मेसीको माया

- नेपाल संवाददाता

अर्जेन्टिना र बार्सिलोनाका फुटबल सुपरस्टार लियोनल मेसीले संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)सँगको सहकार्यमा नेपालका १४ वटा स्वास्थ्य चौकी निर्माणमा सहयोग पुर्‍याएका छन् । लियो मेसी फाउन्डेसनमार्फत १४ वटै भूकम्पपीडित जिल्लामा स्वास्थ्य चौकीहरु निर्माण हुनेछन् । 

जस अन्तर्गत गोरखा, दोलखा र काभ्रेका स्वास्थ्य केन्द्रहरुको निर्माण अन्तिम चरणमा पुगिसकेको छ, जो यो वर्षाअगावै नेपाल सरकारलाई हस्तान्तरण हुनेछन् । सिंगापुरको अनलाइन पोर्टल एसिया वानका अनुसार सात स्वास्थ्य केन्द्रका लागि प्रिफ्याबका घरहरु हस्तान्तरणको अन्तिम 
चरणमा छन् ।

‘यो काम निकै राम्ररी हुँदा मलाई निकै खुसी लागेको छ,’ मेसीले फेसबुकमा लेखेका छन्, ‘तीनवटा घर निर्माण अप्रिल महिनामै सम्पन्न हुनेछन् र बाँकी काम अगाडि बढ्ने क्रममा छ ।’ डिसेम्बर २०१५ मै स्वास्थ्य मन्त्रालय र फाउन्डेसनबीच युनिसेफसँग मिलेर स्वास्थ्यकेन्द्र निर्माणको सम्झौता भएको थियो ।

प्रकाशित: चैत्र २४, २०७३