[अनुभूति] फिल्ममा असफल म

  • आफैँलाई सोधेर पत्ता लगाएको कुरो । कुरो के रहेछ भने मलाई जिन्दगी मन पर्दोरहेछ । मैले नाटकमा जीवन भेटेछु ।

- सुनील पोखरेल

यो त्यही ठाउँ हो 
जहाँ तिमीले कुनै दिन
आत्महत्या गरेका थियौ
तिम्रै यादको झ्यालखानामा 
सायद पाएको छु मैले 
जन्म कैदको सजाय । 

– सुनीलकुमार नगरकोटी पोखरेल

यो कविता मैले कुमार नगरकोटीबाट उपहार पाएको हुँ । उसले आफ्नो नाम यसै गरी लेख्छ, सुनीलकुमार नगरकोटी पोखरेल । कुरो के हो भने मलाई यो मान्छे आफैँमा तारकोवस्कीको सिनेमाजस्तो लाग्छ । सुन्दर र असंगत लाग्छ । 

अफ्रिकाजस्तै विसंगतिको महादेश । सन् १९८७ को कुरा हो । त्यसताका म दिल्लीमा नाटक पढ्थेँ । ११औँ अन्तर्राष्ट्रिय फिल्म महोत्सव चलिरहेको थियो  । हामी तारकोवास्कीको नयाँ सिनेमा द सेक्रिफाइस हेरिरहेका थियौँ । फिल्म सकिनेबित्तिकै उद्घोषण भयो, ‘आजकै दिन निर्देशक तारकोवस्कीको निधन भयो ।’ कस्तो अचम्मको संयोग । यो संयोगले हो कि, पछि मैले तारकोवस्कीका बारेमा भेटेजति पढेँ । सबै फिल्म जम्मा गरेँ र हेरेँ । आज पनि ती पुस्तक र फिल्म मेरो संग्रहमा अझै छन् । 

१५–१६ वर्षको उमेरतिर मलाई फिल्मको दह्रो भूत चढेको थियो । धेरैलाई चढ्छ । त्यसबेला शाही नेपाल चलचित्र संस्थान भन्ने संस्थाले मात्र नेपाली फिल्म बनाउँथ्यो । अहिलेजस्तो निजी कम्पनीहरू थिएनन् । 

त्यसताका जीवनरेखा भन्ने फिल्म बन्ने भयो । प्रकाश थापा फिल्मका निर्देशक थिए । बद्री दाइ (अधिकारी) र म अन्तर्वार्ता दिन गयौँ । प्रकाश थापा, चेतन कार्की र अरूहरू गजक्क परेर अन्तर्वार्ता लिन बस्नुभएको थियो । फिल्म खेल्ने रहर भएको तर अनुभव पटक्कै नभएको एउटा १५–१६ वर्षको ठिटो म उभिएँ । के–के अभिनय गर भन्नुभो, मैले गरेँ । 

राम्रै गरेछु क्यारे † सबैले मुखामुख गरे । आखिरमा चेतन कार्की दाजुले भन्नुभो, “भाइ यो तिम्रो भूतले खाजा खाने उमेर हो । तिमीलाई न बच्चाको भूमिका सुहाउँछ, न वयस्क मान्छेको । त्यसैले यसपालि तिमीलाई खेलाउन सकेनौँ । अलि ठूलो भएपछि आउनू ।” 

त्यो बेला रिस उठ्यो । आफ्नो मान्छे खेलाउन मलाई थामथुम पारेजस्तो पनि लाग्यो । अहिले, यो उमेरमा चेतन दाइले भनेको कुरा बुझ्छु । किनभने, कहिलेकाहीँ मैले पनि यस्तै बोल्नुपर्छ, आफ्ना विद्यार्थी र नाट्यकर्मीहरूसँग । 

हामी सबैको जीवनमा ‘भूतले खाजा खाने उमेर’ आउँदो रहेछ । सायद मेरो उमेरमा त आएछ, जुन चेतन दाजुले खुट्याइदिनुभयो । त्यो फिल्म खेल्न पाइएन । बद्री दाइले एउटा लठ्ठी समात्ने भूमिकामा खेल्नुभयो । पछि गाली पनि खानुभयो । तर, त्यसपछि खोइ किन हो, फिल्मको भूत मेरो दिमागबाट गायब भयो । 

मैलै केही नेपाली सिनेमा खेलेको छु । रहर लागेर होइन, करबलले । धेरैजसो सम्बन्धका कारणले । एउटा फिल्म मनमा आउँछ, बलिदान । तुलसी घिमिरेले निर्देशन गरेको यो सिनेमामा रामेश (श्रेष्ठ) दाइको महत्त्वपूर्ण भूमिका थियो, निर्माणमा । उहाँले आदेश दिनुभो । मैले हुन्छ भनेँ । 

त्यस बेला म गहिरो डिप्रेसनमा थिएँ । मानसिक रूपमा अत्यन्तै बिरामी । गरूँ कि नगरूँको दोमन थियो । तर, सोचेँ– यही भूमिकाले मेरो रोग निको पो पार्छ कि ! अनि, खेलेँ ।

सुनसरी इनरुवाको प्रयोग नभएको जेल (जुन त्यहाँको सार्वजनिक शौचालय भएको थियो)मा मेरो दृश्य थियो । फिल्ममा मेरो भूमिका जम्मा तीन–चार मिनेटको होला । एउटा दृश्य तुलसी दाजु (उहाँ आफैँ क्यामेराम्यान पनि हुनुहुन्थ्यो)ले भन्नुभयो, “सुनील ! तिमीलाई जे मन लाग्छ, गर ! म तिमीलाई क्यामेराले फलो गर्छु ।” 

उहाँले त्यही गर्नुभो । अहिले हेर्दा लाग्छ, निर्देशकले कलाकारलाई विश्वास गरेको यो दुर्लभ उदाहरण हो । तर, मेरो दुर्भाग्य † मैले त्यो दृश्यबाट आफूलाई सन्तुष्ट पार्न सकिनँ । 

मलाई फिल्म मन पर्छ । त्यो अत्यन्त शक्तिशाली माध्यम हो । मेरो निजी संग्रहमा पाँच सयभन्दा बढी फिल्म होलान् । पहिले धेरै हेर्थें । अचेल कम भएको छ । तर, कहिलेकाहीँ विद्यार्थीहरूसँग हलमा गएर पनि हेर्छु । 

१५–१६ वर्षको उमेरपछि खोइ किन हो, फिल्ममा पटक्कै मन गएन । बरू, मैले नेपाल टेलिभिजनका लागि केही टेलिचलचित्र र केही टेलिसिरियलहरू निर्देशन गरेँ, तिनमा खेलेँ पनि तर कहिल्यै चित्त बुझेन । 

किन ? कहिलेकाहीँ म आफैँलाई सोध्छु । अब अरूलाई सोधेर उत्तर पाइँदैन क्यारे !

आफैँलाई सोधेर पत्ता लगाएको कुरो । कुरो के रहेछ भने मलाई जिन्दगी मन पर्दोरहेछ  । मैले नाटकमा जीवन भेटेछु । किनभने, फिल्म खेल्दा लगातार हुँदैन । कुनै दृश्य अघि खिचिन्छ, कुनै दृश्य पछि । मैले एउटा अभिनेताको र चरित्रको ‘ यात्रा’ (भनेको शारीरिक, मानसिक र संवेगात्मक) 
भोग्न पाइन्न । 

नाटकमा ‘सुरु’ र ‘अन्त्य’ हुन्छ । त्यसबीचमा चरित्रको यात्रा हुन्छ । मलाई त्यो यात्रा मन पर्दो रहेछ । जीवन सकिएपछि सकिन्छ नि ! हो नाटक त्यसै गरी सकिन्छ । जीवनजस्तै । सबैका छनोट हुन्छन् नि हौ जीवनमा ! सौभाग्य वा दुर्भाग्य, मैले नाटक छानेछु । 

अर्को रमाइलो कुरो, सामान्यतया मैले खेलेका फिल्म ‘फ्लप’ हुन्छन् । परिभाषा मैले खेलेको पहिलो सिनेमा थियो । चलेन । सुपर फ्लप भयो । 

अरू पनि जति फिल्म मैले खेलेँ, बलिदानबाहेक सबै सुपर फ्लप भए । खेल्दिनूस् न भन्ने साथीहरूलाई भन्ने गर्छु, “सुपर फ्लप गराउनु छ भने मात्र मलाई खेलाउनू ।”

पहिलो फिल्म के हेरेँ, म सम्झिन्छु, सावन भादो । निशा शर्माको भनाइ अनुसार रेखाको पहिलो फिल्म हो यो ।

 म पहाडमा हुर्केको केटो । फिल्म के हो, मलाई के थाहा ? मावली विराटनगर आएँ । मामाले भान्जालाई फिल्म देखाउन लानु भो, भन्नुभो, “भान्जा ! सिनेमामा बाघ आयो भने नडराउनू । त्यो साँच्चैको 
बाघ होइन ।” 

म फिल्मभरि बाघ कुरेर बसिरहेँ । त्यो फिल्ममा बाघ त मरिगए आएन । पहिलो फिल्म नै झूर । फिल्म हेर्न जान थालेपछि जीवनको सबैभन्दा ठूलो सपना थियो– सिनेमा हलको गेटकिपर बन्ने । 
संसारको सबैभन्दा ठूलो मान्छे त्यही हो जस्तो लाग्थ्यो । अझै त्यही हुन मन लाग्छ । 

अनुभूति लेख्न बस्दा केही फुरेन । मैले मेरो कक्षामा सबैसँग फिल्मको पहिलो अनुभवको कुरा गरेँ । त्यो अनुभवमध्ये सबैभन्दा ‘कमर्सियल अनुभव’ बाँड्छु । मेरो एउटा विद्यार्थी हरेक दिन सीडी पसलबाट फिल्म बोकेर घरमा आएर हेर्दो रहेछ । सीडी पसलेले नीलो सिनेमा नेपाली गीतको कभर भएको सीडीको खोलमा राखेर दिँदो रहेछ । गीत हो भनेर त्यो ठिटाले ल्याएछ । अब आमा–बाबुको अघि त्यो सीडी चलाएपछि त्यसको के गति भयो होला, कल्पना गर्नूस् । 

फिल्म मेरो माध्यम होइन तर सपना हो । खुसुक्क एउटा कुरा भन्छु– मेरो जीवनको सपना भनेको मर्नुअघि (मर्ने तिथि थाहा हुन्छ ?) मलाई इन्द्रबहादुर राईको कथा ‘जयमाया एक्लै लिखापानी आइपुगी’लाई लिएर फिल्म बनाउन मन छ । त्यो सपना पूरा होलाजस्तो लागेन । त्यही भएर नाटक गर्दै छु । सपना त पूरा गर्नुपर्‍यो नि !

फेरि भन्छु– फिल्म मलाई मन पर्छ । तर, त्यो मेरो माध्यम होइन स्पष्ट छु । 
यमराजले भन्यो : 
अरू एक दिन बाँच 
अरू एक दिन बाँच
म आराम गर्छु, 
तँ एक दिन साँच । 

– सुनीलकुमार नगरकोटी पोखरेल 

प्रकाशित: चैत्र २४, २०७३