विमोचनको विमोचन

- पदमसिंह कार्की

नरेन्द्रराज पौडेलको छैटौँ हास्यव्यंग्य निबन्धसंग्रह विमोचनको बिगबिगी उनी दशकौँ प्रशासक हुँदाको भोगाइको निष्कर्ष हो र निवृत्त भएर सक्रिय साहित्यकार हुँदा बेहोरेको निचोड पनि । वनमारा झारसरि ढाकिएको पुस्तक विमोचन संस्कृतिप्रति मनग्य कटाक्ष गरिएको यो पुस्तक शंकर लामिछानेको पुण्यतिथिको अवसर पारेर विमोचन गराएर आफैँपट्टि व्यंग्य सोझ्याएका छन्, लेखकले । 

विमोचन विकृतिको भारी जति भ्रष्ट सर्जक, उत्ताउला प्रकाशक, अयोग्य प्रमुख र समोसाप्रेमीको थाप्लोमा हालेका छन् लेखकले । विसंगतिको रहलपहलमा मिडियालाई पनि मुछेका छन् । पुस्तक नै नपढी प्रशंसा गर्ने स्वनामधन्य समीक्षकको उछितो काढेका छन् । तुल, व्यानर, फूलमाला, नास्ता, गाडी, हल सबैको खर्च सरकारी स्रोतबाट बेहोर्ने जागिरे स्रष्टाहरूको चर्तिकला पनि उदांगो पारेका छन् । लेख्छन्, ‘आङदेखि टाङसम्म आत्मप्रचारको रामनामी ओढेर पत्रपत्रिकामा विज्ञापनको हल्लाखोरीसँगै सडकका पोल, पर्खाल, भित्ता हुँदै पर्चा टाँस्दै र बाँड्दै हिँड्न सक्ने–भ्याउने जाँगरी, अकबरी, व्युत्पन्न स्रष्टाका लागि सस्तै, सुविस्तै हातलागी हुँदो रहेछ विमोचनको भोर्जुवा ।’ 

कतै सरकारी ढुकुटी रित्याएर गरिने बिनाउपलब्धिका भ्रमणको चियोचर्चा पाइन्छ भने कतै प्राज्ञिक गुरुहरूका उच्छृंखल हर्कतमाथि सियो बनेर घोचेका छन् । ‘छट्टुलालको म कथा’मा आत्मकथाको मौसम र त्यसको बिगबिगीको सक्दो खिल्ली उडाएका छन् । महात्मा गान्धी र नेल्सन मन्डेला बन्न खोज्ने आत्मकथाकारहरूलाई यसरी छेडेका छन्, ‘आत्मकथा भन्नु नै नाउँ आफ्नो, काम अर्काको अनि कुरा हावाका हुनुपर्छ भन्ने कुरा नबिर्सनूस् । आफूले छल, कपट, द्वैष, ईख, फट्याइँ, धुत्र्याइँजस्ता कुराहरू भुसुक्कै बिर्सिए पनि अरूले गरेका त्यस्ता कुरा सबै सम्झनूस् ।’ 

अमर सहिद अर्थात् देशका लागि सहिद बनेकाहरू र मर सहिद अर्थात् मरेर सहिद बन्नेहरूबीचको भेद खोल्दै अहिले अमरको ठाउँमा मरहरूको बिगबिगी रहेको जनाएका छन् । अमुक कलमजीवीले सञ्चारगृहमा आफ्ना रचनाको पारिश्रमिक सञ्चित गरेर दसैँ मनाउन साँचेको सपना तुहिएको दुखान्त नियति पनि कुँदिएको छ । अर्थमन्त्री बाबाका पीएले आसेपासेलाई कसरी पोस्छन् भन्ने कुराको यथार्थ दृश्य प्रस्तुत गरेका छन् भने मन्त्रीहरूले बाढी–पहिरोजस्ता दैवीप्रकोपलाई पनि कमाइखाने भाँडो बनाएर विदेशको सोखिन सयरमा साटेको सटीक उदाहरण चित्रित गरेका छन् । हाम्रा विकासे कार्यकर्ताहरूले डलररूपी हरियो घाँस चबाएर उघ्राएको परिदृश्यलाई बोकाको दाइँको नमुना ठम्याएका छन् हास्यव्यंग्यकारले । सदनमा पेस हुने बजेट भाषणलाई मात्र बजेट जात्राको विषयवस्तु भएको पुष्टि गर्दै व्यंग्यात्मक कलम चलाएका छन् । खेलभित्रको झेलमा खेलाडीको नाममा कसरी अखेलाडीहरूले आफ्ना नाता–कुटुम्ब मात्र होइन, पशुपक्षीहरूको फरमाइस पूरा गर्छन् ? छिद्रान्वेषी नजर दौडाइएको छ । 

बहुभंगी वस्तुविन्यास र बहुरंगी भाषाशैलीले पुष्ट भएको व्यंग्यैव्यंग्यको बिटोभित्र अनगन्ती पाटा समेटिएका छन् । सदीयौँदेखि भार बोकेका कुर्सीले अप्रत्याशित रूपमा बुर्कुसी मारेको विम्बात्मक प्रस्तुति कलात्मक छ । सप्रिनुको आनन्दमा सहर पसेर सप्रिएका ठानिनेहरूका दुव्र्यसनी आचरण र अनुहार पहिल्याएका छन् निबन्धकारले । 

लेखकले आफूले देखेका बिब्ल्याँटाहरूको बाँझो फोर्ने क्रममा सञ्चार आतंक र असावधानीप्रति पनि सियोले च्वास्स घोचेका छन् । ‘समाचारको अनाचार’ शीर्षक अन्तर्गत समाचार छाप्दा र समाचार वाचन गर्दा हुने सानो असावधानीले जनमानसमा कति ठूलो भ्रम पैदा हुन्छ भन्ने कुरा मार्मिक छ । यसै गरी प्रेस विज्ञप्तिको गल्तीले मन्त्रीज्यूको ‘बस यात्रा’ शव यात्रामा परिणत भएपछि मञ्चित स्थितिलाई हास्यास्पद बनाउन लेखक सफल छन् । 

नयाँ वर्षको शुभकामनालाई व्यंग्य गरेर भुसकामना भनेझैँ उसैको ठूलो स्वरमा धूर्त पाखण्डीहरूलाई मजैले भकुरेका छन् । कोपनहेगनको वातावरण सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलले देखाएको हर्कतलाई ‘थैलाहरूको खैलाबैला’मा घतलाग्दो शैलीमा चित्रण गरेका छन् । ‘मालाको कमाल’ शैलीको हिसाबले पहिलो नम्बरको निबन्ध हो । 

कथात्मक रोचकतामा निबन्धात्मक शैली मिसाएर पौडेलले सफल प्रयोग गरेका छन्, पुस्तकमा । यसको शैली पक्कै प्रभावशाली छ । लेखकले गणतन्त्रलाई गनगनतन्त्र, लोकतन्त्रलाई रोगतन्त्र भनेर नयाँ शब्दको आविष्कार गर्दा भाषा र विचारको सौन्दर्यको पनि हेक्का राखे बेसै होला । समग्रमा पुस्तक पठनीय नै छ । 

विमोचनको बिगबिगी 
लेखक    :    नरेन्द्रराज पौडेल
प्रकाशक    :    दायित्व वाङ्मय प्रतिष्ठान
पृष्ठ    :    १२०
मूल्य    :    २५० रुपियाँ

प्रकाशित: चैत्र २५, २०७३