नोटबुक

- विमल खतिवडा

पर्दापछाडिका जेपी

चितवनको राप्ती नगरपालिका–५, भन्डाराका जागृतप्रसाद (जेपी) भेटवाल, ६२, सँग भेटेर उनीबारे लेख्न तपस्यै गर्नुपर्‍यो । बल्लतल्ल दोस्रो अनुरोधमा ससर्त राजी भए । 

उनको संघर्षको कथा धेरैको मुखबाट सुनेको थिएँ । तेस्रो पटक गत २६ माघमा उनको घरमा पुग्ने अवसर मिल्यो । एमालेको मेची–महाकाली अभियान २८ माघमा चितवन आइपुग्दै थियो । उनलाई त्यो कार्यक्रममा सम्मान गर्ने योजना रहेछ एमालेको ।

उनको जीवनी बनाउने जिम्मा पत्रकार राधेश्याम खतिवडाले पाएका रहेछन् । तर, जेपीलाई सम्मान गर्ने भन्नेबारे कुनै जानकारी गराइएको रहेनछ । किनभने, सम्मान गर्ने थाहा पाए अस्वीकार गर्छन् भन्ने डर थियो । 

उनलाई फोर्थ स्टेज (अन्तिम अवस्था)को प्रोस्टेट क्यान्सर छ । उनको अहिले केमोथेरापी सुरू भएको छ । शरीरको सबै भागमा क्यान्सर फैलिएको छ । उनलाई ०६२ देखि नै यो समस्या थियो । तर, ०६६ मा मात्र क्यान्सर भएको पुष्टि भएको हो ।

घरमा पुग्दा क्यान्सरले थलिएका उनी हट्टाकट्टा देखिए । उनको स्वास्थ्य अवस्था बुझ्न आउनेको कमी थिएन । खरो स्वभावका उनी हतपत कसैलाई टेर्दैनन् । गफको सिलसिलामा उनले आफ्ना संघर्षको कथा एकपछि अर्को गर्दै सुनाउन थाले । उनको साहस पहिलाकै जस्तै सुनियो । “ल मेरो त मर्ने निश्चित भयो, आज हो कि भोलि मात्र भन्ने छ,” उनले भने, “मर्छु भनेर आत्तिएको छैन, सास रहुन्जेल जनताकै घरदैलोमा हुनेछु, जनताकै घरदैलोमा मर्न मन छ ।” 

उनले संवादका क्रममा आफ्नो समाचार नलेख्न आग्रह गरिरहे । भने, “बाँचुन्जेल मलाई प्रशंसा चाहिएको छैन, मरेपछि पनि पत्रपत्रिकामा श्रद्धाञ्जलि नछपाउन भनेको छु ।” 

०४२ मा राष्ट्रिय पञ्चायत सदस्यमा जिते, जनपक्षीय उम्मेदवारका रुपमा । ०४६ को आन्दोलनमा चितवनमा उनी र भीमबहादुर श्रेष्ठले अगुवाइ गरेका थिए । आन्दोलनको नेतृत्व गरेको भन्दै दुवैलाई राज्य विप्लवको मुद्दा लगाइयो, ३३ वर्ष काराबास वा मृत्युदण्डको सजाए भयो । ०४६ को परिवर्तनपछि मुद्दा फिर्ता लिइयो । सांसद, सार्वजनिक लेखा समितिको सभापति, एमाले अञ्चल सदस्य, क्षेत्रीय इन्चार्ज, राज्य व्यवस्था विभागको सदस्य र अध्यक्ष भएर काम गरे उनले । 

लामो कुराकानीपछि बिदा हुने बेला भयो । फेरि, सम्झाए, “मलाई प्रचार चाहिएको छैन, केही नलेख्नुहोला । बरु, देशका लागि ज्यान दिने सहिदको समाचार लेख्नुहोला ।” 

मुखमा कलम च्यापेर...

रत्ननगर–१६, खैरेटीका भरत गुरुङ, २०, का हात/गोडा चल्दैनन् । भाइले पढेको देखेर उनलाई पनि पढ्न मन लाग्यो । तर, लेख्न हात छैन । हिँड्नका लागि खुट्टा साना र बांगा भएकाले चल्दैनन् । कसरी पढ्ने ? उनी आफैँले जुक्ति लाए, मुखले लेख्ने । सुरुमा मुखमा घाउ नै भयो । 

स्कुल एजुकेसन एक्जाम (एसईई)का क्रममा मलाई उनका बारे खबर आयो । कार्यव्यस्तताले पर्सिपल्ट मात्र पुगेँ । उनको प्रतिभा देखेर दंग परँे । उनी मुखमा डटपेन राखेर क्यालकुलेटर चलाइरहेका थिए । 

आमा चन्द्रमायाका अनुसार भरत जन्मिँदा दाहिने खुट्टा ठाडो थियो । बनेपा लगेर अप्रेसन गरेपछि ठीक भयो ।

उनी खाना पस्केर राखिदिएपछि सुतेर आफैँ खान्छन् । पानीसमेत सुती/सुती पिउँछन् । “पढेर यस्तो बन्छु भन्ने ठूलो सपना त साँचेको छैन,” भरत भन्छन्, “लेखा विषय लिएर पढ्न मन छ ।” 

उनको घर गोरखा हो । बाबुले अर्को विवाह गरेपछि भाइ, आमा र उनी मामाघरमा बसेका छन् । भरतजस्तो मिहिनेती किशोरलाई राज्यबाट कुनै किसिमको सहयोग छैन । 

प्रचारको लोभ 

३१ वैशाखमा स्थानीय निर्वाचन हुँदै छ । सहर–बजार, स्कुल–क्याम्पस, चिया–पसल जताततै चुनावी जोड/घटाउ छ । अझ सबैलाई मेयरको उम्मेदवार बन्ने भूत चढेको छ । त्यसैले त उम्मेदवारका आकांक्षीले भेट्नुपर्‍यो भन्दै फोन नआएको दिन हुँदैन । 

‘लौ न, यसपालि मेयरमा उठ्ने भनेको, प्रचारप्रसार गरिदिनुपर्‍यो, तपाईंको एक शब्दले हाम्रो भाग्य चम्किन्छ’ भन्दै फोन गर्नेको कमी छैन । केहीले त चुनाव आउनुअघि नै पत्रिकामा मेयरको आकांक्षी भनेर समाचार आए पार्टीले ध्यान पुर्‍याउने थियो भन्दै समाचारको लोभ गरेका छन् । यही भनेर फोनै गर्छन् पनि । अहिले चितवनमा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका छन् । पद धेरै तहका छन् तर अरुमा होइन, सबैको दृष्टि मेयरमै छ । 

प्रकाशित: चैत्र २५, २०७३