहरूलाई बच्चाजस्तै अपरिपक्व देखाइएको छ । अर्कातिर तपसीमाथि एजेन्सीले निगरानी गरिरहेको भेदलाई पनि बचाइएको छैन । तर, मध्यान्तरपश्चात् उनी एजेन्सीमा प्रत्यक्ष संलग्न भएपछि भने फिल्ममा रोचकता थपिँदै छ । टोनीको बहुरूप धारण, क्लाइमेक्समा उसलाई मार्ने ‘टेक्निक’ अनि सबाना र अजयको कार्यशैलीले थप आकर्षित गर्छ । मुम्बईदेखि मलेसिया हुँदै भियनासम्मका दृश्य फिल्ममा कैद गरिएको छ । फिल्ममा समाविष्ट तीन गीत छिटो हिट हुने भन्दा कथानकलाई बलियो बनाउने खालका छन् । 

पिंकपछि तपसी फेरि साहसिक भूमिका र जीवन्त अभिनयसाथ प्रस्तुत भएकी छन् । ‘सो–अप’भन्दा मुख्य र प्रभावकारी भूमिकामै हस्तक्षेप गरिरहेकाले उनलाई उम्दा हिरोइनको अघिल्लो लहरमा राख्न थालिएको छ बलिउडमा । संवेदनशील दृश्यमा मात्र होइन, एक्सन र स्टन्टमा पनि उनी उत्तिकै फिट लाग्छिन् । सहायक भूमिकामा भए पनि अक्षय कुमारको उपस्थितिले फिल्मको वजन बढाएको छ । उनलाई बेबीकै हुलियामा देख्न पाइन्छ । पृथ्वीराज सुकुमारन बाहिरबाट हेर्दा जति सुन्दर छन्, भित्र त्यत्तिकै खतरनाक । दक्षिण भारतीय फिल्मका निर्देशकसमेत रहेका पृथ्वीराजको अभिनय त्यत्तिकै दमदार छ । मनोज बाजपेयी उत्तिकै ‘बोल्ड’ छन् । खासमा पटकथाको कमजोरीलाई थोरै भए पनि कलाकारले ढाकेका छन् । 

कथा अगाडि बढाउन भन्दा भनिसकेको कथाको विगत खोतल्नु साँच्चै चुनौती हुन्छ । यसलाई चिर्न निर्देशक नइर सफल छैनन् । तर, प्रिक्वेलबारे उत्सुकता राख्ने र तपसीको काम हेर्न चाहनेले नाम सबाना हेर्दा पछुताउनु पर्दैन । 

प्रकाशित: चैत्र २७, २०७३